संविधान भित्रका अन्तरविरोध
-मोहन
बन्जाडे
सामान्यत: एउटै कानूनका व्यवस्था आपसमा
बाझिएको भनी अनुमान गरिदैन| कानून व्याख्या गर्नेले कानूनका व्यवस्थाको आपसमा
समन्वयात्मक व्याख्या गर्नुपर्छ| अन्य कुनै कानून संविधानसंग बाझिएमा बाझिएको हदसम्म अमान्य हुन्छ| त्यस्तो बाझिएको
कानून अमान्य वा वदर गराउन उच्चतम न्यायालयमा निवेदन दिन पाइन्छ| यो संवैधानिक
सर्वोच्चताको मान्यता र न्यायिक पुनरावलोकनको मुख्य चरित्र पनि हो| त्यति
हुँदाहुँदै पनि न्यायपालिका समेतले कानून बाझिएको छैन भन्ने प्रारम्भिक अनुमान
गर्नुपर्छ| आत्मनियन्त्रणका सिद्दान्त र मान्यताको प्रयोग गर्नुपर्छ| विधायिकाको
विवेकमा प्रवेश गरी दखल दिन हुँदैन|
“संसद्को सार्वभौमिकता” मान्ने समयमा बेलायतमा संसदले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने
बाहेक सबै गर्न सक्छ भनियो| अनि संसदीय सार्वभौमिकताको सट्टा “संसदीय सर्वोच्चता” मात्र भन्न थालियो|
त्यहाँ बेलायती संसदले काला आँखा भएका मानिसलाई सोही कारणले मृत्युदण्ड दिने कानून
बनाउन सक्दैन भन्ने भनाई पनि थिए| अझ प्राकृतिक न्याय र सामान्य विवेक विरुद्ध
कानून बन्न नसक्ने कुरा त न्यायाधीश एडवर्ड कोकले सत्रौं शताब्दीको शुरुतिरै भनिसकेका थिए| अमेरिकाको स्वतन्त्रता संग्राम
उपनिवेशले बनाएका अत्यधिक कर र क्रुर
कानून विरुद्ध समेत लक्षित थियो| उपनिवेशकालीन अमेरिकी अदालतले बेलायतले बनाएका स्टाम्प
ड्युटी (आय टिकट) जस्ता कानून बदर गरेका थिए| भारतीय संविधान सभाले आफ्नो विरुद्ध
बोल्ने बेलायती प्रधानमन्त्रीलाई अनावश्यक हस्तक्षेप नगर भन्ने आँट देखाएको थियो|
सामान्यत: संविधानका व्यवस्था आपसमा
बाझिएको भनी प्रश्न उठाउनुलाई राम्रो नमानिन सक्छ| अरु मुलुकमा संविधान बनाउदा
संविधानका सिद्धान्त बारे गम्भीर छलफल हुने गरेको देखिन्छ| उता सभाका सदस्यका
नाममा केही दलका केही पदाधिकारीले अरु प्रतिनिधिको अधिकृत वारेस सरह सभा बाहिर
कुरो टुंगाएर सभालाई पारित गर्ने औजारको रुपमा प्रयोग गरेको देखिदैन| उता संविधान
बनाउदा स्वदेशी भन्दा विदेशी व्यक्ति,
मान्यता, सोंच र विश्वासलाई महत्व दिएको पाइदैन|
नेपालमा संबिधान बनाउदा जातीय, क्षेत्रीय
र विश्वास सम्बन्धी मुद्दा बढी उछालिए| भिन्नभिन्न देशका दुतावास र विदेशी गैरसरकारी संस्थाले
संविधानमा आफूले चाहे जस्तो व्यवस्था राख्न प्रयास गरे| नियम निलम्वन गरी जनताबाट
संकलित सुझाव पन्छाइदा पनि प्रायोजित ताली बजिरहे| कैयौले मन नलागी नलागी ताली बजाए
होलान्| कति ताली कुरा बुझेर बजे र कति ताली माहोलको राप र ताप विरुद्ध जान नसकेर
बजे होलान्| संबिधान यस्तो बन्यो कि व्याख्यात्मक टिप्पणी लेख्न सकिने अवस्था नै
रहेन| जनताका सुझाव सार्वजनिक गर्ने क्रान्तिकारिता प्रस्तुत हुन सकेन| संविधान
निर्माणमा नेपालले यस्तै रुपान्तरण बेहोर्यो|
संविधानको प्रस्तावनामा हामी
सार्वभौमसत्तासम्पन्न नेपाली जनता लेखियो| “हामी नेपाली जनताले” सम्पूर्ण
