संबिधान निर्माणमा बिदेशी दवाब,प्रभाव र सुझाव ?
= अधिवक्ता मोहन
बन्जाडे
प्रवेश
संबिधानको
प्रस्तावनाको सुरुमा संविधानको स्रोतको बैधानिकताको लागि “हामी ...जनता” भनी
उल्लेख गर्ने चलन छ| उपनिवेशको अन्याय, अत्याचार र अतिकर ( gross injustice, atrocities and
excessive tax) बाट मुक्ति पाएका
अमेरिकीहरुले संबिधान आफैले बनाएकाले त्यो शब्द प्रयोग गरे | त्यही पीडाबाट
गुज्रेको भारतमा पनि प्रस्तावनाको शुरुमा त्यही लवज छ | फरक के भने अहिले
अमेरिकीहरु छुट्टै अंग्रेजी चलाउछन् तर भारतमा बेलायती अंग्रेजी नै चल्छ | गोरा
जातिको नारकीय अन्यायबाट पिडित दक्षीण
अफ्रिकीहरु संविधान निर्माणमा बिदेशी चलखेल रोक्न सफल भएको बताउछन| नेपालसम्म आइपुग्दा संबिधानको प्रस्तावनामा “
हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता” लेखियो | के नेपालको संबिधान बिदेशी दवाब
प्रभाव र अनिच्छित सुझावबाट मुक्त रह्यो त ?
यो प्रश्नको उत्तर दिन सक्ने र दिनुपर्नेहरु प्रस्तावनामा
उल्लिखित ती आम जनता होइनन् | जनता त उत्तर खोज्ने कोटिमा पर्छन् | संबिधानमा बिदेशी दवाव ,प्रभाव र सुझाव के कस्तो रह्यो त्यो कुरा निर्माणमा सम्बद्धहरुले
कुनै दिन इमान धर्म सम्झी सत्य बताएछन भने बाहिर आउला ? नत्र संबिधान निर्माण
कालमा नेपालमा खर्च गरिएको भनिएको ठुलो धन राशी , बिदेशी संस्था र व्यक्तिहरुको
चहलपहल , उनीहरुले प्रवेश गराउन खोजेका र प्रवेश गराएका उनीहरुका मूल्य प्रणाली , उनीहरुले कार्यालय खोलाएर
प्रयोग गरी राखेका उनीहरुकै मानिसहरुका क्रियाकलाप र उनीहरुबाट दीक्षित केही
नेपाली नागरिकताबाहकका बोली ,ब्यबहार र क्रियाकलापले केही अनुमान गर्न सक्ने बनाउछ
| यस्तै संबिधानमा प्रयोग गरीएका, प्रयोग गर्न दवाब दिइएका र दवाव दिन खोज्दा प्रतिरोध भएका बिषयलाई एकतृत गर्न सकिए थप तथ्य
बाहिर आउन सक्ला ? मोहित नभएका तर नजिक पर्ने मौका पाएकाहरुले पनि केही तथ्य
प्रस्ट पार्न सक्छन | अझ सो कामका लागि प्रयोग
गरिएका मानिसहरुमा अरु मोहहरु भंग भई कुनै
दिन राष्ट्र र राष्ट्रियता नै सर्वोच्च हो भन्ने भावना पलाएमा वास्तविक तथ्य नै बाहिर
आउन सक्नेछ | हामी अहिले ती रत्नाकरहरु वाल्मिकी बन्ने सोचमा आउन भन्ने कामना
मात्र गर्न सक्छौं | यस आलेखमा बर्तमान
संबिधानको अनुहार पढेर मात्र के अर्थ गर्न सकिने रहेछ त्यो मात्र चर्चा गरिने छ |
अन्तर्य भने नव जिम्मावाल साहेबहरुले अन्तर्मनबाट
अरु भक्ति त्यागी देशभक्ति खुलाएको दिनमा
मात्र बाहिर आउला | हामी त्यो दिन पनि कुरी बसौ|
नाम र प्रस्तावना
नेपालका आजसम्मका
सबै संबिधान र ऐन नियमहरुमा साल उल्लेख गर्ने प्रचलन थियो | यो संविधानले त्यो मेटयो| पुराना संबिधानमा साल लेखेका कारण
ती संबिधान दिगो हुन नसकेको भन्ने तर्क सुन्नमा आयो | तर अन्तर्य थाहा पाउनेहरुले
साल लेख्ने भए दाताहरुले प्रयोग गर्ने गरेको साल लेख्नु पर्ने भन्ने कुरा उठाउन
लगाइयो | त्यो नभए अर्को कुनै सम्बत लेख्नु पर्ने भन्ने कुरा उठ्यो वा उठाइयो |
त्यो दोहोरी तेहेरिमा परे पछि विक्रम सम्बत लेखिएन भन्ने कुरा बाहिर आएको छ | तर
सम्क्षिप्त नामबाट साल गायव भए पनि प्रारम्भ हुने मिति भने बिक्रम सम्बत मै लेखियो
| (धारा ३०७) यस्तो कुरा दवाव,प्रभाव र सुझाव के हुन्छ ?
