नेपालमा जन्म दर्ता र जन्म मितिका
समस्या
- मोहन बन्जाडे
नेपालमा जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने)
ऐन,२०३३ सोही वर्ष कार्तिक ४ गते राजपत्रमा प्रकाशन भएको देखिन्छ| सो ऐनको
उद्देश्य नेपालमा बसोबास गर्ने व्यक्तिहरुको जन्म ,मृत्यु,विवाह, सम्बन्ध विच्छेद
तथा बसाई सराई जस्ता घटना दर्ता गरी प्रमाणपत्र वितरण गर्नु रहेको देखिन्छ| यो ऐन
२०३४ साल बैसाख १ गते १० जिल्लामा
प्रारम्भ हुन शुरु भै २०४७ साल बैसाख १ गतेसम्ममा सबै जिल्लामा लागु भएको
पाइन्छ| सो ऐनमा त्यसअघि बनेको कुनै ऐन
खारेज भएको व्यवस्था नदेखिदा २०३३ साल पूर्व नेपालमा यस प्रकारको ऐन कार्यान्वयनमा
नरहेको अनुमान गर्नुपर्ने हुन्छ| कार्यकारिणीका आदेशबाट वा अन्य उपायबाट त्यस्तो
व्यवस्था कतै रहे भएको कुरा इन्कार गर्न भने सकिदैन|
नेपालमा इजहार मुचुल्का दिनेको उमेर खुलाउनु
भन्ने बारे १९५५ साल बैसाख सुदी ४ रोज १ बाट कानूनी व्यवस्था भयो| (रेवतीरमण खनाल
नेपालको कानूनी इतिहासको रुपरेखा पृष्ठ ४१३)
पाँच भाग मुलुकी ऐनको जागिरदार बहाली
बर्खासीको १० क मा अड्डाखानामा दरिएको कमाण्डरी किताबमा भर्ना हुनेको तीनपुस्ते,
हुलिया उमेर, नाम थर वतन खोल्नु पर्ने कुरा उल्लेख भएको देखिन्छ| तर १८ नं मा जागिरमा भर्ना हुनेले नाउँ,जात र वतन
लेख्दा फरक पारी लेख्न नहुने, गलत भएको समयमा जाहेर गरे सच्याउने कुरा छ तर यस
नम्बरमा उमेर तलमाथि परे पारेको बारे उल्लेख छैन|
नेपालमा
गाउँ पंचायतको ऐन २००६ को दफा ११ (ङ) मा गाउँ पंचायतको काम कर्तव्य र अख्तियार
अन्तर्गत जनसख्याको लगत खडा गरी राख्ने भन्ने व्यवस्था छ| यस्तै सोही दफाको खण्ड (ध)
“गाउँ सभा खडा भए पछि आफ्नू इलाका भित्रका सदस्यहरुको नाम नामेसीको फेहरिस्त खडा
गरी साल बसाली थपघट भएको समेत जनाई राख्ने” भन्ने व्यवस्था रहेकोछ| यस्तै नगर
पंचायत ऐन २००७ को दफा ३४ मा नगर पंचायतले गर्नु पर्ने काम अन्तर्गत खण्ड (६) मा
जन्म मरण सम्बन्धी लगत राख्ने भन्ने व्यवस्था छ| यस्तै नगरपालिका ऐन, २००९ को दफा
५२(७) मा जनसंख्या र जन्म मरण सम्बन्धी लगत राख्ने काम नगरपालिकामा रहेको देखिन्छ|
नेपालमा २०१७ सालमा
“उमेर नाम र जात सच्याउने नियमहरु २०१७” बनी २०१९ सालमा नेपाल राजपत्रमा प्रकाशित
भएको देखिन्छ| सो नियममा सरकारी कर्मचारीहरुले पनि आफ्नो प्रमाण पत्रमा उमेर, नाम
र जात सच्याउन पाउने तर मूल नियम लागु भएको मिति भन्दा अघि खडा भएको सिटरोलमा यो
नियम बमोजिम सच्चिएको उमेर सच्याउन नपाउने समेत व्यवस्था गरेको पाइन्छ|
नेपालमा नागरिकता बाँड्न टोलीहरु ठाउँ ठाउँमा
खटाइएको अनुभव छ| तर जन्म दर्ता गरी त्यसको आधारमा नागरिकता वितरण गर्ने कुरामा
