Wednesday, April 17, 2019


                             नेपालको इतिहास लेखनमा बैदेशिक हस्तक्षेप
                                         -मोहन बन्जाडे
केपुचिन पादरीहरु नेपाली जनतालाई शिक्षित र औषधीबाट रोगमुक्त गराउन आएका थिएनन्| उनीहरु इसाई धर्म प्रचार गरी नेपाली संस्कृति नास गरेर कमजोर बनाई युरोपीय व्यापारीहरुलाई घुस्ने मार्ग खोलाउन आएका थिए| फ्रेन्च, अंग्रेज, डच जो आए पनि ढक र तराजुका साथ तरवार पनि लिएर आई राजनीतिक अधिकार पनि जमाउने गर्थे| त्यसैले पृथ्वीनारायण शाहले सिन्धुलीबाटै धपाएर पठाएका पनि थिए| तर गोमन सर्प त्यसको बदला लिने मौकाको खोजीमा रहन्छ| त्यसपछि करिब पच्चीस वर्षको कुटनीति लोलोपोतोमा रह्यो| सन् १७९३ मा कर्कप्यात्रिक नेपालमा आए, शक्तिको अनुमान लगाए, भावी आक्रमणको सामाग्री तैयार गरे| त्यति मात्र होइन, वेतियामा रहेका पादरी जोसेप्पीलाई लगाएर पृथ्वीनारायण शाह विरुद्ध घृणासामाग्री लेख्न लगाए|  त्यही कुरा किताबमा सामेल गराई पछि आक्रान्ता अंग्रेज अधिकारीको हाते पुस्तिका हुने गरी सन् १८८१ मा प्रकाशित गराए| ( श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, बाबुराम आचार्य, २०६१,पृ ५५२)
कर्कप्यात्रिक फर्केको आठ बर्षपछि नेपाल आएका ह्यामिल्टन करिव एघार महिना नेपाल बसे| यिनले सो अवधिमा नेपालको भूगोल, इतिहास, प्रशासन र नेपाली सैन्य दलको अध्ययन गरी सन् १८१९ मा ”नेपाल वर्णन” को नामबाट प्रकाशित गरे| यस किताबमा उनले पृथ्वीनारायण शाहलाई  कर्कप्यात्रिकले जत्तिको क्रुर देखाएका छैनन्| किनकि त्यो बेला अंग्रेज र नेपालबीच युद्ध सकिई मेलमिलापको वातावरण बनेको थियो| तर उनले रणबहादुर शाह र भीमसेन थापालाई भने क्रुर र सिद्दान्तहिन भने| हेमिल्टनको किताब प्रकाशन भएको पचासी वर्ष जतिपछि नेपाल आएका फ्रेन्च नागरिक सिल्भ्याँ लेभीले आफ्नो पुस्तक ल नेपालमा पृथ्वीनारायण शाहको अपमान खासै गरेनन्| अर्थात् उनले जोसेप्पी र कर्कप्यात्रिकको समर्थन गरेका छैनन्|(बाबुराम आचार्य ऐजन ५५३)
पृथ्वीनारायण शाह ललितपुर प्रवेश गर्दा कान्तिपुर र भक्तपुरमा रहेका पादरी र क्रिस्तान बनेका मानिस समेत त्यहाँ बटुलिएका थिए| काठमाण्डौ उपत्यकामा अंग्रेजको अधिकार गराउन ती पादरी लागेका थिए| यसैले पृथ्वीनारायण शाह ती पादरीहरुलाई निकालिदिन चाहन्थे| तर तनहुँतर्फ  जान परेकाले सो कामको अभिभारा प्रतापसिंह शाहलाई सुम्पी गोरखातिर लागे| जोसेप्पी र माइकल एन्जिलो मुख्य पादरी थिए| (बाबुराम आचार्य ऐजन ५२८) पछि यिनै मध्येका पादरी जोसेप्पीले पृथ्वीनारायण शाह विरुद्ध बिष वमन गरे| त्यही विष नेपालमा पछि आउने कतिपय बिदेशी इतिहासकार, समाज शास्त्री, मानवशास्त्री, बिदेशी गैरसरकारी संस्था र अन्ताराष्ट्रिय संस्थाका कर्मचारीमा पुस्तान्तरण हुदै आएको छ|
