अन्तर्राष्ट्रिय
समुदायको भ्रम
-मोहन
बन्जाडे
खासगरी पश्चिमा संचार माध्यममा अन्तर्राष्ट्रिय
समुदाय (इन्टरनेसनल कम्युनिटी) भन्ने लवज बरोबर सुनिन्छ| त्यस लवजलाई अन्य
क्षेत्रका संचार माध्यमले पनि उधृत गर्छन्| हुनत: पश्चिमा संचार माध्यमले आफ्नो
ठाउँको भौगोलिक अवस्थितिका आधारमा प्रयोग गर्ने गरेको “मध्यपूर्व” शव्दलाई सो स्थानभन्दा
पूर्वमा रहेका देशका संचार माध्यमले पनि मध्यपूर्व नै भनेर उल्लेख गरेको बरोबर
देखिन्छ,सुनिन्छ र पढिन्छ| यो अरुको न्यारेटिभमा चल्ने र आफ्नो स्थिति र अवस्था
बारे आफैले ध्यान नदिने मानसिकता पनि हो| यसरी नै पश्चिमा राजनीतिज्ञ, कुटनीतिज्ञ
र गैरसरकारी संस्थाले आफ्नो क्षेत्रको दवाव, प्रभाव र वर्चस्वको लागि चलाएको “अन्तर्राष्ट्रिय
समुदाय” भन्ने लवजलाई अन्यत्र पनि स्याल हुइयाँको रुपमा प्रयोग गरेको पाइन्छ|
यो अन्तर्राष्ट्रिय समुदाय कुनै संगठन
भन्ने देखिदैन| यो राष्ट्र संघको अंग पनि होइन| यो समुदायको सदस्य बन्न के योग्यता
र कस्ता अयोग्यता छन् भन्ने बारे औपचारिक सूचना प्राप्त देखिदैन| यसको सभा र
कार्यकारिणी निकाय छैन| निर्णय प्रक्रिया पनि पारदर्शी छैन| एक दुइवटा शक्तिशाली
देशले एउटा अवधारणा बनाएर वक्तव्य जारी गरे पछि खेमा, रङ्ग, विश्वास पद्दति र
भूगोल मध्ये धेरै कुरा मिल्ने केही देशका सरकार आफ्नो मुलुकको हितमा वा ती
शक्तिशाली मुलुकको साथमा रहेको विश्वास दिलाउन समर्थन-वक्तव्य लिएर पंक्तिवद्ध
हुन्छन्|
अन्ताराष्ट्रिय समुदायको नामबाट निर्णय
हुन खास गणपूरक संख्या (कोरम) आवश्यक पर्दैन| एक दुइटा शक्तिशाली देशले पनि
अन्तरराष्ट्रिय समुदायको नामबाट दबाव र प्रभाव सिर्जना गर्न सक्छन्| अरुले आफ्नो कुनै
खास हित गाँसिएको भए मधुरो प्रतिवक्तव्य
निकाल्छन्| अन्यथा ती एक दुई राज्यको धारणा नै अन्तर्राष्ट्रिय समुदायको धारणा बनेर
तरंगित हुन्छ|
नाममा “अन्ताराष्ट्रिय” भनिए पनि वास्तविक
अर्थमा यसमा अन्तर्राष्ट्रिय चरित्र भने हुँदैन| यो कहिले दुई तीन देशीय, प्राय:
एक रंगीय, कहिले एक विश्वासीय पनि हुन सक्छ| यो बिषयबस्तुमा भर पर्छ| यसमा एसिया,
अफ्रीका र दक्षीण अमेरिकी देशको “समावेशिता” हुँदैन| विश्वको ठूलो भूगोल र
जनसंख्या विना पनि यो “अन्ताराष्ट्रिय” नै भनिन्छ|
धेरै जनसंख्या भएका चीन र भारत तथा प्रविधिमा
श्रेष्ठता भएको जापान लगायतका एसियाली देश, विगतमा गरिएको सर्वाधिक शोषणको
प्रतिनिधित्व गर्ने पीडित अफ्रिकी देश र माया सभ्यताको प्रतिनिधित्व गर्ने दक्षीण
अमेरिकी मुलुकसित अन्तर्राष्ट्रिय समुदायको छुवाछुत चल्छ| बरु यी देश नै यो
