Wednesday, April 17, 2019


                                     

                                   सनातन दर्शन र मानव अधिकार
                                         -मोहन बन्जाडे


बिषय –प्रवेश  
     संसारमा विभिन्न सभ्यताहरु बिभिन्न कारणले समाप्त भएर गए | कतिपय सभ्यतालाई उपनिवेश र आक्रमणकारी सोचले योजनावद्धरुपमा समाप्त पार्यो वा पार्ने भरमग्दुर प्रयत्न गर्यो | सभ्यता माथिका आक्रमणको रुप फेरिए पनि भित्रि तहमा अवस्था अनुसार प्रभाव, दवाव र आक्रमणहरु जारी छन् |  त्यस्ता सबै सभ्यतामा मानव अधिकारको निम्ति मानिसहरुले केहि न केही काम गरेका छन् | त्यहाँ मानव अधिकार उल्लङ्घनका कथा पनि होलान् र पिडितहरुका व्यथा पनि होलान् |
    सभ्यताको इतिहासमा बिभिन्न शास्त्र वा पवित्र मान्नुपर्ने ग्रन्थ लेखिए| ती ग्रन्थ त्यो समयमा लेखिएका हुन् | कतिपय सभ्यताका सोंच तुलनात्मक रुपमा  गतिशील होलान् र कतिपय बढी स्थीर होलान् | त्यसमा रहेका कुरा त्यो समयको मानव सोंच अनुरुप थिए होलान् तर आज समयले फड्को मारेका कारण ग्राह्य नहुन सक्लान्| कतिपय सभ्यताका ग्रन्थलाई अर्को विश्वास प्रणालीका व्यक्तिले नबुझेर वा आफ्नो सभ्यतालाई उचो र अरुको सभ्यतालाई निचा देखाउन गलत अनुवाद वा व्याख्या गरेका हुन सक्छन्| अरुका सभ्यतालाई इन्कार गर्ने र खास वर्ण वा वर्गलाई दास र सम्पति मान्ने सोंचहरु अरु सभ्यता प्रति सकारात्मक हुन नसकेका वा नसकिरहेका होलान्|
    यस्तै सबै असल कुरा आफू जस्ता वा आफ्नो तर्फका मानिसको उपज ठान्ने प्रवृतिले सबै असल कुरा माथि एकाधिकार कायम गर्न चाहेको हुनसक्छ| तर विश्वका कतिपय असल र राम्रा कुरा विभिन्न सभ्यताहरुका उपज भएको देखिन्छ | तथापि अरु सभ्यताका असल कुराहरु र आफ्ना खराब कुराहरु छोप्न अनेक प्रयास गरिएका र त्यसको लागि अनेक उपाय अपनाइएका हुन सक्छन् | भिन्न सभ्यता प्रणालीमा जीवन र जगतलाई हेर्ने दृष्टिकोण फरक हुनसक्छ| अरुलाई र आफुलाई हेर्ने दृष्टिकोणलमा भिन्नता हुन सक्छ | जस्तो: सनातन दर्शनमा राजादेखि सामान्य नागरिक सबैको कर्तव्यमा जोड दिइएको पाइन्छ| त्यसैले यसमा शक्ति पृथक्कीकरणको चर्चा भएको पाइदैन| किनकि शक्तिले मानिसलाई भ्रष्ट बनाउने हो कर्तव्यले होइन | यस दर्शनले समाजको कर्तव्य पद्दतिको पृथक्कीकरण गर्न ज्ञान, बल, व्यापार र श्रम मूलतः एकै ठाउमा केन्द्रित हुन नदिने दृष्टिकोण अपनाएको देखिन्छ| जहाँ सरकारलाई बलियो वा शक्तिशाली बनाइयो त्यहाँ सरकार वा राज्यको शक्ति अनियन्त्रित हुन नदिने प्रयास भयो| जहाँ कर्तव्यमा जोड दिइयो त्यहाँ कर्तव्यपालन गराउनमा जोड दिइयो| यस्तै राजा देखि रङकसम्म सबैको कर्तव्य हुने भएपछि त्यहाँ कानुनको शासनको कुरा आउने भएन| राज्यमा शक्ति हुने भए शक्तिका आडमा शासन गर्ने हो| राज्य र राज्यका सबै अधिकारी समेतको कर्तव्य हुने भएपछि राज्यले सेवा गर्ने र न्याय पहुंचाउने मात्र भयो | त्यसैले सनातन दर्शनमा मानवनिर्मित कानूनलाई मानव न्यायशास्त्र भनिन्छ| यसले कर्तव्यको बाटो हुदै अधिकार र न्यायसम्म पुग्ने अपेक्षा गरेको देखिन्छ| अन्तर सभ्यताका मौलिक भिन्नताको जानकारीले ती पद्दतिको गुह्य बुझ्न सजिलो हुन्छ| 
 प्रसंगत: पूर्वीय सभ्यता प्रणाली अन्तर्गतको सनातन दर्शनमा पनि मानव अधिकार सम्बन्धी बिभिन्न कुरा अवश्य छन् | किनकि एउटाले कर्तव्य पालना गर्दा अर्काको अधिकार सुरक्षित भईरहेको हुन्छ| यो आलेखमा सो दर्शन सम्वद्ध केही ग्रन्थबाट केही महत्वपूर्ण व्यवस्था बारे उजागर गर्ने प्रयास गरिने छ | यसको आसय अरुलाई कम र खराब आंकलन गर्नु होइन बरु यो सभ्यतामा रहेका मानवाधिकार सम्बन्धी केही व्यवस्थालाई सतहमा ल्याउनु हो |
वेद
ऋग्वेद
समग्र राज्य प्रणाली
     शासन प्रणाली निरङ्कुश भएमा मानवाधिकारको अवस्था दयनीय हुन्छ| वैदिक कालमा राष्ट्रप्रमुख वा राजा जनताबाट चुनिने गर्थे | राष्ट्र प्रमुखमा जनताले रुचाउने काम गर्नुपर्ने कर्तव्य थियो | राष्ट्र प्रमुखका कारण राष्ट्रको गौरव क्षीण हुनुहुदैनथ्यो | उनले राष्ट्रका निम्ति अविचल भै काम गर्नु पर्दथ्यो | स्थिर शासन र राष्ट्रको नेतृत्व गर्नुपर्दथ्यो, सुशासन प्रदान गर्नुपर्दथ्यो, दुख दिने मानिसलाई अलग गर्नुपर्दथ्यो, जनतालाई शत्रुहरुबाट जोगाउनु पर्दथ्यो, राज्यलाई सुदृढ बनाउनु पर्दथ्यो| ( १० /१७३,१७४,१७५ ,डा.स्वामी प्रपन्नाचार्य वेदमा के छ ? पा.३७)
    ऋग्वेदमा जनताको प्रतिनिधित्व प्रणाली व्यवस्थित गर्न संगठित समिति प्रणाली थियो| त्यस्तो समितिमा मत प्रतिमत राख्ने, खण्डन मन्डन गर्ने, बहुमत वा सर्वसम्मतका आधारमा टुंगोमा पुग्ने ,सकेसम्म समान कर्म, समान हृदय र समान मन बनाएर राष्ट्रका लागि एक भएर काम गर्नु पर्ने र राष्ट्रको रक्षाको लागि संगठित भएर रहनुपर्ने कुरा बताइएको छ | (१०.१९.३,४ र डा.स्वामी प्रपन्नाचार्य वेदमा के छ ? पा.३९ )
अपराध नियन्त्रण र दण्डहीनताको अन्त्य
    समाजमा हुने अपराध कार्य मानव अधिकार उल्लघनको सबभन्दा ठूला कारण मध्येको एक हो| ऋग्वेदमा ठाउँ  ठाउँमा अपराध, अपराधका कारण, अपराध नियन्त्रण, दण्ड, प्रायश्चित र क्षमादान जस्ता विषयमा चर्चा छ| ऋग्वेद दण्डहीनताको विपक्षमा देखिन्छ| ऋग्वेदमा नागरिक, समाज र राष्ट्रलाई अपराध र अपराधीबाट सुरक्षित राखी मानिसहरुको मन तथा समाज र राष्ट्रमा शान्ति, सुरक्षा, उन्नति,खुसी, सम्पन्नता, सम्यकभाव जस्ता गुण र अवस्थाको कामना गरिएको छ | यसका लागि ऋत (सत्य), न्याय, समभाव, स्वतन्त्रता, कर्तव्य र समन्वय प्रस्थान विन्दु हुने कल्पना गरिएकोछ| केही उदाहरण :-
(क)  ऋग्वेदमा ठाउँ ठाउँमा अपराधबाट व्यक्ति, समाज र राष्ट्रलाई बचाउन आग्रह गरिएकोछ | (१.३६.१५, १.४२.२,३,४| ५.३.११,१२, |५.७.१० )
(ख)  ऋग्वेदमा अपराध गरेकोमा प्रायश्चित गरे क्षमा दिन सकिने कुरा उल्लेख देखिन्छ |(७.८७.७| ७.९३.७)
(ग)   यस ग्रन्थका ठाउँ ठाउँमा अपराधीलाई दण्ड दिनुपर्ने कुरा उल्लेख छ | (१.१६९.७|१.१८९.६| १०.२२.८ )
(घ)   ऋग्वेदमा वन्दीलाई कारागारमा राख्ने व्यवस्थाको चर्चा छ| (१.११२.७ ) गलत तरीकाबाट वन्दीगृहमा राखिएका व्यक्तिलाई मुक्त गर्नु पर्ने र पौष्टिक र शक्तिवर्द्धक खानपिनको व्यवस्था गर्नुपर्ने कुरा उल्लेख  छ|(१.११६.८) निर्दोष व्यक्तिलाई कारावासमा राख्न हुदैन|( १.११७.३) कारागारमा अत्यन्त गर्मी छ भने शितल जलबाट शान्त गराउनुपर्छ |अर्थात् कारागारमा मानवीय सुविधा उपलव्ध हुनुपर्छ| (१.११९.६)
(ङ)   ऋग्वेदमा ठाउँ ठाउँमा मानिसहरुलाई बन्धनबाट मुक्ति वा स्वतन्त्रता प्रदान गर्नुपर्ने कुरा उल्लेख छ| (६.७४.४| मानिसहरु सात किसिमका बन्धनबाट बाँधिएका हुन्छन् तर तिनलाई ती बन्धनबाट मुक्त राख्नु पर्छ|(५.७८.५,६ ) मानिसहरु बन्धनबाट मुक्ति चाहन्छन् |(७.८७.७) मानिसलाई कहिलै पनि पापी (अपराधी ,निरङ्कुश) र हिंस्रक व्यक्तिको बन्धनमा हुनु नपरोस् भन्ने कामना गरिएकोछ | (८.७१.७)

कर्तव्यलाई उच्च स्थान
    ऋग्वेदले अधिकार मात्र होइन कर्तव्यको पनि चर्चा गरेको छ | यसले राष्ट्र प्रमुख, सभा, समिति, राज्यका निकाय र जनताको पनि कर्तव्यको उल्लेख गरेकोछ| मानवाधिकारको रक्षाका लागि अधिकारको खोजी मात्र होइन कर्तव्यको पालना पनि गर्नुपर्दछ|सबैले आफ्नो कर्तव्य पालना गरेमा मानव जीवन सुखी र सम्पन्न हुने कुराको चर्चा छ| यो वेद अधिकारको लागि सचेत मात्र छैन कर्तव्यपालनाबाट मात्र मानवाधिकारको कार्यान्वयन हुन सक्ने कुरामा सचेत देखिन्छ|    
(क)  सबैलाई आफ्नो कर्तव्यको ज्ञान हुनुपर्छ र कर्तव्यको पालना सुपथ र सुगम रुपमा गर्नुपर्छ| (१.४२.७,८)
(ख)  प्रजाको जीवनस्तर माथि उठाउन कर्तव्य निर्वाह गर्नुपर्छ | (१.१७२.३)
(ग)   स्वयं इश्वरले पनि कर्तव्य निर्वाह गर्दछन्| (८.५२.३)
(घ)   कर्तव्यपरायण व्यक्तिदेखि कर्महीन व्यक्ति मात्र भयभित हुन्छन्|(८.१०३.३)
(ङ)   कर्तव्यनिष्ठ व्यक्तिको सबैले हेरविचार गर्नुपर्छ र यसरी हेरविचार गर्नेहरु पनि महिमावान हुन्छन्| (१०.६३.४)

