प्रतिष्पर्धा परीक्षामा
कानून
-
मोहन बन्जाडे
प्रवेश
बिभिन्न सरकारी निकाय, संस्थान,
व्यावसायिक संगठन र गैरसरकारी संस्थामा योग्यता परीक्षामा कानून पनि पाठ्यक्रममा
रहने गरेको हुन्छ| न्याय सेवा वा अरु संस्थानका कानून अधिकृतका परीक्षामा कानूनका
विधा नै परीक्षणका मुख्य बिषय हुन्छन्| महाविद्यालयमा कानून नपढे पनि यस्ता
परीक्षामा सामेल हुँदा कानून पढ्न जरुरी हुन्छ| भोलि सेवामा प्रवेश गरेपछि कानून
बमोजिमका हक अधिकार सुरक्षित गरिदिन, सेवा उपलब्ध गराउन, बिकास निर्माणका काम
गर्न, कानून व्यवस्था कायम गर्न, कानून कार्यान्वयन गर्न र ती कार्य कानूनको प्रक्रिया पुर्याएर गर्न तत्
तत् कानूनको जानकारी राख्नुपर्ने हुन्छ| त्यसैले प्रतियोगितात्मक परीक्षामा न्याय
र कानूनका सिद्धान्त तथा सेवा सम्बद्ध अत्यावश्यक कानून बारे बुझ्ने र विश्लेषण
क्षमता बिकास जरुरी हुन्छ|
कानून अलि शुष्क बिषय हो| यसको भाषा
शैलीका कारण पनि यो साहित्य जस्तो रोचक हुँदैन| तथापि परीक्षार्थीले यसको अध्ययन
गर्नैपर्ने हुन्छ| कानूनको अध्ययनलाई सकभर सरल, सहज र रोचक बनाउन पनि सकिन्छ| यस
आलेखमा कानूनको अध्ययनलाई कसरी व्यवस्थित गर्ने भन्ने सन्दर्भमा अनुभवका आधारमा
बताउने प्रयास गरिने छ|
व्यवहारिक पक्ष
प्रतियोगितात्मक परीक्षामा सम्मिलित हुने
प्रतियोगीले उत्तर लेख्न थाल्नु पूर्व प्रश्न पत्रमा रहेका सूचना पढ्नुपर्छ| त्यसपछि सबै प्रश्न पढी जुन प्रश्नको उत्तर
सबभन्दा बढी आउँछ त्यसको उत्तर पहिले लेख्नु उपयुक्त हुन्छ| यसले जाँचकीलाई शुरुमा
नै राम्रो भन्ने प्रभाव दिन्छ| यसरी उत्तर दिँदा पनि बढी पूर्णांकको प्रश्न पहिले
हल गर्नु बढी सुरक्षित हुन्छ|
समय व्यवस्थापन नगरी उत्तर लेख्न थाल्दा
कुनै प्रश्नको उत्तर अनावश्यक लामो हुने र कुनै प्रश्नको उत्तर दिन समय नपुग्ने
हुनसक्छ| तसर्थ प्रश्नको पूर्णांक र आफ्नो जानकारीको आधारमा प्रश्न हल गर्ने समय
व्यवस्थापन गर्नु पर्छ| अनि हरेक उत्तरको अन्तमा पछि केही लेख्न मिल्ने केही खाली
ठाउँ छोड्नुपर्छ| कदाचित पछि समय उभ्रेमा सो खाली ठाउँमा उत्तर थप्न सकियोस्|
उत्तर लेख्नु पूर्व प्रश्नको बनौट र सीमा
बारे आँकलन गर्नुपर्छ| कुनै प्रश्नका एक भन्दा बढी आयाम हुन्छन्| उत्तर लेख्दा ती
सबै आयाम संबोधन हुने गरी उत्तर लेख्नुपर्छ| जस्तो ऐनको उद्देश्य माथि प्रकाश
पार्दै ऐनले निषेध गर्न खोजेका कुरा माथि प्रकाश पार्नु होस् भनेकोमा “उद्देश्य” र
“निषेधित बिषय” दुबै बारे चर्चा गर्नुपर्छ| सकेसम्म प्रश्नमा जे सोधिएको छ त्यसमा
नै उत्तर सिमित गर्नुपर्छ|
कहिले काहिँ प्रश्नमा सिमित रहेर दिने
उत्तर आफूलाई नआउने हुन सक्छ| त्यस्तोमा प्रश्न हल नगरी छोड्न भन्दा त्यो बिषयको
