कौटिल्यको
अर्थशास्त्रमा सदाचारका कुरा
-मोहन
बन्जाडे
पूर्वीय जीवन पद्दतिमा सदाचार मानिसको
वैयक्तिक, पारिवारिक,
सामाजिक र राष्ट्रिय जीवनको अंग हो| मानिस असल जीवनयापनका लागि व्यक्तिगत रुपमा
सदाचारी हुनुपर्छ| व्यक्तिगत जीवनलाई सफल बनाउन आफ्नो शरीर र मनसँग सम्बन्धित बिषय, आहार, विहार तथा गर्न हुनेनहुने काम, कुरा र
व्यवहार बारे शास्त्रमा चर्चा छ| यस्तै परिवारसंगको सम्बन्ध र कर्तव्य, समाजसंगको
सम्बन्ध र कर्तव्य, राष्ट्रसंगको सम्बन्ध र कर्तव्य तथा प्रकृतिसंगको सम्बन्ध र
कर्तव्य बारे पनि बिभिन्न शास्त्रमा वर्णन छ| मानिसको दिनचर्या, आश्रम प्रबन्ध,
कानूनको पालना मात्र होइन राजादेखि जनपदका सेवकसम्मले गर्न हुने, नहुने र गर्न
पर्ने कुराको पनि उल्लेख छ| पश्चाताप र प्रायश्चितको वर्णन छ| राजादेखि राज्यका अन्य
अधिकारी र कर्मचारीहरुको योग्यता र अयोग्यता बारे पनि चर्चा छ| समयमा सेवा प्रदान
गर्नु पर्नेदेखि भ्रष्टाचार गरेमा के कस्तो सजाय हुने भन्नेसम्मका कुराको
शास्त्रमा उल्लेख छ|
शास्त्रहरु राज्यले बनाएका कानून थिएनन्| ऋषिहरुले आफ्नो
अध्ययन, अनुभव र समाजमा रहेका व्यवहार तथा तात्कालिक जनमत समेतलाई ध्यानमा राखी
तैयार गरेका वैयक्तिक पारिवारिक र सामाजिक थिए| ती शास्त्र मध्ये कुन शास्त्रका कुन
कुरालाई आधार बनाइ राज्य प्रणाली संचालन गर्ने भन्ने कुरा सम्बन्धित राज्य
प्रणालीको रोजाईको बिषय थियो| शास्त्रमा उपाय सहितका विकल्प छन्|
स्थान र सामाजिक स्वीकार्यताको आधारमा कुन
शास्त्रका कुन कुरालाई मानव न्यायशास्त्र (राज्यको कानून) बनाउने नबनाउने कुरा
जनमत र राज्य प्रणालीको पोल्टामा हुन्थ्यो| उदाहरणार्थ अंश बारे कतै दायभाग
चल्थ्यो त कतै मिताक्षारा चल्थ्यो| जयस्थिति मल्लको पालामा नारद्स्मृतिबाट बढी
प्रभावित भई न्यायविकाशिनी बनेको थियो| पृथ्वीनारायण शाहलाई याज्ञवल्क्यस्मृति
बारे जानकारी गराइएको प्रसंग भेटिन्छ|
कतिपय मानिसहरु मनुस्मृतिमा उल्लेख भएका केही प्रसंगलाई लिएर प्रश्न
उठाउछन्| यथार्थमा महिला र जातियता संबन्धी केही प्रसंग अस्वभाविक छन्| कतिपय
अध्येताले मनुस्मृतिका ती विषय क्षेपकका रुपमा पछि थपिएको कुरा बताएका छन्| सोही
स्मृतिको शुरुमा र सम्बन्धित अध्यायको शुरुमा उल्लिखित कुराको विपरित त्यस्ता
क्षेपक थपे थपाएको कुरा सार्वजनिक छ| कलकत्तामा एघार जना पण्डितलाई प्रयोग गरी मनुस्मृतिलाई