राष्ट्र प्रमुखको प्रकृति, प्रवृति र भूमिका
     ऋग्वेदमा राष्ट्रप्रमुख वा राजाको प्रकृति एवम् काम कर्तव्य बारे ठाउँ ठाउँमा उल्लेख छ| राष्ट्र प्रमुख र राज्य प्रणाली शासन र शोषणको लागि होइन सेवा र कर्तव्यको लागि हो भन्ने कुरा यो वेदले बताउँछ|
(क)  राज्यको नेतृत्व सज्जनको हातमा हुनुपर्छ| (२.१.३)
(ख)  राजा /राष्ट्र प्रमुख प्रजाप्रेमी हुनुपर्छ| (२.२.८)
(ग)   प्रजाको लागि राजा मित्रवत र हितैषि हुनुपर्दछ|(३.५५.२१)
(घ)   जसरी सबै देवता सबैका हुन् त्यसैगरी राजा/राष्ट्रप्रमुखका लागि सबै मानिस आफ्नै हुन् | ( ४.४२.१)
(ङ)   राजा/राष्ट्रप्रमुखले सुरक्षाको खोजीमा रहेकाहरुलाई सुरक्षा प्रदान गर्नुपर्छ| जनतालाई निरन्तर रूपमा धन ऐश्वर्य प्रदान गर्ने राजा नै महान हुन्छ |(४.५०.९)
(च)   राजाले आफ्ना प्रजालाई जसरी भएपनि र हरेक किसिमले सम्पन्न बनाउनु पर्छ |(८.४५.८)
(छ)  राजाका चार प्रमुख काम छन् ती हुन् : अ)युद्ध नियन्त्रण आ) सत्कर्म गर्ने इ) प्रजाको पोषण र ई) रणक्षेत्रमा संरक्षण(८.५४.६)
(ज)  असल कर्म गर्ने राजाले समिति ( जनताका प्रतिनिधिको संस्था ) मा बसी कार्य/निर्णय गर्दछन्| (९.९२.६)
स्वतन्त्रता र मुक्ति
       ऋग्वेदका बिभिन्न ऋचामा बिभिन्न प्रकारका मुक्तिको चर्चा छ| जसको सम्बन्ध मानव अधिकारसंग रहेको मान्न सकिन्छ |  ती हुन् : अ) भयबाट मुक्ति आ) बन्धनबाट मुक्ति इ) रोगबाट मुक्ति  ई) भोकबाट मुक्ति उ) अपराध /हिंसाबाट मुक्ति  ऊ)  संकटबाट मुक्ति ए) अन्यायबाट मुक्ति | अर्थात् ऋग्वेदमा प्रार्थना वा कामना गर्दा  व्यक्ति, परिवार, समाज र राज्यले बन्धनको समस्या भोग्न नपरोस् भनी कामना गरिएको देखिन्छ| ती कुनै प्रत्यक्ष,कुनै प्रतीक र कुनै दृष्टान्तका रुपमा उल्लिखित छन्| आजको मानव अधिकार भनिने कुरा पनि मूलतः भोक, रोग, बन्धन, शोषण, भय, हिँसा, संकट र अन्यायसंग नै सम्बन्धित छन् |
पारिवारिक सम्बन्ध र विवाह प्रणाली
          ऋग्वेदमा विवाहका बारेमा पनि चर्चा छ| यस ग्रन्थमा विवाह उमेर पुगेपछि हुने, आपसी इच्छा पछि परिवारको संलग्नतामा विवाह हुने, वैवाहिक जीवनमा दम्पतीले एकआपसमा स्नेह राख्नुपर्ने, परिवार समाज र राष्ट्रले विधवाको संरक्षण गर्नुपर्ने, पारिवारिक जीवन सुमधुर हुनुपर्ने कुरा उल्लेख भएको पाइन्छ | अर्थात् ऋग्वेद बाल विवाह, अनमेल विवाह, अनिच्छित विवाह र पारिवारिक हिंसा विरुद्ध देखिन्छ |यस अर्थमा ऋग्वेद मानव अधिकारको पक्षमा देखिन्छ|
क)     सुशील, स्वस्थ र श्रेष्ठ मानसिक भावनाले युक्त स्त्रीहरु आफ्नो इच्छाअनुसार मित्र पुरुषलाई पतिका रुपमा स्वीकार गर्दछन् | (१०.२७.१२)
ख)     तन्नेरी पुरुष आफ्नै उमेरका सुन्दर स्त्री सित सुहाउदो र खुसी हुन्छन् |(१०.३०.५) साथै युवतीहरु युवाप्रति आकर्षित भई सहज र स्नेह भावले प्राप्त हुन्छन्| (१०.३०.६)
ग)      कल्याणकारी मधुर वाणीद्वारा स्त्रीले पतिलाई आफ्नो प्रियपात्र बनाउछन् र श्रेष्ठ सुसंस्कृत पुरुषले स्त्रीलाई धर्मपत्नीका रुपमा स्वीकार गरेर संगसंगै बस्ने गर्दछन्|( १०.३२.३)
घ)      दम्पतिका रुपमा रहँदा उनीहरुलाई पाप (खराब कार्य),दुर्गति र संसारको भयले स्पर्श गर्न सक्दैन|(८.३९.११)
ङ)      विधवा महिलाले दोस्रो लोग्ने मानिसलाई र स्त्रीले पतिलाई सम्मान गर्दछन्|(१०.४०.२)
च)      विधवा नारीको संरक्षण गर्नुपर्दछ| (१०.४०.८)

छ)     महिलाले पतिको कामना गरेपछि र पुरुष पनि विवाह गर्न इच्छुक भएपछि मात्र विवाह गर्नुपर्छ र परिवारले पनि त्यस्तो विवाह स्वीकृत गर्नुपर्छ|(१०.८५.९)
ज)     समाजले पतिपत्नी आदर्श दम्पतिको रूपमा रहन सकून् भन्ने कामना गर्नुपर्छ|(१०.८५.२३)

महिला प्रतिको दृष्टिकोण

       ऋग्वेदले महिला बारे पनि प्रशस्त चर्चा गरेकोछ र महिलाको हकप्रति यो वेद सचेत देखिन्छ|
    (क)गर्भावस्थामा रहेकी महिला र गर्भस्थ शिशुको स्वास्थको लागि कामना गरिएका उदाहरण छन् |(१०.१६२.१-६)
    (ख) स्त्री परिवारमा सुखका आधार हुन् |(१.६५.६९)
    (ग) महिलाले राज्यको तर्फबाट युद्धमा भाग लिन सक्दछन् | ( विश्पलाको युद्धमा गोडा काटिएको र जोडिएको प्रसंग (१.११६.१५)
    (घ) स्त्री नै पुरुषको आश्रयस्थल र घर हो| (३.५३.४)
    (ङ) ज्ञान सम्पन स्त्रीहरु कुनै पनि दिशामा झुक्कीन्नन् | (५.८०.४)
    (च) स्त्रीका मनमा अधिकार जमाउनु निकै कठिन काम हो किनकि उनीहरुको संकल्प ज्यादै अदम्य हुन्छ|      ( ८.३३.१७)
    (छ) वधु तिमी सासु, ससुरा, नन्द र देवरका लागि सम्राज्ञी जस्तै होउ |तिमी सबै माथि स्वामिनी होउ |(१०.८५.४६)
      (ज) वेदका कतिपय ऋचाहरु महिलाद्वारा रचित छन्| फलत: महिलालाई ज्ञान प्राप्त गर्ने मात्र होइन प्रदान गर्ने अधिकार पनि थियो |
बालबालिका प्रतिको दृष्टिकोण
    ऋग्वेदमा ठाउँ ठाउंमा गर्भस्थ शिशु, काखे बच्चा ,नावालिग र सन्तानको पनि चर्चा छ| यसले बालबालिकाको अधिकार बारे बिभिन्न ठाउँमा उल्लेख गरेको छ |
   क) स्तनपान गर्ने बालबालिका पुष्ट हुने र आमाको दुधमा पोषकतत्व हुने कुरा छ|(२.३९.६|३.३३.१०|३.४८.२ )
   ख) ऋग्वेदमा ठाउँ ठाउँमा असल, वीर, तेजश्वी ,पराक्रमी र स्वस्थ सन्तानको कामना गरिएकोछ |
   ग) गर्भस्थ शिशुलाई पिंडा नहोस् र त्यसको मृत्यु नहोस् भन्ने कामना गरिएको छ|(१.१०४.६,८|१.११४.७ )
वर्ण र वर्गप्रति समान व्यवहार
   ऋग्वेदमा चार वर्ण र पाँच वर्गको चर्चा गर्दै उनीहरुका बारेमा समान कामना गरिएका छन् | अर्थात् ऋग्वेदले वर्ण र वर्गका आधारमा कसैले पनि विभेदयुक्त व्यवहार गर्न नहुने कुरा उल्लेख गरेको छ| मानिसका वर्ण र वर्ग फरक भए पनि उनीहरुका प्रति समाभावको कामना गरिएकोछ | ज्ञान, सम्पदा र रक्षाको कामना सबैका लागि समान रुपले गरिएको छ| मानिसहरु सबैले पराक्रम, ज्ञान र परिश्रमको आधारमा प्रतिफल पाउने दृष्टिकोण राखेको देखिन्छ| धार्मिकदेखि अन्य कार्यमा  पाँचै वर्ग प्रति समान व्यवहार गर्नुपर्ने बताइएको पाइन्छ| यसरी ऋग्वेद विभेदको विरुद्ध देखिन्छ|  
क)     हामी पराक्रम र ज्ञानका माध्यमबाट समर्थ बनेर मानव समुदायमा उत्तम हुन सकौं | हामी उच्चस्तरीय, अनन्त र अर्काले पाउँन  नसकेको धन समाजका पाँचै वर्ण/वर्गमा सूर्यले किरण पुर्याइदिए झैँ हामी पुर्याउन सकौं |(२.२.१०)
ख)     पाँचै किसिमका मानिससित भएका सामर्थ्यलाई शक्तिको रूपमा स्वीकार गर|(३.३७.९)
ग)      पाँचै वर्गका मानिसलाई सबै रक्षा साधनले पूर्ण बनाऊ |(५.३५.२)
घ)      अग्नी वा शक्ति पाँचै वर्ण/वर्ग समक्ष प्रत्येक घरमा प्रतिष्ठित होस् |(७.१५.२)
ङ)      पाँचै थरिका मानिसहरुको हित गर्नका लागि माथि तल अगाडि पछाडी चारैतिरबाट धन लिएर आउ र सधै आफ्ना कल्याणकारी साधनले हाम्रो रक्षा गर |(७.७२.५)
च)      पाँचै किसिमका मानिसलाई परिश्रमका लागि प्रेरित गर|(७.७५.४)
छ)     पृथ्वीमा उत्पादन गरिएका यजनयोग्य सबै कुराहरु पाँचै थरिले यज्ञका लागि ग्रहण गरुन् तथा पृथ्वी र अन्तरिक्षले हामीलाई जोगाउन् |(१०. ५३ .५)
ज)     पाँचै किसिमका मानिसले स्वर्गीय सुख भोगुन् | (१०.६०.४)

