Wednesday, April 17, 2019


                            दिव्य उपदेशमा चेतनाका आयाम
                                          मोहन बन्जाडे
    ज्ञान, बुद्धी, विवेक र चेतना कुनै रङ्ग, वाद र क्षेत्रका मानिसको एकाधिकार मान्न  वैज्ञानिक आधार चाहिन्छ| यसको पुष्टि लरतरो प्रमाणबाट हुदैन| चेतना कुनै एउटा गोलार्धमा बाँड्न शुरु गरेकोमा अर्को गोलार्धमा पुग्दा सकिएको होइन| चेतना एक रङ्गका, एक वादमा विश्वास गर्ने वा एक क्षेत्रका मानिसलाई मात्र बाँडिएको पक्कै होइन| यस्तै चेतना हिन्दू, बौद्ध, किराँत, जैन, शिख, प्रकृति पूजक र पैगनलाई दिन इन्कार गरिएको पनि होइन| चेतना प्लेटो, अरस्तु, मार्क्स, लेनिन, लिंकन, एडम स्मिथ वा अन्य कुनै व्यक्ति मार्फत बाँडिएको र उनीहरूको विचारसंग पूर्ण वा आंशिक रुपमा असहमत हुनेलाई भाग नलाएको पनि होइन| 
  एकाथरिले कुनै विश्वास वा विचार प्रणालीमा आधारित भई अरुलाई असभ्य, दासयोग्य र समग्र शोषणको निम्ति लायक मान्ने गरेको र आफुसंग सहमत नहुनेलाई सांस्कृतिक, आर्थिक र अन्तमा भौतिक रुपमा समाप्त पारेका लुकाई राखेका छन्| उपनिवेश बनाउने क्रममा र बनाएपछि गरिएका घोर अत्याचार र स्रोत दोहन तथा अनेक बहानामा गरिएका ठूला ठूला रक्तपात, अनुपात नमिल्ने गरी र कृत्रिम बहानामा  अरु माथि गरिएका भयङ्कर आक्रमण यसका उदाहरण हुन्| पेगन सभ्यता, दक्षीण अमेरिकी सभ्यता, अफ्रिकी सभ्यता, मिश्रको सभ्यता समाप्त प्राय पारिए|
  भारतीय उपमहाद्वीपका सभ्यता र चिनीया  सभ्यता माथि शशक्त आक्रमण जारी छ| हिरोसिमा र नागासाकीमा गरिएको आक्रमण कति आनुपातिक हो? ग्यास च्याम्बरमा मानिस मार्नेलाई कुन विश्वास प्रणालीको पुट र आशिर्वाद  थियो? भियतनाममा मारिएका मानिसको लासको थुप्रो किन? जलियाँवाला बागमा मानिस मार्न पच्चीस गोर्खा सैनिकको प्रयोग किन? कलकत्तामा भोकमरीबाट लाखौ मानिस मारिएको प्रसंगमा टिप्पणी लेख्दा चर्चिलले गान्धी अझै जीउदै किन छन् भनी प्रश्न गरेको किन? यूरोपमा लाखौ पैगनहरुलाई समाप्त गर्न अत्याचार गरेको किन? कुनै चेतनाले यस्ता प्रश्न सोध्नुलाई असभ्य त मान्दैन? हुँदाहुँदा नेपालका सिन्धुलिगढ़ी, बटौली र नालापानीमा हामी माथि हाम्रो भूमिमा आक्रमण भयो| के यी उच्च चेतनाका कार्य थिए?