संविधानको
प्रस्तावना लगायत ठाउ ठाउमा स्वाधीनता शव्द उल्लेख छ | नेपाल संविधानले जन्माएको
मुलुक होइन र थिएन | यो बिगतमा मूलतः आफै ६ वटा संबिधान लेखेको मुलुक हो | कम्तिमा
पराईहरुको दवाव र प्रभाव यस रुपमा परेको अवश्य होइन| किनकि ती संबिधान बन्दा यति
धेरै अन्तराष्ट्रिय गैरसरकारी संस्था थिएनन् , यति धेरै चलखेल भएको भन्ने सामाग्री
प्राप्त छैनन् र बानेश्वरको ओरालोमा अड्डा
खोलेर बसेको जस्तो सुचना पनि सार्वजनिक छैन | नेपाल कहिलै पराधीन थिएन |
पराधीनताको अस्वीकार गर्दा सिन्धुलीगढी ,मकवानपुर ,बटौली र नालापानीमा प्रत्यक्ष लडेको थियो | सार्वभौमसत्तासम्पन्न र स्वतन्त्र
रहदै आएको विश्वका पुराना राष्ट्रलाई स्वाधीनता दिइएको छ| के नेपाल तिब्बत वा
काश्मिर जस्तो हो र ?
प्रस्तावनाले
नेपालको इतिहासलाई एक अर्थमा श्रापित गर्ने काम गरेको छ ,इतिहास प्रति कृतघ्नता र
क्रुरता पनि देखाएको छ | संसारका मै हु भन्ने देशमा पनि राम्रा नराम्रा अनेक कुरा
इतिहासमा भए गरिएको थियो | उनीहरुले आफ्ना संबिधानमा इतिहासलाई सरापेको देखिदैन | बिगतमा काला जाति माथि ती देशमा के कस्ता घोर
अन्याय भए ? यहा सम्मकि दार्जलिङ्गमा पनि कुकुर र भारतीयहरुलाई प्रवेश निषेध
गरिएका ठाउँ थिए | उताको त कुरै छोडौ |अष्ट्रेलीयामा त्यहाका आदिबासीको बंश समाप्त
पार्न राज्यले उनीहरुका सन्तान छिनेको कति बर्ष भयो र ?अझै पनि त्यहाको संबिधानमा
खास जातिका (रेस) मानिसहरुलाई मताधिकारबाट बंचित गर्न सकिने र त्यस्तो व्यक्तिको
गणना नहुने गरी कानून बनाउन सकिने संबैधानिक व्यवस्था छ (धारा २५ ) | १९६९ मा
अमेरिकी सर्वोच्च अदालतले “अमेरिकी संबिधान रंगका दृष्टिले अन्धो छ “ नभन्दासम्म
त्यहाँ पनि जातीय विभेदको जगजगी देखिन्छ | तर पराइ उक्साहटमा लागेर हामीले इतिहास धिकार्यौ|
यो हाम्रा सबै कुरा खराब छन् भनी उनीहरु मध्येका केहीले हामी मध्येका केहीको
मतिभ्रष्ट गर्ने षड्यन्त्रको एक रुप त होइन? नेपालीहरूलाई हाम्रा मूल्य प्रणाली ,हाम्रा
व्यवस्था ,हाम्रो सरकार ,हाम्रा नीति र हाम्रा नेता सबै खराब छन् ,उनीहरुका सब ठीक
छन् भनी हामीमा भ्रम ,कुण्ठा र घृणा पैदा गरी आफ्नो मह र मोहजालमा पार्ने खेल हो
भनी किन नबुझ्ने? यो हामीहरु हामी प्रति अविश्वास गरौ तर उनीहरु वा उनीहरुका
अनुचरलाई राज्यका ठाउ ठाउ र क्रियाकलापमा सामेल गराउने उपाय हो भनी किन अर्थ नगर्ने ? यस्तै प्रस्तावनाले
एकात्मक ब्यबस्थालाई विभेद र उत्पीडनको स्रोत मानेको छ| संसारमा संघात्मक भन्दा
एकात्मक देशको संख्या निकै धेरै छ | के ती सबै एकात्मक देश विभेद र उत्पीडनका कारण
र स्रोत हुन् र ?