उपभोक्ताको संरक्षण

       ऋग्वेदमा व्यापारीले ग्राहकको शोषण गर्न नहुने र गरेमा दण्ड दिनुपर्ने कुरा उल्लेख छ| अर्थात् ऋग्वेदमा उपभोक्ताको हक सुरक्षित गर्न कार्य गर्नुपर्ने र लोभी व्यापारीबाट उपभोक्तालाई जोगाउनु पनि पर्छ भन्ने आसय व्यक्त गरिएको छ| साथै त्यस्ता लोभी व्यापारीलाई हतोत्साहित गर्नुपर्ने कुरा पनि सो वेदमा उल्लेख छ|
क)     नजाग्ने लोभी व्यापारीहरु सुतुन् |(१.१२४.१०)
ख)     इन्द्र (राजा) ले लोभी व्यापारीसंग मित्रता स्थापित गर्दैनन् | तिनीहरुलाई अनावश्यक ऐश्वर्य जम्मा गर्न दिदैनन्|(४.२५.७)
ग)      व्यापारीका कठोर हृदय कमजोर बनाउनुपर्छ |(६.५३.३)
घ)      कन्जुस व्यापारी असल काम गर्न शुन्य छन् भने तिनलाई पराजित गर्नुपर्छ | (१०.६०.६)
ङ)      तस्करहरुले लुकिछिपी वा अदृश्य रहेर काम गर्दछन् | (५.५२.१२)
च)      वनमा विचरण गर्ने तस्कर दशवटा डोरीले बाँधिएका छन्| (१०.४.६)
वातावरण र जीवन
    ऋग्वेदमा वातावरण संरक्षण, प्रकृति र जीवनको सम्बन्ध, वनस्पतिमा हुने औषधीय गुण र आरोग्य जस्ता वातावरणीय अधिकार र कर्तव्य सम्बन्धी बिषयमा ठाउँ ठाउँमा चर्चा छ| वातावरण संरक्षण किन त भन्ने प्रश्नको जवाफ पनि प्राप्त हुन्छ| साथै ऋग्वेदले वातावरण संरक्षणलाई मानवको कर्तव्य मानेको छ| अर्थात् मानवीय कर्तव्यहरुको समयोगबाट नै अधिकार सुरक्षित र संरक्षित हुन सक्ने आसय यस वेदको छ| अझ ऋग्वेदले यस अर्थमा प्रकृति र वातावरणको सुरक्षित र संरक्षित हुन पाउने हक सिर्जना गर्दै मानिसलाई त त्यसको कर्तव्य पो सुम्पेको छ| त्यसका केही वान्की यहाँ प्रस्तुत गरिन्छ:-
क)     सूर्यको प्रकाश परेको पानी पवित्र हुन्छ| शरीरमा पानीले औषधीय तत्व स्थिर गराऊँछ|शरीरमा शुद्ध पानी भएमा शरीर निरोगी हुन्छ| पानीमा औषधीय गुण पनि हुन्छ|पानीको आयुसंग प्रत्यक्ष सम्बन्ध हुन्छ| (१.२३.१६-२३)
ख)     सूर्यको किरण प्राणदायी ,कल्याणकारी, सुखदायक र दिव्य गुणले सम्पन्न हुन्छ| सूर्यको किरण वा ताप नभएमा अन्नको उत्पादन हुदैन | सूर्यको किरणले अन्नमा पोषक तत्व प्रदान गर्दछ| (१,३६,१२,१३) बिहानको सूर्यको किरणले मानिस र पशु पंक्षीलाइ शक्ति प्रदान गर्दछ र सक्रिय बनाउछ, विकार नष्ट गर्दछ | सूर्यको किरणमा हृदय रोग र शरीरको शान्ति नष्ट गर्ने अन्य रोग नष्ट गर्ने रोगहरु नियन्त्रण र नष्ट गर्ने क्षमता हुन्छ|(१.४८.५- १.५०.८)
ग)      बिष निवारण गर्ने उनान्सय किसिमका औषधी (वनस्पति) सबैको जानकारीमा छन्| ती औषधी (वनस्पति)बाट सबै खाले विष (वानस्पतिक वा जैविक ) विष निवारण हुन्छन्| मयूर,पानी र पहाडी न्याउरीले पनि विष प्रभावहीन बनाउछ|(१.१९१.११-१६)
घ)      सूर्यको किरणले नै पृथ्वीका वनस्पतिलाई हरियो बनाउन मद्दत पुर्याएको छ|(३.४४.३)हावा र पृथ्वीको अन्तरसम्बन्ध छ| हावा र पृथ्वीका कारण बिभीन्न प्राणी र बस्तुले भिन्नाभिन्नै स्थान पाएका छन्|(३.५४.४.७)
ङ)      जमीन उर्वर बनाउने काममा हावाको भूमिका हुन्छ|हावाले  बर्षा गराउने जस्तो हितकारी काम गर्छ|हावाले अन्तरिक्षबाट समुद्रको पानीलाई प्रेरित गर्छ|
च)      बनास्पतिमा रहने औषधीय गुणले बालबालिकालाई तन्दुरुस्त बनाउँछ |(७.४६.३)
छ)     पानीको मुख्य स्रोत समुद्र हो| समुद्रबाट अन्तरिक्ष हुँदै पानी वर्षाका रुपमा पृथ्वीमा आउँछ| आकाशबाट बर्षने पानी दिव्य हुन्छ|त्यो पानी नदीमा जान्छ|नदीबाट प्रभाहित हुँदै समुद्रमा जान्छ|(७.४९.१,२)
ज)     आगोको ताप , सूर्यको प्रकाश र हावाको दोषमुक्त प्रवाहले मानिसको शारीरिक शत्रु (रोगव्याधी) बिनास गर्छ|(८.१८.९)
झ)     नदी,असिक्नी (?), समुद्र र पहाडमा औषधी हुन्छ| औषधिले रोग हटाउँछ र शरीर बलियो बनाउंछ| औषधिले भाँचिएको अंग जोड्छ| (८.२२.६)
ञ)      बग्ने नदीको पानी शुद्द हुँदै प्रवाहित हुन्छ|(९.८०.५)
ट)      हलो आदि खेतीका औजार व्यवस्थित गरेर खेत जोत| तैयार गरिएको खेतमा बिउ छर र कृषिबालीका अनेकौ प्रजाति विकास गर| चाँडो काट्न सकिने पाकेको बाली प्राप्त होस्|(१०.१०१.३)
ठ)      खेति गरिएको जमीनमा सफा पानीले उत्तम तरीकाले सिंचाई गर्नुपर्छ|(१०.१०१.६,७)
ड)       खेतीका निम्ति जोत्ने गोरुलाई पर्याप्त खुवाउनु पियाउनु पर्छ| पशु र मानिसकालागि पानीको संरक्षण गर्ने व्यवस्था गर्नुपर्छ| पशुपालनका लागि गोठ पनि राम्ररी बनाउनु पर्छ|( १०.१०१.७,८)


विविध
       ऋग्वेदमा प्रकृतिको रक्षा , प्रकृति र प्राणीको सम्बन्ध, बनस्पति औषधीको स्रोत भएको, मानव स्वास्थ्य, घर र बसोबास, मातापिता (जेष्ठ नागरिक) को सम्मान, सन्तानको दायित्व र सन्तान प्रतिको जिम्मेवारी आदि जस्ता बिषयमा उल्लेख छ| यी बिषयको सम्बन्ध कुनै न रुपमा मानव अधिकारसंग रहेकोछ| मानवाधिकार सम्बद्द यी र  अन्य बिषयमा यस आलेखमा उल्लेख गर्न भने सम्भव भएन| स्मरणरहोस्, ऋग्वेदमा यी कुरा प्रार्थना,प्रतीक र उपमाका रुपमा पनि रहेकाछन् |
सामवेद
बन्धनबाट मुक्ति र स्वतन्त्रता
     बन्धन मानव अधिकार उपभोगको सबभन्दा ठूलो अवरोध हो | सामवेदका बिभिन्न स्थानमा बन्धन विरुद्ध विभिन्न कामना गरिएको छ |
क)     हामीलाई बन्धनमा राख्ने खालका दुष्ट प्रवृति विनास गर |(१.१.४|१.२१.७|)
ख)     डरमा रहेकाहरुलाई भयमुक्त गराउ| शत्रु र हिंस्रकवृति हुनेलाई नष्ट गरेर हाम्रो रक्षा गर | (१.१७.२)
ग)      पीडाबाट मुक्ति प्रदान गरी रक्षा गर |(१.१८.७)
घ)      हामीलाई ऋणबाट मुक्त गर्दै शत्रुलाई परास्त गर |(१.२३.२)
ङ)      सबैको रक्षा गर ,सबैलाई अभय प्रदान गर, सबैलाई संरक्षण देऊ र सबैको पालन गर | (२.५.१.१०)
च)      हामीलाई तीनै किसिमका तापरूपी बन्धनबाट मुक्त गर |यी आधिदैविक, आधिभौतिक र आध्यात्मिक बन्धनहरूबाट छुटाई देउ|(६.१.४)

अपराध नियन्त्रण र दण्डहीनताको अन्त्य
    अपराध कार्य र दण्डहीनता मानव अधिकार उल्लङ्घनका प्रमुख कारण हुन्| अपराधको नियन्त्रण र अपराधीलाई अपराध अनुसारको सजाय दिन सकेमा मानव अधिकार सुरक्षित हुन्छ र त्यसको संरक्षण गरेको ठहर्दछ|
क)     अपराधीलाई दण्ड दिनुपर्दछ|(१.१९.६)
ख)     अपराधीलाई पीडा दिनुपर्ने हुन्छ| (२.१२.२.४)
ग)      हिंसा गर्ने,चोरी गर्ने र सम्पति लुकाउनेलाई दण्डित गर |(२.१८.१.१२)
महिलाको स्थान
क)     माताको स्थान पिता र दाजुभाइ भन्दा माथि इश्वरको स्तरमा हुन्छ |(१.१८.१०)
ख)     विश्व पालनगर्ने अग्निदेवलाई वेद स्वरूपिणी दक्षकी पुत्रीले यज्ञ आदि कर्मका लागि धारण गर्दछिन् | अर्थात् नारी वेद स्वरूपिणी हुन् | याने नारीको वेद वा ज्ञानसम्म पहुँच हुन्छ | (२.१३.५.९)

      विविध
       सामवेदमा अहिंसा,कर्तव्य, न्यायपूर्ण सम्पति, बालबालिका र सबै वर्ण र वर्ग प्रति समान व्यवहार आदि जस्ता विषयमा उल्लेख भएको पाइन्छ |  
       अथर्ववेद
      अथर्व वेदमा पनि मानव अधिकार सम्बन्धी बिभिन्न उल्लेख छ|
अपराध नियन्त्रण र दण्डहिनताको अन्त्य
क)     चोर डाँका (स्तेंन ) संग मिल्न सकिदैन |(४.३६.७)
ख)     गोप्य रुपमा काम गर्नेहरु,गाली गलौज गर्नेहरु र अत्यधिक दु:ख दिनेहरुलाई दण्ड दिनुपर्छ| (५.३१.१२)
ग)      धनसम्पति अपहरण गर्नेहरु शत्रु हुन् र चोर तथा लुटेराहरु दण्डित होउन्|(१९.४९.७)
घ)      हिंसा गर्ने,सम्पति चोरी गर्ने र तिनलाई लुकाउनेलाई चाँडो खोजेर दण्डित गर |(२०.७८.३)

महिला सम्बन्धी दृष्टिकोण
क.      बुद्धिमती कन्यालाई ऐश्वर्य सहित सर्वगुणसम्पन्न पति मिलोस्|(२.३६.१)
ख.     कन्या विवाह पछि घरकी रानी बनुन्| (२.३६.३)
ग.      कन्याले रुचाएको पतिले विवाह गरी उनलाई आफ्नो घर लैजावस्| (२.३६.८)
घ.      महिला र बालबालिका उच्च मनोबलका होउन्|(३.४.३)  
ङ.       तल्लो स्तरको बोलीबचन र काँडाजस्तो भएर दु:ख दिने मानिसले फैलाएको आतंक बन्द भै यिनले स्त्रीका शरीरलाई दु:ख दिन नसकून्|(७.९५.३)
च.      गर्भवती महिलालाई लाग्ने रोगहरुबाट उनीहरुलाई मुक्त गर्न वा निको पार्न उपचार प्रदान गर|उनीहरुलाई स्वस्थ जीवन प्रदान गर्नुपर्छ|( ८.६.१-२५)
छ.      नारीहरु सधै असल पत्नी होउन्, सधै सधवा रहुन्, आँखामा शृंगार र आँतमा तेजवर्धक तत्वले युक्त होउन्| उनीहरु रोगरहित र आलश्यरहित रहुन् ,उत्तम सन्तान जन्माउने होउन्, सधै अगाडि बढुन् र उन्नति गरुन् |(१२.२.३१)
ज.      कन्यालाई बन्धनबाट मुक्त गर|(१४.१.१९)
झ.      कन्या विवाह गरेपछि गृहस्वामिनी र सबैलाई आफ्नो अनुशासनमा राख्न सक्ने बन| (१४.१.२०)
ञ.      हे वरवधु तिमीहरु दुवै एकैठाउमा बस| कहिलै आपसमा पृथक नहोओ | सम्पूर्ण जीवन विशेष रीतिले उफ्भोग गर |आफ्नो गृहस्थ धर्म निर्वाह गर्दै सन्तानका साथ रमाइलो जीवन बिताउ|(१४.१.२२)

बालबालिका
क)     बालबालिकालाई दिर्घायु बनाऊ|(२.२७.२)
ख)     बालबालिकालाई हर्ष प्रदान गर, सबै गुणले सम्पन्न गराउ र दीर्घाउ प्रदान गर | (२.२८.५)
ग)      स्त्री र बालबालिकाहरु उच्च मनोबलका होउन्|(३.४.३.)

