Wednesday, April 17, 2019


                        केही पश्चिमा संबिधान र धर्म/पन्थ निरपेक्षता
                                       -मोहन बन्जाडे
भूमिका
       धर्म भनेको एकल विश्वास होइन| यो अन्य कतिपय विश्वास प्रणाली जस्तो संगठित, केन्द्रिकृत तथा अन्य सभ्यता, संस्कृति र भाषाहरुको आमहत्यामा संग्लग्न र अरु विश्वास प्रणालीलाई समाप्त पार्न उद्दत पनि देखिदैन| धर्म जीवन पद्दति भन्ने देखिन्छ |भक्तिमार्ग धर्मको एउटा मार्ग हो र यसमा ज्ञान, कर्म जस्ता अन्य मार्ग पनि रहेको मानिन्छ| धर्मभित्र नैतिकता, कर्म, कर्तव्य, कानून, न्याय, राज्य संचालन पद्धति, संगीत, आयुर्विज्ञान, युद्धका नियम, गणित नक्षत्रशास्त्र, साहित्य आदि जस्ता विषय पनि समावेस रहेको देखिन्छ | बिभिन्न धर्मशास्त्र र तिनमा रहेका व्यवस्थालाई यसका उदाहरणका रुपमा हेर्न सकिन्छ | धर्म एकल किताववादी देखिदैन| वेदहरु ,स्मृतिहरू र अन्य धर्मशास्त्र यसका उदाहरण हुन् | धर्ममा आफुले गरेको पापको प्रायश्चित आफै गर्नुपर्छ र फल पनि आफैले भोग्नु पर्ने मान्यता रहेको पाइन्छ | अर्थात आफुले गरेको पापको जिम्मा अरुलाई लगाउन पाइदैन| धर्ममा कोही पनि जन्मदै अपवित्र वा पापी हुदैन | धर्ममा देवीहरुको अग्रस्थान देखिन्छ | धर्ममा कतिपय अवतारलाई बाल्यावस्थामा पनि देवता मान्ने गरेको देखिन्छ | साथै धर्ममा युग अनुसारका धर्मशास्त्र (स्मृति) रहेको पनि पाइन्छ |  धर्मको स्वरूप र प्रकृति अन्य पन्थ भन्दा फरक देखिन्छ | त्यसैले अन्य पन्थलाई धर्म भन्नु र सेकुलर शव्दलाई धर्मनिरपेक्ष भनी अनुवाद गर्नु गलत हुने देखिन्छ |  नेपालको संविधानमा धर्म निरपेक्ष शव्दको प्रयोग हुनु हेल्चेक्र्याई, अज्ञानता, दवाव वा लालच केको परिणाम हो खोजविन हुनु जरुरी छ | यो लेखको आसय केही युरोपीय मुलुकका संबिधानमा रहेका पन्थ निरपेक्षता (सेकुलारिज्म) सम्बन्धी चर्चा गर्नु हो |
नर्वेको संविधान १८१४  
  नर्वेको संविधानको धारा २ मा सबै बासिन्दालाई उनीहरुको पन्थको (रिलिजनको) अभ्यास गर्ने अधिकार दिइएकोछ| साथै सोही धारामा इभान्जेलिकल - लुथरन रिलिजनलाई राज्यको आधिकारिक (अफिसियल) रिलिजन भनिएको छ | साथै यसको पालनागर्ने बासिन्दाहरु  आफ्ना सन्तानलाई सोही रिलिजन अनुसार हुर्काउन बढाउन बाध्य हुनेछन् पनि भनिएको छ|