प्रारम्भिक
संविधानको धारा ४ को उपधारा (१) मा नेपाललाई
धर्म निरपेक्ष राज्य भनिएको छ | २०४७ सालमा पराई संस्थाको संख्या र प्रभाव कम भएको
र विश्वनाथ उपाध्यायजस्ता व्यक्तित्वको नेतृत्वमा संबिधान बनेकाले पराई संस्थाको
प्रभाव पर्न सकेन | फलत: सामाजिक र सांस्कृतिक रुपमा नेपाललाई आफ्नो क्रिडास्थल र केही
नेपालीलाई औजार बनाई प्रयोगगर्ने अन्तरंग सोंच कार्यान्वित हुन सकेन | पछि पराई
संस्थाको संख्या पनि बढ्दै गयो , प्रभाव पनि बढ्यो र औजार पनि बढे| संसद्को घोषणासम्म
आउदा सरकारले के प्रस्ताव गर्यो र संसदबाट
के के कसरी थपेर किन पारित गरियो भन्ने बारे केही कुरा पछि मात्र बाहिर आएको छ |
सरकारको प्रस्ताव सरकार र संसद सचिवालयमा हुनै पर्दछ |
दोस्रो संबिधान
सभाले जनमत बुझ्दा कति प्रतिशत जनताले धर्मनिरपेक्ष भने र कतिले केही नलेख्ने भने
वा कतिले अमुक राज्य बनाउन सूझाव दिए त्यसको विवरण एक दिन सार्वजनिक हुने नै छ र
यसको वैधानिकताको पनि चर्चा हुने नै छ| संबिधान जनताका नोकरले नभई जनताले नै
बनाउने हुदा जनमत विरुद्ध जाने अख्तियारी जनप्रतिनिधिलाई हुदैन | यदि धर्म
निरपेक्षता बहुमत जनमतको सुझाव होइन भने कसको दबाब र प्रभाव हो तथा त्यसको प्रकृति के र मात्रा कति हो ? यदि जनमत बिरुद्ध गएको हो भने सुझाव मात्रका
भरमा त जनमत विपरित पक्कै गईएन होला | जनमत त्यही हो भने स्पस्टीकरण किन लेखियो त
? के स्पस्टीकरण फेरि अर्को स्थानको दबाब ,प्रभाव वा सुझाव हो वा जनमतको कदर?