खासै चासो देखाएको पाइदैन| विद्द्यालयमा भर्ना गर्दा भए पनि जन्म दर्तालाई
अनिवार्य गर्न सकेको भए विदेशीलाई नागरिकता बाँडेको भन्ने कुरा सुनिरहनु पर्ने
थिएन| जन्म दर्तालाई राष्ट्रिय अभियानको रुपमा संचालन गर्न ढिला भै सकेको छ|
अब नयाँ संविधान पछि निर्वाचन सम्पन्न भै
तीनै तहमा सरकार गठन भई सकेका छन्| संविधानको अनुसूची ९ मा “व्यक्तिगत घटना, जन्म,
मृत्यु र विबाह र तथ्यांक” संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूची भित्र परेको
छ| यो अधिकार तीनै तहलाई दिइएकोले यसबारे कुन तहले के के काम गर्ने भन्ने यकिन हुन
जरुरी छ| यसको समाधानका लागि धारा २३५ मा तीनै तहमा समन्वय गर्न संघीय संसदले कानून
बनाउन सक्ने व्यवस्था छ| यस्तै धारा २३२ (२) र (८) मा संघले संघीय कानूनबमोजिम प्रदेश र स्थानीय तहलाई निर्देशन
समेत दिन सक्ने व्यवस्था छ| यिनै प्रबन्ध अन्तर्गत संघीय सरकारले व्यक्तिगत घटना
दर्ता सम्बन्धी कानून परिमार्जन गरी संघ, प्रदेश र स्थानीय तहको काम, कर्तव्य र
अख्तियारी तोक्न आवश्यक छ| साथै जन्म लगायतका घटना दर्ता गराउने कार्यलाई पूर्ववत नि:शुल्क
र फराकिलो पार्न पनि जरुरी छ| यस काममा अस्पताल र स्वास्थ्य चौकी, विद्धयालय,
सुडेनी र महिला समूह जस्ता संस्था र समूहको सहयोग लिने कानूनी वातावरण बनाउन समेत
मनासिव हुन सक्छ|
संविधानको अनुसूची ८
मा स्थानीय तथ्यांक र अभिलेखन (क्रमसंख्या ६ ) र स्थानीय अभिलेख व्यवस्थापन
(क्र.सं. १३) स्थानीय तहको एकल अधिकारको सूचीमा परेको छ| तसर्थ स्थानीय तहले
आआफ्नो भौगोलिक क्षेत्र भित्रका नागरिक र त्यहाँ अस्थायी रुपमा बसी आएका बिदेशी
नागरिकको विवरण संकलन गरी तथ्यांक संकलन गर्न, अभिलेख राख्न र त्यसको व्यवस्थापन गर्न सक्दछन्|
अब स्थानीय
सरकारले आफ्नो क्षेत्र भित्र नेपाली
नागरिकबाट जन्मेका र बिदेशी नागरिकबाट जन्मेका बालबालिकाहरुको तथ्यांक संकलन गर्न
जरुरी छ| साथै गैरआवासीय नेपालीलाई राजनीतिक बाहेकका सामाजिक, आर्थिक र सांस्कृतिक
अधिकार प्राप्त हुने भएकाले तिनीहरुको तथ्यांक पनि नेपाल सरकारलाई आवश्यक पर्ने छ|
नेपाल
तीन तर्फबाट खुला सिमाना भएको देश भएको हो| कतिपय बिदेशीहरु भिसाको म्याद सकिएर
पनि नेपालमा रहे बसेको भन्ने सुनिन्छ| अझ उनीहरु नेपाली माटो वा छरछिमेकमा बिकसित
विश्वास प्रणाली र सभ्यता समाप्त पार्न तथा सामाजिक विघटन र शत्रुता बढाउन मर्सी
माफियाका एजेन्टका रुपमा काम गरिरहेको भन्ने कुरा सार्वजनिक हुँदै आएका पनि छन्| तसर्थ
नेपालमा रहे बसेका बिदेशीहरुको तथ्यांक संकलन गर्न र अभिलेख राख्न झन् जरुरी छ| यी तथ्यांक
नेपाल सरकार र स्थानीय सरकार मिली संकलन गर्ने र यसको केन्द्रिकृत अभिलेख राखी