समुदायका शिकार हुने गर्छन्| पश्चिम यूरोपका पनि ससाना देश यसको न्यारेटिभ बनाउन
खास संलग्न भएको देखिदैन| पूर्वी यूरोपका देशको बोली पनि यता खासै बिक्दैन| रुसलाई त यसको प्रति-कित्तामा राखेको देखिन्छ|
अन्तर्राष्ट्रिय समुदायको दवाव वा प्रभावको
प्रकृति आ-आफ्ना गल्तिहरुमा आत्मालोचना गर्ने भन्दा अरुका नभएका वा भए पनि ससाना
गल्तित्रुटी वा तिनका पद्दति र नीतिको आलोचना गर्ने किसिमको हुने गरेको देखिन्छ| कहिले
काहिं अन्तर्यमा रहेको कुरा उल्लेख गर्न उपयुक्त नलागेमा मानवाधिकार, वातावरण,
अल्पसंख्यक, पहिचान आदि जस्ता विषयलाई औजारको रुपमा प्रयोग गरिन्छ|
अन्ताराष्ट्रिय समुदायको नामबाट खासगरी
केही शक्तिशाली देशको आर्थिक, व्यापारिक र रणनीतिक हितको सम्बर्धन र प्रवर्धन
गर्ने प्रयास गरिन्छ| ती मुलुकको मत, लाभ र मान्यतालाई नै सत्य, न्याय र
विश्वव्यापी मान्यता बनाउने प्रयास गरिन्छ| आफ्नो हितको विपरित केही भए गरेको
लागेमा अन्य मुलुकको आन्तरिक मामिलालाई तारो बनाउने प्रयत्न हुन्छ| अवस्था र
परिस्थिति अनुसार भिन्न सभ्यता र संस्कृति वा पद्दति भएका मुलुक विरुद्ध सामाजिक वा
सांस्कृतिक विग्रह उत्पन्न हुने वातावरण तयार गर्न बडाआदेश (कमाण्डमेन्ट्स) जारी
गर्ने अभियान चलाइन्छ| कहिले काहिँ आफ्ना एजेन्सीले “चर” बनाएका व्यक्ति वा तिनको
लागि काम गर्ने स्थानीय व्यक्तिको हितको लागि पनि दवाव र प्रभावको वातावरण सिर्जना
गरिन्छ|
यस्तै आफूसंग विश्वास र नीति मिल्ने
मुलुकमा भएका गलत, खराब र क्रुर घटना वा कानूनी प्रावधान वा नीतिगत व्यवस्था बारे
सकेसम्म मौन रहनु वा त्यसलाई नजरअन्दाज गर्नु वा हल्का रुपमा लिनु पनि यसको मकसद
हुने गरेको देखिन्छ|
मष्तिस्क नियन्त्रण (माइण्ड कन्ट्रोल)
गर्न समय समयमा बिभिन्न अवधारणा र शब्दावली विश्व बुद्धिजीवी बजारमा पठाइन्छ| ती अवधारणा
र शब्दावलीको व्यापक प्रचार गराई आफ्नो साख, बजार र दवदवा कायम राख्ने प्रयास
गरिन्छ|
भिन्न सभ्यताका व्यक्तिहरुको बहुमत भएको
मुलुकमा अल्पसंख्यकको मुद्दा उठाउने उठाउन लगाउने प्रवृत्ति हुन्छ| यस्ता देशमा
बहुमत जनसंख्यालाई अत्याचार गरेको र अल्पसंख्यक जनसंख्या अन्यायमा परेको भन्ने एजेण्डामा
काम गरिन्छ गराइन्छ| जस्तो नेपाल वा भारतमा हिन्दू वा सनातनीलाई खराब अनुमान
गरिन्छ, श्रीलंका र म्यान्मार (बर्मा)मा बुद्धमार्गी खराब मानिन्छन्| कहिले काहिँ एकै
विश्वास प्रणालीका बहुमत वा अल्पमत सम्प्रदायहरु बीच पनि द्वन्दको परिस्थिति
सिर्जना गरिन्छ गराइन्छ| आफ्ना देशमा बहुमतको कदर गर्नु न्याय र प्रजातन्त्र हुन्छ
भने अन्यत्र बहुमतको विरुद्ध अनुमान गर्नु नै न्याय र प्रजातन्त्र हुन्छ|