स्वास्थ सम्बन्धी चर्चा
अथर्ववेदमा पनि ठाउँ ठाउँमा औषधि उपचार र स्वास्थ सम्बन्धी चर्चा छ|खासगरी महिला स्वास्थ्य बारे र त्यो पनि गर्भावस्था सम्बन्धी स्वास्थ्य बारे पनि प्रशस्त उल्लेख छ | यिनको चर्चा व्यापक रुपमा हुँदा त्यसको उद्दरण सहित उल्लेख गर्न सम्भव भएन| जेहोस् जनस्वास्थको चर्चा गर्दै यो वेदले स्वास्थ्यको हक तर्फ दृष्टि पुर्याएको मान्न सकिने देखिन्छ|
क)     सूर्यको किरणबाट पोषण प्राप्त होस् र विकार एवम् विकृतिहरु बाहिर निस्केर जाउँन्| मुत्र वाहिनी नाडीहरु,मुत्रासय र आँतमा रहेका विकार उपचारका प्रभावले बाहिर निस्केर जाउँन् |(१.३.५,६)
ख)     पानीमा रोग निवारण गर्ने दिव्य गुण हुन्छ र यसलाई औषधि वा उपचारको माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ|( १.५.१-५)
ग)      सूर्यको किरणमा औषधीय गुण गुण हुन्छ र यसलाई उपचारको माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ|( १.६.३ )
घ)      प्रसुतालाई सहायता गर| उनले सावधानीपूर्वक प्रसुतिका लागि आफ्नो अंग खुकुलो पारेर रहुन् | प्रसुतिका लागि गर्भको मार्गलाई फराकिलो र अंगलाई खुकुलो पारी गर्भलाई तल आउन प्रेरित गर्नु पर्छ| गर्भमा रहेको शिशुलाई बेरेर राखेको साल अन्य मांसपेशी वा बोसोजस्तो काम नलाग्ने बस्तु भित्र रहन दिनु हुदैन रह्यो भने गम्भीर दुष्परिणाम उत्पन्न हुन सक्छ| सन्तान जन्माउन बाधा नपरोस् भनी गर्भमार्ग, योनी र नाडीहरुलाई बिशेष किसिमले खुकुलो पार्नु पर्छ| आमा र बच्चालाई सालनालबाट अलग गर्नुपर्छ | (१.११.१-५ )
ङ)      हामीलाई रुघाखोकी र टाउको दुख्ने आदि रोग पिरबाट मुक्त गर| हाडजोर्नीमा परेका रोगका किटाणुलाई नास गर| वर्षा शीत र ग्रीष्म ऋतुका प्रभावले उत्पन्न हुने कफ वात र पित्त सम्बन्धी रोग नास गर| त्यसको लागि हामी अनुकूल वातावरण र वनको औषधिको सहायता लिन्छौ|(१.१२.३)
प्रकृति र  वातावरण
क)     नदीहरु र वायुहरु एक आपसमा मिलेर प्रवाहित होउन्| पंक्षीका समूह एक आपसमा मिलेर उडिरहुन् | हामी नदीका स्रोतका सहायताले सम्पति प्राप्त गर्दछौं|(१.१५.१-३)
ख)     कृषि उपज उत्पादन क्षेत्रमा हलो जुवा जस्ता साधन प्रयोग गरी बीउ छर्ने काम गर| इन्द्र (राजा ) ले कृषियोग्य भूमिको व्यवस्था गरुन| पृथ्वीलाई राम्रो जलले सिँचन गर| कृषि भूमिको राम्रोसंग रेखदेख गर्नुपर्छ| भूमिलाई श्रेष्ठ उत्पादनयोग्य बनाउनु पर्छ| (३.१७.१-७)
ग)      बिभिन्न खाले वनस्पतिमा औषधीय गुण हुन्छ र ती औषधि हितकारी र बल प्रदान गर्ने खालका हुँदा सबैले तिनको उपयोग गर्नु पर्छ|(३.१८.१-६ )
घ)      जहाँ सोम आदि औषधिहरु (बनस्पतिहरु) हुन्छन् र जहाँ वनस्पतिको पूजा हुन्छ त्यहाँ सबै किसिमको कल्याण हुन्छ| त्यहाँ हिउँले पनि दु:ख दिदैन, गर्मीले खपिनसक्नु ताप दिदैन र बर्षा पनि समयमा हुन्छ| यसो भएमा मात्र भूमिले सम्वृद्धि प्राप्त गर्छ|(७.१९.२)
ङ)      नदीहरु उचित किसिमले प्रवाहमान होउन्, वायुहरु अनुकूल भएर प्रवाहित होउन्, पंक्षीहरु पनि स्वभाविक रुपमा उडिरहुन् |(१९.१.१)
च)      हिउँ, झरना वा झरी जलप्रवाहका बिभिन्न स्रोतबाट प्राप्त हुने पानीलाई सुखदायक र कल्याणकारी बनाउनु पर्छ|(१९.१.२)



विविध
अथर्ववेदमा ठाउँ ठाउँमा सुशासन, असल पारिवारिक सम्बन्ध, अभिभावकको सन्तान प्रतिको दायित्व, सन्तानको अभिभावक प्रतिको कर्तव्य, वातावरणको सुरक्षा, सबै वर्ण र वर्ग को समानता, अहिंसा जस्ता बिषयमा उल्लेख छ| यी विषयहरुको सम्बन्ध मानव अधिकारसंग छ नै |

यजुर्वेद
     यजुर्वेदमा पनि ठाउँ ठाउँमा मानव अधिकार सम्बद्द विषयमा उल्लेख छ|

     अपराध नियन्त्रण र दण्डहीनताको अन्त्य
क.      डाँका र चोरलाई थर्कमान गराउ| दु:ख दिने र सताउनेहरुलाई नष्ट गर र मानिसहरुलाई दुष्कर्मीहरुबाट मुक्ति देउ| निर्भयपूर्वक सत्कर्म गर्न सकिने बनाऊ| (११.७८)
ख.     हीन आचरण भएका चोर,एकान्त वनमा घुम्ने तस्कर र मानव वस्तीमा घुम्ने गरेका जनघाती हत्याराहरुलाई दण्डित गर्न सकियोस्| (११.७९)
ग.      मानिसहरु अपराध, पाप र अधर्मबाट बचून् | (२०.१४)
घ.      हामीले अधिकार प्राप्त गर्नका लागि गरेका अपराधबाट जोगाउ| (२०.१७)
ङ.       हामी दीनता, पाप र अपराधबाट टाढा रहौ | (२५.४५)
च.      अपराधरहित हुनसके कल्याण हुन्छ| (३३.१७)
छ.      अपराधीलाई दण्ड देउ| (३३.२६)

महिला
क)     सोम अर्थात् वनस्पतिबाट प्राप्त मधुरतासम्पन्न शक्तिलाई हामी धर्मपत्नीका साथमा ग्रहण गर्दछौं |(८.९)
ख)     हे नारीरूपि श्रेष्ठ प्रकृति तिम्रो गर्भ यज्ञको भावानाले प्रेरित छ, तिम्रो गर्भस्थान सुवर्ण जस्तै पवित्र छ| (८.२९)
ग)      भारती देवी हाम्रा यज्ञमा चाडै आउन् | यज्ञको कुरो बुझेर इड़ा देवी पनि चाडै आउँन् र देवी सरस्वती देवी पनि चाँडो आउन् | सत्कर्मशील यी तीन देवीहरू यस यज्ञमा आएर सुखकारी आसनमा बसुन्| (२१.३३)
विविध
       यस वेदमा पनि अहिंसा, समानता, न्याय, परिवार, बालबालिका, वर्ण र वर्गबीच समानता,स्वास्थ्य उपचार जस्ता मानव अधिकार सम्बद्द बिषयमा उल्लेख भएको पाइन्छ| अघिल्ला वेदहरुमा यी बिषयहरुमा भएका कुराहरु कुनै न कुनै रुपमा चर्चा भएकाले ती सबै बिषय यहाँ पुनरावृति गरिएको छैन| स्मरण रहोस् ,वेदहरुमा यी व्यवस्थाहरु उपमा र प्रार्थनाका रूपमा पनि छन्|
स्मृतिहरु  
      स्मृतिहरुमा मूलतः आचार, व्यवहार र प्रायश्चितको चर्चा हुने गरेको पाइन्छ| पूर्वीय दर्शन प्रणालीमा १८ भन्दा बढी स्मृति छन्| ती बिभिन्न कालखण्डमा लेखिएका हुन्| तिनले त्यो समय, समाज र सोच बारे बताउछन्| साथै कुन स्मृति कुन युगका लागि भन्ने कुरा पराशर स्मृतिमा उल्लेख छ |
           कृते तु मानवो धर्मस्त्रेतायां गौतम: स्मृत:
           द्वापरे शंखलिखित: कलौ पराशर स्मृत:|१|२४|
   अर्थात् कृत वा सत्य युगका लागि मनुस्मृति, त्रेता युगका लागि गौतमस्मृति, द्वापर युगका लागि शंखस्मृति र कलि युगका लागि पराशर स्मृति मुख्य हुन्|  पूर्वीय दर्शनमा न्यायशास्त्र (कानून) गतिशील थियो र नयाँ समयका लागि नयाँ पद्दति सम्भव थियो | युग वा समय अनुसार स्मृति तैयार गर्न सम्भव मात्र थिएन गरेर देखाइएको पनि थियो|
    स्मृतिहरु  राज्य निर्मित कानून होइनन् | न त ऋषिहरुका एकल विचार मात्र हुन्| यी समाजका ज्ञान र तेज भएका श्रेष्ठ ऋषिले ऋषिमुनिहरुलाई बताएका कुरा हुन्| स्मृतिमा हुने व्यवहार खण्ड त्यस बेलाको समाजको व्यवहार हो भनी सहज अनुमान गर्न सकिन्छ| यही खण्डमा नै कानून सम्बन्धी चर्चा हुने गरेको पाइन्छ|  बिभिन्न स्मृतिहरुमा समाज र स्थान अनुसारका व्यवहारहरुलाई विशेष  मान्यता दिइएको पाइन्छ | स्मृति त्यसबेलाका ऋषिमुनिहरुको आग्रहमा तैयार गरिएको कुरा मनुस्मृतिका शुरुका श्लोकबाट देखिन्छ| यस्तै बिभिन्न स्मृतिमा स्थानीय, सामुदायिक र पेशागत व्यवहारलाई मान्यता दिइएको पनि पाईन्छ| मनुस्मृतिले वेद, स्मृति,सदाचार र आत्मप्रिय कुरा नै धर्म (कानून)का लक्षण हुन् भनेकोछ |(२.१२)
मनुस्मृति
   यस स्मृतिमा मानव अधिकार सम्बद्द बिभिन्न पक्षमा चर्चा गरिएको छ| ती मध्ये कतिपय कुरा सामान्य सिद्दान्तका रूपमा छन् र ती मूलतः सकारात्मक छन् | कतिपय कुराहरु नकारात्मक पनि देखिन्छन्| नकारात्मक कतिपय कुरा घटना सापेक्ष, परिस्थिति सापेक्ष र स्थानीय व्यवहार सापेक्ष भएको अनुमान गर्न सकिन्छ | किनकि सिद्दान्तमा सकारात्मक भएका कुरामा प्रसंग अनुसार व्यक्तिको आचरण, प्रवृति व्यबहार घटना र कार्यलाई सम्बोधन गर्दा त्यसको प्रकृतिका आधारमा सम्बोधन गर्नुपर्ने हुन्छ| यस्तै कतिपय विद्वानहरुले उपनिवेश कालमा भारतमा मनुस्मृतिमा मूलमा भन्दा धेरै कुरा थपिएको, संस्कृतबाट अनुवाद गर्दा  गलत अनुवाद गराइएको आरोप समेत लगाउने गरेका छन्| तर यस आलेखमा मानवाधिकार सम्बद्द बिषयमा मूलतः सकारात्मक प्रसंगको उल्लेख गरिनेछ|
फौजदारी न्याय सम्बन्धी हक
क)     झुठा बक्ने साक्षीलाइ झुठा बक्ने (perjury) कारणका आधारमा सजाय गर्नुपर्छ|(८.१२०-१२३)
ख)     अपराधीको अपराध, अपराध भएको स्थान र समय जानेर तथा अपराधीको अवस्था र सम्पत्तिको सामर्थ्य एवम् उसले गरेको अपराधको मात्रा जस्ता कुरा हेरेर दण्ड दिने व्यवस्था (sentencing policy) गर्नुपर्छ|(८.१२६)
ग)      निरपराधीलाई दण्ड दिने र अपराधीलाई दण्ड नदिने राजाको ठूलो अपयश हुन्छ र ऊ नरक जान्छ| (८.१२८) अर्थात् एकजना निरापराधीलाई पनि सजाय हुनुहुदैन र एकजना पनि अपराधी सजायबाट छुट्नु हुदैन|
घ)      कसुरदारलाई पटकअनुसार सजाय बढाउनु पर्छ| ( ८.१२९) अर्थात् पटके अपराधीलाई सिकारुलाई भन्दा बढी सजाय हुनुपर्छ|
ङ)      दण्ड तीन प्रकारको हुन्छ : प्रथम साहस, मध्यम साहस र उत्तम साहस| प्रथम साहसमा जरिवाना गर्दा दुईसय पचास पण, मध्यम साहसमा पाँचसय पण र उत्तम साहसमा एकहजार पण दण्ड हुन्छ|(८.१३८) अर्थात् सजाय कसूरको मात्रा अनुसार हुनुपर्छ|
च)      अपराध गरे बापत शारीरिक दण्ड दिदा डोरी वा सिर्कनाले ढाडमा हिर्काउनु पर्छ, संवेदनशील अंगमा हिर्काउनु हुदैन | कसैले नियम विपरित दण्ड दिए उसलाई पनि दण्ड दिनुपर्छ| (८.२९९,३००) अर्थात् कठोर दण्ड दिनु हुदैन र न्याय विपरित कठोर दिने व्यक्तिलाई पनि दण्डित गर्नुपर्छ|
छ)     दण्ड भोगेपछि मानिस असल काम गर्ने मानिस जस्तै पवित्र हुन्छ|(८.३१८) अर्थात् सजाय भोगेपछि सामाजिकीकरण हुनुपर्छ|
ज)     आमा, बाबु, आचार्य, पत्नी, पुत्र,मित्र वा पुरोहित जोसुकैले अपराध गरे पनि तिनीहरुलाई दण्ड नदिई छोड्नु हुदैन|(८.३३५) अर्थात् कानूनभन्दा माथि कोही पनि छैन र कानूनका अगाडि सब समान छन्|
झ)     जुन अपराध गरेमा सर्वसाधारण जनतालाई एक कार्षापण (तत्कालीन मुद्राको नाम) दण्ड हुन्छ सोही अपराध गरेमा राजालाई एकहजार पण दण्ड हुनुपर्छ|(८.३३६) अर्थात् राजा पनि कानून मातहत छन्| कोही पनि कानून भन्दा माथि छैन| ठुलो पद वा जिम्मेवारीमा हुने व्यक्तिलाई सबभन्दा बढी सजाय हुनुपर्छ|
ञ)      चोरीको गुणदोष जान्ने शुद्र (श्रमिक)ले चोरी गरे बिगोको आठ गुना, वैश्य(व्यापारी)ले चोरी गरे विगोको सोह्र गुना, क्षत्री (राज्य संयन्त्रसंग सम्बद्ध ) ले चोरी गरे बत्तीस गुना र ब्राम्हण (शास्त्र जान्ने ) ले चोरी गरे विगोको चौसट्ठी वा एकसय वा एकसय अठ्ठाइस गुना दण्ड हुनुपर्छ|(८.३३८) राष्ट्रिय र सामाजिक उत्तरदायित्व अनुसार सजायको मात्रा फरक हुनसक्छ र हुनुपर्छ|
ट)      ससाना कसूरमा सजाय गर्नु हुदैन|(८.२३६,३३९,३४१) अर्थात् फौजदारी कानूनले झिनामसिना कुराको वास्ता गर्दैन|

