नेपाल विरुद्ध सांस्कृतिक र
धार्मिक आक्रमणको इतिहास
-मोहन बन्जाडे
कुनै देशले युद्धमा पराजित भै भूमि गुमाए
अर्को पुस्ताले युद्ध गरेर पनि फिर्ता लिन सक्छ| तर कुनै मुलुक सांस्कृतिक रुपमा
समाप्त गरिए त्यो पराजय सधैका लागि हुने खतरा हुन्छ| मुलुकलाई सांस्कृतिक रुपमा
आक्रमण गर्दा त्यो मुलुकका धर्म, परम्परा, संस्कार, प्रचलन, व्यवहार, भाषा, गीत,
संगीत, कला, सामाजिक सद्भावका सुत्रलाई विस्थापित नै गर्ने, भत्काउने, कमजोर
पार्ने भ्रमित गर्ने वा कुण्ठित बनाउने मध्ये जे र जति सक्यो तेती गरिन्छ| यस्तो
सांस्कृतिक पतन गराउन अवस्था अनुसार भय, लोभ र लालच देखाइन्छ|
पूर्वीय दर्शनमा मानिस दिव्यात्मा
मानिन्छ| जन्मजात पापी मानिदैन| दुइहजार वर्ष अगाडी कसैले गरेको भनिएको पाप मानव
जाति जीवित रहेसम्म सर्ने “मौलिक पाप”को भय देखाएर स्वर्गको टिकट काटिदिने बन्दोवस्ती
यताका दर्शनमा देखिदैन| मानिस असल कर्मले देवत्व प्राप्त गर्न सक्ने, कुनै एउटा
मात्र इश्वरको छोरो हुन पाउने र बाँकी मध्ये गोरो वर्णको व्यक्ति मालिक तथा कालो र
गहुँगोरो व्यक्ति जन्मजात दास हुनुपर्ने मान्यता छैन| कालो वर्णका कृष्ण र कालै वर्णकी काली देवदेवी
मानिन सक्छन्| यता उपचारका लागि वनस्पतिमा आधारित आयुर्वेद थियो, चमत्कारको छल
थिएन| उता यूरोपमा पेगन धर्म मान्नेलाई अर्को धर्म मानेकै कारण अत्याचार गरी आमसंहार
गरेका इतिहास छ| अमेरिकामा आदिबासीलाई क्रुरतापूर्वक मार्न स्थानीय सरकारले कुकुर
पाल्दथ्यो र गोराहरूले निवेदन दिएर कुकुर लगी रेड इन्डियनलाई मार्न पाउथे| यताको
महाभारत नियमवद्ध युद्ध थियो, सूर्योदय पूर्व र उप्रान्त लडाई गर्न पाइदैन्थ्यो|
यताका सभ्यता विस्थापित गर्न आएका
पश्चिमाहरुले अन्यत्र गएर क्रुर र अमानवीय व्यवहार गरेका, युद्ध छेडेका, सम्पदा लगेर
म्युजियममा राखेका, जात, जाति, भाषा, नाक आदिका आधारमा विभाजनका वीउ रोपेका,
द्वन्द्ध गराउन र बढाउन मद्दत गरेका धेरै उदाहरण छन्|
समान रङ्ग, समान विश्वास र स्वार्थ भएका
केही मुलुकका एजेण्डामा चल्ने त्यतैका गैरसरकारी
संस्थाहरु झन् आक्रमक रुपमा हिमवत सभ्यता र संस्कृति विस्थापित गर्न लागि परेको
कुरा अब छिपेको छैन|
संसारका स्रोत एकै रङ्गका मानिस तिर
तान्ने तथा संसारका अरु सभ्यता र संस्कृति समाप्त गरी आफ्नो मात्र विश्वासको
दिग्विजय गर्दै अरुलाई हामका सन्तानको पापको बोझ बोकाई असभ्य भन्दै दास बनाउने
कट्टरवादी सोंच लोकतन्त्र, मानव अधिकार, समाजवाद, रुपान्तरण, क्रान्ति, उदारवाद,
न्याय र सत्य केहीको पनि नजिक छैन|
