पराई आँखामा हामी नेपालीहरु
-मोहन बन्जाडे
पृष्ठभूमि
मानिस
सामान्यत: आफू र आफ्ना पूर्वजको अपमान सुन्न चाहदैन| केही बर्ष यता नेपालमा आफूलाई
जन्मजात पापी र पूर्वजलाई असभ्य वा सैतान भनेर वा भनाएर लाभ लिने चलन बढे बढाएको
चर्चा सुनिन्छ| त्यसको निम्ति राष्ट्रिय, समाजिक र पारिवारिक सदभावका तन्तु चुडाउन
पराइहरू मुकाम कायम गरेर बसेको पनि भनिन्छ| व्यक्तिमा कुण्ठा वा अरु प्रति
घृणाभावको तालीम दिएर र व्यक्तिलाई पारिवारिक एवम् सामाजिक रुपमा एक्लाएर दया
देखाउन मर्सी माफियाले भरमग्दुर प्रयास गरेका उदाहरण समेत छन् भनिन्छ| अरु सभ्यता,
संस्कृति, सम्पदा, संस्कार र समन्वयका तन्तु मात्र होइन राष्ट्रियता, राष्ट्रिय
एकता र अखण्डता समाप्त गर्न संगठित प्रयास
भै रहेका कुरा प्रकाशमा आएका छन्| यी क्रियाकलाप नेपाल मात्र होइन भारत, चीन,
म्यान्मार, श्रीलंका, क्याम्बोडिया, भियतनाम जस्ता भिन्न सभ्यता भएका मुलुकमा
संचालित भएको मानिन्छ| “अन्ताराष्ट्रिय’को आवरणमा मन्द विषसहित आउने अधिकाधिक बिदेशी
गैरसरकारी संस्था शान्ति, पहिचान, अल्पसंख्यक, अधिकार, रुपान्तरण आदिको नाममा मात्र
होइन भाषा सिक्ने सिकाउने, लगानी गर्ने र स्वयंसेवकको रुपमा समेत खटिएका उदाहरण
सार्वजनिक हुन थालेका छन्| राजिव मल्होत्राले आफ्ना “ब्रेकिन्ग इण्डिया”, “बिईंग
डिफरेन्ट” “व्याटल फर संस्कृत” लगायतका किताबमा यसको प्रकृति, प्रवृत्ति र खतरा
बारे सप्रमाण उल्लेख गरेका छन्|
नेपालमा एक बर्ष जति अगाडी सौरभ र सुजित मैनालीको
“ब्रेकिंग नेपाल” नामको किताब बजारमा आएको छ| त्यो किताबमा कतिपय बिदेशीहले नेपाल
र नेपाली बारे दिएका प्रतिक्रियाका सारांश उधृत गरिएको छ| युद्धको अग्रपंक्तिमा
होम्न बहादुर भन्ने वा प्रलोभनमा पारी सभ्यता नष्ट गर्न इमान्दार भन्ने, नेपालको
अखण्डता समाप्त गर्न क्षेत्रीयतामा लगानी गर्ने, सामाजिक सद्भाव समाप्त पार्न
घृणाको स्कुलिङ चलाउने र व्यक्तिलाई एक्लो पार्न कुण्ठाका सुत्र बाँड्ने काम अहिले
मात्र प्रायोजित र संगठित भएको होइन विगतबाट नै त्यसमा लगानी थियो भन्ने कुरा यो
पुस्तकबाट पुष्टि हुन्छ|
यो आलेखमा ब्रेकिङ नेपाल नामक किताबबाट केही
प्रसंग अनुवाद गरी उधृत गर्ने प्रयास गरिएको छ| यस आलेखको आसय सबै विदेशीले
त्यस्तै धारणा राख्छन् भन्ने होइन| तर सो किताबमा उल्लिखित बिदेशी लेखकले लेखेका
धारणा पढेर प्रभावित हुने विदेशीले नेपाल र नेपाली प्रति सकारात्मक धारणा बनाउन
पक्कै हम्मेहम्मे हुन्छ| तिनका ती धारणा पढेर पनि यहाँ आपसमा विभाजन, घृणा र
कुण्ठा खेती गर्न एक अर्का विरुद्ध खनिनु कति जायज होला त?