ठ)      कानून बिभिन्न शास्त्र र विधा जान्ने व्यक्तिहरुको समुह (दशावारा वा त्रव्यारा) बाट बनाउनु पर्छ | ज्ञान नभएका हजारौ व्यक्ति भन्दा एकजना ज्ञानी व्यक्तिले बनाएको न्यायशास्त्र (कानून)लाई  परमधर्म ( उच्चतम कानून) मान्नुपर्छ| (१२.१११-११३)

महिला सम्बन्धी
क)     स्रस्टा (व्रह्मा)ले आफ्नो शरीरलाई दुई भाग पारी आधालाई पुरुष र आधालाई महिला बनाएका हुन्|( २.३२)
ख)     नातामा मान्य महिला (काकी ,माइज्यू ,फुपू, गुरुआमा, भाउजू , स्ववर्णका स्त्री, सबै विवाहिता स्त्री, नातागोताका स्त्री )लाई विप्रले पनि नाता अनुसार प्रणाम र सम्मान गर्नुपर्छ र स्त्री जोसुकै भए पनि बाटो छोडिदिएर सम्मान गर्नुपर्छ|( २.१३१,१३२,१३८)
ग)      यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया| अर्थात जहाँ नारीको पूजा वा आदर हुन्छ त्यहाँ मात्र देवता रमाउछन् र स्त्रीको अपमान हुने स्थानमा सम्पूर्ण यज्ञ आदि कर्म निस्फल हुन्छन्|(३.५६)
घ)      छोरी बुहारीले दु:ख पाउने कुल चाडै नष्ट हुन्छ र जुन कुलमा तिनले अलिकति पनि दु:ख पाउनु पर्दैन त्यसको उन्नति हुन्छ|(३.५७)
ङ)      दुखित र अपमानित छोरीबुहारीले धिक्कारेको घर अनाचारयुक्त भई छिटै नाश हुन्छ| परिवारमा छोरीबुहारीलाई आवश्यकताका बस्तु उपलब्ध गराउनुपर्छ र मंगलकार्य एवम् उत्सवमा खुसी पार्नुपर्छ| पति पत्नी आपसमा खुसी हुने कूल र परिवारमा सदैव खुसी र मंगल हुन्छ| स्त्री खुसी भइन् भने कुल नै उज्यालो र दुखी भइन् भने कुल नै अध्यारो हुन्छ| (३.५८-६२)
च)      नयाँ दुलही, छोरी,बिरामी र गर्भवती महिलालाई अतिथि भन्दा पनि चाँडो भोजन गराउनुपर्छ| यिनीहरुलाई खाना नखुवाई पहिले नै आफै खाना खानेको भलो हुदैन|(३.११४,११५)
छ)     सन्तान नभएकी , कुलमा कोही नभएकी, पतिव्रता ,विधवा र विरामी स्त्रीको सम्पत्तिको रक्षा राजाले गर्नुपर्छ| यस्ता स्त्रीहरुको सम्पत्ति हरण गर्ने बान्धवहरुलाई धार्मिक राजाले चोरलाई सरह दण्ड दिनुपर्छ|(८.२८,२९))
ज)     अर्काकी स्त्रीसँग प्रसंग बढाउनेलाई कठोर दण्ड दिनुपर्छ|(८.३५२)
झ)     कन्यालाई बलात्कार गर्नेलाई कठोरतम दण्ड दिनुपर्छ|(८.३६४)
ञ)      महिला बिरुद्ध दूषित कार्य गर्ने व्यक्तिले फेरि उस्तै कार्य गरे दुगुना दण्ड दिनु पर्छ|(८.३७३)
ट)      घर भित्रै रहेका अवस्थामा पनि स्त्री असुरक्षित हुन्छन्| आफैले आफ्नो रक्षा गर्ने स्त्री नै वास्तविक अर्थमा सुरक्षित हुन्छन्|(९.१२)
ठ)      लक्ष्मी र स्त्री बिना घरको शोभा नै हुदैन|(९.२६)
ड)       पुरुष भनेको आफ्नो शरीर, सन्तान र स्त्रीको सामुहिक रुप हो| ज्ञानीहरुले जो आफूलाई पति भन्छ ऊ नै पत्नी हो अर्थात् पति पत्नीमा केही फरक छैन भनी बताएका छन् |(९.४५)
ढ)      असल स्वभावकी रोगी महिलाले आफ्नो पतिलाई माया गर्छिन् भने उनका पतिले ती पत्नीको अनुमति लिएर अर्को विवाह गर्न सक्छ तर तिनलाई अपमान र हेला गर्न पाउदैन | (९.८२)
ण)     मूर्ख र दुर्गुण भएको पुरुषसँग कन्याको विवाह गरिदिनु हुदैन| ऋतुमति  कन्याले तीन बर्षसम्म विवाहको प्रतीक्षा गर्नुपर्छ | त्यसपछि असल गुण भएको वर आफै खोजेर विवाह गर्न हुन्छ|(९.८९,९०)
त)      यस स्मृतिमा आजको समय नसुहाउने कतिपय कुरा पनि छन्|ती कुरा सो समय,खास सन्दर्भ र तात्कालीन व्यवहारमा आधारित पनि देखिन्छन्| यी सकारात्मक प्रकृतिका कुरालाई मूल सिद्दान्त मान्ने हो र सन्दर्भमा नकारात्मक कुराको समग्रतामा व्याख्या गर्ने हो भने कथित नकारात्मक कुरा कमजोर हुन्छन्| व्याख्याको नियम पनि सबै पढेर समग्रतामा गर्ने भन्ने नै हो|  साथै ती हजारौ बर्ष पुराना सन्दर्भ हुन्| ऋषिका कथन राज्यका कानून पनि होइनन् | स्मृतिको शुरुमा बताइएअनुसार कति कुरा त्यसबेलाको व्यवहारमा आधारित र खास क्षेत्रमा प्रचलित हुन सक्छन् | अझ अगाडि उल्लेख भए झैँ पछि उपनिवेश कालमा थपिएको भन्ने धार पनि छ| वेदको भावना विपरितका नकारात्मक कुरा थपाईएको हुन पनि सक्छ| यसको निर्क्योल धर्मशास्त्रका विद्वानहरुबाट हुनु उपयुक्त हुनेछ|
   स्वतन्त्रता
         पराधिनता सबै दु:खको बिउ हो| स्वाधिनता सबैभन्दा ठूलो सुख हो| सारांशमा भन्दा सुख र दु:खको लक्षण नै यही हो|(४.१६०)
   प्रतिलिपि अधिकार
         संसारका सबै  कुरा शव्द र त्यसको अर्थमा निर्भर छ |शव्द नै सबैको मूल हो र अर्थले नै त्यसको वोध गराउँछ | त्यसैले शव्दको चोरी गर्ने मानिसले सबथोक चोरी गरेको मानिन्छ| (४.२५६)
   वातावरण संरक्षण
क)     तलाउ नष्ट गर्ने कठोरतम दण्ड दिनुपर्छ| यदि सम्बन्धित व्यक्तिले नष्ट पारेको सो तलाउ पूर्ववत अवस्थामा ल्याउछ भने सजाय घटाई उत्तम साहस दण्ड गर्नु पर्छ|(९.२७९)
ख)     सर्वसाधारणको लागि बनाइएको तलाउको पानीमा कसैले फोहर पारेमा प्रथम साहस दण्ड गर्नुपर्छ|(९.२८१)

ग)      कुनै आपद नपरी बाटोघाटोमा (मार्ग) मा फोहर फयाँक्नेलाई दुई काषार्पण दण्ड गर्नुपर्छ र फोहर गर्नेलाई नै सो फोहर सफा गर्न लगाउनु पर्छ|(९.२८२)

घ)      रोगव्याधले आपदमा परेको व्यक्ति, वृद्धा वा गर्भवती स्त्री तथा बालबालिकाले बाटोघाटोमा आएर मलमुत्र त्याग गरे उनीहरुलाई केही सम्झाएर (परिभाषण) छोड्नुपर्छ| उनीहरुलाई दण्ड दिनु हुदैन| बाटोको फोहर भने हटाउन लाउनुपर्छ| (९.२८३)

ङ)      सफा बस्तुलाई फोहर पार्नेलाई प्रथम साहस दण्ड दिनुपर्छ|(९.२८६)

उपभोक्ता हित
क)     भिन्नाभिन्नै प्रकृतिका भिन्न मोल पर्ने बस्तुलाई एउटै दाम लिने वा उस्तै सामान कसैलाई कम र कसैलाई बढी मोल लिने मानिसलाई प्रथम साहस वा मध्यम साहस दण्ड गर्नुपर्छ|(९.२८७)
ख)     न उम्रने बिउलाई राम्रो भनेर बेच्नेलाई र गाउको मर्यादा भंग गर्नेलाई शारीरिक दण्ड दिनुपर्छ|(९.२९१)
ग)      सुनको काम गर्दा सुन चोरी गर्ने हेमकारलाई कठोर शारीरिक दण्ड दिनुपर्छ|(९. २९२)

