Wednesday, April 17, 2019


                                  नेपाल भारत सम्बन्धका केही आयाम
                                            -मोहन बन्जाडे
पृष्ठभूमि
        पूर्वमा व्रह्मपुत्र,पश्चिममा हिन्दकुश, उत्तरमा कैलाश र दक्षिणमा गंगासम्मको भूखण्डलाई हिमवतखण्ड र गंगादेखि हिन्द महासागरसम्मको भूखण्डलाई भारतखण्ड भनिन्छ| नेपाल धेरै ऋषि मुनिहरुको जन्म, कर्म र तपोभूमि हो| जहाँ वेदका ऋचादेखि अनेक शास्त्र लेखिएका थिए| तन्त्र, मन्त्र र यन्त्रको आविष्कार र प्रयोग भएको थियो|
      नेपाल र भारतका बहुसंख्यक जनता मूलतः यही सभ्यता, संस्कृति र धर्म (ॐ कार) मा आस्था र विश्वास राख्छन्| दुबै देश यहाँका सभ्यताको अपमान गर्ने वा समाप्त गर्ने चाहने अन्य देशका संस्थाको आक्रमणबाट उत्तिकै आक्रान्त छन्| भारत आफ्नो शक्ति र प्रभावका कारण परचक्रीको आक्रमण र व्यूहरचना विरुद्ध सतर्क र सजग हुँदै गएको छ| नेपाल भने त्यस्ता आक्रान्ताको चक्रव्यूहमा फँसेकाले भयरहित तरिकाले वास्तविकता व्यक्त गर्न सकिरहेको छैन|
     भारतमा बिदेशी र तिनका फौबन्जार प्रवृतिका समाजशास्त्री, मानवशास्त्री र इतिहासका लेखकले भारतलाई राजनीतिक र सामाजिकरुपमा विभाजन गर्न जेजस्ता औजार र विधि प्रयोग गरेका थिए र गर्दैछन् नेपाललाई पनि त्यस्तै प्रयोगशाला बनाइदैछ| यसमा भारतभित्रको इण्डिया तत्व पनि संलग्न छ| त्यो इण्डिया तत्व राजनीति, पत्रकारिता,बौद्धिक क्षेत्र र कर्मचारीतन्त्र चारैतिर छ| नेपालको संविधान बन्दाको अवस्थामा मूलतः पश्चिमको खास विश्वास प्रणालीबाट प्रभावित तत्व र भारतमा रहेको इण्डिया तत्वले नेपाललाई एकै चश्माले हेर्ने गरेका थिए|त्यसैले नेपालको संविधानमा तिनका न्यारेटिभ प्रशस्त घुसाइएका छन्| युरोपियन युनियनको निर्वाचन पर्यवेक्षणका निर्वाचन असम्बद्ध बुँदा र बंगलादेशमा रहेकी युरोपियन युनियनकी राजदूतको म्याद नाघेको ट्वीट त्यतै लक्षित देखिन्छन्| यस्तै भारतका कतिपय पूर्व अधिकारी र नेपाल बारे लेख्ने कथित नेपालविददेखि नेपालको अखण्डता विरुद्ध ट्वीट गर्ने कीर्ति आजाद जस्ता व्यक्ति यस्तै मानसिकताका उपज हुन्|