यस आलेखमा नेपाललाई धार्मिक र सांस्कृतिक
रुपमा समाप्त वा झन् कमजोर पार्न विगतमा के भएको रहेछ भन्ने बारे चर्चा गरिने छ|
यो आलेख मूलतः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले
२०६० सालमा प्रकाशित गरेको “तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरु” भन्ने
(लुच्यानो पोतेकको सम्पादन र सुरेन्द ढकालको अनुवाद) किताबमा आधारित छ|
प्राचीन कालका सेन साई ,फाहियान र ह्वेन
साङ्ग जस्ता चिनीया विव्दान यात्रीहरुका वर्णन नेपालको इतिहासको महत्वपूर्ण हुन्|
नेपालमा सत्रौं शताव्दीदेखि इसाई पादरीहरु देखा परे| ती पादरी शुरुमा मानसरोवरतिर भागी बसेका भारतीय
इसाइहरुलाई खोजी गर्न तिब्बत जान र फर्कन काठमाण्डौ आउने गरेका थिए| पछि यहाँ पनि
आफ्नो केन्द्र बनाए| तिब्बतबाट सन् १७३२ मा पादरीहरु धपाइएपछि तिनीहरुले नेपालमा
आफ्नो गतिबिधि बढाए र यहाँका तीनै शहरमा सक्रिय रहे| (पृ. औ)
नेपालमा आउने तिब्बती यात्री यहाँ मानिसहरुको
धर्म परिवर्तन गराउन आएको देखिदैन| नेपालको धर्म, संस्कृति, सम्पदा र हित विरुद्ध
ती वौद्ध विद्वान र तीर्थ यात्री संलग्न रहेको पाइदैन| यस्तै शुरुशुरुमा नेपाल
आउने पादरीहरु पनि नेपालमा धर्म परिवर्तन गराउने भन्दा नेपाललाई तिब्बत आवतजावतको सजिलो
बाटोको रुपमा प्रयोग गर्न आउने जाने गरेको भनिएको पाइन्छ| तिब्बतबाट धपाइएपछि भने
उनीहरुले नेपालमा धर्म परिवर्तन गराउने गतिविधि बढाएको भन्ने आसय देखिदो रहेछ|
काठमाण्डौ उपत्यका माथि विजयपछि पृथ्वी
नारायण शाहले पादरी र नेपाली इसाइहरुलाई देश छाड्न निर्देशन दिए| नेपाल छाड्ने
आदेशपछि पादरी जुइस्स्पे अन्ठाउन्न जना नेपाली इसाई सहित फेब्रुअरी ४, १७६९ बेतिया
जान काठमाण्डौ छोडे| पादरीहरूले आफ्ना कुरा जस्तो सुकै राम्रो प्रकारले राखे पनि
फिरंगीहरुलाई त्यसबेलासम्म अछुत भनी हेर्ने गरिन्थ्यो| साथै किन्लकको आक्रमणमा
पादरीहरुको हात रहेको भनी गोर्खालीहरु सम्झन्थे|(पृ.च)
शुरुमा आउनेहरुले पछि आउनेहरुलाई नेपालमा
पुरै पादरी जस्तो देखिई वा औषधीमूलो लिई वैद्यको रुपमा नभई व्यापारीको साथमा जानु
राम्रो हुने बताएको पाइन्छ| (पृ. ट)
सन् १७१६ मा पादरीले लेखेको पत्रमा जुलाई
२० का दिन पादरीहरुका विरुद्ध जनअसन्तोष भई हुलदङ्गा भएको, माल समान लुटिएको र यसको
नेतृत्व व्राम्हणहरुले गरेको उल्लेख गरिएकोछ| पछि राजा भाष्कर मल्लले जनतालाई सम्झाएपछि
स्थिति शान्त भएको भनिएकोछ|( पृ. ड)त्यसबेला पादरीहरुले खासगरी व्राम्हणहरुलाई
मूर्तिपूजक भनी हेय दृष्टिले हेर्ने र अपमान गर्ने गरेको कुरा पनि सो पत्रमा