हिन्दू कानून बनाउने प्रयास गरियो| विलियम जोन्सले मनुस्मृति अनुवाद गर्दा थपघट
गरी मौलिकता विगारेको भनिएको छ| अचेल विशुद्ध अर्थात् क्षेपक बिनाको वा क्षेपक
पहिचान गरेर मनुस्मृति प्रकाशन गर्न थालिएको कुरा पनि सार्वजनिक छ|
पूर्वीय दर्शनले सदाचारलाई मूलतः व्यक्तित्वसंग
जोडेर हेर्ने गरेको छ| गुरुकूल र परिवारले बालबालिकालाई शिक्षा दिंदा र हुर्काउदा
नैतिक शिक्षा दिने चलन हो| नीति कथा, पन्चतन्त्रका कथा मार्फत पनि जीवन मूल्य
सिकाउने गरिन्थ्यो| मानिसलाई अधिकारको निम्ति लड्न भिड्न नभई कर्तव्य निर्वाह
गर्नु पर्ने शिक्षा दिइन्थ्यो| व्यक्तिले व्यक्ति परिवार, समाज र राष्ट्रको
व्यक्तित्व निर्माणका लागि प्रकृति अनुरुप र समाजसंग मिलेर कर्तव्य निर्वाह
गर्नुपर्थ्यो| सबैले व्यक्तिगतरुपमा कर्तव्य निर्वाह गर्दा अरुका अधिकार सुरक्षित
हुने मानिन्थ्यो|
सनातन दर्शनमा सदाचार नीतिका विविध पक्षमा
व्यापक चर्चा छ| यस आलेखमा कौटिल्यको अर्थशास्त्रमा आधारित भई राज्य प्रणाली
संबद्ध सदाचार बारे छोटो चर्चा गरिनेछ|
व्यक्ति, परिवार र समाजको सदाचारको प्रभाव
राज्य प्रणालीमा पर्दछ| त्यसैले व्यक्ति, परिवार र समाजको व्यक्तित्व निर्माण गर्न
सके मात्र राज्यको व्यक्तित्व निर्माण हुनसक्छ|
एउटा व्यक्तिको व्यक्तित्व निर्माण गर्न
भिन्नभिन्न कालखण्डका भिन्नभिन्न शास्त्र (ज्ञान विधा) को अध्ययन हुनु पर्छ| भिन्न
स्मृतिमा कतिपय विषयमा भिन्नाभिन्नै मत छन्| त्यसैले ती विषयलाई समय र समाजको
आवश्यकता र मान्यताका आधारमा प्रश्न गर्ने, असहमत हुने, भिन्न राय राख्न सक्ने र उपयुक्त
विकल्प चयन गर्ने कुरालाई कौटिल्यले सम्मान दिएका छन्| उनले कति स्मृतिका कुरामा
भिन्न मत राखेका मात्र होइन विगतमा व्यक्त भिन्न मतको उल्लेख समेत गरेका छन्| आजकल
चर्चा गरिने आलोचनात्मक सोंच (क्रिटिकल थिन्किंग) को सन्दर्भ यस कृतिमा पर्याप्त उल्लेख
छ| यस्तै दिनचर्याका नियमको पालनादेखि इन्द्रिय विजय (कामुकता, क्रोध, लोभ अभिमान,
मद्, कपट आदि) बाट मुक्त हुनुपर्ने उनको राय छ|
नियुक्तिमा योग्यता प्रणाली लागु गर्नुपर्ने
कुरा कौटिल्यको अर्को प्राथमिकता हो| व्यक्तिका व्यक्तिगत गुण, अवगुणको चर्चा
गर्दै पदले गर्नुपर्ने कामअनुसारको योग्यता र अयोग्यताको विवरण पनि उनले दिएका