धर्म निरपेक्षता अंग्रेजी शव्दको गलत नेपाली
अनुवाद हो | सेकुलारिज्म पादरी र राजाको संयुक्त निरंकुशता र अन्यायबाट जनतालाई
बचाउन राज्यलाई रिलिजनबाट अलग गर्ने उपाय
थियो | धर्म र रिलिजन फरक कुरा हुन् | धर्म भनेको धारण गर्न योग्य कुरा हो | यो
जीवन पद्धति हो | धर्म भित्र न्याय ,सत्य ,कर्तव्य,प्रकृति र आस्था प्रणाली समेत
समाहित हुन्छ| आयुर्वेदको उपचार प्रणाली,कौटिल्यको राज्य पद्धति. नारद र
याज्ञवाल्क्यको कानुनी व्यवस्था र न्याय प्रणाली.जैमिनीको मिमांशा वा कानुन
व्याख्याका नियम ,गौतमको न्यायशास्त्र. पाणिनीको व्याकरणदेखि गणितीय ज्योतिष लगायत ज्ञान, विज्ञान,कर्म,
साहित्य, कला ,संगीतका विधा पनि धर्मका अंग हुन् | किनकि ती धारण गर्न योग्य हुन् र धर्मशास्त्रमा
उल्लेख छन् |साथै आस्था,भक्ति र बिश्वास
पनि यसका अंग हुन् | यसको सूची अझ लामो हुन्छ | यो रिलिजन जस्तो विश्वास
प्रणाली मात्र होइन | यो एकल पुस्तकमा
मात्र आधारित छैन | यसैले राज्य प्रणाली सेकुलर हुन सक्छ धर्म निरपेक्ष हुन सम्भव
हुदैन | यो धर्मलाई अनुवाद गर्दा रिलिजन भनेकाले उत्पन्न भएको समस्या हो | कतिपयले
धर्मलाई अफिम मान्दछन| तर जसले यसो भने उनले धर्म शास्त्र पढेर होइन रिलिजनको तत्कालीन
करामत देखेर भनेका होलान् |
धर्म निरपेक्षतको
कुरा गर्दा नर्बे, डेनमार्क र स्वीडेनको संबिधानका रिलिजन सम्बन्धी व्यवस्था बारे छोटो जानकारी जरुरी हुन्छ | नर्बेको मूल्य
प्रणाली खास बिश्वास प्रणालीमा आधारित छ (धारा २),राजा रिलिजनको खास मतको हुनुपर्छ
(धारा ४) | नर्बेको खास राज्य रिलिजन छ र त्यसलाई पनि अरुलाई जस्तै राज्यको समर्थन
प्राप्त हुन्छ (धारा १६)| राजाको उत्तराधिकारी हुनेले राजाको सहमति बिना बिबाह
गर्न पाउदैन (धारा ३६ ) डेनमार्कको संविधानको धारा ४ अनुसार डेनमार्क पनि खास
रिलिजनको खास मतलाई राज्यको रिलिजनको रुपमा स्वीकार गर्दछ र त्यसको समर्थन
राज्यबाट गरिन्छ | धारा ६ अनुसार
डेनमार्कको राजा खास रिलिजनको खास मत मान्ने व्यक्ति हुनु पर्दछ | धारा ६६ अनुसार
त्यहाको राज्य समर्थित मत सम्बन्धी रिलिजियस संस्थाको बिधान त्यहाको विधायिकाले
बनाउछ | धारा ६९ अनुसार राज्य समर्थित रिलिजियस मतसंग फरक धारणा राख्ने मत
सम्बन्धी नियम ऐनबाट तय हुन्छ | स्वीडेनको संविधानले बिदेशी नागरिकमाथि अधिकार र
स्वतन्त्रता सिमित गर्न सकिने व्यवस्थाको लामो सूचीमा धर्म सम्बन्धी स्वतन्त्रता
पनि राखेको छ | (परिच्छेद २ -२५) स्वीडेनको संबिधानमा पनि खास रिलिजियस संस्थाको
सिद्धान्त बारे ऐनबाट तय गरिने कुरा परिच्छेद ८ को धारा २ मा उल्लेख छ |
बेलायतमा
हाउस अफ लर्ड्समा रिलिजनको पनि प्रतिनिधित्व हुन्छ | त्यहाकी रानी खास मतको
हुनुपर्ने मानिन्छ | त्यहाँका प्रधानमन्त्री बन्न एक जनाले मत परिवर्तन गरेको र
पदबाट मुक्त भए पछि पुरानै मतमा फर्केको चर्चामा आएको थियो | यसरी जुन देशका पराई
संस्था नेपालको सामाजिक र सांस्कृतिक जीवनमा
प्रभाव पार्न चाहन्छन ती देशका संबिधान कति धर्म निरपेक्ष छन् त ? त्यस्ता देशका
नागरिकले अन्तराष्ट्रिय गैरसरकारी संस्थाको नाममा काम गर्दा आफ्नो देशको संविधानले
तय गरेको मत वा सम्प्रदायको निम्ति दवाब,प्रभाव पारेनन् होला त ? कि सुझावमा नै
चित्त बुझाए ? वा नेपालमा कार्यरत पराई संस्था रिलिजन निस्पृह (एथिस्ट) वा साच्चै
सेकुलर व्यक्तिहरुबाट संचालित हुन् ? वा यहाँ आएका ती संस्थामा कार्यरत व्यक्ति
एथिस्ट मात्रै वा साँच्चै सेकुलर छन् ?