उल्लेख छ| (पृ. ढ)
सन् १७१७ जुलाई २९ का दिन लेखिएको पत्रमा
सन् १७१६मा पादरी विरुद्ध नेपालीहरुले चलाएको आन्दोलन, नेपालीहरुको धर्म परिवर्तन,
हिन्दू देवीदेवताको खिल्ली उडाएको समेतका कुरा उल्लेख छ|( पृ.ढ) सो पत्रमा पादरीले
उनको जिन्दगीमा पहिलो पटक दुई नेवार केटा र एक नेवार केटीको धर्म परिवर्तन गराएको व्यहोरा
छ| उनले गणेशको वाहनलाई मुसो लेख्नुको
सट्टा सुँगुर लेखेको देखिन्छ| (ण)
१७ जुन १७२१मा लेखिएको पत्रमा नेपालमा
राक्षसी प्रवृति, आन्दोलन, आतंक, युद्ध र मृत्युका घटना भै रहने भनी उल्लेख गरिएकोछ|
तर तात्कालिक स्थानीय स्रोतमा भने यो वर्णन प्रमाणित हुँदैन| नेपालीहरु आफ्नो धर्मप्रति
संवेदनशील भएको तर पादरीहरु त्यसको विरोधी भएकोले यस्तो वर्णन गरेको हो| यस पत्रमा
पनि पादरीहरूले पूर्वीय धर्म दर्शनबारे नकारात्मक टिप्पणी गरेको पाइन्छ| त्यो
पत्रमा पादरीले पन्द्र जना नेपालीको धर्म परिवर्तन गराएको र चार जना गराउने क्रममा रहेको कुरा उल्लेख छ|(
पृ. त)
धर्म प्रचारकहरुले भारतमा सहयोग पाएपनि
लाद्दाखी सरकारले उनीहरुको जीवन कष्टपूर्ण बनाएको थियो| फलत: तिब्बतीहरुको धर्म
परिवर्तन गर्ने कार्य असम्भव भएको थियो| तिब्बतमा बसेर धर्मप्रचार गर्नु आर्थिक दृष्टिले
पनि बेकार भएको थियो| परिस्थितिको मुल्यांकन गरी निर्णय गर्नुपूर्व सन् १६३५ मा
न्युनो कोरेश्मा र मार्क्वेशलाई लद्दाखबाट निस्कासन गरियो| १६३७ मा पुन: आफ्ना
गतिविधिमा संलग्न भएकोमा मालपिगीलाई निष्कासन गरियो भने मार्क्वेशलाई कैद नै
गरियो| (पृ. ९)
नेपाल प्रवेश गर्ने पहिलो युरोपेली
काब्राल १६२८ मा तिब्बतबाट बङ्गाल फर्कदा नेपाल भएर फर्के पनि उनले नेपाल उपत्यका
बारे चर्चा गरेका थिएनन्| १६५४ तिर धार्मिक गतिविधि गर्नेगरी कोही नेपाल पुगेको सूचना
छैन| व्यापारीको रुपमा आएको कुरा भने इन्कार गरिएको छैन| (पृ.११,१२)
१६६७ मा मिसन स्थापना गर्ने कार्यको
शुरुवात भएपनि सो कार्यका लागि खटाइएको पादरीले नेपालमा पाइला टेके नटेके बारे
शंका व्यक्त गरिएकोछ| १७६९ मा नेपाल आएको अर्मेनेली नागरिकसंग “कसैले पनि भेटेन र
एक्लोपन महसुस गरी फर्के” भनिएको छ| (१३)
सन् १७०७ मा तिब्बतबाट नेपाल भएर जाने पादरीहरुलाई प्रवेश
शुल्क लगाइए पनि १७१५ मा शुल्क फिर्ता गरियो| फेरि १७२२ मा भने देशनिकाला नै गरियो|(२५)
सन् १७९३ मा कर्नेल कर्कपेत्रिक मिसन र
१८०२ मा कप्तान नोक्स मिसन नेपाल आई सूचना संकलन गरी फर्क्यो| गोर्खाली र
अंग्रेजबीच लगातार रुपमा रहेको सिमा सम्बन्धी विवादका कारण १८१४ मा लडाई भयो र दुई