छन्| राजा, अमात्य, मन्त्री, गुप्तचर, विभागीय प्रमुख, दूत आदिको योग्यता बारे
व्यापक चर्चा छ|
कौटिल्यको अर्थशास्त्र जमिनको उपयोग,
किल्ला निर्माण, कोष र कोषाध्यक्ष, भौतिक निर्माण, लेखा र कोषको सदुपयोग, कर्मचारी
छनौट, भ्रष्टाचार नियन्त्रण, खानी प्रबन्ध, जिन्सी र भण्डार व्यवस्था, व्यापार, किनबेच,
लेनदेन, व्यवस्था, इन्धन, सुरक्षा, नापतौल, राजश्व, कृषि,बधशाला, मदिरा, गणिका,
डुंगा, गोठ र पशुपालन, युद्ध, नागरिकका कर्तव्य, विवाह, अंश वण्डा, वास्तु र
वासस्थान, ऋण व्यवहार, नासो, फौजदारी कसूर, अनुसन्धान र दण्ड व्यवस्था, राष्ट्र
रक्षा, कर्मचारी, तलब, प्रशासन र नीति नियमको पालना, राज्य व्यवस्था र राजा,
शान्ति कार्य, युद्ध, सेना, व्युह रचना,सन्धि संझौता, कुटनीति, करार, व्यसन र
व्यसन त्याग, विपद व्यवस्थापन आदि जस्ता व्यवस्था वारे व्यापक उल्लेख छ| अर्थात्
राज्यका संरचना, तिनका काम र व्यवस्था बारे प्रशस्त उल्लेख छ|
कौटिल्यको अर्थशास्त्र मानिसलाई जन्मजात
पापी भन्दै स्वर्ग र नर्कको भय देखाई जीवनभर शोषण गर्न प्रेरित गर्दैन| मानिसलाई
पापको भय देखाएर मानसिक नियन्त्रण गरी दास बनाउने माध्यम पनि होइन| इश्वरको
व्यापार र दयाको कारोवार गर्न प्रेरित गर्दैन|
यो मूलतः असल व्यक्ति, असल समाज र असल
पद्दतिका माध्यमबाट राज्य प्रणाली संचालन गर्ने सामाग्री संग्रह हो| कौटिल्यको
अर्थशास्त्र त्यो बेलामा र राज्य निर्माणको प्रसंगमा लेखिएकाले त्यसका कतिपय
कुरामा आज केही विमति हुनसक्छ| त्यो त आज लागु गरिएका कति कुरा अर्को पुस्तालाई मन
नपर्न सक्छ| समय र सोंचले ल्याउने परिवर्तन त आइ रहन्छन्|
कौटिल्यको अर्थशास्त्रमा उल्लिखित सदाचार
सम्बद्ध विषयलाई सारमा यस प्रकार उल्लेख गर्न सकिन्छ:
क)
सरकारी सेवामा आउने
व्यक्तिको शिक्षाका माध्यमबाट व्यक्तित्व निर्माण हुनुपर्छ| विविध विधाको ज्ञानले
व्यक्तित्वमा निखार ल्याउछ| ज्ञान दिदा तुलनात्मक अध्ययन गर्ने, आलोचनात्मक चेत
बिकसित हुने, नैतिकता कायम राख्ने, राज्य, समाज र परिवार प्रति समर्पित हुने,
कर्तव्य निर्वहनमा जीवन खपाउने, सत्य न्याय र आत्मसंयममा जोड दिने ज्ञान
प्रणालीलाई आत्मसात गर्नुपर्छ|
ख)
सरकारका तर्फबाट
काम गर्न कामको प्रकृति अनुसारका बिभिन्न संरचना (कार्यालय) हुनुपर्छ र त्यसको
जिम्मेवारी सो कार्यालयको प्रमुखलाई दिनुपर्छ| सबैले आआफ्नो कार्यक्षेत्र भित्रका