के, किन, कसरी, कहाँ र कहिले भन्ने प्रश्न कल्पना गरी सकेसम्म प्रश्नको सेरोफेरोमा
रहेर केही लेख्नु लाभप्रद हुन्छ| तर उल्टो हुने गरी भने लेख्नु हुँदैन| गलत कुरा
लेख्नु भन्दा नलेख्नु ठीक हुन्छ| अझ गलत उत्तर शुरु शुरु तिर नै लेख्नु त झन् घातक
हुनसक्छ| किनकि जाँचकीले अरु पनि गलत उत्तर लेखेको हुन सक्ने धारणा बनाउन सक्छ|
प्रश्नको उत्तरमा के के लेख्ने भन्ने कुरा
मात्र नभई कसरी लेख्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ| जस्तो कानूनमा के छ
उल्लेख गर्ने, अरु कुनै विषयसंग तुलना गर्ने, आलोचना गर्ने, विश्लेषण गर्ने,
समस्या पहिचान गर्ने, सुझाव प्रस्तुत गर्ने आदि कुरा कुन शैलीमा लेख्ने भन्ने
कुरामा पनि ध्यान पुर्याउनु पर्छ| त्यसैले प्रश्न राम्ररी बुझी उत्तर जसरी लेख्न
भनेको छ त्यसरी लेख्नु पर्छ| सुझाव दिन भनेकोमा विवरण मात्र दिनु प्रश्नको
वास्तविक र खोजेको उत्तर हुँदैन र उच्च अंक प्राप्त हुँदैन| समस्याहरु वा सुझावहरु
लेख्दा वुंदागत रुपमा लेख्नु उपयुक्त हुन्छ| विश्लेषण र आलोचनात्मक टिप्पणी गर्दा
प्रकरण प्रकरणमा लेख्न सकिन्छ| तुलना गर्दा उत्तर पुस्तिकामा दुई खाना बनाई एकातिर
एउटा पक्ष उल्लेख गरी अर्को खानामा त्यसको अर्को तुलनात्मक पक्ष वुंदागत रुपमा लेख्दा
राम्रो देखिन्छ| यसो गर्न उत्तर पुस्तिकालाई बीचबाट भाँचेर दुइवटा खाना बनाउन
सकिन्छ|
उत्तर लेख्दा प्रश्नको सीमा बाहिर गई
इतिहासबाट वा अति सामान्य कुराबाट शुरु गर्न हुँदैन| यो बिषयमा यो कुरा भन्न
सकिन्छ कि भन्ने जस्ता अनावश्यक लवज लेख्न पर्दैन| उही कुरा दोहोराउन हुँदैन| शब्द
अनावश्यक खर्च नगर्ने गरी शाब्दिक मितव्ययिता राख्न सक्नुपर्छ| अनावश्यक
पृष्ठभूमि, वाक्य, लवज र शव्द नलेखे प्रश्नले खोजेको वास्तविक उत्तर लेख्न समय
पुग्छ| समय बचे दोहोराएर खाली ठाउँमा उपयुक्त उत्तर थप्न सकिन्छ|
कुनै बिषयमा धेरै जानेका कारण पनि समस्या
आउँछ| यस्ता परीक्षा जानेका सबै कुरा लेख्न होइनन्| सोधिएका कुरा सोधिएको शैलीमा
सोधिएको तरीका अनुसार लेख्नका लागि हुन्| त्यसैले आफूले जाने मध्ये प्रश्नले अपेक्षा
गरेको कुरा मात्र लेख्नुपर्छ| पछि समय उभ्रे थपथाप गर्नु त छदैछ|
लामा लामा वाक्य र प्रकरण लेखेमा
जाँचकीलाई पढ्न र बुझ्न झिजो (दिक्क) लाग्न सक्छ| एउटा अवधारणाको एउटा तर छोटो
प्रकरण बनाउनु पर्छ| सकेसम्म साना वाक्यमा लेख्नुपर्छ| लामो उत्तरमा प्रकरण
प्रकरणमा लेख्दा एक वा दुई शव्दका उपशीर्षक राखे अझ आकर्षक हुन्छ|
कानूनी
सन्दर्भ
संबन्धित ऐनको उदेश्य र सो ऐन ल्याउनु
पर्ने कारण त्यसको प्रस्तावनामा उल्लेख भएको हुन्छ| प्रस्तावनामा प्रयोग भएका शब्द
र भावनाको व्याख्या गरेर सो ऐनले के गर्न, कुन कार्य नियमन, निषेध वा निवारण गर्न,