 संविधानको यो व्यवस्था नै नर्वेजियन मोडलको पन्थ निरपेक्षता हो | राज्यले कुनै खास पन्थलाई राज्य पन्थ मान्नु,बासिन्दाले आफ्ना सन्तानलाई खास पन्थको प्रणाली बमोजिम हुर्काउन बढाउन बाध्य गर्नु नै नर्वेको पन्थ निरपेक्षता हो| नर्वेमा यो व्यवस्था अनुसार कोही एथिस्ट हुन पाउछ पाउदैन ? राज्यले कुनै पन्थलाई राज्य पन्थ भन्नु कस्तो निरपेक्षता हुन्छ? त्यो देशका नागरिक अन्तर्राष्ट्रिय निकाय वा गैरसरकारी संस्थामा आई काम गर्दा आफ्नो राष्ट्रिय पन्थबाट कति मुक्त हुन्छन् होला ? त्यहाँ दर्ता भएका बिदेशमा गई कामगर्ने संस्था र नागरिकले अन्य धर्म वा पन्थ मान्ने देशमा गएर स्थानीय मानिसलाई धर्म परिवर्तन गराई आफ्नो राष्ट्रिय पन्थमा समावेस गर्न लगानी गर्छन् गर्दैनन् होला ? सिधै आफू लागि पर्न नसक्ने अवस्था भए स्थानीय गैरसरकारी संस्थालाई त्यसको निम्ति प्रयोग गर्छन् गर्दैनन् होला ? नर्वेजियन बासिन्दालाई आफ्नो आधिकारिक राज्य पन्थबाट अर्को पन्थ वा धर्ममा जाने अधिकार हुन्छ हुदैन होला?
   नर्वेको संविधानको धारा ४ मा त्यहाँको राजाले सम्पूर्ण समय सोही राज्य पन्थको पालना र रक्षा गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरिएकोछ| यस व्यवस्था अनुसार नर्वेमा  राजतन्त्र अद्यापि उनीहरुको संबैधानिक चाहना हो, राजाले खास पन्थ अहोरात्र मान्नु पर्छ र त्यही पन्थको रक्षा पनि गर्नु पर्छ | राज्य प्रमुख एकल पन्थको पालनकर्ता र रक्षक हुनु नै नर्वेको पन्थ निरपेक्षता प्रतीत हुन्छ | यसरी नर्वेको संविधानले विश्वासका सन्दर्भमा यथा राजा तथा प्रजाको संबैधानिक नीति अबलम्बन गरेको देखिन्छ |
   नर्वेको संविधानको धारा ९ मा त्यहाँका राजाले सपथ लिनु पर्ने व्यबस्था गरिएकोछ | त्यसमा सर्वशक्तिमान र सर्वज्ञ इश्वरले संबिधान र कानून अनुसार शासन गर्न सहयोग गरुन् भन्ने कामना समेत गरिएको छ |
     नर्वेको संविधानको धारा १२ ले नर्वेको राज्य परिषद्का आधा भन्दा बढी सदस्य राज्यले आधिकारिक पन्थ भनी घोषणा गरेको पन्थका अनुयायी हुन अनिवार्य गरेको छ | नर्वेको संविधानको धारा १६ ले त्यहाँका राजाले सार्वजनिक पन्थ सेवा, पूजा (वर्सिप), पन्थ सम्बद्ध बैठक र भेला बारे र पन्थ सम्बन्धी कुरा सिकाउने शिक्षकले तोकिएका नियमको पालना गर्नुपर्ने गरी आदेश जारी गर्ने व्यवस्था गरेको छ | यो पनि नर्वेको पन्थ निरपेक्षताको आफ्नै प्रकृति र प्रवृति रहेको देखिन्छ | अर्थात् नर्वेमा राज्यको खास संयन्त्रमा खास पन्थको बहुमत हुनुपर्ने व्यवस्था मात्र गरिएको छैन अपितु पन्थ शिक्षासम्म पनि राज्यप्रमुखको भूमिका सुनिश्चित गरिएको देखिन्छ |
  संविधानको धारा २१ मा अन्य कुराका अतिरिक्त नर्वेका राजाले राज्य परिषद्को परामर्शमा वरिष्ट पन्थाधिकारी  (इक्लेजिस्टिक अफिसियल ) को चयन र नियुक्ति गर्ने प्रावधान छ| यस्तै धारा २२ मा त्यस्ता पन्थाधिकारीलाई पदच्युत गर्ने अधिकार राजालाई प्रदान गरिएको देखिन्छ |