    नेपालले भारत स्वतन्त्रतापूर्व बेलायतबाट जुन पिडा भोगेको थियो वा बेलायती राजदूतले नेपालमा जस्तो व्यवहार  गर्दथे त्यस्तै व्यवहार भारत र भारतीय दुतावासबाट अपेक्षा गरेको थिएन| अझ २००७ सालको क्रान्तिको नेतृत्व गर्ने बिपी कोइराला र भारतका स्वतन्त्रता संग्रामका महात्मा गान्धी, डा राजेन्द्रप्रसाद, जवाहरलाल नेहरु, राममनोहर लोहिया र जयप्रकाश नारायण जस्ता शिर्ष नेताको व्यक्तिगत चिनाजानी थियो| तर नेपालमा प्रजातन्त्र आएपछि भारत र भारतीय राजदूतले देखाउने व्यवहार धेरै पटक कुटनीतिक मर्यादा विपरित भएको कुरा बीपी कोइराला लगायतका नेताका जीवनी सम्बन्धी पुस्तकमा ती नेताहरुले उल्लेख गरेका छन्|यहाँसम्म कि बीपी कोइरालाबाट  दिल्ली संझौता भनिएको कथित संझौताको अन्तरंग सार्बजनिक भैसकेको छ| बीपी कोइरालाबाट तत्कालिन भारतीय राजदूतका अवान्छित क्रियाकलाप पनि सार्वजनिक भएका छन्| पछिल्लो चरणमा भएका अन्तर्य सार्वजनिक हुन बाँकी छ| नेपाल अहिले त्यसको प्रतिक्षामा छ|
     आजको नेपाल र कोही पनि नेपाली नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता र स्वाभिमान कतैबाट पनि कमजोर गराइएको कुरा सुन्नसम्म तैयार छैन| नेपाल र नेपालीको सार्वभौम समानतामा विश्वास छ| नेपालीहरु  कुनै पनि कुटनीतिज्ञले कुटनीतिक मर्यादा नाघेर गरेका क्रियाकलापबाट आहत हुने गरेका छन्| पारस्परिकता विपरितका कार्य सबै नेपालीलाई किन्चित सह्य छैनन् |
    केही सहयोग गरेको नाममा केही पश्चिमा पन्थ-कट्टर संस्था नेपालको सभ्यता, सम्पदा र सद्भाव विथोल्न लागि परेका छन्| टाढाका परचक्रीलाई सघाउने नजिकका परचक्री पनि नेपालकालागि उत्तिकै खतरा हुन्| त्यसमा भारत स्थित पश्चिमासंग मुख (कुरा) मिल्ने संस्था र व्यक्ति नेपालका निम्ति झन् बढी खतरा हुन्| किनकि त्यस्ता पश्चिमालाई अनुहारले चिन्न सकिन्छ तर यी इन्डियन त अनुहार मिल्दो अनुहारका देखिन्छन्|
   नेपाल र भारत बीच सीमाका केही कुरा छन्| व्यापार असन्तुलनका कुरा छन्| बिगतमा गरिएका सीमा अवरोधका पिडा छन्| नेपाली नागरिक मध्ये खास क्षेत्रमा बसोबास गर्नेलाई आफ्नो मूलको भनी बहकाउने गरेका कुरा छन्| जबकी पश्चिमा आँखामा ती नागरिक र अन्य अधिकांश नागरिक आर्य नै हुन्| आफ्नो मूलका नभन्ने गरेकासंग अनुहार,संस्कृति र धर्म मिल्ने मानिस भारत कै सिक्किम, पश्चिम बङ्गाल, देहरादुन, आसाम र महाकाली पश्चिममा प्रशस्त बसोबास गरेका छन्| मूलको नाममा नागरिकलाई फुटाउने कार्य कुनै पनि देशमा र कोही पनि देशभक्तलाई कर्णप्रिय लाग्दैन|
   नेपालमा पनि भावनामा बगेर वा अलि टाढाका एजेण्डाको फौबन्जारी गरेर भारत बिरुद्ध बोल्नुलाई पेशा बनाएका मानिस पनि छन्| कसैकसैलाई सबै ऋतुमा गाली गर्न एउटा अचानो चाहिन्छ र कुण्ठा वमन गरिरहनु पर्छ| तर   सीमा अवरोध गर्दा, सीमा मिचिदा र कुटनीतिज्ञका अमर्यादित क्रियाकलाप हुँदा सबै नेपालीको चित्त दुख्नु प्राकृतिक नै हो|  