स्थानीय तहलाई पहुँच दिन आवश्यक छ|
नेपालको संविधान बमोजिमका अधिकारको प्रयोग
गर्न चाहने गैरआवासीय नेपालीले आफ्नो र आफ्नो परिवारका सदस्यको विवरण सम्बन्धित
देशमा रहेको नेपाली नियोग मार्फत नेपाल सरकारलाई उपलब्ध गराउने व्यवस्था गर्न
सकिन्छ| साथै अनलाइन मार्फत यस्तो सूचना दिने पद्दति बिकास गर्नु अझ प्रभावकारी हुनसक्छ|
कतिपय नेपाली नागरिक बिदेशमा रहे बसेका
अवस्थामा तिनबाट जन्मेका सन्तानको तथ्यांक संकलन विदेश स्थित नेपाली नियोगले गर्ने
र निश्चित अन्तरालमा नेपालको सम्बन्धित निकायलाई सूचित गर्ने व्यवस्था मिलाउन
सकिन्छ| साथै ती नियोग मार्फत जन्म दर्ता प्रमाणपत्र जारी गर्ने अख्तियार नियोग वा
त्यहाँको अधिकारीलाई सुम्पन सकिन्छ| यसलाई जन्मसम्म सीमित नगरी अन्य व्यक्तिगत
घटना दर्ता र थप कामको लागि बिस्तार गरी बिदेशमा रहेका नेपालीलाई कतिपय सेवा लिन
नेपाल आउन नपर्ने गरी सुबिधा दिन सकिन्छ| यसले उनीहरुको आवतजावत समेतको अनावश्यक
खर्च जोगाउन र ती सेवा बापत सुहाउदो
दस्तूर लिई आय बढाउन सकिने हुन्छ| यस कार्यलाई अनलाइन गर्दा अझ सरल र नियोगसम्म
आउन नपर्ने हुन सक्छ|
नेपालमा
बालबालिका विद्द्यालयमा भर्ना गर्दा वच्चाको जन्ममिति प्राय विद्द्यालयका तर्फबाट
लेखि दिने चलन पनि थियो| यस्तै विद्धयालयमा सर्वप्रथम हुनेलाई दुई तह माथि कक्षा चढाउने चलन पनि थियो| साथै
सोह्र वर्ष नपुगी यस यल सी दिन नपाउने भनी सो परीक्षाको फर्म भर्दा विद्द्यालयका
तर्फबाट सो परीक्षा दिन मिल्ने गरी भरिदिने चलन पनि थियो| यस्तै मतदाता नामावलीमा
नाम लेखाउदा छिटो मतदान गर्न पाउने गरी उमेर बढाएर नाम लेखाउने पनि गरियो| यस्तै
सरकारी सेवा सम्बद्ध कितावखानामा अभिलेख राख्ने चलन पनि पुरानो नै हो| निजामती
सेवामा सिटरोल फारम कर्मचारी स्वयंले भर्ने चलन अझै कायम छ|
नेपालमा बिक्रम सम्बतबाट सोही वर्षको पात्रो
अनुसार इश्वि सम्बतमा रुपान्तरण गरेको जन्म मिति र अचेल प्रचलनमा रहेका मिति
रुपान्तरण तरीका (डेट कन्भर्टर )बाट रुपान्तरण गरिएको जन्म मितिमा पनि एक दुई
दिनको फरक फेला पर्ने गरेको छ|
नेपालमा पहिले नागरिकता वितरण गर्दा वर्ष
यतिको भनी उमेरसम्म खुलाउने गरिन्थ्यो| जन्म मिति (साल, महिना, गते, बार) भने
खुलाइन्नथ्यो| जबकि सार्वजनिक पदमा रहने व्यक्तिको अवकाशको मिति निश्चित गर्न पूरा
जन्म मिति आवश्यक पर्दछ| त्यसैले सार्वजनिक पद वा सरकारी समेतका सेवामा उमेर मात्र
नभई पूरा जन्म मिति पनि आवश्यक हुन्थ्यो र हुन्छ| त्यसैले कर्मचारीले जन्म कुण्डली
वा विद्द्यालय वा महाविद्यालयबाट लिएका प्रमाणपत्रका आधारमा जन्ममिति खुलाउने चलन