    नर्वेको संविधानको धारा २७ मा राज्यको आधिकारिक पन्थ नमान्ने राज्य परिषद्का सदस्यले राज्य पन्थको बारेमा निर्णय हुने राज्य परिषदको बैठकको प्रक्रियामा भाग लिन नपाउने व्यबस्था गरिएकोछ | यसरी अरु धर्म पन्थ वा विश्वास मान्ने सदस्यलाई आधिकारिक वा राज्य समर्थित पन्थसंग सम्बन्धित बिषयमा निर्णय गर्न संबैधानिक रोक लगाइएकोछ |  यो पनि नर्वेजियन पन्थ निरपेक्षताको एउटा लक्षण हो|
  नर्वेजियन संविधानको धारा १०० ले रिलिजनको अपहेलना गर्न नपाउने व्यवस्था गरेको छ | यो धारामा प्रेस स्वतन्त्रता हुने भन्दै कुनै कुरा लेखेको, छापेको वा प्रकाशित गरकोमा सजाय नगरिने भनिएकोछ | अन्य कुराका अतिरिक्त यस धारामा जानीजानी वा प्रष्ट देखिनेगरी रिलिजनको अपमान गर्न नहुने कुरा बताइएको देखिन्छ |   
डेनमार्कको संबिधान १९५३  
      डेनमार्कको संविधानको धारा ४ मा इभान्जेलिकल लुथरन पन्थलाई सो देशको स्थापित याने आधिकारिक पन्थ मानिएकोछ| साथै सो धाराले सोही पन्थलाई राज्यले समर्थन र सहयोग गर्ने कुरा पनि धारा ४ मै गरेको देखिन्छ|
      यसैगरी डेनमार्कको संविधानको धारा ६ मा डेनमार्कका राजा इभान्जेलिकल लुथरन पन्थको सदस्य हुन अनिवार्य गरिएकोछ| अर्थात् डेनमार्कका राजा अरु धर्म वा पन्थको सदस्य बन्न मिल्ने देखिदैन|
     डेनमार्कको संविधानको धारा ६६ ले राज्य समर्थित पन्थ सम्बद्ध संस्थाको गठन ऐन बमोजिम गरिने व्यबस्था गरेकोछ|
     यसैगरी डेनिस संविधानको धारा ६९ मा राज्य समर्थित पन्थ भन्दा भिन्न विश्वास राख्ने  धर्म वा पन्थ (रिलिजन) सम्बन्धी संस्थाका नियम ऐनद्वारा तय गरिनेछ भन्ने प्रकृतिको व्यवस्था गरिएकोछ|
स्वीडेनको संविधान १९७५
     स्वीडेनको संविधानको भाग २ -२५ मा विदेशी नागरिकहरुको स्वतन्त्रता नियन्त्रण गर्ने विभिन्न बिषयहरुको लामो सूची दिइएको छ |त्यसमा धार्मिक स्वतन्त्रता पनि समावेश गरिएकोछ | अर्थात् स्वीडेनमा राज्यले विदेशी नागरिकको धार्मिक स्वतन्त्रतामा सीमा लगाउन वा कम गर्न संविधानले नै अख्तियारी प्रदान गरेको देखिन्छ |
   स्वीडेनको संविधानको भाग ८-२ मा राज्यले धार्मिक बिषयलाई ऐन बनाइ व्यबस्था गर्ने बिषय सूची भित्र पारेको देखिन्छ  | अर्थात् स्वीडेनमा धार्मिक समुदायहरु  र स्वीडेनको खास धार्मिक समुदायको रुपमा रहेको धार्मिक विश्वासका सिद्दान्त बारे कानूनद्वारा व्यबस्था गर्ने प्रावधान संबिधानमा राखेको देखिन्छ | यसरी स्वीडेनले पनि खास पन्थलाई  संबिधानमा बिशेष स्थान दिन खोजेको देखिन्छ|
केही प्रश्नहरु
१.के संबिधानमा यसप्रकारका व्यवस्था गरिएका संबिधान र मुलुक वास्तविक अर्थमा धर्म/पन्थ  निरपेक्ष हुन सम्भव छ ?