    नेपालका जल परियोजनाको बिषयलाई लिएर त भारत र केही पश्चिमाको भित्री पैठेजोरी नै चल्छ| पश्चिमा कतिपय राजदूत संगठित रुपमा नेपाल माथि दबाव दिन्छन्| कहिले काहिँ नेपालस्थित राष्ट्रसंघका कर्मचारीले अनुहार मिल्ने केही पश्चिमा राजदूतको जमघट गराउछन्|  नेपालमा उनीहरुका एजेण्डा लागु गराउन राष्ट्र संघको नेपाल स्थित कार्यालयले पश्चिमा दुतावासबाट रकम उठाई झिल्ली समेत झार्छ| केही पश्चिमा राष्ट्रका संस्था  सामाजिक बिघटन र हिमवत सभ्यता विरुद्ध लागेको कुरा छरपष्ट छ| नेपालमा कुटनीतिक मर्यादा र पारस्परिकता विपरितका क्रियाकलाप गर्न सबै जसो नियोगको प्रतिस्पर्धा नै चल्छ| यसमा नेपालका सरकारहरु उनीहरु भन्दा दोषी छन्| किनकि यस्ता महत्वपूर्ण कुरा बारे प्रतिक्रिया जनाइदैन| नेपालले सशक्त प्रतिक्रिया नजनाएसम्म बाहिरिया दबाव घट्ने सम्भावना पनि छैन|
     नेपालको बिकासमा भारतको ठूलो सहयोग छ|  बिरामी पर्दा नेपाली फुत्त उठेर भारतमा जान सक्छ| तीर्थव्रत गर्न फुरुङ्ग हुँदै जान्छ| काम खोज्न जान्छ| भारतीयसंग अनुहार, धर्म र संस्कृति मिल्छ| यस्तै भारतीय पनि यता आउँछन् | सीमा खुला छ | तर प्रश्न राजनीतिक र प्रशासनिक सरकारमा हुनेको मन कति खुला छ भन्ने हो|  ठूलो आकार र विश्व शक्तिको रुपमा उदयिमान भारतका सत्तासिनको मन पनि सीमा र दुवै तिरका नागरिकको जस्तै खुला भएको दिन दुई देशका समस्या साँच्चै रहने छैनन्| यसको लागि इतिहास केही घटनाबाट सिक्न र केही घटना बिर्सन भने जरुरी छ|
ऐतिहासिकता
       जनकपुरकी छोरी सीताको विवाह अयोध्यामा श्री रामसंग भएको थियो| जनक दरवारका विदुषी मैत्रेयी र  ऋषि याज्ञवल्क्यले वेदका ऋचा लेखेको बताईन्छ|
        मल्ल कालमा कुनै मल्ल राजा उपचार गराउन बनारस पुगेका थिए| उनले गुरु नानकसंग आफ्नो उपचारको निम्ति आग्रह गरे| पटक पटकको भेट पछि ती मल्ल राजाको साथमा गुरु नानक सिंह नेपाल आई पिपलको रुख मुनि बसेर ध्यान गर्नु भएको थियो| राजाले दरवार आउन आग्रह गर्दा गुरुले नमाने पछि  बालाजुमा  गुरु नानक सिंहकोलागि राजाले मठ बनाइ दिएका थिए | पछि बिरामी राजा रण बहादुर शाहले सो मठलाई प्रशस्त जग्गा दिएको भन्ने पनि पाइन्छ|(www.sikhiwiki.org  / Guru Nanak in Nepal)