यस्तै भिन्न राजनीतिक पद्दति भएका र आफ्नो
छाता न ओड्ने देश पनि झटारोका शिकार बनि रहन्छन्| आर्थिक,व्यापारिक, सामाजिक
सांस्कृतिक र धार्मिक बिषयलाई लिएर ती देशमा अन्ताराष्ट्रिय समुदायका नाममा बेला
बेलामा वक्तव्य आउछन्| कतिपय देशले त व्यापार कटौतीको मार पनि भोग्नुपर्छ|
अन्तर्राष्ट्रिय समुदायको नाममा दबाब र
प्रभाव संचार माध्यमबाट सार्वजनिक गरेपछि जुन देशको विरुद्ध लक्षित विषय हो त्यो
देशमा रहे बसेका कतिपय बिदेशी गैरसरकारी संगठन (कथित आईयनजिओ ) हर्कतमा आउछन्| तिनले
आफूबाट विज्ञापन वा अन्य लालच प्राप्त
गर्ने स्थानीय संचार माध्यम वा गठजोडमा रहेका स्तम्भकार वा लेखकलाई पनि सक्रिय
पार्छन्| यी विदेशी गैरसकारी संस्थाले आफू दर्ता भएको देशमा हुने गम्भीर अत्याचार
र अन्यायका कुरा ढाकछोप गराउन काम गर्छन्| तर आफू कार्यरत रहेको देशमा भने घृणा
सामाग्री तैयार गर्न लगानी गर्छन्| प्रायोजित प्रश्न, प्रायोजित उत्तरदाता र
प्रायोजित निष्कर्षको आधारमा प्रतिवेदन बुझाई आफ्नो देशलाई उसको न्यारेटिभ र एजेण्डामा काम गर्न प्रमाण
जुटाइदिन्छन्|
अन्तर्राष्ट्रिय समुदाय भनिने देशको दवाव
र प्रभावलाई मलजल गरी फाइदा लिन केही दाताजिवी स्थानीय गैरसरकारी संस्थालाई
अकस्मात ज्ञान र उर्जा प्राप्त हुन्छ| त्यो ज्ञान र उर्जा सामान्यत: विदेशी
गैरसरकारी संस्था र अवस्था अनुसार कुटनीतिक एजेन्सीबाट पनि प्राप्त हुन सक्छ| यी
सबैको गठजोडमा अन्तरराष्ट्रिय समुदायको एजेण्डालाई स्थापित गराउने प्रयास हुन्छ|
अन्तर्राष्ट्रिय समुदाय लवजको प्रयोग खास
गरी भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धको बिषयमा गरेको देखिन्छ| अझ स्पष्ट
शव्दमा भन्दा यसको प्रयोग सम्बन्ध बनाउने र कायम राख्ने भन्दा विग्रहको लागि
गरिन्छ| कुनै भिन्न सभ्यता संस्कृति वा राजनीतिक व्यवस्था भएका मुलुकका विरुद्ध यस
समुदायको नामबाट दबाब सिर्जना गर्ने प्रयत्न गरिन्छ| अर्थात् कुनै देश आफ्नो
एजेण्डामा चल्न नमाने, आनाकानी गरे वा नरुचाएको संकेत देखाए यो समुदायको नाममा
सामुहिक वाक-घृणाका वक्तव्य जारी हुन्छन्| अनि मतो मिल्ने अरु त्यसैमा लामवद्ध हुन
आइपुग्छन्|
अन्ताराष्ट्रिय समुदायको नाममा कसैका
विरुद्ध वक्तव्यको “बडा आदेश ” जारी भएपछि
ती देशका संचार माध्यम त्यसको अन्ताराष्ट्रियकरणमा जुट्छन्| खासगरी सम्वद्ध देशको
राष्ट्र प्रमुख वा सरकार प्रमुखको दलसंग निकट रही चुनावमा सहयोग गरेका संचार
माध्यम बढी आक्रमक रुपमा प्रस्तुत हुन्छन्|
घटना र परिस्थितिको अन्ताराष्ट्रियकरण र स्थानीय