    यो लेखको आसय कसैलाई अचेतन, अवचेतन, अर्धचेतन वा पूर्ण चेतन भनी विशेषण प्रदान गर्नु होइन| यसको आसय मात्र दिव्य उपदेशमा चेतनाको खोजी गर्नु हो| त्यसैले यो सानो आलेखमा दिव्य उपदेशका केही प्रसंग र विषय बस्तुलाई आधार बनाई पृथ्वीनारायण शाहको चेतना बारे बुँदा टिपोट मात्र गरिने छ|
   देव र देवी स्मरण गर्दै नुवाकोट पुगेका गुरु, पुरोहित, थरघर, भारदार, ददा, राना र बुढापाका छेउ व्यक्त गरिएकाले दिव्य उपदेशमा इश्वरीय र मान्यजन प्रति सम्मान व्यक्त गर्ने चेतना व्यक्त भएको देखिन्छ| नास्तिक वा अनिश्वरवादीलाई गणेश, कालिका र गोरखनाथको नाम लिइनु ठीक नलाग्न सक्छ| अझ आफ्ना ग्रन्थमा देवीको प्रसंग नआउने र एकल इश्वर वादीलाई अरुले मान्ने देवताहरु प्रति र अन्तबाट लगेर इश्वर स्थापित गर्नु परेकालाई स्थानीय सभ्यताका देवी देवताको नाम लिएकोमा इख पनि हुनसक्छ| यस्तै अरुले मान्ने इश्वरको प्रचार प्रसार गर्न बाटो सजिलो पारिदिन यता अनिश्वरवादी वा नास्तिक बनी उताबाट फाइदा उठाउने लत लागेकालाई पनि स्थानीय देवी देवताको नाम आउनु गैरनाफामुखी कुरा हुन सक्छ| जेहोस्, दिव्य उपदेशमा आध्यामिकता, इश्वरीयता  र देवत्व आयात गर्ने भन्दा स्थानीय देवीदेवतालाई प्राथमिकता दिने चेत रहेको देखियो|
  “बुढा मरे भाषा सरे” भन्ने प्रसंगमा राज्य थाम्ने, राज्य प्रणालीको निरन्तरता तथा देश र देशवासी प्रतिको जिम्मेवारी र उत्तरदायित्वको चेत रहेको देखिन्छ| काठमाण्डौ चन्द्र्गिरी छेउछाउमा आईपुग्दा नेपाले राजाले चिन्लान् र पक्रलान् भनी स्याखु वडी हिडेको देखिदा पृथ्वीनारायण शाहमा सतर्कताको चेत रहेको देखियो|
   चन्द्रागिरीको पहाडबाट उपत्यकामा हेरिरहेको बेला उनका साथमा रहेका व्यक्तिले उनको मनको कुरा व्यक्त गरेको प्रसंग पनि छ| यो प्रसंगले उनमा योग्य व्यक्ति छान्ने र साथ लिने चेतना रहेको देखाउछ| साथै उपत्यका देखेपछि यता छत्रभंग गर्ने तर आफ्नो राज्य पनि  जोगाउने कुरा गरेकाले उनमा युद्ध चेत र षडयन्त्र प्रति सतर्कताको चेत रहेको पनि देखियो|
    दिव्य उपदेशमा मामासंग सल्लाह गर्ने प्रसंगमा आफुसंग चार थरी (बाहुन, खस, मगर, ठकुरी ) सिपाही भएको र ती मध्ये कसको सवार गरे चाँडो काम फत्ये होला भन्ने प्रसंग रहेको छ| यो हेर्दा पृथ्वीनारायण शाहमा युद्ध चेत, काम द्रुतगतिमा गर्ने र कामलाई निष्कर्षमा पुर्याएरै   छोड्ने चेत र सेनामा सबैखाले मानिस भर्ना गर्ने चेत रहेको मान्न सकिने भयो| साथै युद्धको विषयमा सरसल्लाह गरेर काम गर्ने चेत पनि उनमा रहेको पाइयो| दिव्य उपदेशमा लमजुङका राजा रिपुमर्दन शाहसंग घाहा(संझौता) गर्ने कुरा उल्लेख भएकोले पृथ्वीनारायण शाहमा युद्ध मात्र होइन मेलमिलापको चेतना पनि देखियो|