    याज्ञवल्क्यस्मृति
     यो स्मृति पनि ऋषिमुनिहरुको आग्रहमा ज्ञान र व्यवहारका आधारमा तैयार गरिएको थियो| (१.१.१,२)यो रचना तैयार गर्दा उन्नाइस स्मृतिहरुको अध्ययन गरिएको थियो| (१.१.५) यो स्मृतिमा ठाउँ ठाउँमा कतिपय स्मृतिको उल्लेख गरिएको छ, तुलना गरिएको छ र सहमत भए वा नभएका कुरा बताइएकोछ्| ( उदाहरण १.१.७) यस स्मृतिको यो बस्तुस्थितिले शास्त्र निर्माण गर्दा ज्ञानको तुलनात्मक अध्ययन गर्ने गरिएको देखिन्छ| यसले न्यायशास्त्र (कानून) गतिशील (समाज र समय सापेक्ष)) हुने कुरा स्वीकार गरिएको अनुमान गर्न सकिन्छ |
क)     राजा वा राष्ट्रप्रमुखमा कम्तिमा बीस प्रकारका गुण हुनुपर्ने कुरा उल्लेख छ| यी कतिपय गुण मानव अधिकारसंग सरोकार राख्ने प्रकृतिका पनि छन्| जस्तै: कठोर व्यवहार नगर्ने , काम कारवाही अविलम्ब गर्ने, धर्म ( कानून र कर्तव्य आदि)मा दृढ निष्ठा राख्ने, बुद्धि विवेकसम्पन्न, दण्डनीतिमा पारङ्गत आदि|(१.१२.३०८-३१०)
ख)     राजा वा राष्ट्र प्रमुखले घुस लिने कर्मचारीहरुले जोडेको धन छिनी (जफत) दरिद्र बनाई नोकरीबाट मात्र होइन देशबाट नै निकाला गर्नुपर्छ| (१.१२.३३७) अर्थात् भ्रष्ट्राचारीलाई कठोर सजाय गर्नुपर्छ|
ग)      राजाले आफ्नो बशमा आएको देशमा प्रचलनमा रहेका आचार ,व्यवहार एवम् कुलका मर्यादाको यथावत पालना गर्नुपर्छ|(१.१२.३४२) अर्थात् जनताका सामाजिक, सांस्कृतिक र पारिवारिक मर्यादा माथि राज्यले हस्तक्षेप गर्न हुदैन|
घ)      राजा (राष्ट्र प्रमुख), अमात्य ,जनता ,दुर्ग (सुरक्षित सीमा),कोष दण्ड र मित्र राज्यका अंग हुन् र राज्यमा  धर्म (न्याय) को रक्षाकोलागि आदि काल मै दण्डको सृष्टि भएको हो|(१.१२.३५२,३५३)
ङ)      दण्डको प्रयोग कानून, विवेक र न्यायसम्मत हुनुपर्छ| ( १.१२.३५४-३५६)
च)      आफ्नै भाई, छोरा, आचार्य, ससुरा र मामा आदि निकटस्थ जोसुकैले अपराध गरेपनि दण्ड दिनुपर्छ| अपराधी अपराधी हो उसलाई कसूरअनुसार विना भेदभाव दण्ड दिनुपर्छ| (१.१२.३५७)
छ)     उत्तम साहसमा १०८० पण, मध्यम साहसमा ५४० पण र प्रथम साहसमा २७० पण दण्ड गर्नुपर्छ | (१.१२.३६५) अर्थात् कानूनले नै कसूर र सजायको वर्गीकरण गर्नुपर्छ र न्यायकर्मीलाई धेरै विवेकाधिकार प्रदान गर्नु हुदैन|
ज)     दण्ड अपराध अनुसार बिभिन्न प्रकारका हुन्छन्| जस्तै: धिग्दंड ( धिक्कारपूर्ण वचनको प्रयोग), वाग्दंड ( डाँटफट्कार गर्नु वा कठोर वचनको प्रयोग गर्नु), धन दण्ड (जरिवाना), बधदण्ड (शारीरिक र अन्य कठोर) (१.१२.३६६)
झ)     अपराधीलाई अपराधको प्रकृति, अपराध भएको स्थान, समय, शक्ति, आयु, कार्य र आर्थिकस्थिति पत्ता लगाएर मात्र दण्डको विधान गर्नुपर्दछ| (१.१२.३६७)
ञ)      निश्चित गुण भएका व्यक्ति मात्र न्यायाधीश नियुक्त गर्नुपर्छ| जस्तै:- वेद शास्त्र(मूल कानून)को सम्यक ज्ञाता, धर्मशास्त्र (अन्य कानून)मा पारङ्गत, सत्यवादी र शत्रु एवम् मित्र प्रति समाभाव राख्ने रागद्वेषरहित| (२.१.२)
ट)      वादी वा प्रतिवादीका प्रति स्नेह, लोभ वा डरका कारण न्यायसभ्य (न्यायाधीश)ले पक्षपात गरेमा ती सभासदलाई अपदस्थ मात्र होइन पृथक पृथक रुपमा दण्डित पनि गर्नुपर्दछ| साथै विवादको विगोको दुगुना रकम असूल गर्नुपर्छ| (२.१.४ )
ठ)      साहस दण्ड हुने अपराध (शस्त्र र विष प्रयोगबाट गरिने हत्या, चोरीडकैति, सार्वजनिकरुपमा अपमान, दुधालु गाईको हत्या, स्त्रीहरण(बलात्कार) जस्ता )मा अभियुक्तलाई तत्काल बयान गराउनु पर्छ| अरु ससाना अपराधमा अभियुक्तको इच्छाअनुसार केही समय दिन सकिन्छ| (२.२.१२)
ड)       दण्ड (जरिवाना) गलत तरीकाबाट असुल गरेको पाइएमा राजाले गलत सजाय गरिएको प्रायश्चितको रुपमा आफ्नो तर्फबाट त्यस्तो असूल गरिएको रकमको तीस गुना रकम देवश्व संकल्प गर्नुपर्दछ र त्यही रकमबाट पीडितबाट असुलिएको रकम निजलाई फिर्ता गर्नुपर्दछ|( २.२५.३०७)


महिला सम्बन्धी
क)     काम वासनाले पिडित भएर परस्त्रीको नीवी (कमरमा बाँधिएको कपडा, इजार), वक्षस्थल, आँचल, जाँघ वा केशमा छुनु रातको समय वा अँधेरोमा कुराकानी गर्ने र एउटै आसनमा बस्नु व्याभिचारीका लक्षण हुन् तिनलाई पक्रनुपर्छ| (२.२४.२८४)
ख)     विवाहको लागि सिंगार गरेकी कन्याको अपहरण गर्नेलाई उत्तम साहस र विवाहको अवस्थामा अपहरण गर्नेलाई अधम साहस दण्ड गर्नुपर्छ|(२.२४.२८७)
ग)      आफूसंग अनुरक्त कन्यालाई भगाउनेलाई दण्ड हुदैन तर आफूमा अनुराग नराख्ने कन्यालाई भगाउनेलाई उत्तम साहस दण्ड हुन्छ|(२.२४.२८८)
घ)      कुनै कन्यामा वास्तविक दोष छ भने पनि त्यसको प्रचार गर्न हुदैन, गरेमा दुईसय पण दण्ड हुन्छ| कुनै कन्यालाई मिथ्या आरोप लगाएमा पनि दुई सय पण दण्ड हुन्छ| शारीरिक रुपले कमजोर स्त्रीसँग शारीरिक सम्बन्ध राखे मध्यम साहस दण्ड हुन्छ|(२.२४.२८९)
ङ)      स्वैरिणी स्त्रीसंग शारीरिक सम्बन्ध राखेर तय भए बमोजिमको रकम उपलब्ध नगराउनेलाई सो रकम र थप दश पण दण्ड हुन्छ| स्वैरिणीसंग पनि बलात्कार गरेमा चौबीस पण दण्ड हुन्छ|(२.२४.२९१)
च)      अप्राकृतिक रुपमा शारीरिक सम्बन्ध राख्नेलाई चौबीस पण दण्ड हुन्छ|(२.२४.२९३)

उपभोक्ता हित
क)     मिसावट गरिएको तथा खान अयोग्य पदार्थबाट खाद्य र पेय पदार्थ दुषित गर्नेलाई दुषित गर्नेको वर्ण अनुसार दण्ड हुन्छ|(२.२५.२९६)
ख)     सुन सम्बन्धी कारोबार र व्यवहार गर्दा कुट(असत्य) व्यवहार गर्ने अथवा निषिद्ध पशु पंक्षीको मासु बेच्नेलाई शारीरिक र उत्तम साहस दण्ड हुन्छ|(२.२५.२९७)
           
      शुक्रनीति
     शुक्रनीतिमा पनि मानव अधिकारको बिषयमा चर्चा छन्| यहाँ मानवाधिकारसंग सम्बन्धित हुने अपराध, दण्डनीति, न्याय र न्याय प्रक्रिया सम्बद्द  केही पक्षमा मूल रूपमा उल्लेख गरिनेछ|
  
क)     शुक्रनीतिमा झुटो बकपत्र गर्ने कुट्साक्षीलाई सजाय हुने (perjury) व्यवस्था छ| (१.३०६,३०७|३.१००|४.१६८|
ख)     यो नीतिमा आत्मरक्षा (self-defence) को अधिकारको उल्लेख छ| (३.१६२)
ग)      न्यासभामा व्यवहार जान्ने विद्वान, आचारी, शीलवान, गुणी, द्वेषरहित, धर्म जान्ने,सत्यवादी, जाँगरिला, काम क्रोध लोभ जितेका र मृदुभाषी जोसुकै भएपनि (४.५.१६,१७) सात,पाँच वा तीनजना ( ४.५.२५) रहनुपर्ने कुरा उल्लेख छ| यस्तै कृषि, कालिगढ़ ,व्यापारी, कलाकार र सन्यासी जस्ता जीवनपद्धतिमूलक बिषयमा उनीहरु जस्तै व्यक्तिबाट निर्णय गर्न लगाउनुपर्छ| (४.५.१८,१९) अर्थात् न्यायाधीश गुण र क्षमताका आधारमा मात्र नियुक्त हुनुपर्छ| एकजना न्यायाधीश न्यायाधीश होइन|(A single judge is not a judge) विशेष विषयमा विशेष व्यक्ति न्यायिक कार्यमा सम्मिलित गराउनु पर्छ|
घ)      घरमा आगो लगाइदिने, बिष खुवाउने, हातहतियार लिएर मनपर्दी गर्ने, जमीनहरण गर्ने, अर्काको श्रीमती भगाउने र धन लुट्ने यी छ कार्य गर्ने आततायी हुन्| (३.४२)
ङ)      आज्ञा उल्लङ्घन, स्त्रीवध, वर्णसंकर, परस्त्रीगमन, चोरी, परपतिबाट गर्भधारण, रूखो बचन, कठोर सजाय र गर्भपतनलाई यस नीतिले दश अपराध मानेको छ | (४.५.८१,८२)
च)      कडा सजायको नियम बनाउन हुदैन| (१.१३९) कडा दण्ड दिनु पनि हुदैन| (३.८५) दण्ड दिदा ठूलालाई ठूलै र सानालाई सानै दण्ड दिनुपर्छ| (४.१.७१)
छ)      दण्ड कसूरको मात्रा र पटक अनुसार दिनुपर्छ| कुनैपनि जीवधारीलाई मार्नु हुन्न भन्ने श्रुतिको मत हुँदा कसैलाई मृत्युदण्ड दिनुहुदैन| कठोर दण्ड दिनेलाई नै दण्डित गर्नुपर्छ|(४.१.७१-९४)
ज)     अपराध बिभिन्न प्रकारका हुन्छन् र बिभिन्न किसिमले गरिन्छन्| अपराध शरीर, वचन, मन र संसर्गबाट गरिने गरी चार प्रकारका हुन्छन्| अपराध जानीजानी वा नजानी गरिने दुईप्रकारका हुन्छन्| अपराध आफैले गर्ने र गर्न सम्मति दिने दुई प्रकारका हुन्छन्| अपराध एकपटक गरिने, बारम्बार गरिने, अभ्यासबाट गरिने र स्वभावबाट गरिने गरी चार प्रकारका हुन्छन्|  दण्डगर्दा अपराधको प्रकृति र किसिमका आधारमा गर्नुपर्छ| (४.१.६८-७०)
झ)     राजाले आफुले मात्रै मुद्दा हेर्न हुदैन| वादी प्रतिवादी दुवै पक्षको कुरा सुन्नुपर्छ| राजा र न्यायाधीशले न्याय सम्पादनको सिलसिलामा कसैले एकान्तमा भनेको कुरा सुन्नु हुदैन| अर्थात् सुनुवाई खुला न्यायासन(इजलास) मा हुनुपर्छ| (४.५.६)
ञ)      राग,लोभ, द्वेष,डर र वादी – प्रतिवादिसंग एकान्तमा कुराकानी गर्नु पक्षपातका कारण हुन् |(४.५.७)
ट)      वादी प्रतिवादी उपस्थित भएपछि पनि कारवाही अघि नबढाउनेलाई सजाय गर्नुपर्छ| (४.५.१५१) अर्थात् मुद्दाको कारवाही र किनारा गर्न ढिला गर्नेलाई पनि सजाय गर्नुपर्छ|
ठ)      मुद्दा हेर्दा जो पहिले आएकोछ त्यसको मुद्दा पहिले हेर्नुपर्छ| साथै मुद्दा छिन्न प्राथमिकता तोक्दा मुद्दाको प्रकृति पनि विचार गर्नुपर्छ| (४.५. १९५) यस्तै ठूलो मर्का परेको र व्यावसायिक काममा आतुरीमा   रहेको व्यक्तिलाई पनि प्राथमिकता दिनुपर्छ|(४.५.१५५,१५६)
ड)       शुक्रनीतिमा प्राङन्याय शव्दको प्रयोग मात्र होइन यसको बारे चर्चा गरिएकोछ|(४.५.१४९,१५०,१५९)
ढ)      एउटा बिषयमा दुइवटा वादी लिनु हुदैन|(४.५.१५८)
ण)     प्रमाणहरु दुवै पक्षको रोहवरमा पेश गर्नुपर्छ र प्रमाण बुझ्ने कारवाही पनि दुवै पक्षको रोहवरमा गर्नुपर्छ| साथै प्रमाणहरु एकअर्को पक्षलाई देखाउनु सुनाउनुपर्छ|(४.५.१६५-१६७)
त)      मुद्दामा साक्षी बस्ने व्यक्तिले बकपत्र गर्न इन्कार गर्छ भने उसलाई दण्ड गर्नुपर्छ|(४.५.१९४)
थ)      झुठो अभियोग लगाउनेलाई सजाय गर्नुपर्छ|(४.५.२८१)