नेपालको संविधानको धारा ४(१) को स्पस्टीकरणमा
धर्म निरपेक्ष भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षण लगायत
धार्मिक,सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भनिएको छ | यो स्पष्टीकरण लेख्नु पर्ने
अवस्था किन आयो त्यसको चर्चा हुदै गर्ला | पराई संस्था र तिनको लागि मन र मत मिलाई काम गर्नेहरुको प्रतिक्रिया
यो स्पष्टीकरणका बारेमा के होला ? ती पनि सार्वजनिक हुदै गर्लान् | रहस्य खोल्ने
देशभक्त निस्कलान कुनै दिन | जेहोस् ,छिमेकमा अर्कै राजनीतिक परिस्थिति हुदा
संसद्को घोषणा र अन्तरिम संबिधानमा यस्तो स्पस्टीकरण लेख्न आवश्यक रहेन | के
त्यसबेला पराई संस्था हावी थिए र अहिले वातावरण दुइ ध्रुबीय भएको हो ? यसको जवाफका
लागि पनि वाल्मिकी कै प्रतिक्षा गरौ |
पहिले नेपाली भाषालाई राष्ट्र भाषा भनी
संबिधानमा लेख्ने गरिन्थ्यो | यसपाली नेपाली सरकारी कामकाजको भाषा त रह्यो | तर
यसलाई राष्ट्रिय भाषा भनिएन | भारतमा मेकैलिले आफ्नो प्रभावका लागि भाषा संस्कृति
र शिक्षामा आक्रमण गर्नु पर्ने बताएकाले त्यही ज्ञान यहाँ दिइएको त होइन ? देवनागरी लिपिमा भएकाले केही
पराइलाई देवसँग आपत्ति भएको त होइन ? वा नेपाली भाषा सुदुर पश्चिमान्चलको सिंजा
क्षेत्रबाट बिकसित भएकाले यो भाषालाई राष्ट्र भाषा भन्न उपयुक्त मानिएन ? वा पराई
संस्थामा नोकरीका लागि आह्वान गर्दा प्रोत्साहित नगरिनेहरुले बढी बोल्ने हुँदा यसो
गर्नु परेको हो ?
मौलिक हक र कर्तव्य
यो शीर्षक बारे चर्चा गर्न धेरै मसी खर्च गर्न
सकिन्छ | तर यहाँ सांकेतिक चर्चा मात्र गरिने छ | मौलिक हक नागरिक, व्यक्ति ,मानिस
र आवश्यक परे समुदायलाई प्रदान गर्ने गरिन्छ |अमेरिकी संबिधान यसको उदाहरण हो |
सकारात्मक विभेद, आरक्षण आदिको आफ्नै पक्ष विपक्ष हुन सक्छ ,त्यसको चर्चा यो लेखको
क्षेत्र होइन | यो शिर्षकमा नेपालीहरुलाई सकेसम्मको कित्ता कित्तामा विभाजन गरिएको
छ | अरु देशका मानिसहरुलाई कित्ता कित्तामा बाँड्नु उपनिवेशको चरित्र हुने गर्थ्यो
|
के मदेशी, पिछडा
बर्ग र दलित भनिएका सबै अनार्य हुन् ?