यस आलेखमा कोष्ठमा रहेको अंक ब्रेकिंग नेपालको
पृष्ठ हो| ती बिदेशी व्यक्तिको नाम यस आलेखमा उधृत गरिएको छैन| ति व्यक्ति मूलतः
डेनियल राइट,लरेन्स ओलिफेंट, ब्रायन हड्सन, जोन नास, थोमस बेल, लिओनेल काप्लान,
फ्रान्सिस हेमिल्टन, थोमस स्मिथ, हेनरी ओल्डफिल्ड, जोन हेल्प्टन, निगेल वुडयाट,
जि.यच. डी. गिम्लेट, जेम्स इंग्लिस, पार्सिभल लण्डन, लुडविग स्टिलर, जे टि
व्हिलर्स आदि हुन्| यो आलेखमा यी विदेशीले नेपाली र नेपालका बिभिन्न जातजाती, भाषा
व्यक्तित्व आदि प्रति उनीहरुले व्यक्त गरेको द्वेष, घृणा र अन्य मन्तव्यसम्म उधृत
गरिएको छ| यसबारे जानकारी लिन रुचि भएमा “ब्रेकिंग नेपाल”बाट स्रोत खोजी कसले के
भने भन्ने बारे प्राथमिक जानकारी लिन सकिन्छ|
उद्धरण
नेपालीहरु उनीहरुका बारेमा सोधी खोजी गर्दा
इर्ष्या राख्छन् र अपरिचित प्रति शंकालु हुन्छन्| नेपालीहरुसंग न कला छ न साहित्य
छ नत व्यापार नै छ| नेपाल जस्तो भ्रष्ट देश बिरलै देखिन्छ|(४३)
ब्राह्मण र बुद्धमार्गीमा अन्धविश्वास व्याप्त छ
अरु जंगली जातिहरुमा त त्यो भन्दा पनि बढी छ| नेपालमा कुनै युरोपियन कतै घुम्न
निस्क्यो भने एउटा सिपाही पछाडि लगाई छाड्छन्| नेपालीहरु कंगाल र लालची हुन्|(४४) नेपालका
महिलाहरु यति कुरूप (अग्ली) छन् कि तिनीहरुको अनुहार मानिससंग कम र राक्षससंग बढी
मिल्छ|(४६) पहाडियाहरु कसैलाई एक कप चिया खानुस् सम्म भन्दैनन्|(११४)
गोबधको बिषयमा नेपालले आफूलाई पोप भन्दा
क्याथोलिक र भारत भन्दा हिन्दू देखाउदै छ|(११४) क्रिस्चियानिटीको प्रभाव लामा
कल्टमा बिकसित हुँदैछ| किनकि लामा कल्ट क्याथोलिक कल्टको प्रतिरुप (क्यारिकेचर)
जस्तो छ| (११६) भुगर्वविद्को रुपमा आएका मिचेल पिसेल र टोनी हेगन, भाषाबिद्का
रुपमा आएका सुबाशी तोबा र अरु, आइकोनोग्राफरको रुपमा आएकी मेरी सेफार्ड सलाउसर र
वनस्पतिविद्का रुपमा आएका जोन हुकर मिसनरीका लागि काम गर्थे|(१२४, यो कथन सम्पादकहरुको
हो)
नेपालीहरुले कम्मरमा बाँध्ने सेतो पटुका कल्पना
बाहिरको भद्दा लुगा हो| (४७)भीमसेन थापा आफ्ना असभ्य मालिक जस्तै पाखुरे जीउडालको,
महत्वाकांक्षी र सिद्धान्तहीन हुन्| (४७)काठमान्डौमा भएका हिन्दू मन्दिर अरु
मन्दिर जस्तै रुचि पैदा नहुने र सुन्दरताविहिन छन्|(१०६) स्थानीय स्तरका नर्तक
नर्तकीहरू न कलामा पोख्त छन् न त रुपवान छन्|(१०६) सन् १८४० मा बेलायत बिरोधी