     अंग्रेजले अत्याचार गरे पछि गुरु नानक सिंह नेपाल आएको प्रसंग सुनेकी महारानी जिन्दन कौरले  नेपालमा शरण लिएको देखिन्छ| नेपालमा भने चाँद कुवर भनिने ती महारानी एघार वर्ष जति नेपालमा बसेकी थिइन्| महाराज रणजित सिंहकी महारानी तथा कोहिनूर हिराकी वास्तविक स्वामिनीलाई जंग बहादुर राणाले अंग्रेजको दबाव झेलेर पनि नेपालमा शरण दिएका थिए |थापाथलीमा उनको बस्ने प्रबन्ध मिलाई गुरुद्वारा बनाउने अनुमति दिइएको थियो|  साथै ती महारानीले आफ्नै खर्चले थापाथलीमा लक्ष्मी नारायण मन्दिर बनाउन लगाएकी थिइन्|अंग्रेजले उनलाई सुम्पन माग गर्दा हिन्दू धर्ममा शरणको मरण गर्ने विधान नभएको र त्यसरी सुम्पनु हिन्दू धर्ममा अपराध हुने भनी  अंग्रेजलाई जबाफ दिइएको थियो| (श्री ३ हरुको तथ्य वृतान्त: पुरुषोत्तमशमशेर जबरा भाग १ पृष्ठ ५६)
     भारत स्वतन्त्र हुनुभन्दा पाँच बर्ष पहिले राम मनोहर लोहिया र जय प्रकाश नारायण हजारिवाग कारागारबाट भागेर नेपालको हनुमाननगर आई लुकेर बसेको देखिन्छ|संकटका बेला नेपाल र नेपाली जनताले शरण दिएको कारण नेपाल र नेपाली प्रति उहाहरु संवेदशील हुनुहुन्थ्यो| (मेरो कथाका पानाहरु, खण्ड १, गणेशमान सिंह पृष्ठ २८८)
    नेपालले हैदरावाद, पाकिस्तान र काश्मिरसंग भारतको झगडा भएमा सो दमन गर्न बिना शर्त दश व्रिगेड नेपाली सेना भारत सरकारको सहायतार्थ पठाएको थियो| यी नेपाली सैनिक २००५ साल साउन ७ गते भारततर्फ गई परिस्थिति सुध्रेकाले छिटै फर्केका थिए| (श्री ३ हरुको तथ्य वृतान्त पुरुषोत्तमशमशेर जबरा भाग-२ २०६२  पृष्ठ ३४७)
        मात्रिका बाबुलाई सरकार गठन गर्न दिने(२००८) ग्राण्ड डिजाइनको पटकथा दिल्लीमा तयार हुन्थ्यो र दुतावासले मन्चनको व्यवस्था मिलाउथ्यो| कलाकार नेपाली भए पनि निर्माता तथा निर्देशक थिए- नेहरु| ( मेरो कथाका पानाहरु खण्ड ३ पृष्ठ २७५)
    पण्डित नेहरुजीले राजालाई बीपी कोइरालालाई प्रधानमन्त्री बनाउनु भयो भने भारत सरकारलाई नेपाल सरकारसंग मिलेर काम गर्न र सहयोग गर्न अप्ठेरो हुनेछ भनेर पत्र लेखेका रहेछन्|सुबर्णजी, किशुनजी र सूर्यबाबु त्यो पत्र हेर्न दरवार जानु भयो|राजाले पनि बेहिचक उनीहरुलाई सो पत्र देखाए| त्यो पत्रको मजबुन ठीक त्यस्तै थियो| यो २००८ साल कार्तिकको घटना हो| (मेरो कथाका पानाहरु(खण्ड ३ पृष्ठ २५१-२५२)
         दिल्लीमा हामीहरु तथाकथित त्रिपक्षीय सम्मेलनका नाममा आफ्ना मतभेदहरु सुल्झाउन एउटै टेबलमा कहिलै बसेनौ| त्यस क्रममा भारत सरकारका प्रतिनिधिहरुले नै राणा तर्फको धारणा हामीलाई बताउथे| राजा त अन्तिम कार्य हुँदासम्म तस्वीर मै थिएनन्|( यम पि कोइराला: अ रोल इन रिभोलुसन पृष्ठ १७६)