२.के संबिधानमा यसप्रकारको व्यवस्था भएका देशमा दर्ता भएका गैरसरकारी संस्था र तिनमा काम गर्ने व्यक्ति मध्ये कतिले वास्तवमा धर्म निरपेक्षीय दृष्टिकोण बनाई गरीब मुलुकमा कामकाज गर्छन् होला ?
३. नेपालले  यिनै संविधानबाट प्रभावित भै धर्म सम्बन्धी व्यवस्था गरे नेपालको संविधानको स्वरूप र प्रकृति कस्तो होला ?
४. नेपालमा कार्यरत यी देशमा दर्ता भएका गैरसरकारी संस्थाले आफ्ना संविधानका यी व्यवस्था बारे नेपालमा गोष्ठी सेमिनार गर्न नेपाली गैरसरकारी संस्थालाई संबिधान निर्माणकालमा खर्च गरे होलान् नहोलान्?
५.संबिधान निर्माण कालमा संबिधान सभाका सदस्यलाई परदेश यात्रा गराउदा वा नेपालमा कार्यक्रम गर्दा गराउदा यी व्यवस्था बारे जानकारी गराइए होला नहोला ?
६.देश बिदेशमा गरिएका कार्यक्रमबाट हाम्रा सभासदले यी व्यवस्था बारे जानकारी लिएपछि कस्तो धारणा बनाए हुनन् ?
७. नेपालको संविधानको धारा ४ को उपधारा (१) को मसौदा गर्दा, छलफल गर्दा वा त्यसमाथि निर्णय गर्ने प्रस्ताव पारित गर्दा उनीहरुका मनमा के कस्ता विचार उत्पन्न भए होलान्?
८. के संविधानको धारा ४ को उपधारा (१) को स्पस्टीकरण यी संविधानको अध्ययन र नेपाली जनताले दिएको रायको परिणाम होला ?
९. यी संविधानका यी व्यवस्था पढेका सभासद्ले संविधानको धारा ३०६ को उपधारा (१)मा धार्मिक समुहहरु भन्ने शव्दहरु किन राखेका होलान् ?
१०. संविधानको भाग ३ को मौलिक हक र भाग ४ को राज्यका निर्देशक सिद्दान्त,नीति र दायित्व शिर्षक अन्तर्गतका  बिभिन्न ठाउमा धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परालाई अपमानजनक रुपमा चित्रित गर्दा यी देशका यी प्रावधान सम्झे होलान् नहोलान् ?
११.संविधानमा धर्म शव्दको प्रयोग गर्दा धर्म, रिलिजन र मजहवलाई एकै अर्थमा बुझे होलान् कि फरक फरक अर्थमा बुझे होलान् ?
१२.नेपालमा कार्यरत अन्तर्राष्ट्रिय भनिने बिदेशी गैरसरकारी संस्थालाई जबाफदेही र पारदर्शी बनाउने भनी धारा ५१ (ञ) (१४) मा व्यवस्था गर्दा कतिपय ती संस्था नेपालको मौलिक संस्कृति र सभ्यताको अन्त गर्न भित्रभित्र उद्दत रहेको र अन्ततः सांस्कृतिक आमहत्या (कल्चरल जेनोसाइड) मा तल्लीन रहेको बारे जानकारी राखे होलान् नहोलान् ?
१३.यूरोपबाट पेगन नामक बिश्वास पद्दतिलाई समाप्तप्राय पारे जस्तो नेपालबाट यहाँका बिभिन्न मौलिक विश्वास प्रणालीलाई समाप्त गर्न लागि पर्नेहरुको प्रभावमा परे होलान् नहोलान् ?