राममणि आदीले श्री ३ चन्द्रको जीवन चरित्र नेपालीमा लेखेका थिए| सो पुस्तक भारत बंगालका टि यन रायले  अंग्रेजीमा अनुवाद गरे| पछि पार्सिवल ल्याण्डन काठमाण्डौ आई श्री ३ को हुकुमले भाई यज्ञमणि मार्फत सो किताव हात पारे| ल्याण्डनले सो किताब “नेपाल” नाम राखी दुई भागमा तैयार गरी आफ्नै नाममा छपाए| यो किताब छपाउनलाई महाराज (श्री ३) बाट बडाकाजी मरिचमान मार्फत एकलाख पैसट्ठी हजार भारु दिइएको थियो| (पुराना सम्झना, राममणि आ दि २०७३, पृ ११५-१२१)
हड्सनले नेपाल सम्बन्धी “ विविध निबन्धहरु” मा “नेपालमा प्रचलित कानून र प्रहरी प्रणालीको लेखाजोखा” नामक आलेख प्रकाशन गरेपछि प्राय: पश्चिमा लेखकहरुले नेपाललाई खासप्रकारको “रङ्गीन चश्मा’बाट मात्र हेर्ने गरेका छन्| उनीहरु मूलतः छिमेकी मुलुकका “रिलिजन र संस्कृतिका सेक्टेरियन” जानकारी लिएर नेपाल बारे धारणा बनाउने गरेका छन्| ( जुडिसियल कस्टम्स, अफ नेपाल, केशर बहादुर के.सी. १९७१ पृ. १)
श्री ५ रणबहादुर शाहले कलकत्ता स्थित नेपाली वकील( दूत) सुब्बा दिनानाथलाई संवत १८५५ मार्ग सुदी १५ मा लेखेको पत्रमा कर्कप्यात्रिकलाई नेपालमा आउन दिई उनलाई नेपाल देखाउन नहुने बताएका छन्| उनी नेपालमा आए “मन बढी” षडयन्त्र गर्ने र दशगुना मुलुक बढ्ने भएपनि “त्यसलाई” नेपाल आउनेजाने गराउन हुँदैन भनी सो पत्रमा उल्लेख छ| अंग्रेजहरुले कर्कप्यात्रिक जस्ता मानिस नेपाल पठाई नेपालको विरुद्धमा काम र प्रचार गर्दथे भन्ने यस पत्रबाट थाहा हुन्छ| (नेपालको कानूनी इतिहासको रुपरेखा, रेवतीरमण खनाल, २०५९, १२७)
 हड्सन बेलायती दुतावासको कर्मचारी भएर नेपाल आएको समयमा ब्रिटिस दूत र दुतावासका कर्मचारीलाई बाहिरी मानिससंग भेटघाट गर्न पाउने वातावरण थिएन| त्यो बेला “अंग्रेज दूतको प्रभाव नपरोस् र ऊ भए नभएको बराबर होस्” भनी दुतावासलाई पन्छाउन दुतावास वरिपरि नेपाली सिपाहीको चौकी खडा गरिएका थिए| सो दुतावासमा अरु मानिस आवतजावत गर्न नपाउने “कडा प्रतिबन्ध” थियो| अंग्रेजले नेपालबारे दिलचस्पी लिन पाए हस्तक्षेप गरी डाँवाडोल पैदा गर्छन् भन्ने कुरा “अंग्रेजको भारत नीति बुझेका” भीमसेन थापाले बुझेका थिए| त्यसैले उनले त्यस्तो कडा नियन्त्रण गराएका थिए| तर अंग्रेज दूतले भाषा, धर्म र चराचुरुङ्गीको अनुसन्धानको बहानामा मानिसहरु भेट्दथे| (रेवतीरमण खनाल ऐजन पृ.२६२) नेपालको संबिधान निर्माणकालमा बेलायतका राजदूतले नेपाली सभासद्का नाममा खुलापत्र लेखी सार्वजनिक गराएको कुरा यही पुस्ताको जानकारीमा छ| यस्तै गत निर्वाचनको पर्यवेक्षण गर्न आएको युरोपियन युनियनको निर्वश्त्र हस्तक्षेप र त्यसमा नेपाल सरकारको प्रतिक्रिया तथा उनीहरुको पन्थसापेक्ष  अड्डी सार्वजनिक भएको धेरै भएको छैन|