    नेपालमा सि पि यन सिंह राजदूत भएका समयमा भारतीय हस्तक्षेप उचाइमा थियो र जताततै हस्तक्षेप गर्न शुरु गरिएको थियो| राजाका निजी सचिव भारतीय थिए| मन्त्रिपरिषदका बैठकमा नियमित रुपमा भारतीय प्रतिनिधि उपस्थित हुन्थे|मिलिटरी मिसन (नेपालमा) एकदमै मन पराइएको थिएन| बीपी कोइरालाले त राजदूत सि पि यन सिंहलाई नेपालका आन्तरिक मामिलामा अत्यधिक घुसपैठ(मेड्लिंग) गरेको आरोप नै लगाएका थिए|त्यसको जबाफमा राजदूतले हामी आफ्नो सुरक्षाको हितको लागि नेपालको राजनीतिक र आर्थिक बिकास बारे पूर्णतः अलग रहन सक्दैनौ भन्दथे| भारत बेलायतबाट स्वतन्त्र भएपनि त्यसबेला भारतले बेलायतले लागु गरेको नीतिलाई बिना फेरबदल निरन्तरता दिएको थियो|कतिपय आन्तरिक कारणले गर्दा भारत सरकारले भारत-नेपाल सम्बन्धमा  उपयुक्त सोंच बिकास गर्न सकेको थिएन| १९५०को सन्धि पनि १९२३ मा राणा र साम्राज्यवादी अंग्रेज बीच भएको सन्धिको प्रतिलिपि जस्तै थियो| १९५० को सन्धिले नेपालीहरुको दिमागमा निकै असन्तोष (इरिटेसन) पैदा गरेको थियो|( बीपी कोइराला लाइफ एण्ड टाइम्स् : किरण मिश्र १९९४ पृष्ठ १२६)
    फणीश्वरनाथ रेणु “नेपाली क्रान्ति” कथा नामक पुस्तकमा लेख्छन्- नेपालीहरुको मनमा भारत र भारतीय प्रति अनादिदेखि नै केही तीतो र मैलोपन रहँदै आएको हो| भारतीयहरु नेपालप्रति केही हेयदृष्टि राख्ने गर्छन्|(२०६१ पृष्ठ १०३) सो कृति अनुसार भारतीय नागरिक डा. कुलदीप झा २००७ सालको क्रान्तिका स्थानीय कमान्डर थिए र उनी पूर्वको कुनै मोर्चामा नेपालको प्रजातन्त्रको लागि लड्दा लड्दै गोली लागेर मारिएका थिए|  
      नेपालका विश्वेश्वरप्रसाद कोइराला र राजेन्द्रप्रसाद (पछि भारतका राष्ट्रपति) पटना कारागारमा ६ महिना र पछि हजारिबाग जेलमा संगै बसेका थिए|( मेरो जीवन असफल भएन,२०७१,पृष्ठ २३)
     हामीले भारत सरकारका प्रशासकहरुलाई हाम्रो दैनिक काममा हस्तक्षेप गर्ने छुट दिन हुँदैन| खासगरी हामीले हाम्रो प्रशासनमा सिपिएन सिंहलाई दखल दिने छुट दिन हुँदैन| (मेरो जीवन असफल भएन: बीपी कोइराला पृष्ठ १०१)
     भारतले दबाब नदिएसम्म राणाले संझौता गर्दैनन् भन्ने प्रभाव हामीलाई र जवाहरलाल नेहरुले दबाब नदिएसम्म हामी पनि एक इन्च पछि सर्दैनौ भन्ने भान राणालाई परेको थियो |(ऐजन पृष्ठ ७९)
     भारतमा संकटकाल लागु भएका बखत डा. सुव्रमन्ह्यम स्वामीले त्यहाँको संसदमा लोकतन्त्र पनि मरेको छ त्यसको लागि पनि श्रद्धाञ्जली दिनुपर्ने भावको वक्तव्य दिए पछि तत्कालीन महाराजधिराज श्री ५ वीरेन्द्रको सहयोग लिएको र नेपाल हुँदै तेस्रो देश पुगेको बताउने गरेको देखिन्छ|