स्तरमा सके विरोधको नसके भ्रमको वातावरण तयार गरेपछि आवश्यकता र महत्वको आधारमा
त्यो विषयलाई राष्ट्र संघका फोरममा उठाउने प्रयास हुनसक्छ| ससाना देश विरुद्दको
विषय भए कुटनीतिज्ञका स्थानीय क्लब सक्रिय पारिन्छ| देश प्रभावशाली भए यस्तो
सामुहिक दवाब दिन हिच्किचाइन्छ|
यसक्रममा केही अन्ताराष्ट्रिय भनिने
विदेशी गैरसरकारी संस्थाका मुख्यालय पनि सक्रिय हुन्छन्| मुख्यालयले उतै र तिनका स्थानीय फ्रेंचाईजी संस्थाले स्थानीय
स्तरमा वक्तव्य निकाल्न भ्याई नभ्याई गर्छन्|
अन्ताराष्ट्रिय दवावको वातावरण परिपक्व र स्थानीय
“माहोल” तैयार भएको महसुस भएमा विषय वस्तु, परिस्थिति र त्यो देशको औकात हेरी
राष्ट्र संघको स्थानीय कार्यालयले पनि वक्तव्य निकाल्न भ्याउछ| मुलुक कमजोर भन्ने
लागेमा राष्ट्र संघको स्थानीय कार्यालयमा काम गर्ने कर्मचारीले अन्तर्राष्ट्रिय
समुदायको नाममा केही मुलुकका राजदूतसंग “मिलिजुली बैठक गर्ने र दबाव दिन संगसंगै
सरकारी निकायमा पुग्नेसम्म गर्छन्| मुख्यालयमा
राष्ट्र संघको लागि ठूला चेक दिने र स्थानीय स्तरमा राष्ट्र संघको सहयोगको नाममा
चल्ने परियोजनाको लागि सहयोग दिने देशका राजदूतसंग राष्ट्र संघका कर्मचारीको बढी
हिमचिम हुन्छ| उनीहरुलाई यो नै अन्ताराष्ट्रिय समुदाय लाग्नु आर्थिक हिसाबले
अनुचित पनि छैन|
यसप्रकारका अन्ताराष्ट्रिय समुदायले गर्न
सक्ने प्रभाव, दवाव र हस्तक्षेप रोक्न पूर्व र दक्षीणका मुलुकहरुमा रहेका
क्षेत्रीय संगठनहरुले संगठित आवाज उठाउन जरुरी देखिन्छ| आफ्नो कुनै सदस्य राज्यलाई
अन्यायपूर्वक कुनामा पुर्याउने (कर्नर) प्रयास भएमा त्यो देशलाई एक्लो छोड्न
हुदैन| भोलि अर्को देश विरुद्ध पनि त्यस्तै व्यवहार हुन सक्छ| दक्षीण अमेरिकी
मुलुकका संगठन, अफ्रिकी युनियन, अरब युनियन, सार्क, आसियान जस्ता संगठन बीच
सहकार्य गर्न सके विकासोन्मुख समाजले त्यस्तो समुदायको अनावश्यक प्रभाव, दवाव र
हस्तक्षेप सहन पर्ने छैन वा कम हुने छ| यसो गर्न सम्भव नभए क्षेत्रिय सङ्गठनहरुले
मात्र प्रतिक्रिया व्यक्त गर्ने गरे पनि
ती क्रियाकलाप कम हुने सम्भावना रहन्छ| जसरी केही देशले अरु देश भित्रका घटनालाई लिएर
प्रत्येक वर्ष प्रतिवेदन सार्वजनिक गर्छन् त्यसको जबाफमा पूर्व र दक्षीणका राष्ट्रले
पनि ती समुदायवाला देशमा हुने घटना बारे पनि प्रतिवेदन निकाल्न जरुरी छ| यसले पनि
अरुको आन्तरिक मामिलामा गरिने हस्तक्षेप पातलिन सक्छ| सहिष्णुताको अर्थ जे पनि
सहनु पक्कै होइन| गरीब राज्य ठूला र शक्तिशाली राज्यका कारण आवाजविहीन हुन पर्नु
कदापि अन्तर्राष्ट्रिय न्याय होइन|
यति गहन कुरालाई प्रस्तुत गर्नु भएकोमा धन्यवाद |
ReplyDelete