कुन विषयलाई प्रोत्साहित वा प्रवर्धन गर्न, कस्तो नयाँ व्यवस्था गर्न खोजेको हो
भन्ने कुरा पत्ता लगाउनुपर्ने हुन्छ| अलि बढी छोटा प्रस्तावनामा यी कुरा
परीक्षार्थीको प्रयोजनका लागि पर्याप्त नहुन सक्छ| त्यसको लागि ऐनको पेटबोली (भित्री व्यवस्था)बाट पनि ऐनको उद्देश्य पत्ता
लगाउनु पर्नेहुन्छ|
कतिपय अवस्थामा कानूनमा प्रयोग भएका शब्दका
खास कानूनी अर्थ हुन्छन्| त्यसको जानकारीका लागि संबन्धित ऐनको परिभाषा खण्डमा
दिइएका परिभाषा पढ्न अनिवार्य हुन्छ| अनि कानून व्याख्या संबन्धी ऐन पाठ्यक्रममा
नभए पनि यसको अध्ययन जरुरी हुन्छ| कहिले काहिँ आफूले बुझेको शव्दको अर्थ र कानूनमा
प्रयोग भएको सो शब्दको अर्थ भिन्न हुन सक्छ| कानूनमा कहिले अर्थ विस्तार र कहिले
अर्थ संकुचन हुने गरी परिभाषा गरिएको हुनसक्छ|
कुनै पनि कानून सम्पूर्ण रुपमा नपढी
त्यसको बारेमा धारणा बनाई हाल्न हुँदैन| किनकि अघिल्लो व्यवस्थासंग संबन्धित अन्य व्यवस्था पछाडि पनि हुन सक्छन्|
ऐन पढ्दा पहिलो पटक महत्वपूर्ण लागेका
कुरा शिशाकलमले निम्न रेखांकन गर्ने वा किनारामा एक दुइ शब्दको प्रतिक्रिया लेख्दै
गए समग्रमा बुझ्न सजिलो हुन्छ|
कानून पढ्दा त्यससंग सम्बन्धित
विधिशास्त्र पनि पढे अझ राम्रो हुन्छ| अर्थात् सो कानूनको पछाडिको दर्शन, न्याय र
कानूनका सिद्धान्तको अध्ययनले सो कानूनको चिरफार गर्न सजिलो हुन्छ| प्राकृतिक
न्यायका सिद्धान्त, फौजदारी न्यायका सिद्धान्त, देवानी न्यायका सिद्धान्त जस्ता
सिद्धान्तको अध्ययनले उत्तरलाई आधिकारिक र ओजनदार बनाउन मद्दत गर्छ|
कानूनमा केही संरचना (structures)
हुन्छन्| केही गर्न पर्ने काम र गर्न नहुने कार्य (functions) हुन्छन्| केही पुर्याउने
प्रक्रिया वा पालन गर्नुपर्ने कार्यविधि (processes and procedures) हुन्छन्, केही
अन्तरसम्बन्धका विषय (relationship) कुरा हुन्छन्, अनि केही उल्लङ्घन गरेमा हुने
अनुशास्ति(sanctions) वा सजाय(penalty) हुन्छन्|
कानून पढ्दा त्यो कानूनले कस्तो वा कस्ता
संरचनाहरुको व्यवस्था गरेको छ, त्यसको प्रकृति बारे धारणा बनाउनु पर्छ| कुनै ऐन
मूलत: संरचनामुखी हुन्छन्, जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, विश्वविद्यालय
ऐन आदि| कुनै ऐन कार्यमुखी हुन्छन् र
त्यसमा ती काम गर्ने बिभिन्न संरचना हुन सक्छन्| बिकास निर्माण सम्बन्धी प्राय:
कानूनमा कार्यको बढी उल्लेख भएको पाइन्छ| कुनै ऐन कार्यविधिमुखी हुन्छन् जस्तै
कार्यविधि संहिता, बिशेष अदालत ऐन आदि| कतिपय ऐन मिश्रण पनि हुन्छन्| नियमहरु
कार्यविधि कानून हुन्छन्|
ऐन पढ्दा त्यो ऐनका उद्देश्य के के हुन् ?
त्यसमा कुन कुन संरचना छन्? संरचनाहरु बीचको के कस्तो सम्बन्धको व्यवस्था छ?