       नेपाल अन्तर्राष्ट्रिय कानून अनुसार भूपरिवेष्ठित मुलुक भएपनि व्यवहारमा यो भारतवेष्ठित राज्य हो|  किनकि चीन भौगोलिक रुपमा टाढा तट भएको तटवर्ती देश हो | चीनका तटको प्रयोग गर्नु नेपाललाई तुलनात्मक रुपमा बढी खर्चिलो र सामान्य अवस्थामा अव्यवहारिक हुनसक्छ|
समन्वय
      १. नेपाल भारत बीच कतिपय ठाउँमा सीमा समस्या छन्| ती समस्याको समाधान छिटोभन्दा छिटो गर्न जरुरी छ|
      २. बेलाबेलामा भारतीय सीमा सुरक्षा बलले सीमा स्तम्भ सार्ने गरेका कुरा सार्वजनिक हुने गरेका छन्| नेपाल भारतको सीमा सम्बन्ध भारत पाकिस्तान वा भारत चीन जस्तो भने होइन| नेपालको सीमातर्फ खटिदा सीमा सुरक्षा बललाई उता कै मोड र मुडमा खटाउदा समस्या उत्पन्न हुनसक्छ| तसर्थ बल प्रयोग नगर्न र अमर्यादित व्यवहार नगर्न अभिमुखीकरण तालिम दिएर खटाउन उपयुक्त हुनेछ|
     ३.सीमामा स्तम्भ सार्ने काम नजिकका जग्गाधनीले जग्गाको क्षेत्रफ़ल बढाउन पनि गर्न सक्छन् | सीमामा तत्काल कुनै समस्या भएमा यथास्थितिमा राखी यसको सूचना दुवै तर्फका सुरक्षा बलले प्रशासनलाई दिने र प्रशासनिक र कुटनीतिक माध्यमबाट प्रमाणका आधारमा समाधान गर्ने व्यबस्था गर्न सकिन्छ| यसकोलागि हटलाइन बनाउन सकिन्छ| 
     ४.नेपालको हित विपरित बीच पटकपटक सीमा अवरोध भएपनि नेपाल र भारत बीच खुला सीमा रहेकोछ| भारत नेपालको नजिकको र व्यवहारिक तटवर्ती मुलुक हो| समुद्रसम्म पुग्न पाउने नेपालको प्राकृतिक,परम्परागत र अन्तर्राष्ट्रिय कानूनी अधिकार हो| एउटा ठूलो तथा समान सभ्यता र संस्कृति एवं मूलतः समान आस्था राख्ने जनता भएको मुलुकले नेपालको पारवहन हकलाई प्राविधिक रुपमा भन्दा असल छिमेकीको रुपमा हेर्न जरुरी छ| कोशी संझौता लामो समयकालागि गरेका मुलुकहरुले पारवहन संझौतालाई ब्यापार संझौतासंग जोडेर छोटोछोटो नगरी लामो अवधिका लागि गर्न तैयार हुनुपर्छ|  
    ५. नेपालका नदी भारत तर्फ बग्दछन् र नेपाल उपल्लो तटीय राज्य हो| भारतले माथिल्लो तटीय राज्यको रुपमा बंगलादेशलाई जे दिन चाहन्छ नेपालसंग पनि त्यही अपेक्षा गर्नुपर्ने हुन्छ| हित्त चित्त मिलेर लेनदेन हुनु आफ्नो ठाउमा छदैछ|
   ६.नेपालको पशुपतिमा भारतीय नागरिक र काँशी विश्वनाथ मन्दिरमा नेपाली नागरिक पूजारी हुन्छन्| नेपाली र भारतीय तीर्थाटन गर्न नगई नहुने ठाउँ दुवै देशमा छन्| तसर्थ दुवै तिरका नागरिकलाई तीर्थाटनको लागि सुबिधा पुर्याउन आवश्यक प्रबन्ध मिलाएर सम्बन्ध जनस्तरमा पुर्याउन सकिन्छ|