काम गर्न पाउछन् तर सीमा नाघ्न पाइदैन|
ग)
सबै पदका काम
कर्तव्य पहिले नै निश्चित गर्नुपर्छ र कर्मचारीलाई आफूले गर्न हुने, नहुने र गर्नुपर्ने
काम कुरा र कर्तव्य बारे अग्रीम जानकारी दिनुपर्छ|
घ)
राजा अमात्य लगायत
सरकारी अधिकारीहरुको योग्यता र अयोग्यता अग्रीम रुपमा तय हुनुपर्छ र ती योग्यता र अयोग्यता
काम, कर्तव्य र पद सापेक्ष हुनुपर्छ| मानिस अयोग्य हुदैन कुन काम गर्न को योग्य छ
भनी छुट्याउन र सोही अनुसार पदमा राख्न समस्या हुन सक्छ भन्ने पूर्वीय मान्यता हो|
ङ)
योग्य व्यक्तिलाई
चयन गर्ने योग्यता प्रणाली लागु गरी परीक्षणमा श्रेष्ठता हासिल गरेकालाई मौका
प्रदान गर्नुपर्छ| योग्यता बाहेकका उपाय निस्तेज गर्नुपर्छ| अयोग्य र अशिक्षितलाई
मौका प्रदान गर्न हुँदैन|यस्तो परीक्षणका उपाय र तरीका पद सापेक्ष हुन हुन्छन्|
च)
शपथपूर्वक काम
गर्ने व्यवस्था गर्नुपर्छ|
छ)
राज्यका तर्फबाट
काम गर्ने पदाधिकारी र अठार किसिमका कर्मचारीहरु माथि बिभिन्न प्रकृतिका र
विश्वासिला चर वा गुप्तचर मार्फत निगरानी राख्नुपर्छ| तिनका क्रियाकलाप बारे
आमजनताको राय सुन्दै रहनुपर्छ|
ज)
कुनै बिषय वा
क्षेत्रको काम गर्दा प्राथमिकता तय गर्नुपर्छ|
झ)
काम गर्दा समयमा,
योजना अनुसार र मितव्ययी ढंगले भैरहेको छ छैन निरीक्षण गर्ने व्यवस्था गर्नुपर्छ|
ञ)
जसले अपराध गरेको
हो उसैलाई र जस्तो अपराध गरेको हो त्यसैअनुसार दण्ड दिनुपर्छ|
ट)
हरेक बर्ष वर्षको
समाप्तीसंगै (आषाड) महिनामा प्रधान कार्यालयमा गएर हिसाब मिलान गर्ने व्यवस्था
गर्नुपर्छ|
ठ)
आम्दानी र खर्चको
हिसाब सर्वसाधारणलाई बुझाउनु (सार्वजनिक गर्नु) पर्छ|
ड)
विभागको अध्यक्षले
प्रत्येक पाँच र पन्द्र दिन , महिना, चार महिना र वर्ष दिनमा राजकीय लेखा सफा
बनाएर राख्नुपर्छ|
ढ)
गलत तरीकाले लेखा
राखे, कोषको क्षय गरे र करको दुरुपयोग गरे दण्ड गर्नुपर्छ|
ण)
ससानो त्रुटी भए
क्षमा दिनुपर्छ|
त)
विभागको अध्यक्षले
विभिन्न चालिस किसिमले राज्यकोषको दुरुपयोग वा भ्रष्टाचार गर्न सक्छन्| त्यसको
रोकथामको निम्ति सूचना दिने, उजुर गर्ने, छानविन गर्ने र प्रमाणित भए सजाय गर्ने
व्यवस्था गर्नुपर्छ|
थ)
कुट वचनमा (झुठो
बोले) सजाय गर्ने व्यवस्था गर्नुपर्छ|
द)
समयमा काम
नगर्नेलाई दण्ड दिनुपर्छ|
ध)
कर्मचारीलाई लामो