उपभोक्ता हित
क)     तुलो, ढक, टक (मुद्रा), गुद, धातु, घ्यू, मह, दूध, बोसो र पीठो यति बस्तुमा कपट व्यवहार गर्नु हुदैन| (१.२९४,२९५)
ख)     कहिलै कसैलाई शोषण नगर्नु| तौल्ने नाप्ने ढक माना पाथीमा राजाको छाप लाउनु|(१.३०८)
सुसाशन सम्बन्धी  
क)     प्रत्यक्ष घुस खाएर काम बिगार्नेलाई जोगाउन हुदैन| (१.२९६.२९७)
ख)     कसैले पनि अपराधी भेटे त्यसलाई पक्री दण्ड दिने अधिकारीलाई बुझाइदिनु|(१.३०९)
ग)      राज्यले अधिकार दिएर नियुक्त गरेको व्यक्तिले धेरै प्रजालाई दु:ख दिएको रहेछ भने त्यस्तालाई खारेज नै गरोस्| पहिलो पटक अन्याय गर्नेलाई मन्त्री (अमात्य) ले एकान्तमा सम्झावस् | सावित भएकालाई खारेज नै गरोस् सजाय नगरोस्| जानीजानी अन्याय गरिरहने व्यक्तिलाई त त्यसको जो भएको चल अचल जम्मै सम्पति हरण गरोस् |(१.३७५,३७६)

गिरफ्तारी, थुना र उजूरी सम्बन्धी प्रबन्ध
क)     कुनै मानिस विरूद शंका भएमा वा कसैले अपराध गरेको भन्ने कुरा थाहा भएमा त्यस्ता व्यक्तिलाई मात्र पक्डनलाई राजाले आफ्नो छाप भएको कागज वा मानिसद्वारा बोलाउनु पर्छ|(४.५.९८)
ख)     असमर्थ मानिस, बालबालिका, बृद्ध, अप्ठेरोमा परेका, काममा व्यस्त भएका, खुब काम गरिरहेका, व्यसनमा लट्ठ भएका, राज्य(राजा)को काम र चाडपर्वमा मस्त भएका, मत्त, उन्मत्त,प्रमत्त र रोगी यस्ता सेवकलाई र कोही सहायक नभएकी स्त्री, कुलीन स्त्री, सुत्केरी स्त्री  र वर्णमा उत्तम स्त्रीलाई राजाले बोलाउन हुदैन| यस्तै आफ्नो लोग्ने मानिस थाहा नभएकी (कहाँ छ?) स्त्रीलाई पनि राजाले बोलाउन हुदैन|(४.५.१००,१०१)
ग)      विवाहका काममा लागेको,रोगले पिडित भएको, यज्ञ गर्ने इच्छा गरेको, आपत्तिमा परेको, अरुहरुसंग बिरोध परेको, राज्य(राजा)को काममा व्यस्त भएको, गाई चराइरहेको अवस्थामा रहेको,खेति लगाई रहेको खेतीवाल,शिल्पी काममा रहेको, भर्खर लडाई लडेर फर्केको, व्यवहार कत्ति पनि नजानेको, दुत, दान दिन लागेको, व्रत बसेको र अप्ठेरो ठाउमा बसेको व्यक्तिलाई पक्रन र बोलाउन हुदैन|(४.५.१०२-१०४)
घ)      पक्राउ गर्नुपर्ने व्यक्ति नदी तर्दै गरेको अवस्थामा भए, वन जंगलमा रहेको भए , देशमा डरलाग्दो उपद्रव भैरहेको ठाउमा रहेको भए  त्यस्तो व्यक्तिलाई  पक्राउ गर्नुपर्ने कर्तव्य भएको व्यक्तिले निजलाई पक्रेन भने पनि ऊ नपक्रे वापत अपराधी हुदैन| (४.५.१०५)
ङ)      राजाले काल र देश (ठाउँ) लाई विचार गरेर तथा कामको आत्तुरी भए नभएको (बलाबलम्) स्थिति जानेर तथा असमर्थ र सज्जनलाई सवारी पठाएर बिस्तारै बोलाउनुपर्छ|
च)      आफ्नो अपराधको कारण जो जंगलमा जोगी जस्तो बनेर बसेका छन् तिनलाई पनि तिनीहरु न रिसाउने गरी बोलाउनुपर्छ|( ४.५.१०७)
छ)     जसले मुद्दाको बिषय बस्तु जानेको छैन वा अरु कामकाजबाट फुर्सद पाउँ सक्दैन त्यस्तो वादी प्रतिवादीले त्यस बिषयमा सिपालु मानिसलाई प्रतिनिधि राख्न पाउछ|( ४.५.१०८)
ज)     निरर्थक,त्रुटीपूर्ण, साध्य नलाग्ने र अति सामान्य उजूरी स्वीकार गर्नु हुदैन| (४.५.१२९-१३४)
झ)     सफा हात नलिईकन आएको उजूरीकर्ता नीच हो र यसो गर्नु दण्डनीय हुन्छ|(४.५. १३६)
ञ)      आधार र प्रमाणहिन उजुरी लिनु हुदैन |( ४.५.१३७)
सूचना प्रवाह
क)     यो यो काम गर्न नहुने र गरेमा दण्ड हुने भए त्यसबारे सर्वसाधारणलाई जानकारी गराउन बरोबर झ्याली पिटर सम्झाउने बुझाउने गर्नुपर्छ| (१.३१०,३११)
ख)     राजाले सर्वसाधारणले गर्न हुने र गर्न नहुने कार्यका संदेश लेखेर चौबाटोमा राखिदिनु पर्छ| (१.३१२)
कानूनको सामाजिक प्रकृति
क)     देश जाति र कुलमा जुन धर्म (पद्दति, प्रचलन परम्परा,संस्कार, व्यवहार र नियम?) चलेर आएको छ त्यसलाई राजाले कत्ति पनि खलबल नपारी संरक्षण गर्नुपर्छ | यसो भएन भने जनतामा खलबल हुन्छ| (४.५.४६)
ख)     दक्षीण पट्टिको देशमा मामाको छोरी पनि विवाह गर्छन्, मध्यदेशमा ब्राम्हणले कर्मचारी भएर पनि काम गर्छन्| मध्यदेशका सबै मानिसले माछा खान्छन्| उत्तर देश पट्टिका नरनारी रजश्वला नबार्ने हुन्छन् र मदिरा पान गर्ने हुन्छन्| खस देशका मानिसहरुले विधवा भाउजू विवाह गर्छन्| त्यसकारण उनीहरुले त्यसो गरेमा त्यो उनीहरुको चलन हुँदा उनीहरु सो कार्यका लागि दण्डनीय हुदैनन् | (४.५. ४७-४९)
ग)      जसको जुनजुन परम्परा चलि आएकोछ र जसका पूर्वजले जे जसो गरेर आएका छन् तिनका सन्तानले त्यसो गरे भने त्यो तिनीहरुको कुलाचार हुन्छ | कुलाचारको पालना र निरन्तरता दण्डनीय हुदैन| तर अरुले त्यसो गरे भने दुषित हुन्छ|( ४.५.५०)


        कौटिल्यको अर्थशास्त्र
     कौटिल्यको अर्थशास्त्र मूलतः राज्य प्रणाली, सामाजिक सम्बन्ध र व्यवहार, न्याय प्रबन्ध, दण्डनीति, प्रकृति र मानव तथा राज्यको सुरक्षासंग सम्बन्धित छ| यस ग्रन्थमा पनि बिभिन्न स्मृति र नीतिको चर्चा र तुलना गरिएकोछ र भिन्न दृष्टिकोण पनि प्रस्तुत गरिएकोछ|
क)     राज्यको स्पस्ट र परिभाषित दण्डनीति हुनुपर्छ| (१.३.१-६)
ख)     राजा वा राष्ट्रप्रमुखको निश्चित गुण र योग्यता हुनुपर्छ |(३.६.१-६)
ग)      राज्यका बिभिन्न पदाधिकारीहरुको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्नुपर्छ| ( ३.७,४-८,५-९,६-१०,७-११,)
घ)      यस ग्रन्थमा कृषि व्यवस्था (१७.१.६,-८), बजार व्यवस्था (१७.१.९), सिंचाई (१.१७.१०), जेष्ठ नागरिक (१.१७.१२) सहकारी (१.१७.१५), जमिनको उपयोग र वातावरण संरक्षण (१८.२.१-८)सम्बन्धी उल्लेख छ|
ङ)      यसमा लेखा प्रणाली र पारदर्शिता (२३.७.१-१६), कोष र करको सदुपयोग (२४.८.१-१६), उपयुक्त छनौट प्रक्रिया (२५.९.१-१९ ) को मात्र होइन बिभिन्न अधिकारीहरुको काम कर्तव्य बारे ठाउँ ठाउँमा व्यापक उल्लेख छ|
च)      यसमा विवाह (५८.२.१-२९ ,५९.३.१-१८,६०) र अंश (६१.५ १-१७,६२.६,१-१५,६३.७.१-२३) जस्ता विषयमा व्यापकरुपमा चर्चा छ|
छ)     यस शास्त्रमा देवानी बिषय र फौजदारी अपराध सम्बन्धमा बिभिन्न प्रकरण र अध्यायमा प्रशस्त उल्लेख गरिएको छ|
ज)     कौटिल्यको अर्थशास्त्रमा मानव अधिकारसंग सम्बन्धित सिद्धान्त, नियम, व्यवहार, प्रणाली आदि बिषयमा बिस्तृत उल्लेख छ | ती सबै बिषयमा यहाँ उल्लेख गर्न सम्भव छैन| तथापि केही उदाहरण प्रस्तुत गरिन्छ|

दण्ड नीति र दण्डका सिद्दान्त
क)     कठोर दण्ड दिनाले निष्ठुर शासकबाट जनता दिक्क हुन्छन्| कम दण्ड दिनाले राज़ाको अवहेलना गर्न थाल्दछन् | तसर्थ समुचित र सन्तुलित दण्ड व्यवस्था गर्नुपर्छ|(१.३.४)
ख)     जसले जस्तो र जत्रो अपराध गरेको छ उसलाई सोहीअनुसार दण्ड दिनुपर्छ|(२३.७.६)
ग)       सबैतिर पहिलोपटक अपराध गर्दा पहिले तोके जति दण्ड दिइन्छ| दोस्रोपटक त्यसको दोब्बर तेस्रोपटक तीनगुना र चौथोपटक चारगुना वा उपयुक्त सजाय लगाइदिनुपर्छ|(४३.२७.१३)
घ)      अपराधको सूचना नदिने व्यक्तिलाई अपराध अनुसारको दण्ड दिनुपर्छ|(५५.३६.२६)
ङ)      न्यायाधीशले न्यायालयमा कुनै अभियोग लगाउने व्यक्ति वा अभियुक्तलाई डर त्रास देखाए, घच्याटे, बाहिर निकाले वा घुस मागे प्रथम साहस दण्ड लगाउनु पर्छ | गालीगलौज गरेमा अरुलाई हुने सजायको दुगुना सजाय हुन्छ|(८४.९.११)
च)      न्यायाधीशले काम कारवाही गर्दा पक्ष लिए, लापरबाही गरे सजाय गर्नुपर्छ  र घटना दोहोरिए पदच्युत पनि गर्नुपर्छ|(८४.९.७२)
छ)     दण्ड दिदा उसले गरेको अपराध, अपराध गर्नाका कारण, अपराधीको अवस्था, अपराधका कारण वर्तमान र भविष्यमा पर्ने प्रभाव, अपराध भएको ठाउ, समय र परिस्थिति राम्ररी विचार गरी दिनुपर्छ| त्यसपछि मात्र न्याय हुने गरी प्रथम,मध्यम उत्तम साहस वा उपयुक्त दण्ड सुनाउनुपर्छ |(८५.१०.१५)
ज)     दण्ड नदिनु पर्नेलाई दण्डित गरेमा राजालाई जनताले तीस गुना दण्ड दिनुपर्छ|(८८.१३.२६)