 त्यो बेला अंग्रेज दूतले बिना कुनै काम कुनै नेपालीसंग भेट्न पाउदैनथे| दरबारमा पनि मुख्तियारको उपस्थिति बाहेक राजासंग एक्लै भेट्न पाउदैनथे| अंग्रेज दूत नेपाल सरकारको स्वीकृति विना आफ्नो सीमा नाघी बाहिर हिडडुल गर्न पाउदैनथे| कसैले अंग्रेज दूतसंग सम्बन्ध राखेमा कडा सजाय हुनेछ भन्ने उर्दी दिइएको थियो|(रेवतीरमण खनाल ऐजन १९३)
जासूसको काम गर्ने युरोपीयहरु नेपालमा पस्दथे| डाक्टर मूर् क्रोप्ट नामक अंग्रेज साथीका साथ तपस्वी बनी बि.स. १८६९ मा नेपाल आएका थिए| जोगीको खोल भित्र बन्दुक लुकाएर हिडेकाले चौकीदारले पक्रन खोज्दा भरेको बन्दुक देखाई उम्कन खोजे| पछि कुमाउका शासक (त्यो बेला नेपाल) बम शाह कहाँ जाहेर भयो| ती डाक्टर भेडा बाख्रा खोज्न तिब्बत गई फर्कदा भूल परी त्यता पसेका भनी फारुखाबादबाट चिठी आएकाले एकपटकलाई भनी छोडिएको थियो| ( ज्ञानमणि नेपाल, ऐजन पृ.१००)

जंगबहादुरको समयमा रुसी विद्वान ई पा मिएनाभले लेखेको आफ्नो जीवनीमा त्यसबेला एकजना बंगाली ओभरसियर अंग्रेजी दुताबासमा बसी काठमाण्डौ उपत्यकाको नक्शा उतारेका थिए| ती अंग्रेजले जासुसी गरेकाले नेपालबाट धपाउने सजाय दिई धपाइएको थियो| (रेवतीरमण खनाल, ऐजन,पृ.३५०)
इतिवृत (इतिहास) लाई आफ्नो अनुकूल लैजान पाइयो भने राज्य व्यवस्था पनि आफ्नो अनुकूल पार्न गार्हो पर्दैन भन्ने वारन हेस्टिंगका प्रेरणाको परम्परामा लागेका यूरोपीय सत्रीहरुले इतिहासको जरो टप्प समाते र आफ्नो अनुकूल इतिहासको रुप बनाए| (नेपाल निरुपण ज्ञान मणि नेपाल २०५५ पृ. ९९) नेपालमा बिदेशीले छ आठ महिना बसी लेखेका वा नेपालीले लेखेको किताबलाई आफ्नो नाममा छपाएका वा नेपालका ऐतिहासिक सामाग्री र सम्पदा चोरी गरी गराई आफ्ना देशका सरकारी वा निजी म्युजियममा पुर्याउनेले राज्य समाज र परिवार फुटाउन र बिथोल्न लेखेका कुरालाई ध्रुबसत्य मान्ने वर्ग तैयार गरिदैछ| धनवज्र बज्राचार्य, बाबुराम आचार्य, नयराज पन्त, चित्त रन्जन नेपाली,ज्ञानमणि नेपाल र इतिहास संशोधन मण्डलका सदस्यले प्रमाणका आधारमा लेखेका इतिहासलाई गौण गरी फिरन्तेले नेपाल र नेपालीको अपमान र सभ्यता समाप्त गर्न लेखेका किताबलाई बढाईचढाई गर्ने चलन चलाइदै त छैन? 