   दिव्य उपदेशमा विराज बखतीलाई आफुले कज्याई दिन चाहे पनि जनता र बाइसी चौबिसी राज्य बुझ्दा कालु पाँडेलाई कज्याई दिदा घा घरेस (आन्तरिक व्यवस्था र परराष्ट्र सम्बन्ध ?) उपयुक्त तरीकाले संचालन हुने सुझाव आएकोले कालु पाँडेलाई कज्याई दिएको भन्ने देखिन्छ| यो प्रसंग हेर्दा उनमा राज्यका मुख्य पद आफ्नो इच्छामा होइन जनमत बुझेर दिनु पर्ने प्रजातन्त्रको चेत रहेको भन्नै पर्ने भयो| साथै यो प्रसंगमा कालु पाँडेले लमजुङका राजा समक्ष आफनो मनको कुरा व्यक्त गरेको उल्लेख छ| सन्दर्भत: पृथ्वीनारायण शाहमा योग्य व्यक्तिलाई नै पद दिनुपर्ने चेत रहेको देखियो|
    पृथ्वीनारायण शाहले राज्यको निर्माण र सुरक्षाको निम्ति बस्नेत र पाँडेका सन्तान बीच मागी विवाह गराएको प्रसंग देखिछ| यसले उनमा राज्यका निम्ति व्यक्तिगत र पारिवारिक सम्बन्धमा समन्वय ल्याएर काम गर्ने चेत रहेको देखियो|
     पृथ्वीनारायण शाहले आफ्नो सुरक्षाको निम्ति बस्नेत, रोकाहा र पाठकको सहयोग लिई सल्यानकोट मन्दिरमा जाँदा पुजारीले राजा पनि मन्दिरको ढोकाभित्र जान नमिल्ने बताए पछि मन्दिरको ढोका बाहिरबाटै पूजा गरेको भन्ने देखिन्छ| यो प्रसंगले उनी जनताले सांस्कृतिक रुपमा मान्दै आएका प्रथा,परम्परा र प्रचलन राजाले पनि यथावत मान्नु पर्ने र राजा स्वयं पनि प्रथा परम्परा (कानून) भन्दा माथि नभएको कुरा स्वीकार्ने चेत उनमा रहेको भन्ने देखियो| साथै उनले मन्दिरमा पूजा गरेको र मन्दिरको आम्दानी बाँधिदिएको देखिदा उनमा धार्मिक र आध्यात्मिक चेत रहेको र यो चेत आयातित विश्वास सम्बद्ध भन्दा स्थानीय देवीदेवतातर्फ उन्मुख रहेको देखियो| नास्तिक वा इश्वर नमान्नेहरुका लागि यो कमसल चेत हुनसक्छ| साथै पराई विश्वासबाट प्रेरित भएकालाई यो असभ्य चेत वा नराम्रो व्यवहार लाग्न सक्छ| आस्तिक र सनातन धर्म मान्नेलाई यो नै सभ्य, सांस्कृतिक र आफ्नै धर्म मान्ने असल चेत लाग्न सक्छ|
     दिव्य उपदेशमा पृथ्वीनारायण शाह रातदिन गरी सिमल चौरमा थर्पु हाली बसेको भन्ने देखिन्छ| यो प्रसंग हेर्दा पृथ्वीनारायण शाहमा राज्यको काम गर्दा अवस्था अनुसार चौबिसै घण्टा काम गर्नुपर्ने भन्ने चेत पनि देखियो| यस्तै राजा स्वयं थर्पु हाली बसेको भन्ने प्रसंग हेर्दा  उनमा राज्यको निम्ति काम गर्दा राजा भए पनि राजसी ठाँटबाँट आवश्यक नहुने भन्ने चेत पनि रहेको देखियो|
    दिव्य उपदेशमा झागल गुरुङलाई खास कामको लागि चयन गरिएको प्रसंग छ| परशुराम थापाले एकातिर पृथ्वीनारायण शाहलाई नेपाल हान्न आउ भनेको र अर्कोतिर बाइसी चौबिसी उठाई भाई मार्फत गोर्खा हान्न पठाएको भन्ने प्रसंग जोडिन्छ| उनले राज्य विरुद्द षडयन्त्र गर्नेलाई दण्ड दिन चाहेको देखिन्छ| अर्थात् राज्य विरुद्द अगाडी मिले जस्तो गरी पछाडि षडयन्त्र गर्नेलाई कडा सजाय गर्नुपर्ने चेत उनमा रहेको देखियो| यस्तै परशुराम थापालाई दण्ड दिन व्यक्ति चयन गर्न सल्लाह गर्दा उपयुक्त व्यक्ति चयन गर्न असफल भएकोले आफैले झागल गुरुङलाई चयन गर्नु परेको र उनले काम फत्ते गरी आएको भन्ने देखिन्छ| यो सन्दर्भ हेर्दा उनमा छलफल गरी निर्णयमा पुग्ने सहभागिता चेत र समुहमा निर्णय हुन नसके आफैले काम सम्पन्न गर्न सक्ने सक्षम व्यक्ति छान्ने नेतृत्व चेत रहेको पनि पाईयो|