थियो| त्यसैले आफू जन्मेको सालको कुनै पनि मिति लेखाउन गाह्रो थिएन|
हामी
कहाँ कसै कसैले त सिटरोल फारम अनुचित प्रभाव पारी सच्याउने गरेका कुरा पनि सुनिने
गरेको हो| कसै कसैले त इस्वी सम्बत राखी विभिन्न प्रमाणपत्र लिएको पनि भेटिन्थ्यो|
त्यसलाई विक्रम सम्बतमा रुपान्तर गर्दा केही दिन फरक पर्ने गरेको पनि पाइन्छ|
प्रमाणपत्रमा फरक फरक मिति हुनमा जन्म दर्ता
गरी प्रमाणपत्र लिइदिने चलन नहुनु र नागरिकतामा पूरा जन्ममिति लेख्ने व्यवस्था
नहुनु जस्ता कानूनी कमजोरी पनि छन्| कैयौंको प्रमाणपत्रमा रहेको मिति खराब नियत
नराखेर पनि फरक परेको हुन सक्ने देखिन्छ| हाम्रो जन्म सम्बन्धी अभिलेख प्रणाली या त धेरै
पछि शुरु भयो या त व्यवहारमा अनिवार्य थिएन| त्यसको फाइदा उठाएर कैयौले सरकारी वा
अन्य सार्वजनिक सेवाको पदमा लामो समय रहन प्रमाणपत्र पुन: लिएको वा सच्याएको वा सिटरोल जस्ता फारम सच्याएको हुन
सक्छ| यो खराब नियतको उपज हो| अब नागरिकतामा पूरा जन्ममिति खोल्ने गरेकाले जन्म
मितिको समस्या मुलत: समाधान हुने देखिन्छ|
नेपालमा न्यायाधीश र खास गरी प्रधान
न्यायाधीश नियुक्ति हुने बेलामा उमेर विवाद उठाउने चलन जस्तै बसेको छ| यसलाई
कतिपयले अरुको कान्ति क्षय गर्ने कुण्ठाका कारण, कतिले विगतको रोष र रिस
फेर्न र कतिले निशुल्क मनोरन्जनका लागि
उछाल्ने पनि गरेका छन्| खासगरी यो विवाद न्याय क्षेत्रमा उठ्नु उठाउनुले यो न्याय
क्षेत्र भित्रका व्यक्तिहरुको आपसी सम्बन्धको महानता वा क्षुद्रताको परिणाम होला| अझ
अवकाश प्राप्त प्रधान न्यायाधीश वा न्यायाधीशले आफ्नो हित्त चित्त मिलेका र
गफमेलका बहालवाला न्यायाधीशको कुण्ठा पूर्तिका लागि उक्साउने गरेमा यसले अझै निरन्तरता
पाउने खतरा देखिन्छ| अर्थात् न्यायपालिका भित्रको गुटवन्दी र अवकाश प्राप्त
मध्येका गुटवन्दीका व्युहरचनाकार पनि यसका लागि जिम्मेवार छन्|
अब जन्म, मृत्यु र अन्य व्यक्तिगत घटना दर्ता
सम्बन्धी ऐनलाई वर्तमान संविधान र व्यवहारिक समस्याको सम्वोधन हुने गरी शंसोधन
गर्न जरुरी छ| खुला सीमाका कारण नेपालमा
रहे बसेका विदेशीहरुको लगत राख्ने व्यवस्था गर्न अनिवार्य छ| भिसा अवधि समाप्त भएर
बसेका तेस्रो मुलुकका नागरिक लुकिछिपी बसी रहन रोक्न उनीहरुको केन्द्रीय अभिलेख
प्रणाली विकसित गर्न जरुरी छ| विद्द्यालयमा भर्ना गर्दा जन्म दर्ता प्रमाणपत्र
अनिवार्य गर्ने तर्फ ध्यान पुर्याउन आवश्यक छ| गैरआवासीय नेपाली नागरिकको दर्ता प्रणाली
बिकसित गर्नपर्ने अवस्था छ| विदेशस्थित नेपाली नियोगलाई जन्म आदि घटना दर्ता
गर्नेसमेत जिम्मेवारी सुम्पी विदेशमा
बस्ने नेपालीलाई सुविधा पुर्याउनु उपयुक्त नै हुनेछ|
No comments:
Post a Comment