नेपाली प्रधानमन्त्री रणजंग पाण्डेलाई हटाई फत्तेजंग शाहलाई प्रधान मन्त्री बनाउने
काम बेलायती दबाबमा गरिएको थियो|(१०८)
पृथ्वीनारायण नारायण शाह मित्रद्रोही, गुप्त
योजना बनाउने, डरपोक, धूर्त, अमानवीय र निरङ्कुश हुन्| (४९) जेम्स लोगनले नेपाललाई
बेलायतको प्रभावमा ल्याउन चाहन्थे| यसको लागि पृथ्वीनारायण शाहका बिरोधी
समुहहरुलाई विद्रोही (रिबेलियन) बनाउने वा गोर्खाका राजालाई नै राजी गराउने उपाय
अबलम्बन गर्ने प्रयास गरिएको थियो| तर पनि लोगान मिसन असफल नै रह्यो|(६३)
पृथ्वीनारायण शाह भारतीय सामान नेपाल भित्रिन दिन अन्ततः मन्जूर भए पनि उनी बेलायती
सामान निषेध गर्न भने अटल थिए| पृथ्वीनारायण नारायण शाहले तिब्बतलाई अंग्रेजसंग
सम्बन्ध नराख्न आग्रह गरेका मात्र होइन अंग्रेजलाई आफ्नो देशमा प्रवेश दिन इन्कार
गरेका थिए| नेवार राजा गोर्खाका राजाबाट
अपदस्त भए पछि व्यापारको च्यानलमा अवरोध आएको छ र नाफा घटेको छ|(६४) पृथ्वीनारायण
शाह आफै अन्धभक्त हिन्दू हुन्| राष्ट्रपिता (फादर अफ नेसन) पृथ्वीनारायण शाह
सांस्कृतिक विविधता नचाहने व्यक्ति मात्र थिएनन् उनी आधुनिक अर्थमा राष्ट्रभक्त
पनि थिएनन्|(६५) पादरी जिसेप्पीद्वारा (जसलाई जासुसीको आरोपमा वेतिया धपाइएको
थियो) पृथ्वीनारायण शाहलाई मानवताको राक्षस, धूर्त, मित्रद्रोही र रक्तपिपाशु भनिएको
छ| (६६) पृथ्वीनारायण शाहले जर्मन र इटालियनले ती देश एकीकरण गरे झैँ नेपाल एकीकरण
गरेका थिए|(९३) पृथ्वीनारायण शाहले
व्यापारी, रोमन क्याथोलिक मिसनरी र उत्तर भारतीय संगीत र कला सम्बद्ध विदेशीलाई
स्थायी रुपमा देश निकाला गरेका थिए|(११०)
भोटे समुहका फिरन्ते मंगोलहरु उत्तर तर्फबाट र
इन्डोआर्यनहरु दक्षीण तर्फबाट बसाइ सरी
आएका हुन्| (११०)
सन् १८०१ मा क्याप्टेन नक्सले दामोदर पाण्डे र
उनका साथीलाई प्रलोभनमा पार्न प्रस्ताब दिएका थिए तर उनीहरु लालचमा फसेनन्| १८१६
मा पनि केही नेपाली सरदारलाई पेन्शन दिने प्रस्ताब गर्दा इन्कार भएको थियो|(७०) हाल
आएर भने सरकारका धेरै कर्मचारी गैरसरकारी संस्था संग पार्टाइम रुपमा काम गर्छन् वा
व्यक्तिगत रुपमा घनिष्ट सम्बन्ध राख्न आउछन्|(७०)
त्यसबेला नेपाल स्थित बेलायती रेजिड़ेन्टले
कुटनीतिज्ञ भन्दा सूचनादाता वा राजनीतिक जासुसको रुपमा काम गर्थे| क्याप्टेन
नक्सले दामोदर पांडे, चौतारिया भीम शाह, गजराज मिश्रलाई बेलायती आर्थिक निगाहमा