    नेपाल खाल्डो विजयको सन्दर्भमा पृथ्वीनारायण शाहले “पूर्व पश्चिमका दुनियाँ हात गरी नेपाल लियाथ्याँ” भनेका छन्| यो उनको युद्ध शैली प्रतित हुन्छ| अर्थात् युद्द गर्दा सबै दिशाका जनतालाई हात लिनुपर्ने र युद्ध जित्न जनताको सद्भाव र सहयोग अनिवार्य हुने भन्ने  चेत उनमा रहेको पाइयो|
   दिव्य उपदेशमा “ यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ”, “चीन बादशाहसित ठूलो घाहा ( राम्रो सम्बन्ध) राख्नु” भनिएको छ|  दक्षीणको बादशाहसंग शंकास्पद स्थिति देखाइएको छ| ऊ चतुर रहेको, लडाई गरेन भने छलकपट गर्ने, त्यसले हिन्दुस्थान दबाएको, हिन्दुस्थान मिल्यो भने नेपालमा आक्रमण गर्न आउन सक्ने पनि उनले बताएका छन्| साथै त्यसबाट बच्न आफ्नो सुरक्षा प्रणाली बलियो बनाउनुपर्ने र ऊसंग जाई कटक(लडाई) नगरी झिकी कटक गर्नुपर्ने कुरा बताइएको छ| उनको यो कथनमा अनुभवमा आधारित परराष्ट्र र रक्षा सम्बन्धी चेत देखिन्छ|
   पृथ्वीनारायण शाहले रामशाह, जयस्थिति मल्ल र महिन्द्र मल्लले बाँधेका थिति हेरेको र ईश्वरले दिए आफुले पनि बाह्र्हजारको (घरधुरी) थिति बाँधी जाउला भनी उल्लेख गरेका छन्| उनको यो कथन हेर्दा राज्यको थिति (कानून) बसाउदा आफ्नै देशको इतिहास र अनुभव अनुसार बसाउनु पर्ने र कानून अनुसार राज्य संचालन गर्नुपर्ने भन्ने चेत उनमा रहेको देखियो| आफू त्यो बेलासम्म नेपाल एकीकरण र राज्य निर्माणमा संलग्न भएकाले कानून बनाउन नसकेकोमा पश्चातापको चेत पनि उनमा रहेको मान्न सकिन्छ|
     विदेशी साहु महाजनलाई पर्सा-गढ भन्दा माथि आउन नदिनु उनीहरु भित्र छिरे भने मुलुकलाई कंगाल पारी छोड्छन् भन्ने उनको कथन छ| उनको यो कथनमा अन्तराष्ट्रिय व्यापार सम्बन्धी र विदेशीलाई अर्थ व्यवस्था र व्यापारमा घुस्न दिए देश कंगाल हुने भन्ने आर्थिक चेत पनि रहेको पाइयो|
      विदेशका कपडा लगाउन मनाही गरिदिनु, स्वदेशी उद्धमीलाई नमूना देखाई उत्पादन गर्न लगाउनु यसो गरे नगद विदेश जाँदैन भन्ने उनको कथन रहेको छ| साथै आफ्ना स्थानीय उत्पादन बिदेशमा बेची नगद आर्जन गर्नुपर्ने कुरा पनि उल्लेख छ| यसरी उनमा स्वदेशी उत्पादन बढेमा, भुक्तानी सन्तुलन भएमा तथा जनता सम्पन्न भएमा मात्र राज्य बलियो हुने भन्ने राष्ट्रिय उत्पादन वृद्धि सम्बन्धी चेत पनि रहेको देखियो|
   यस्तै प्रजा मोटा भए दरवार बलियो हुन्छ र राजाका भण्डार(स्रोत) भनेका रैतान (जनता) हुन् भन्ने धारणा उनको थियो| यसलाई उनमा रहेको जनता प्रतिको सम्मानको चेत मान्न सकिन्छ|
   दिव्य उपदेशमा सैनिक व्यवस्था सम्बन्धी कुरा पनि ठाउँ ठाउँमा उल्लेख हुनाले उनमा सैनिक व्यवस्था सम्बन्धी चेत प्रशस्तै रहेको देखिन्छ|