उपभोक्ता हित
क)     बेचेको बस्तु दिन नखोजेमा बाह्र पण दण्ड गर्नु पर्छ | तर दोष, उपनिपात र अविषह्या बस्तु दिन नखोजे निर्दोष हुन्छ| बस्तु कमसल हुनु दोष हो| राज्यको हस्तक्षेप वा चोरी वा पानीले सामान बिग्रनु उपपात हो| बस्तु गुणस्तरहीन हुनु र बेहद दुख दिने हुनु अविषह्या हो| (७१.१५.१,२)
ख)     छिट्टै नासिने बस्तुको किनबेच अर्कालाई बेच्न नपाउने शर्तमा गर्नुपर्छ| अन्यथा चौबीस पण वा बेचिएको बस्तु दशांश दण्ड हुन्छ|( ७१.१५.४)
ग)      रोगव्याधिले सताइएको पशु राम्रो स्वास्थ्य भएको भनी ढाँटी बिक्री गरे बाह्र पण दण्ड हुन्छ|( ७१.१५.९ )
घ)      लिने दिने वा किनबेच गर्ने अवस्थामा कसैले कुनै खालको हानि व्यहोर्नु नपर्ने गरी सभासद्ले किनवेच सम्बन्धी नियम र सर्तहरु बनाउनुपर्छ| (७१.१५.११)
ङ)      नापतौलका साधन ढक तराजु र अन्य बस्तुको निरीक्षण गर्नु पर्छ| नापतौलमा सानोतिनो  फरक परेकोमा केही हुदैन| खास मात्रा भन्दा बढी फरक परेकोमा परेको खास पण र सो भन्दा बढीमा कसुरको  अनुसार दण्डको व्यवस्था गर्नुपर्छ| ( ७७.२.२-७ )
च)      नक्कली बस्तुलाई सक्कली भनेर, बिदेशी बस्तुलाई स्वदेशी भनेर,असल मालको खोलमा कमसल माल राखेर बेच्नेलाई कसुरको मात्रा अनुसार दण्ड लगाउनु पर्छ | ( ७७.२.९)
छ)     बेच्नुपर्ने माल रोकेर राख्ने र अनुचित भाउमा बेच्ने वा किन्ने व्यापारीहरुलाई एक हजार पण दण्ड लगाउनुपर्छ| (७७.२.११)
ज)     बिभिन्न बस्तुमा कमसल बस्तु मिसावट गरी बेच्नेलाई बाह्र पण दण्ड लगाउनुपर्छ| (७७.२.१३)
झ)     व्यापारीहरुले प्रत्येक दिन प्राप्त गरेको नाफाको अभिलेख बजार अधिकृतले राख्नुपर्छ| व्यापारीले बजार अधिकृतलाई जानकारी नगराई जम्मा पारेको अनधिकृत बस्तु बजार अधिकृतले नियन्त्रणमा लिन सक्छ| त्यस्तो नियन्त्रणमा लिइएको बस्तु बजार अध्यक्षले सर्वसाधारणले सजिलो पर्नेगरी बेच्ने व्यवस्था गर्नुपर्छ| (७७.२.१४)
ञ)      व्यापारीले बेच्नका लागि तोकिएको स्वदेशी बस्तुबाट पाँच प्रतिशतसम्म र त्यसो विदेशी बस्तुबाट दश प्रतिशतसम्म लाभ वा नाफा लिन पाउँछ| यस भन्दा बढी नाफा लिए दुईसय   पण दण्ड लाग्छ| धेरै नाफा लिए धेरै दण्ड लाग्छ| ( ७७.२.१५)
ट)      बजार प्रमुखले फरक देश, समयमा उत्पादन भएका वस्तुको मूल्य, उत्पादनको समय, ज्याला, ब्याज, भाडा र त्यसमाथि अन्य खर्चहरु पनि हिसाब गरेर मात्रै बिक्ने गरी मूल्य तोक्नुपर्छ| (७७.३.१८)
महिला सम्बन्धी
क)     ऊनी, बोक्रा, कपास, भुवा, सनपाट आदि कात्ने र बाट्ने काममा बिभिन्न महिलाहरुलाई लगाउनुपर्छ|( ३९.२३.२)
ख)     अर्काको आश्रयमा रहेका, पति विदेश गएका,विधवा, अपांग, अविवाहित र आत्मनिर्भर हुन खोज्ने महिलालाई धागो पठाएर सुत्राध्यक्षले राम्रो व्यवहार गर्दै बुन्न लगाउनुपर्छ| (३९.२३.८)
ग)      प्रसूती व्यथा लागेकी महिलालाई पक्राउ गर्न हुदैन|(५५.३६.१३)
घ)      दोषी प्रमाणित भए पछि मात्र दण्ड दिनुपर्छ| गर्भवती स्त्री र महिना दिन भित्रकी सुत्केरीलाई शारीरिक दण्ड दिनु हुदैन| महिलालाई बिभिन्न कसूरमा पुरुषहरुलाई हुने सजायको आधा दण्ड मात्र दिनुपर्छ| अर्थात् स्त्रीलाई खास कसूरमा वाक्दंड (मुखले मात्र) दिनुपर्छ|(८३.८.९)
ङ)      हिर्काएर गर्भपतन गराइदिनेलाई उत्तम साहस,औषधीले गर्भपतन गराउनेलाई मध्यम साहस र कठिन काम गराएर गर्भपतन गराउनेलाई प्रथम साहस दण्ड लाग्छ|(८६.११.३)
च)      बलपूर्वक स्त्रीको हत्या गर्नेलाई, स्त्रीको अपहरण गर्नेलाई, अंगभंग गर्नेलाई,डरत्रास देखाएर हत्या गर्नेलाई कठोरतम दण्ड (सूली) हुन्छ|(८६.११.४)
छ)     कन्यागमन गर्नेलाई कसूर अनुसार दण्ड हुन्छ| (८७.१२.१-२१) 
श्रमिक हक
क)     ज्याला लिएर काम नगर्नु र बिनाकारण काम रोक्नु दण्डनीय हुन्छ|( ७०.१४.१)
ख)     काम गर्न नसक्दा, कठिनाई पर्दा रोग लाग्दा र आपद आई लाग्दा छुट्टी पाइन्छ वा आफ्नो सट्टा अर्कोलाई खटाउन सकिन्छ|(७०.१४.२)
ग)      श्रमिक काममा हाजिर भएपछि कुनै काम गर्न पाएन भने पनि उसले काम गरेको मानिन्छ भनी अरु आचार्य मान्दछन् तर आचार्य कौटिल्यको मत अनुसार काम गरेको ज्याला  दिनु पर्छ त्यसै बसेको होइन| साथै मालिकले अलिकति मात्रै काम गराएर अरु काम गराएन भने पनि सबै काम गरेको मान्नु पर्छ| लाए अह्राए अनुसार ठीक ठाउँ र समयमा काम नगरेमा वा मनलागी काम गरेमा त्यसलाई काम नगरेको नै मान्नु पर्दछ| लाए अह्राए भन्दा बढी काम आफै गरेमा त्यसलाई व्यर्थ श्रम भनिन्छ| (७०.१४.४,५)
घ)      कलकारखाना वा समुह (संघभृता) मा काम गर्नेलाई पनि यहि नियम लागु हुन्छ| उचित किसिमले काम नगरेमा सात दिनसम्मको ज्याला रोक्न सकिन्छ| ज्याला रोकेर उसलाई काम सपार्ने मौका दिनुपर्छ र उसले गर्ने काम सिपालुलाई जिम्मा लगाउन सकिन्छ| पुरानो श्रमिकले काम सिकेपछि सट्टामा काम गरेको सिपालुलाई उचित पारिश्रमिक दिनुपर्छ| कामदारले मालिकलाई नसोधी कुनै बस्तु विगार्न र लईजान हुदैन| (७०.१४.६  )
ङ)      सामुहिक रुपमा मिलेर काम गर्ने कामदारले पहिले नै निश्चित भएको ज्याला समानताका आधारमा बाँडेर लिनुपर्छ |(७०.१४.७)

               वातावरण
क)     बाटोमा फोहर पार्नेलाई एक पणको आठ भाग, बाटोमा अवरोध गर्नेलाई एक पणको चार भाग तथा राजमार्गमा फोहर पार्ने र रोक्नेलाई यसको दुगुना दण्ड लगाउनुपर्छ|(५५.३६.१५)
ख)     पवित्र र तीर्थस्थलमा फोहर गर्नेलाई दुईपण, जलाशयमा फोहर गर्नेलाई तीन पण, देवालयमा फोहर गर्नेलाई चार पण,खजाना भण्डार आदिमा फोहर गर्नेलाई पाँच पण दण्ड लगाउनुपर्छ|( ५५.३६.१६)
ग)      बिरामी र डरका कारण सार्वजनिक ठाउमा मलमुत्र त्यागेको भए दण्ड हुदैन|( ५५.३६.१७)
घ)      साना जनावर मारी बाटोघाटो, नगर वरिपरी फ्यांक्नेलाई तीन पण, ठूला जनावर मारी फ्याँक्नेलाई छ पण र मानिसको लास त्यसरी फ्याँक्नेलाई पचास पण दण्ड लाग्छ| (५५.३६.१८)

                 कैदबाट मुक्त गर्ने
क)     कारागारमा परेका वृद्ध, बालक, बिरामी र अनाठारुलाई बिभिन्न उत्सवमा छोडी दिनुपर्छ| कसैको परिवन्दमा परेर कुनै धार्मिक व्यक्तिलाई कैदमा राखेको भए तिनलाई र भविष्यमा अपराध नगर्ने प्रतिज्ञा गर्ने कैदीलाई पनि अपराधका बदलामा धरौटी लिएर कारामुक्त गर्नुपर्छ| (५५.३६.२८)
ख)     दैनिक वा पाँचौ दिनमा धन लिएर, शारीरिक दण्ड दिएर वा काममा खटाएर कतिपय
कैदीहरुलाई छोडिदिने नियम बनाउने नियम बनाउनुपर्छ| यी तीन दण्ड मध्ये जुन दण्ड कैदीले सजिलै खेप्न सक्छ उसलाई उही दण्ड गर्नुपर्छ| (५५.३६.२९)
ग)      नयाँ देश जित्दा, राज्याभिषेक हुँदा र राजपुत्रको जन्मोत्सव मनाउदा कैदीहरुलाई छोडी दिनुपर्छ|(५५.३६.३०)

                 


                 

       





                                      सन्दर्भ सामाग्री
मूल कृति
अथर्ववेद: अनुवादक तिलकप्रसाद लुइँटेल, विद्दार्थी पुस्तक भण्डार, काठमाण्डौ,२०६३
ऋग्वेद : संपादक डा. प्रसन्न चन्द्र गौतम, कुलचन्द्र गौतम स्मृति संस्था काठमाण्डौ,२०६६  
ऋग्वेद: अनु. तिलकप्रसाद लुइँटेल विद्दार्थी पुस्तक भण्डार,काठमाण्डौ, २०६३
यजुर्वेद: अनु. तिलकप्रसाद लुइँटेल, विद्दार्थी पुस्तक भण्डार,काठमाण्डौ, २०६६
सामवेद: अनु. तिलकप्रसाद लुइँटेल विद्दार्थी पुस्तक भण्डार,काठमाण्डौ, २०६३
मनुस्मृति: टीकाकार पण्डित श्री गणेशदत्त पाठक,ठाकुर प्रसाद एण्ड सन्स, वाराणसी,१९८१
याज्ञवल्क्यस्मृति: रुपान्तरकार डा. रामचन्द्र वर्मा शास्त्री, डायनेमिक पब्लिकेशन्स (इन्डिया)लि.,मेरठ ...
कौटिल्यको अर्थशास्त्र: अनुवादक तिलकप्रसाद लुइँटेल,विद्दार्थी पुस्तक भण्डार,काठमाण्डौ, २०६८ 
शुक्रनीति: अनुवादक डमरुवल्लभ पौड्याल, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, काठमाण्डौ, २०२९   
सम्बद्द अन्य कृति
आर्यदर्शन: डा. गोविन्द शरण उपाध्याय विद्दार्थी पुस्तक भण्डार,काठमाण्डौ, २०६६
पूर्वीय सोच र स्रोत: डिल्लीराज गौतम, काठमाण्डौ स्कूल अफ ल २०६६
मार्क्सवाद और रामराज्य: श्रीस्वामीजी करपात्रीजी महाराज,गीताप्रेस,गोरखपुर,आ.सं.२०७०(बि.सं.) 
वेदमा के छ ?: डा.स्वामी प्रपन्नाचार्य साझा प्रकाशन ,ललितपुर,पाँ.सं.,२०५७
वैदिक धर्मशास्त्र र सम्पतिमा महिलाको अधिकार: आमोदवर्धन कौण्डीन्न्यायन,साझा प्रकाशन,ललितपुर,२०६३   
वैदिक हिन्दु धर्मसंस्कृति: आमोदवर्धन कौण्डीन्न्यायन समेत स्वाद्ध्यायशाला, काठमाण्डौ,२०६५
सत्यार्थ प्रकाश: महर्षि दयानन्द सरस्वती विजयकुमार गोविन्दराम हासानंद दिल्ली, २०१४
संस्कृत-हिन्दी कोश: वामन शिवराम आप्टे मोतिलाल वनारसीदास दिल्ली, २०१२
हिन्दू राज्यशास्त्र:अम्बिका प्रसाद बाजपेयी,हिन्दी साहित्य सम्मेलन, प्रयाग,ते.सं. २००६       






                               
    

No comments:

Post a Comment