समय एकै कार्यालयमा राख्न हुँदैन, बेला बेलामा सरुवा गर्नुपर्छ|
न)
पानीमा रहेको
माछाले पानी खाए झैँ धनको अधिकारमा रहेको कर्मचारीले गरेको भ्रष्टाचार थाहा
हुँदैन| भ्रष्टाचार पत्ता लगाउनु उड्ने चराको गति पत्ता लगाउनु जस्तो हो |
भ्रष्टाचारको गहन छानविन गरी प्रमाणित भए कठोर सजाय गर्नुपर्छ|
ऩ)
न्यायिक
उत्तरदायित्व सुनिश्चित गर्नुपर्छ| न्यायाधीशले कर्तव्यपालना नगरे तथा गलत व्यवहार
वा भ्रष्टाचार गरे कठोर सजाय गर्नुपर्छ|
प)
अपराध गर्नेलाई पटक
अनुसार सजाय थप्ने व्यवस्था गर्नुपर्छ|
फ)
राजाले सबभन्दा
पहिले कर्मचारी कै दण्ड निश्चित गर्नुपर्छ| दण्ड व्यवस्थाले समाजलाई निस्छल रहन
मदत गर्छ| कर्मचारीलाई इमान्दार राख्न सके समाजमा रहने मानिस पनि उचित मार्गमा
हिड्छन्|
ब)
राज्यको आम्दानीको
एक चौथाई अंश राज्य प्रणालीमा कार्यरत व्यक्तिहरुको पालनपोषण (तलब) आदिमा खर्च
गर्नुपर्छ| तलब सुबिधा पद र काम अनुसार तर परिवार समेतलाई खान लाउन पुग्ने गरी
दिनुपर्छ|
यस बाहेक पनि कौटिल्यको अर्थशास्त्रमा असल
शासन सम्बन्धी अनेक कुरा उल्लेख छन्| करिब पाँच सय पृष्ठको पुस्तकबाट सार खिच्नु
कठिन काम हो| यसमा रुचि हुनेले सो पुस्तकको अध्ययन गरी विस्तृत जानकारी लिन
सकिन्छ| यो पुस्तकमा उल्लेख भएका कैयौं कुरा आज पनि उत्तिकै महत्वपूर्ण र शाश्वत
छन्|
मुलुकमा कानून वा नीति बनाउदा यस शास्त्रको
अध्ययन गर्न सकिन्छ| यस कृतिमा स्वयं कौटिल्यले मनु, पराशर वृहस्पति, शुक्राचार्य,
भारद्वाज, पिशुन, कौणपदन्त आदि अनेक ऋषिभन्दा भिन्न मत राखेका छन्| ऋषिहरु बीचका भिन्न भिन्न मत पनि उल्लेख गरेका छन्| तसर्थ
बिभिन्न स्मृतिले समय र समाज सापेक्षतालाइ आत्मसात गरेका छन्|
कतिपय व्यक्ति बिना अध्ययन शास्त्रहरुलाई
पाप धर्म र कर्मकाण्डसंग मात्र जोडेर हेर्छन्| कतिपय पराइप्रेरितहरुलाई संस्कृतमा
लेखिएका कारण चिढ हुन सक्छ| कतिलाई बिदेशका कुरा अनुवाद गर्नमा आनन्द आउन सक्छ| जे
होस्, कौटिल्यको अर्थ शास्त्र कुनै कथा वा मिथक होइन| यसमा राज्य प्रणाली सम्बद्ध
बिषयमा चर्चा छ र यो पनि कानून नीति र सदाचारक नियम बनाउदा एउटा मौलिक स्रोत हुनसक्छ|
यसको अध्ययनले ज्ञान माथिको क्षेत्रीय एकाधिकारको अन्त्य गर्न र वैकल्पिक उपाय
सुझाउन मद्दत गर्नसक्छ| यसको लागि मौलिकता प्रतिको उदारता भने आवश्यक छ|
No comments:
Post a Comment