राख्ने प्रयत्न गरेका थिए| तर उनीहरुले भने आफ्नो देशको स्वतन्त्रतालाई प्राथमिकता
दिंदै आफ्नो उच्च निजी मर्यादा कायम राखे |(७१)
बेलायत सरकारले राजा रण बहादुर शाहको कमजोरीको
फाइदा उठाउदै राजनीतिक छुट लिने कोशिश गर्यो| धूर्त राजाले बेलायती खेल बुझी हाले
र बनारसबाट निस्किने प्रयास गर्न थाले| उनको नेपाल जाने प्रयासलाई रोक्न उनलाई
बेलायती सेनाको कठोर पहरेदारीमा राखियो| उनले त्यसको बिरोध पनि गरे तर सफल भएनन्|
यही मौकामा सन् १८०२मा बेलायतले नेपालसंग सन्धि गर्यो| (७३)
नेपालमा चीनले कुनै प्रभाव पार्ने प्रयास गर्यो
भने हामीले (बेलायत) त्यसको विरोध गर्नुपर्छ|(७४)
ब्राम्हणहरु मुस्लिम आक्रमणका कारण नेपाल पसेका
हिन्दू हुन्| ठाकुर (ठकुरी ?) र क्षेत्री मुख्यतः मंगोलाइड हुन्| (७९) ठाकुरहरु उत्तर
पश्चिम भारतका राजपुतका वंशज हुन्| यिनीहरुले गुरुङ र मगरसंग अंतरविवाह (इन्टर
म्यारेज)गरे| नेपालका राजा र राणा यसै समूहका हुन्|(८०)तेर्हौ शताब्दीमा भारतीय
मूलको मल्ल वंश नेपालमा स्थापित भयो| (८७) नेपालमा कुनै हिन्दूले जात गुमाए
मुसलवान बन्छ|(९१)
पहाडी हिन्दूहरु कपटी (डिसिटफुल), झुटा, विश्वास
गर्न नसकिने, निर्दयी र दम्भी हुन्| (१८०)
नेपालका बुद्धिस्टहरुमा अपरिचित मानिस प्रति मूर्खतायुक्त
दुर्भावना हुन्छ| लेभिका अनुसार उनीहरु उत्तर भारतबाट आएका हुन्| नेपाली
बुद्धिस्टहरु आफ्ना साना समूहको रुढ (डग्मा) र प्रतीकको गोप्यता प्रति अरुले रुचि राख्दा
दुर्भावना राख्दछन्| बुद्धिज्म सुधारका लागि आएको वा सुनी सुनाई कुरा मात्र थियो||
यो कुनै मौलिक पद्धति भने थिएन|(२६)
चेपांग र कुसुण्डाहरु जंगली जाति हुन् |(२७)
गुरुङ जातिमा हतियारको नशा छ|(३४) जुम्लीहरु कपालसम्म नकोरेका जंगली थिए|(३५) पहाडी
जातिका किरातीहरु तल्लो जातका हिन्दू हुन्| किराँतको उल्लेख वेदमा पनि छ र उनीहरु
पश्चिमी हिमालयका बासिन्दा हुन् जहाँ उनीहरुको वैदिक आर्यनसंग सम्पर्क भयो|(३७)
किराँतहरु बोलीबचनमा कुनै भद्रता देखाउदैनन् (रुड) (३८)| नेपाल, सिक्किम र भुटानमा
पाइने लेप्चा जंगली मानिस (जंगल फोक) हुन् जो आफूलाई रोङ्ग भन्दछन्| यिनीहरुले बिफ,
पोर्क र अभक्ष भनिने सबथोक खान्छन् र लाज नमानी कडा रक्सी पिउछन्|(३९)
राई र लिम्बुहरु उत्तेजनामा आउने (ब्याड टेम्पर्ड)
र हेलमेल गर्न (म्यानेज) कठिन हुन्| उनीहरु तल्लो जातका हिन्दू हुन्| लिम्बुका