नेपालको इतिहासमा हात हाल्ने पहिलो यूरोपीय कर्कप्यात्रिक हुन्| उनले नेपालको सच्चा इतिहास लेख्नुभन्दा नेपालको बाटोघाटो चालचलन आदिमा बढ्ता चाख लिएका थिए| उनको पुस्तक इष्ट इन्डिया कम्पनीका अधिकारीलाई नेपाल बुझ्न काम लाग्दो छ| सत्य कुरा भन्दा विदेशीका भक्तहरुलाई नराम्रो लाग्ला| कर्कप्यात्रिकका काम कारबाहीलाई भारदारले पनि राम्ररी बुझेकाले पहिले नेपाल ल्याउदा घुमाउरो बाटो ल्याएका थिए| उनी दोस्रो पटक नेपालमा आउन खोज्दा दश गुना देश बढ्ने भए पनि उनलाई आउन नदिने भनी संवत १८५५ मा पत्राचार नै भएको थियो| ( ज्ञानमणि नेपाल, ऐजन पृ ९९, १०० सो पत्रको व्यहोरा पनि छ)
कर्कप्यात्रिकको किताब अंग्रेज सरकारको “मिसन”मा आएको बेलामा लेखिएको थियो| त्यो किताब इष्ट इण्डिया कम्पनीका निर्देशकहरुमा समर्पित र कम्पनीको अभिलेखमा आधारित थियो| साथै सो किताब कम्पनीको अनुमति  लिएर छापिएको थियो| त्यसमा कम्पनीको संरक्षकत्व समेत थियो| यी कुरा सो किताबमा नै छापिएको छ| (एन एकाउन्ट अफ किंगडम अफ नेपाल, कोलोनल कर्कप्यात्रिक, २००६ भूमिका पूर्वका पृष्ठ) अर्को देशको सैनिकले त्यो पनि त्यस बेला नेपालमा आक्रमण गर्ने संलग्न सैनिकले आफ्नो मुलुकको तर्फबाट आक्रमण गर्न सजिलो पार्न तयार पारेको “आक्रमण सामाग्री” हाम्रै इतिहास किन ! ?
नेपाली नागरिकले लेखेका इतिहासका अन्य पुस्तक र आलेखमा यस्ता अरु अन्य प्रसंग पनि छन्| ती सबैको उद्धरण यहाँ सम्भव भएन| तिनको बारेमा थप खोज र एकीकृत प्रकाशन जरुरी छ| यी कुरा  हाम्रो शिक्षा पद्धतिको अंग बन्न किन नहुने?
नेपालमा समाजशास्त्र र मानव शास्त्रको अध्ययन गर्न आउनेले प्रायोजित उत्तरदाताबाट उत्तर लिई के के लेखेका छन्? त्यसबारे पनि खासै अनुसन्धान भएको देखिदैन| त्यसबारे पनि काम गर्न आवश्यक छ|
 दाता संस्था वा तिनबाट रकमकलम लिएर लेखी नेपाल सरकारमा प्रस्तुत गरिने प्रतिवेदनमा प्रायोजित र प्रलोभित  उत्तरदाताबाट उत्तर लिएको देखाई नेपालको सभ्यता र सामाजिक सम्बन्ध बिरुद्ध लेख्ने चलन  कायम नै छ|
बिदेशीहरुले सिधै तथ्यांक संकलन गरी प्रकाशित गरिरहेको र ती प्रायोजित तथ्यांक नेपाल बिरुद्ध प्रयोग गर्ने गरेको भन्ने पनि छ| अरु देशमा बिदेशी गएर तथ्यांक संकलन गर्छन् त? यसमा पारस्परिकताको नियम किन लागु नहुने? सरकारी तथ्यांकको समानान्तर विदेशीले तथ्यांक संकलन गर्न नियन्त्रण वा नियमनको लागि तथ्यांक ऐनमा संशोधन आवश्यक छ|
नेपालको इतिहास भनी विदेशीले लेखेका किताबको निस्पक्षतामा प्रश्न रहेछ| तत्कालीन शत्रु राज्यको सैनिकले नेपालमा आक्रमण गराउन तैयार गरेको प्रतिवेदनलाई पनि हामीले इतिहास भनेका रहेछौं| नेपालमा जासूसी गर्न र पाटनलाई अंग्रेजको जिम्मा लगाउन पादरीको भेषमा खटिएको जिसेप्पीले वेतीया धपाएकोमा रिस थाम्न नसकी घृणा गर्दै पृथ्वीनारायण शाह विरुद्ध गरेको बिष बमनलाई पनि हामीले जस्ताको तस्तै पत्याएका रहेछौं त?