नागरिक र संरचनाको सम्बन्धका कस्ता व्यवस्था छन्? के कस्ता कुरा वा कार्य निषेधित
छन्, कुन कुरा नियमन गर्न खोजिएको छ? कस्ता कुरा प्रवर्धन गर्न खोजेको छ? ती मध्ये
कुन कुन अपराध हुन्, कुन देवानी गल्ती हुन् ? कुन देवानी हक सम्बद्ध हुन्? के
कस्ता अनुशास्ति वा सजाय छन्? यस आधारमा बुँदा टिपोट गरे ऐन छिलिंगाएर पढ्न सजिलो
हुन्छ|
कतिपय कानूनमा समस्या हुन्छन्| कहिले
कानून संविधानका व्यवस्थासंग बाझिएको हुनसक्छ| कहिले काहिँ एक भन्दा बढी कानून
आपसमा बाझिएका हुन सक्छन्| यस्तै उही कानूनका व्यवस्थामा बेमेल हुन सक्छ| कहिले
ऐनसंग नियम बाझिएका वा ऐनको भावना विपरित नियम बनेको हुन सक्छ| आलोचना, टिप्पणी वा
बिश्लेष्णात्मक उत्तरको लागि आलोचनात्मक चेत सहित कानून पढ्नु पर्ने हुन्छ|
कहिले काहिँ कानूनका कारण त्यसका उपभोक्ता
वा हितग्राहीलाई समस्या भएको हुन सक्छ| कहिले अधिकारीहरुलाई अत्यधिक अख्तियारी
दिएको हुन सक्छ| कहिले उपभोक्तालाई पर्याप्त संबोधन नगरेको हुनसक्छ| कहिले काहिं
प्रक्रिया झन्झटिलो हुनसक्छ| कानून पढ्दा यस्ता कुनै समस्या छन् कि त्यसतर्फ ध्यान
दिनुपर्छ|
यसैगरी कानून कार्यान्वयन नहुनुका समस्या
पनि हुन सक्छन्| समाजको माग र सोंच विपरित कानून बनेमा वा संशोधन भएमा पनि
कार्यान्वयनमा समस्या हुनसक्छ| कहिले काहिँ कर्मचारीतन्त्रको निष्क्रियताका कारण
वा कहिले कानूनमा धेरै छिद्र भएका कारण पनि कानून कार्यान्यनले गति लिन सक्दैन|
कहिले कसूरको अनुपात भन्दा सानो वा कहिले
ठूलो सजायको व्यवस्था भएको हुनसक्छ| कहिले
उत्तरदायित्व स्पस्ट नभएको वा कहिले जिम्मेवारी निश्चित नभएको हुनसक्छ|
यस्तै कतै पारदर्शिता हुनु पर्ने अवस्थामा
पनि गोप्यता कायम गर्ने कानून हुनसक्छ|
नेपालमा केही वर्ष यता बिदेशी गैरसरकारी
संस्थाले कानून निर्माणमा दखल दिने वा
प्रभाव पार्ने कोशिस गर्दै आएका छन्| दाताका एजेण्डामा बनेका कानूनमा सामाजिक
बिघटन, जातियता, क्षेत्रीयतालाई ठाउ दिने र
स्थानीय सभ्यता, संस्कृति र सद्भाव बिथोल्ने प्रकृतिका कुरा पर्ने गरेका
छन्|
कानूनका संबन्धमा सुझाव दिंदा यसको सारवान
पक्ष र कार्यविधि पक्षमा, कार्यान्वयनको सहजता वा कठिनाई, संरचनाको प्रकृति र
सीमा, अधिकारीलाई दिएको अख्तियारीको स्वरूप, सजायको मात्रा, प्राकृतिक न्याय
वा न्यायका अन्य सिद्धान्तको अवस्था एवं
हितग्राही वा उपभोक्ताका अधिकार र सुविधालाई आधार बनाएर सुझाव प्रस्तुत गर्न सकिन्छ|
कानून भित्रका समस्या, कानूनले उत्पादन
गरेका समस्या, कानून व्याख्याबाट देखिएका समस्या, कानूनले उपभोक्ता वा
हिताग्राहिको समस्या संबोधन गर्न नसकेका कुरालाई संबोधन गर्दै दिएका सुझाव महत्वपूर्ण हुन्छन्| कानूनको व्यवस्थित
अध्ययन गरी उत्तरलाई आकर्षक ढंगले प्रस्तुत गर्न सकिन्छ| प्रश्न सापेक्ष उत्तर,
सबै प्रश्नको उत्तर र आकर्षक प्रस्तुतिले प्रतियोगितामा सफल हुन पक्कै मदत गर्छ|
No comments:
Post a Comment