नेपालीलाई एक ढिक्काको रुपमा संबोधन गर्छ| जुन उचित हो| तर संविधानको धारा ३०६(२) मा अल्पसंख्यक शब्दको
परिभाषा गर्दा जातीय, भाषिक र धार्मिक समूहको व्यवस्था गरियो| अर्थात् हामी नेपाली
जनता जो यस देशका नागरिक थियौ तिनलाई जात, भाषा र धर्मका आधारमा कम्तिमा तीन
कित्तामा बाँडियो| अमेरिकी संविधानको जस्तो “वि द पिपुल”ले नपुगेर यता “सोभरेन” पनि
थपियो| तर अमेरिकी संविधानमा व्यक्ति, मानिस र नागरिक बाहेक अरु विभाजन नरहेको
कुरामा ध्यान दिईएन| शब्द त लिइयो तर भावना बहिष्करणमा पारियो| अमेरिकामा गोरा
बाहेकका रंगका, अंग्रेजी बाहेकको भाषा बोल्ने र बिभिन्न जातका मानिस नभएको होइन|
यस्तो बिभाजन यति महत्वपूर्ण भएको भए उनीहरुले संविधान संशोधन गरेर पनि यस्ता
विभाजनका सुत्र राख्न सक्थे|तर अमेरिकाको हितमा उनीहरुले त्यसो गरेका थिएनन्, छैनन्
र सायद नगर्लान्|
यस्तै नेपालको ऐतिहासिक पक्षको अध्ययन विना
बिभिन्न आधारमा बिशेष व्यवस्था गर्ने धारा १० (३)को प्रतिबन्धात्मक वाक्यांशमा
गरिएको छ| नेपालमा त्यो बिशेष व्यवस्थाको लाभ पाउने कतिपय व्यक्तिका पूर्वज करिव
२५० बर्ष अघिका राजा, अमात्य, मन्त्री, भारदार र जागिरदारका सन्तान हुन्| कतिपय
समुदायमा त कथित जातीय सोपान(हाइरार्की) पनि छन्| संविधानको यो व्यवस्था हेर्दा
एउटा समाजलाई कसरी फुटाउन सकिन्छ भन्ने नमूना नै देखिन्छ| विगतमा कानूनबमोजिम
छुवाछुतको समस्या भोगे बाहेकका र राष्ट्रिय मूलधार भन्दा झन्डै झन्डै पूर्णरुपमा
बाहिर रहेको सिमित समुदाय बाहेक अरुलाई यस्तो बिशेष सुबिधा दिनु (आर्थिक र वैयक्तिक अवस्थामा बाहेक) “हामी नेपाली जनता”मा भेद सिर्जना गर्नु हो| सो
धारामा बालबालिका, युवा, जेष्ठ नागरिक जस्तो उमेर समुह र किसान एवं श्रमिकलाई विशेष सुबिधा
दिने भनेपछि अरु को नै बाँकी रहन्छ र?
संविधानको धारा ४ मा नेपाललाई धर्म निरपेक्ष राज्य भनिएको छ| यो धर्म निरपेक्षता
जनताले दिएको राय सुझावको आधारमा आयो वा अरु कसैले दिएको दवाव वा प्रभावमा आयो त्यो
भिन्नै चर्चाको बिषय बन्न सक्छ| धारा ४ मा धर्म निरपेक्ष भने पनि उता धारा ३०६ (१)
(क) मा अल्पसंख्यक शब्दको परिभाषा गर्दा धार्मिक समूह भनिएको छ| अनि धारा १८(३) को
प्रतिबन्धात्मक वाक्यांश, ४२, ८६(क), २१५(४), २१६(४), २२०(३), २२२(२), २२३(२), २५९(१)(क)
र ३०६(१)(क) जस्ता धारामा अल्पसंख्यक शब्दको प्रयोग छ| ती व्यवस्था विशेष व्यवस्था
वा आरक्षण प्रकृतिका क्रियाकलापसंग सम्बन्धित छन्|
संविधानमा एकातिर राज्यलाई धर्म निरपेक्ष
लेख्ने र अर्को तिर धार्मिक अल्पसंख्यकको नाममा आरक्षण दिने जुक्ति खोज्ने
व्यवस्थाको आपसी तालमेल देखिदैन| राज्य धर्म निरपेक्ष भएपछि धार्मिक समुहलाई
अल्पसंख्यकका नाममा आरक्षण दिने योजना कसको थियो? र किन यसो गरियो? भारतमा
संविधानले धार्मिक आरक्षण दिएको छैन, अमेरिकामा पनि छैन| अल्पसंख्यकका नाममा
धार्मिक आरक्षण धर्म निरपेक्षता, संघियता,
समाजवाद र गणतन्त्र केको अंग हो? रुपान्तरण, समाजवाद, वा अग्रगामिता के हो? वा हिमवतखण्डका धर्म विरुद्धको तुस हो?