 नेपाली नागरिकले  लेखेको र बंगालीले अंग्रेजीमा अनुवाद गरेको किताब त्यो बेला एकलाख पैसट्ठी हजार भारु  लिएर आफ्नो नाममा छपाउनुमा  नैतिकताको प्रश्न पनि होला| यही अरुले लेखेको किताब आफ्नो नाममा छपाउने पार्सिभल ल्याण्डन मार्फत राणा परिवारमा श्रेणी विभाजन गरिएको थियो भनिन्छ| (श्री ३ हरुको तथ्य वृतान्त, भाग २, पुरुषोत्तम शमशेर ज.ब.रा.२०६२ पृ.१५१)
नेपालमा इतिहास आदि लेख्ने कतिपय नेपाली बिदेशीको लागि काम गरी हिड्ने पनि हुन सक्छन्| तिनमा कसले स्वतन्त्र भएर लेखे र कसले प्रायोजनमा लेखे त्यो पनि समस्या देखिदो रहेछ| पछिल्लो चरणमा इतिहासलाई जातीय, क्षेत्रीय र अन्य प्रवृत्तताका साथ लेख्ने चलन पनि बढेको देखिन्छ| इतिहासमा आफूलाई राजा वा भारदारको सन्तान भन्ने र अर्थशास्त्र र समाजशास्त्रमा आफैलाई पिडीत भनी कुण्ठा व्यक्त गर्ने वा अरुप्रति घृणा राख्ने गरेको पनि पाइदो रहेछ| प्रमाण नराखी वा विदेशीले लेखेका पूर्वोक्त वा तिनीहरुसंग मुख मिलाई लेखिएका किताबलाई अकाट्य मानी इतिहासका बतासे बच्चा कोरल्ने पनि कैयौ होलान्| यस्तै बिगतमा पाण्डे र थापाहरु बीचको भारदारी लडाइका कारण एकअर्काप्रति अलि बढी आक्रामक भएर लेखेका कुरा पनि भेटिन्छन्| पुरातत्व बिभाग वा राष्ट्रिय अभिलेखालयमा हुँदा विदेशीलाई सामग्री उपलब्ध गराउने वा घरछेउ सामाग्री भेटिएको भनी इतिहास लेख्नेहरु पनि हुन सक्छन्|
 जेहोस्, विदेशीले इतिहास बिटुलाएका रहेछन्| उनीहरु त आउछन् जान्छन्| किताब लेखेर दाम र नाम कमाउछन्| तिनीहरु उताका राजनीतिक, आर्थिक, सामाजिक, रणनीतिक र पन्थसापेक्ष एजेण्डाबाट परिचालित भएका हुन सक्छन्| फुटाउन, घुस्न र चुस्न मिल्ने गरी लेखेका हुन सक्छन्| तर हामी नेपाली यहीं आगोपानी बाँडेर बस्ने हो| नूनभुटुन ऐचोपैचो गरेर बस्ने हो| धर्म, पर्म र कर्म गरेर बस्ने हो| जन्तीमलामी भएर बस्ने हो| हामी अर्को पुस्तामा सद्भाव हस्तान्तरण गर्न सकौ| विदेशीले दिएको अगुल्टो बोकेर कहाँ कहाँ ककसलाई  कहिलेसम्म झोस्दै पोल्दै हिड्ने? त्यसैले इतिहास र इतिहास बारे लेख्दा कसैको गोटी नबनौ, आयातित घृणा कार्यान्वयन नगरौ. तथ्य र प्रमाणलाई इतिहासको अंग बनाउँ|   






No comments:

Post a Comment