    पाँडे,पन्थ भैयाद र मगरलाई आलोपालो गरी माराताप दिने, झागल गुरुंगलाई कास्की पठाउन रोज्ने, सेनामा खस, मगर, गुरुङ ,ठकुरीलाई छ्यासमिस गरी भर्ना गर्नुपर्ने, गुरुङ, मगर, खानज्यादा, भैयाद, भारदार, मीर, उमराव, थरघरलाई घुँडा गौंडामा राख्ने, पूर्वपश्चिम ( बाहिरिया) खसबाहुनलाई दरवारमा पैठ हुन नदिने, न्याय प्रणालीमा ठकुरी, मगर र पण्डितलाई स्थान दिने, अदालतबाट भएको आम्दानी फकीर, अतिथि, जोगी, सन्यासी, ब्राम्हणको निम्ति खर्च गर्नुपर्ने, मुसलमानलाई हतियार बनाउन लगाएको कुरा र मनोरन्जनका लागि तीन शहरका नेवारका नाच झिकाई हेर्नेकुरा पनि दिव्य उपदेशमा रहेको देखिन्छ| यस्तै  मुलुकलाई सबै जातको फूलबारी भन्दै यो फूलवारी छोटा बडा चार वर्ण छात्तिसै जातको असली हिंदूस्था हो पनि भनिएको छ| यसरी उनले  राज्यमा रहेका बिभिन्न समुदायका मानिसलाई बिभिन्न जिम्मेवारीमा राख्नुपर्ने धारणा राखेको र सबैलाई समान रूपमा सम्बोधन गरेको देखियो |यसरी उनमा समान व्यबहारको चेत रहेको देखियो|
    दिव्य उपदेशमा राजाले ठूलो न्याय निसाफ हेर्नुपर्ने, अन्याय हुन दिन नहुने, अदालतमा घुस रिसवत चल्न नहुने, घुस लिने दिनेको धनजीव गरे पनि पाप नहुने र घुस्याहाहरु राज्यका शत्रु हुने कुरा उल्लेख छ| यस्तै अदालतमा ठकुरी (साहस) मगर (इमान्दारी) र पण्डित (ज्ञान र विवेक) को संयोग हुनुपर्ने (प्रतीकात्मक) पनि उल्लेख छ| यो उनको न्याय सम्बन्धी चेत हो|
   पृथ्वीनारायण शाहले खानि भएका ठाउमा गाउँ भए गाउँ सारेर पनि खानि चलाउनु पर्ने,खेत बनाउन सकिने ठाउमा घर भए घर सारेर पनि खेत बनाउन पर्ने नीति लिनुपर्ने बताएको देखिन्छ| यसरी उनमा भू-उपयोग सम्बन्धी पनि चेत रहेको देखियो|
   उनले मुगल कसीम अलि खाँलाई खुँडाले काटेर धपाएको र सिन्धुलिगढ़ीमा अंग्रेजलाई हराएर पठाएको कुरा पनि दिव्य उपदेशमा छ|  यसलाई राज्य विरुद्द आक्रमण गर्न आउनेलाई परास्त गरी पठाउनु पर्ने चेत हो भन्न सकिन्छ|
   पृथ्वीनारायण शाहले बिदेशी मनोरन्जनका साधनमा युवालाई धेरै अल्मलिन दिन नहुने, मुलुकमा आउने त्यस्ता विदेशी कलाकार भेदी (जासुस) पनि हुन सक्ने र तिनलाई देशमा धेरै दिन राख्न नहुने बताएका छन्| साथै त्यसको विकल्पमा नेवारहरुको(स्वदेशी) नाच हेर्न सकिने उल्लेख गरेका छन्| यसो गर्दा देशको धन देश मै रहने र मुलुकको सुरक्षामा असर नपर्ने उनको कथन देखिन्छ| यसबाट उनमा राष्ट्रिय संस्कृति सम्बन्धी र जासुसहरुबाट देशलाई बचाउनु पर्ने चेत रहेको थियो भन्ने देखिन्छ|
    मेरो साना दुखले आर्जेको मुलुक होइन, सबै जातको फूलवारी हो चेतना भया ...| यसरी  दिव्य उपदेशमा एक ठाउमा “चेतना” शव्द पनि प्रयोग भएको देखिन्छ| यसबाट उनलाई  कम्तिमा “चेतना” शव्दको जानकारी थियो भन्ने पनि देखियो| समय र परिस्थितिको अन्तरका कारण उनका कतिपय विचार आज कम प्रासंगिक हुन सक्छन्| त्यो बेला दिव्य उपदेश मार्फत देखाएका पूर्वोक्त चेतना र प्रयोग गरेको “चेतना” शव्दको रुप र सार फेरिएको हो वा हामी ?



  





No comments:

Post a Comment