बर्ष चल्यो| १८१६मा सुगौली सन्धि भई नेपालले तराइको केही भाग, गढवाल, कुमाउ र
सिक्किम नेपालबाट काटेर लिई नेपालको स्वतन्त्र अस्तित्व दिइयो भन्ने उल्लेख छ|
(२९)
सन् १७४५ मा तिब्बतमा पतनपछि यसलाई
काठमाण्डौ सारियो| सन् १७६९ मा काठमाण्डौबाट मिसन फ़र्काइएपछि यो मिसन पटना (भारत)
मा रह्यो| हिमालयका देशमा भएका असफलताहरुपछि केपुचिनहरु पटना फर्कन्थे| (४४,४५ )
सन् १७०७ मा आएका दुई पादरी (जुशेप्पे र
टोउर)ले काठमाण्डौमा “आफ्नो उपस्थिति नदेखाउन” ठूलै कोशिश गरेपनि सबै प्रयास विफल
भयो| यात्राको क्रममा नेपालको भूमि प्रयोग गरेबापत ठूलै राहदानी रकम तिर्न पर्यो|
उनीहरु काठमाण्डौ छोडी सोही साल जून महिनामा ल्हासा पुगे| (४६) तिब्बत जान हिडेका
पादरीहरु केही दिन काठमाण्डौमा बस्दा पनि नेपालमा कसरी धर्मप्रचार गर्ने भन्ने
योजना बनाउथे| (५६)
सन् १७२२ मा काठमाण्डौका मल्ल राजाले
आफ्नो देशबाट केपुचिन पादरीहरुलाई देश निकाला गरिदिए| जसको कारण यही हो भन्ने कुरा
अहिलेसम्म थाहा हुन सकेको छैन| त्यसपछि मिसन भादगाउँ सारियो|(६४)
सन् १७२६ तिर धर्मप्रचारकले ल्हासास्थित
नेपालीहरुसंग सम्पर्क बढाए| केपुचिनको संख्या त्यतिबेला दुई मात्र थियो|(६१) १७३२
मा ल्हासामा रहेका धर्म परिवर्तन गराइएका नेपालीहरुको साथ लागि पादरी काठमाण्डौ
तिर लागे भनिएकोछ| (६२)
सन् १७३२ मा आएका ती पादरी काठमाण्डौ बसे|
क्याथोलिक धर्मले आफ्ना धर्मालम्बीको आस्था डगमगाई दिएको शंकामा राजाले उनलाई
कैदमा राखे| ती पादरी पाँच छ महिना कैद बसे| केही पैसा तिरेर भएपनि राजाको डर र शंका
निवारण गरी कैदमुक्त गर्ने प्रयास गरियो| १७३५ मा नेपालको दोश्रो मिशन समाप्त भयो|
(६५)
सन् १७४४ तिर ल्हासामा मिसन असफल भएपछि
नेपालका मिसनमा सक्रियता बढाइयो| त्यसबेला छुवाछुत, धर्म परिवर्तनबाट आउन सकिने
तर्कपूर्ण नतिजा र जातबाट गरिने निष्कासन मुख्य सामाजिक समस्या थिए| मुद्दा चल्न
सक्ने स्थिति थियो| जय प्रकाश मल्लले पुन: गद्दी हात पारेपछि धर्म प्रचारकलाई
राम्रो नजरले हेर्न छोडे|(७७)
नेपालको आकाशमा कालो बादल मडारिन लाग्यो|
गोर्खाका राजा पृथ्वीनारायण शाहले उपत्यका विजय गर्ने कार्य शुरु गर्न थाले| धर्म
प्रचारकहरुले सन् १७५५ मा उनीसंग गएर “क्रियाकलाप गर्न” भेट गरेपनि उनले त्यसो
गर्न दिन सोझै निषेध गरे| त्यतिबेला धर्म प्रचारकहरुले थुप्रै तीतो अनुभव
संगालिसकेका थिए| (७८)
पृथ्वीनारायणले नुवाकोट जितेपछि
धर्मप्रचारकको क्रियाकलाप यिनको शुभेच्छामा भरपर्न गयो| “निरङ्कुश,निर्दयी र अरुको