संविधानको धारा ४ (१)को स्पष्टीकरणमा धर्म
निरपेक्ष भनेको “सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण” भन्ने उल्लेख भएपछि
सो भावनाको प्रतिकूल अल्पसंख्यकलाई आरक्षण सरहका सुविधा दिने व्यवस्थाको आपसी
तालमेल देखिदैन| मरुभूमिको रिलिजनले हिमालयका धर्मलाई असभ्य मान्छ, मिथ मान्छ र
उनीहरुको धर्म परिवर्तन गराउन त्यताबाट लगानी गरिन्छ|
संविधानको प्रस्तावनामा स्वतन्त्र,
निस्पक्ष र सक्षम न्यायपालिका भनिएको छ| तर उता संविधानको धारा १३३मा विगतका दुई
संबिधानमा रहेको “पूर्ण रुपमा न्याय गरी” भन्ने लवज झिकिएको छ| अर्थात्
प्रस्तावनाको भावना विपरित पेटबोलीमा अघिल्लो संविधानले न्यायपालिकालाई दिएको अख्तियार
पनि झिकिएको छ| पूर्ण न्याय गर्न पाउने बिगतको अधिकार जानी जानी झिकी प्रस्तावनामा
स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउने ज्ञान, बुद्धी र विवेकको स्रोत
कहाँ हो? कारण के हो?
संविधानको धारा १८, ४२ र २५९ मा पनि खस आर्य शब्दको प्रयोग गरियो| यी धारामा यसको परिभाषा
गरिएन| तर धारा ८४ र धारा १७६ मा यसको स्पष्टीकरण लेखी परिभाषित गरियो| धारा ८४ को
स्पष्टीकरण उपधारा (२) को प्रयोजनको लागि र धारा १७६ को स्पष्टीकरण भाग १४ को
प्रयोजनको लागि मात्र हो| बाँकी धाराका लागि खस आर्य को हो? परिभाषा खण्डमा
अल्पसंख्यकको परिभाषा राख्न सकियो तर खस आर्यको परिभाषा राखिएन| फेरि खस आर्य
लवजको प्रयोग अल्पसंख्यकलाई जस्तो अधिकार र सुबिधा दिन राखिएको होइन| कंगाल भए
मात्र सुबिधा पाउने गरी सुबिधा कटौती गर्न राखिएको हो| जबकि अल्पसंख्यकको परिभाषा
र प्रयोग विशेष सुबिधा दिन गरिएको हो|
नेपालको ऐतिहासिक, सामाजिक, सांस्कृतिक र
धार्मिक सन्दर्भ हेर्दा अनादि कालदेखि आफूलाई आर्य मान्दै आएका नेवार भित्रका कैयौ आर्य नै हुन्| अब संविधानले
आर्य बाहिर पार्यो| मधेशका मन्दिर जाने वर्ग आर्य हुन् तर संबिधान अनुसार आर्य इतर
बनाइए| मधेशमा पनि चार वर्णका र संविधानले खस आर्य भनेका ब्राह्मण, क्षत्री,
दशनामी छन्| मधेशका उनीहरु सुबिधा लिन गरिब हुन नपर्ने तर पहाडका गरीव हुनुपर्ने
भयो| प्रस्तावनाको शुरु मै र ठाउँ ठाउँमा राष्ट्रिय एकताको उल्लेख भएपनि त्यसको
बिपरित संबिधानले नै जातजाति बीच फुट र विग्रह रोपेको छ| अझ आर्य नाम नभई विशेषण
हो| सुसंस्कृत र श्रेष्ठ नै आर्य हो|
बिगतमा छुवाछुतको समस्या भोग्न कानूनले नै
बाध्य पारेका वर्गलाई पनि संविधानले आर्य बाहिर लग्यो| भारतमा आर्य र द्रविड्को
बिभाजन रेखा उहिलै प्रायोजन गरिएको थियो| नेपालमा त संविधानको हतियार प्रयोग गरी
भारतमा आर्य भनिएकालाई आर्य बाहिर पारियो| मावली ससुराली भारतमा हुनेहरु उता जाँदा
आर्य र यता आउँदा अनार्य बनाइए| संविधानका कारण “दशगजा” आर्य र अनार्यको मानक बन्न
गयो| यो फुटाउ र शासन गर भन्ने सूत्रको समावेशिता हो कि राष्ट्रिय एकताको लागि
रुपान्तरण? संबिधान वा कानूनले केही अर्थ विस्तार र अर्थ संकुचन गर्न सक्छ| तर
त्यसोगर्दा बिघटन, फुट र विभाजनका लागि यस्तो व्यवस्था गर्न पक्कै मिल्दैन| त्यसको
ऐतिहासिकता विपरित हुने गरी डेढ अक्कली अर्थ विस्तार र अर्थ संकुचन गर्न हुँदैन|
संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरिने भनिएको छ| धारा
१४को यो व्यवस्था मौलिक हक होइन| धारा २५ को सम्पतिको हक बिनाको आर्थिक हकको आधार
र सीमा स्पष्ट हुँदैन| सम्पति भित्र अचल सम्पति पर्छ| आर्थिक अधिकार भित्र मौलिक
हक विनाको कस्तो सम्पतिको हक पर्ने हो? यस्तै अधिकार प्राप्त गर्नेका कर्तव्य पनि
हुन्छन्| विदेशको नागरिकता लिंदा पक्कै पनि शपथ गराइन्छ| त्यस्तो शपथमा पछि
नागरिकता लिएको राष्ट्रप्रति निष्ठावान
हुने, त्यो देशको राष्ट्रियता अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्ने र त्यो देशको
संविधानको पालना गर्ने कुरा पक्कै हुन्छ| ऊ जानीजानी नागरिकता छोडिसकेको
देशप्रतिको कर्तव्य निभाउला कि जानीजानी शपथ गरी नागरिकता लिएको देशले तोकेको
कर्तव्य निभाउला? धन्न यो संविधानले नागरिकलाई संविधानको रक्षा गर्नु पर्ने
कर्तव्य कसैलाई तोकेको छैन|
यो संविधानको धारा ५०(२) लगायत ठाउँ
ठाउँमा धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलनलाई विभेद, शोषण अन्यायको
आधार भनेको छ| अझ असभ्य पनि भनेको छ| पादरीवादीहरु भिन्न रंगका (हामका सन्तान) मानिसलाई
असभ्य भन्ने गर्छन्| पहिले त अन्ताराष्ट्रिय कानूनलाई पनि सभ्य राष्ट्रको कानून
भनिन्थ्यो| आफूहरुले उपनिवेश बनाएका देशमाथि शोषण र दोहन गरी सभ्य बनाउने नाममा
आफ्ना कुरा लाद्न उनीहरुले अरुलाई असभ्य भन्थे| उनीहरुले आफ्नो कुरा लाद्न र धर्म
परिवर्तन गराउन स्थानीय सभ्यता उन्मूलन गर्न गराउन बोकेको एजेण्डा संबिधानमा
कहाँबाट आयो? समाजका रुढी र अन्धविश्वासलाई धर्म,संस्कृति र संस्कारसंग जोडी
त्यसको विरोध संविधानबाट गराइयो| उता धारा ४ (१) को स्पष्टीकरणमा धर्म संस्कृतिको
संरक्षण गर्ने र धारा ५१ (ठ) मा धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन
आदि गर्ने भनिएको छ| अब धारा ५० (२) अनुसारको विभेद र शोषण गर्ने असभ्य धर्म
संस्कृति कुन हो र धारा ४ र ५१ (ठ) बमोजिमको संरक्षण र प्रवर्धन गरिने धर्म
संस्कृति कुन हो? ती एउटै हुन् कि फरकफरक?
केही समय अगाडी नेपालमा भएको “होली वाइन”
प्रकरणपछि नेपालको संबिधानमा मुनका कुरा घुसाएको भन्ने व्यहोरा सार्वजनिक भयो|
यस्तै राष्ट्र संघका परामर्शदाताको माध्यमबाट र अरु कैयौ बिदेशी गैरसरकारी
संस्थाले पनि नेपालको संबिधान बनाउदा दवाव र प्रभाव पारेको कुरा छिपेको थिएन| ती
संस्था कहाँ कहाँ के के घुसाउन सफल भएका थिए तिनले आफ्नो मुख्यालयमा पठाएका
प्रतिवेदनमा होला नै| कुनै दिन कुनै “लिक्स”ले सार्वजनिक गरिदिए वास्तविकता उजागर
हुँदो हो|
केही दिन अघि एकजना पूर्व
उपप्रधानमन्त्रीले त्यो बेला संविधान सभाका कर्मचारीलाई विदेशीले धम्क्याएको कुरा
सार्वजनिक गर्नुभएको थियो| त्यो समयका कतिपय कुरा भन्ने बेला आउदै गरेको संकेत पनि
गर्नु भएको थियो| नेपालको संविधान बन्दा विदेशीले गरेको खेलोफड्को बाहिर आए
संविधान किन यसरी आपसमा बाझिने गरी बन्यो त्यो कुरा पनि छर्लंग हुनेछ| संविधान
निर्माण कालका कुरा छर्लंग पारी मन हल्का गरौँ| जनतालाई त्यो बेलाको वास्तविकता अवगत गराऊँ| सत्य उजागर गर्नु थाहा
हुनेको कर्तव्य हो र थाहा पाउनु जनताको अधिकार हो|
No comments:
Post a Comment