    ७. नेपाल र भारतले आ आफ्नो देशमा रहेका समान  सभ्यता, संस्कृति र सभ्यताको जगेर्ना गर्न साथ मिलेर काम गर्न सक्छन्| साथै त्यसमा खलल पार्न तल्लिन परचक्रीका क्रियाकलाप बारे सूचना आदानप्रदान गर्न र आपसी सहयोग बिस्तार गर्न सक्छन्|
    ८.नेपाल र भारत बीचको व्यापारमा ठूलो असंतुलन छ| नेपाल जस्तो सानो अर्थ व्यवस्था भएको मुलुक यस्तो असन्तुलन खप्न सक्ने अवस्था हुदैन| तसर्थ यो असन्तुलन कम गर्न भारतले नेपाललाई उदारता देखाउन सक्छ| यो उदारता भारतका जस्तो ठूलो अर्थ व्यवस्थाका लागि क्षमताविहिन दायित्व पनि हुदैन|
  ९.भारतीय सेनामा नेपाली नागरिक संगठित रुपमा भर्ति गरिने कार्य अझै निरन्तर छ| नेपालमा  भारतीय पेन्शन पाउने कैयौ व्यक्ति छन्| भारत डिजिटल इण्डिया र इ बैंकिंगको युगमा प्रवेश गरी सकेको छ| नेपालमा भारतीय बैंकको लगानी रहेका बैंक पनि छन्| पारस्परिकताका आधारमा नेपाली बैंक भारतमा खोल्न बाधा हुनुपर्ने कारण  छैन| नेपाल र भारत बीच उन्नत बैंक व्यवस्था हुँदा हुँदै पनि सोल्जर्स बोर्ड राखी पेन्शन भुक्तानी गर्ने गरिएको छ | अब उप्रान्त पेन्शन रकम सिधै पेन्शनधारीको खातामा जम्मा हुने व्यवस्था मिलाउन सकिन्छ| यसो गर्नु मितव्ययी पनि हुन्छ|
   १०.भारतीय दुतावासले पाँच करोडसम्मका योजना दुतावास मार्फत चलाउने कार्य गर्दै आएको छ| यस्ता  कार्य गर्न नेपाल अक्षम भन्ने पनि होइन र दुतावासको काम परियोजना संचालन गर्नु पनि होइन| यो संझौता सार्वजनिक भएको पनि थाहा छैन| यद्दपि कतिपय पश्चिमा देशका दुतावास र राष्ट्र संघीय निकायले पनि यस्ता गैरकुटनीतिक काम गर्दै आएका छन्| नेपालको संविधानको धारा ५१(घ)(११) ले यस्तो सिधै खर्च गर्न र त्यसो गर्न दिन निषेध गरेको छ| तसर्थ नेपाल सरकार,भारतीय लगायत सबै दुतावास र राष्ट्र संघले पनि नेपालको संविधानको मर्यादा राख्नैपर्छ| नेपालले सम्बद्ध सबै निकाय र दुतावासलाई यसबारे पत्राचार गर्न आवश्यक छ|
  ११.सीमा जोडिएको, खुला सीमाना भएको र सभ्यतामूलक सम्बन्ध भएको भारत र नेपाल बीच जुन लेनदेन हुन्छ अन्य  मुलुकले पनि सोही व्यवहार आफुसंग गर्नुपर्ने माग राख्ने गरेको पाइन्छ| कहिले काहिँ अरु मुलुकलाई नेपालले दिन नसक्ने सुबिधा नेपालले भारतलाई दिन गाह्रो पर्न जाने हुन सक्छ| यस बारे पनि भारतले संवेदनशीलता देखाउन जरुरी हुनसक्छ|