कुरामा झट्ट विश्वास नगर्ने” यी राजाले धर्मप्रचारकप्रति अलिकति पनि ध्यान दिएनन्|
उनीहरुका कुरा सुन्दा पनि सुनेनन्| काठमाण्डौ र पाटन जिते पनि उनको दृष्टिकोणमा
कुनै परिवर्तन आएन| गोर्खालीहरुको “कट्टर हिन्दूवाद”ले धर्मपरिवर्तन गराउने कुनै
संभावना पैदा गरेन| तसर्थ “आयुक्तको निर्देशन नपर्खीकन पादरी जुशेप्पे दा रोभातोको
जिम्मामा नेपाली क्रिस्चियनलाई वेतिया पुर्याउने सामुहिक निर्णय” भयो|
पृथ्वीनारायण शाहको “अनुमति पाएर” फेब्रुअरी ४, १७६९ मा उनीहरु बेतियातर्फ
लागे|बाँकी रहेका धर्मप्रचारकहरु पनि अनुमति लिएर तराई झरे| पुरानो नेपालमा धर्मप्रचारकले काम गरेका भएपनि
अब उनीहरुको काम इतिहासको पानाबाट बिलायो|(७९)
केपुचिनहरुले धार्मिक चालचलन र संस्कार
बलियो भएको राज्यमा अरुको धर्म प्रचार गर्न सजिलो नहुने अकाट्य कुरा कहिलै
बुझेनन्| पोपहरुको रोममा जसरी एक क्रिष्टियनलाई बौद्ध धर्मको अनुयायी बनाउन असम्भव
छ ल्हासामा गएर क्रिस्टियन मिसनले सफलता पाउन हुन्छ|(९६) नेपालमा भने स्थिति अलि
सजिलो थियो| यहाँ यिनीहरुको बिरोध “ब्राह्मणहरु”ले मात्र गरेका थिए| ब्राह्मणहरु
धर्मपरिवर्तनको विरुद्धमा थिए| उनीहरुको विरोध संगठित भने थिएन| (९७)
पादरीहरु मध्ये केहीले नक्शा समेत बनाएर (मुख्यालय)
पठाएको देखिन्छ| केही नक्शा किताबमा उधृत छन्|(१०४)
पादरी र कर्कप्यात्रिकले पृथ्वीनारायणको विरोध र
अपमान गर्ने गराउने र खासगरी कट्टरपन्थी विदेशी र तिनका गैरसरकारी संस्थाले
ब्राह्मणको विरोध गर्ने गराउने कारण उनीहरु विदेशीबाट यहाँ गराइने गरेको जासुसी र
धर्म परिवर्तनको विरुद्धमा भएकोले रहेछ भन्ने कुरा यो किताबबाट देखिदो रहेछ| साथै
उनीहरुल रुप बदलेर आउने र बस्ने लोभ
लालचमा पार्ने, धर्मप्रचारको नाममा धर्म परिवर्तन गराउने, अरुको धर्म, संस्कृति र
आस्थाको विरोध गर्ने गराउने गरेको पनि देखिदो रहेछ| पूरा कुरा नबुझी स्थानीय धर्म,
संस्कृति विरुद्ध लेखी पठाउने प्रवृति त्यो बेला पनि रहेछ| त्यो बेला उनीहरुको रिलिजन, राजनीति,
रणनीति र पादरीबीच सम्बन्ध रहेको पाइदो रहेछ| आजको नेपालको अवस्था नेपालीहरु जानकार छन्| स्थानीय
सभ्यता, संस्कृति र धर्महरु परचक्रीबाट जोगाई सांस्कृतिक आमहत्या हुन नदिने भन्ने
नै आजको एउटा प्रमुख समस्या हुन सक्छ| किनकि विश्वका सबै सभ्यता, संस्कृति र धर्म
विश्वका सम्पदा हुन्| विश्व यी सबको साझा फूलवारी रहनदिन मरुभूमि बाहेकका सभ्यताको
रक्षा पनि आवश्यक छ| राष्ट्रसंघ र खासगरी युनेस्को यसकोलागि अगाडी आओस्| नेपालीहरुको
आफ्नो कर्तव्य त छँदैछ|
No comments:
Post a Comment