धारा १८ (३) को प्रतिबन्धात्मक वाक्यले त त्यही अर्थ दिन्छ ? त्यही जात थरका मानिस
भारतमा आर्य हुने तर नेपालमा आर्यको श्रेणीमा नपर्ने विभाजन गरिएको छ |
यो संबिधानमा धर्म,
संस्कृति, प्रथा, परम्परा, संस्कार र प्रचलन
बारे कतै नकारात्मक त कतै सकारात्मक रुपमा प्रस्तुत गरिएको छ | यी शब्द असल र खराब
दुवै हुने गरी ठाउँ ठाउँमा चर्चा छ | नकारात्मक रुपमा उल्लेख गर्दा अन्धविश्वास,
रुढी वा विकृति जस्ता शब्दको विकल्पको रुपमा प्रयोग गरिएको छ | यस मुलुक वा यसको
सेरोफेरोमा जन्मिएका ,बिकसित भएका र अत्यधिक मानिसहरुले मान्ने र सम्मान गर्ने
धर्म प्रति पराई संस्थाको दृष्टिकोण के
हुन्छ होला त ? यहाँका धर्म, प्रथा,परम्परा, संस्कार, प्रचलनलाई खराब देखाए
उनीहरुको प्रभाव बिस्तार सरल हुने हो |
स्मरण रहोस्,
संस्कृति खराब हुन सक्दैन र खराब कुरा संस्कृति हुनै सक्दैन | प्रथा, परम्परा र
प्रचलन कानुनका स्रोत हुन्छन् भन्ने विधिशास्त्रीय मान्यता छ | बेलायतमा कमन ल
भनिने यिनै प्रथा परम्परा हुन् | संस्कार
जन्म पुर्बदेखि मृत्यु पश्चात गरिने १२ वा १६ वटा उत्सव र कार्य हुन् | गर्भधारण,
जन्म , नामकरण ,अन्नप्राशन, विद्या आरम्भ, दाहसंस्कार र मृतक आफन्तको सम्झना र
सम्मान नै मूलतः संस्कार हुन् | रिलिजनका सबै कुरा ठिक र धर्मका सबै कुरा बेठिक
बनाउने पराई खेल त होइन ? एथिस्टहरुको धारणा भने इन्टरनेटमा आफ्नै खालको पाइन्छ |
नेपालको संविधानको
धारा २९ (२) ले धर्म,प्रथा ,परम्परा,संस्कार वा प्रचलनलाई शोषणको माध्यम मानेकोछ
|धारा ३८ (३) ले हिंसात्मक कार्य र शोषणको आधार बनाएको छ | धारा ३९ (६) ले दुर्व्यवहार,उपेक्षा
,शोषण र अनुचित प्रयोगको आधार मानेको छ |
यी धारामा धर्म, प्रथा, संस्कृति, संस्कार
आदिलाई दोष नदिइकन पनि अझ प्रभावकारी व्यवस्था गर्न सकिन्थ्यो | जस्तै :- (क ) धारा
२९ मा अगाडिका शव्द झिकेर “ कुनै पनि व्यक्तिलाई कुनै पनि किसिमले शोषण गर्न पाइने
छैन “ (ख) धारा ३८ (३) मा “महिला विरुद्ध कुनै पनि आधारमा कहिँ पनि कुनै पनि
किसिमको हिंसाजन्य कार्य ,शोषण र अपमानजनक ब्यबहार गर्न पाइने छैन | “ अर्थात्
धर्म, संस्कार, संस्कृति आदि जस्ता शब्द
नराखेर पनि उत्तम व्यवस्था गर्न सकिनेमा
यी शब्द राख्नै पर्ने किन भयो ? यो दबाब ,प्रभाव र सुझाव मध्य के होला ? यो
यहाका मानिसहरुमा आफ्ना कुरा प्रति घृणा,कुण्ठा ,वितृष्णा उत्पन्न गराई आफ्नो
पोल्टामा पार्ने दाउ हो भने राष्ट्रवादी नेपालीले वाल्मिकी पर्खेर मात्र होला र ?