    १२.नेपालमा भारत लगायत प्राय: दाता राष्ट्रका राजदूत र दुतावासका कर्मचारीले प्रोटोकल मिचेर भेटघाट गर्ने र अनौपचारिक तबरबाट कुरो टुंगाउने प्रयत्न गर्छन्| भारतीय राजदूतले त ओहोदाको प्रमाणपत्र प्रस्तुत नगर्दै भेटघाट गर्ने गरेका कुरा पनि सार्वजनिक हुने गरेका छन्| तसर्थ कुटनीतिक भेटघाटलाई मर्यादित बनाउन प्रथमत: नेपालले नै प्रयास गर्नुपर्छ| भारतीय राजदूतले यसलाई गम्भीरतापूर्वक लिए अरु सबै मुलुकबाट हुने कुटनीतिक मर्यादा विपरितका कार्य रोक्न नेपाललाई सजिलो हुने निश्चित छ|
   १३. भारत र इण्डिया अब देखिने गरी फरक छन्| इण्डिया पश्चिमा लबीका एजेन्डामा काम गर्छ| उनीहरु र पश्चिमा नेपाललाई मुलत: उही चश्माबाट हेर्छन्| भारत आफ्नो परम्परा र सभ्यता मासिन पनि नदिने र सो मास्न उद्दत इन्डियन र त्यहाँ कार्यरत पश्चिमा गैरसरकारी संस्थालाई नियमन र नियन्त्रण गर्ने धारणा राख्छ| इन्डियनहरु त्यहाँको समाजका सबै खराबीको दोष भारतीय सभ्यतालाई दिने पश्चिमका धेरै कुरामा समर्थन जनाउछन्| इन्डियनहरु पश्चिमाले लेखिदिएको वा लेखाएको इतिहास,समाजशास्त्र र मानवशास्त्रलाई नै एकल सत्य ठान्दछन्| उनीहरुले विदेशीले गलत अनुवाद गराएका प्राचीन शास्त्रका माध्यमबाट आर्यवर्तमा सदैव शोषण र अत्याचार थियो र त्यहाँका मानिस अझै पनि असभ्य छन् भन्ने मान्दछन्| तसर्थ भारतले इन्डियनलाई र नेपालले त्यस्ताका नेपाली फौबन्जारलाई एक अर्काको विरुद्ध केही गर्न दिन रोक्नुपर्छ|  
   १४.  नेपाल र भारत दुबैले एक अर्काको भूमि एकअर्काको हित विपरित प्रयोग गर्न दिन हुँदैन|
निष्कर्ष
  सीमा खुला भएका र समान धार्मिक र सांस्कृतिक धरोहर भएका दुई मुलुक बीचको सम्बन्ध इतिहासबाट असल कुरा सिक्दै र तितोपन मेट्दै अगाडी बढ्न जरुरी छ| सीमा समस्या समाधान गर्न विलम्ब गर्न हुदैन| सीमा स्तम्भको पवित्रता कायम राख्नु पर्छ| सीमा अवरोध अब दोहोरिनु हुँदैन| दुतावास कुटनीतिक सीमामा बस्नुपर्छ| नेपाल आकार र आर्थिक अवस्थाका कारण दण्डित हुनु हुँदैन| दुवै देशको भूमि एक अर्काका हित विपरित प्रयोग हुन दिन हुदैन| व्यापार असन्तुलन असह्य अवस्थामा आउन दिन हुँदैन| समस्या परे तत्काल समाधान गर्न हटलाइन सम्पर्क राख्न सकिन्छ| दुवै देशले एक अर्काका सरोकारलाई सक्दो सम्बोधन गर्नुपर्छ| किनकि छिमेकी बदल्न सकिदैन तर व्यवहार भने अवश्य बदल्न सकिन्छ| सम्बन्धलाई उचाइमा पुर्याउन खुला सिमा जस्तै मन पनि खुला  र दुबैतिरका तीर्थस्थल जत्तिकै पवित्र पनि हुनुपर्छ|




No comments:

Post a Comment