१४. नेपालभित्र आफ्नो विश्वास प्रणालीलाई फाइदा पुर्याउन र प्रचार गर्न बिभिन्न आवरणमा अनेक एजेन्डा उठाउन लगाई मुलुकमा जातीय र क्षेत्रीय उन्माद बढाउन तथा सामाजिक र पारिवारिक विघटन गराउन चाहनेको अन्तरंग चाहनासँग कति र कसरी सजग र सतर्क भए होलान् ?
निष्कर्ष
संसारभर बिभिन्न सभ्यता र संस्कृति छन्| ती सबै सभ्यता र संस्कृतिलाई बाँच्न पाउने अधिकार छ| संसारमा बिभिन्न कालखण्डमा कतिपय सभ्यता र संस्कृतिको आमहत्या भएका उदाहरण पनि छन्| कतै हतियारले, कतै उपनिवेश बनाएर र कतै भित्रभित्रै लोभ लालचमा पारेर सभ्यता, संस्कृति, भाषा र लिपि समाप्त पारिएका छन् | भनिन्छ, लडाइमा हारेको जमिन अर्को पुस्ताले फर्काउन सक्छ तर सांस्कृतिक रुपमा पराजित भईयो भने सधैको लागि सर्वस्व गुम्छ | त्यसैले पुर्खाले रगत पसिना बगाएर जोगाएको सभ्यता र संस्कृति एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ | पराइहरू आफ्नो कुरा लाद्न साम, दान, दण्ड, भेद सबै उपाय प्रयोग गरिरहेका छन् भने स्थानीयलाई पनि आफ्नो देशको सभ्यता संस्कृतिको रक्षा गर्ने अधिकार हुन्छ नै| सभ्यता र संस्कृति निल्न दिनु र पराइले निली रहँदा टुलुटुलु हेरेर बस्नु आगामी पुस्ता विरुद्दको अपराध त हुदैन? अरुले आफ्ना कुरा संबिधानमा लेख्ने रहेछन् | आफ्ना अन्तरंगका कुरा कतै कुटनीतिक माध्यमबाट र कतै  आफ्ना देशमा दर्ता गरेका गैरसरकारी संस्था मार्फत लागुगर्ने प्रयास गरिएका कुरा नेपालीले बिझ्ने गरी मात्र होइन दुख्ने गरी अनुभव गरेकै छन्  | बिदेशी गैरसरकारी संस्थालाई नेपालमा सबथोक गर्ने हक हुदैन| उनीहरु हाम्रा प्रतिनिधि होइनन्| अरु देशको सभ्यता र संस्कृतिको आमहत्यामा लागि पर्ने हक तिनलाई किन्चित र कदापि हुदैन | विश्वका सबै जीवित सभ्यता विश्व कै सम्पदा हुन् तिनको रक्षा सबै सभ्यताको कर्तव्य हो| सभ्यताको आमहत्या अन्तरराष्ट्रिय अपराध किन नहुने? राष्ट्र संघले यसको लागि प्रयास किन नगर्ने ? राष्ट्र संघले आनाकानी गर्छ भने क्षेत्रीय संगठनहरुले आफ्ना क्षेत्रका सभ्यता र संस्कृतिहरुको रक्षाको प्रयास किन नगर्ने? अफ्रिकीहरुले अफ्रिकी सभ्यता किन नखोज्ने? दक्षीण अमेरिकीले किन दक्षीण अमेरिकी मौलिक सभ्यताको खोजी नगर्ने ? किन पुराना उपनिवेशहरुले उपनिवेश कालमा लादिएका कुरा खपेर बस्ने ? ब्रेक्जीटको मत र अमेरिकी राष्ट्रपतिको चुनावले यस्तै लक्षण देखाएको त होइन?
   



No comments:

Post a Comment