यस्तै धर्मलाई धारा २६मा
अबलम्बन अभ्यास र संरक्षण गर्नु पर्ने विषय पनि भनिएको छ | यस्तै धारा ३२ ले
संस्कृति र सांस्कृतिक सभ्यताको संवर्द्धन
र संरक्षण गर्नुपर्ने मानेको छ | यसरी यी
धारा अनुसार संवर्द्धन र संरक्षण गरिनु
पर्ने बिषयलाई ती धारा अनुसार शोषण ,विभेद
र उत्पीडनका आधार बनाइएको देखिन्छ | धर्म संस्कृति आदिलाई कस्तो सन्दर्भमा ठिक र
कस्तोमा बेठिक भनिएको छ त्यसको चर्चा यहाँ
गरिएको छैन |
राज्यका निर्देशक सिद्धान्त,नीति
तथा दायित्व
संबिधानको धारा ५० (२) मा शुरुमा धर्म संस्कृति प्रथा आदिलाई विभेद शोषण र
अन्यायको आधार मान्दै खराब र पछि
सांस्कृतिक विविधताको सम्मान गर्ने कुरा छ | यहाँ संस्कृति प्रति दया गरिए पनि
धर्म ,प्रथा आदि प्रति भने त्यो दया देखाइएको छैन | धारा ५१ (क)(२)मा बिभिन्न धर्म
संस्कृतिलाई सकारात्मक रुपमा लिइएको छ | यस्तै सोही धाराको (ग)मा ४ ठाउमा सकारात्मक रुपमा र एक ठाउमा धर्म, प्रथा, परम्परा रीति र संस्कारलाई
नकारात्मक रुपमा लिइएको छ | धारा ५१ को (ज
) मा आयुर्वेदिक र प्राकृतिक चिकित्सालाई सकारात्मक रुपमा ग्रहण गरिएकोछ भने (ठ)मा
पनि धर्म र संस्कृतिलाई सकारात्मक रुपमा लिएको देखिन्छ |
संविधानको धारा ५१
को (ञ ) को (११) मा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको लगानी र भूमिकाको चर्चा
गर्दै तिनीहरुको स्थापना, संचालन ,नियमन र ब्यबस्थापन सम्बन्धी कुरा उठाईएको छ |
यसको सकारात्मक पक्ष भनेको अब पराई संस्था छाडा हुन पाउने छैनन् भन्ने हो | साथै
आवश्कता र प्राथमिकताको क्षेत्रमा मात्र आउन सक्ने हुदा च्याउ सरि हुने छैनन्
भन्ने पनि हो | तर पराई संस्थालाई संबिधानमा ठाउ दिनुपर्ने हुदैन | उनीहरुलाई
नीतिबाटै सम्बोधन गर्न सकिन्थ्यो ,ऐनबाट त
झन् नसकिने कुरै भएन | आबश्यकता र प्राथमिकताको क्षेत्रमा अनिवार्यता जस्तो गर्नु
पनि उचित थिएन | यस्तै ती पराई संस्था कदापि लगानीकर्ता होइनन् | उनीहरुमध्ये
धेरैले कस्तोमा के गर्न धन खर्च गर्छन्
त्यो रुचि राख्ने सबैले लगभग थाहा
पाइसकेको कुरा हो | सिस्नोले पोल्यो मन मन भने जस्तो मात्र हो | कसैलाई त्यो पोलाई
अहिले नै महसुस होला ,कसैले आफ्नोपन गुमाए पछि महसुस गर्लान् | संबिधानमा
उनीहरुलाई लगानीकर्ता भन्नु ठिक देखिदैन | उनीहरु मध्ये धेरै त प्रभाव विस्तारका
निम्ति खर्च गर्ने र दबाब सिर्जना गर्न स्थानीय प्राप्तकर्ता तैयार गरी उपयोग
गर्ने मध्येका हुन् | किनकि यस्ता अधिकांश संस्थाले भौतिक वा संरचना बिकास वा
विज्ञान प्रविधिको क्षेत्रमा खर्च गर्दैनन् | सामाजिक दुरी निर्माणमा खर्च
गर्छन्| यहाँ राम्रो बनाउन होइन कसैलाई आफ्नो बनाउन खर्च गर्छन्|
No comments:
Post a Comment