प्रिय देवता भीमसेन हुन्| यी अभद्र (रुड) मानिसले केही खास अनाज उब्जाए पनि माछा र
जंगली फल खाएर गुजारा गर्छन्| खासगरी लिम्बुहरु घटिया सिपाही मानिन्छन् किनकि
उनीहरु आफ्नो अनुशासनहीनताको लागि ख्यातिप्राप्त छन्| उनीहरु छोटा कदका सक्रिय बहादुर
हुन् तर अनुशासन प्रति अनिच्छुक हुन्छन्|(४०) लिम्बुका छोरीहरुको उमेर पुगेपछि
बिहे हुन्छ| उनीहरुको नैतिकता सम्बन्धी धारणा कमजोर (ल्याक्स) हुन्छ| उत्सव
(बैबाहिक?) बिना नै उनीहरुको मिलन हुन्छ| बिवाहपूर्व महिलाहरुबाट सतित्व(चेस्टीटी)
प्रति कमै ध्यान दिइन्छ| यिनीहरु पियक्कड हुन्छन् र सिङ्गो जाति व्यक्तिगत बानी
व्यहोरामा निकै फोहोरी हुन्छन्| उनीहरु आफ्नो गुजाराको लागि आफ्ना छोरी बेच्ने
कुरा बताउछन्| लिम्बुहरु कठोर र झगडालु प्रकृतिका हुन्छन्, मगर र गुरुङ जस्ता असल
सैनिक मानिदैनन्| नेपाली सेनाको भैरबनाथ रेजिमेन्टमा लिम्बु मात्र छन् उनीहरुको
झगडालु स्वभावका कारण सदैव रेजिमेन्टभन्दा केही दुरीमा बसाइन्छन्| (४१)
भोटियाहरु काठमान्डू उपत्यका वरिपरि र नेपाल तथा
तिब्बतको बीचमा छन्| उनीहरु अभद्र बोली बोल्छन र अज्ञात देवता मान्दछन्| उनीहरु
बलिया, कुरूप (अग्ली) र असभ्य हुन्छन्| (२५) ह्यामिल्टनका अनुसार तामांगहरुको
मुख्य पेशा खेतीपाती हो र उनीहरु नेवारहरुको भारी बोक्छन्|(९८)
थारुहरु राम्रोसंग बिकसित नभएको र टिठलाग्दो जाति
हो| उनीहरु कालो अनुहार( डार्क फेस) भएका असभ्य भाषा बोल्ने अज्ञानी र धूर्त
हुन्|(५६)
सम्बन्ध बिच्छेद गर्न पाउने स्वतन्त्रता भएकाले
नेवार महिलाहरुसंग, नायर जस्तै, आफुले इच्छा गरे जति पति छन्| नेवारमा अरु असभ्य
जातिमा हुने सबै प्रकारका खराबी छन्| लेभीले त शहरको सम्पूर्ण जनसंख्या सम्पूर्ण
रुपमा अज्ञानी (इग्नोरेंट) पाएका थिए| केही नेवारहरु त जिन्दगीमा सायदै एकदिन
नुहाइधुवाइ गर्छन् होला! (५०) नेवारहरु प्रिमिटिभ सेक्टका बुद्धिस्ट हुन्| नेवार
अति फोहर लुगा लगाउने र सास गनाउनेहरु हुन्| नेवारहरु शान्तिप्रिय हुन्, उनीहरु
पर्वतीयाको हत्यामा आदती छैनन् तर पनि उनीहरुमा असभ्य जातिमा हुने अरु सबै खराबी छन्|(५१)
संस्कृतबाट नलिई नेवारीबाट लिएकाले नेवारहरुका नाम पनि झन्डै झन्डै असभ्य छन्|
नेवार महिला आफूले चाहेका बेला आफ्नो लोग्ने छोड्न सक्छन्, आफ्नो वा आफू भन्दा
माथिल्लो जातका मानिससँग सहबास गर्न सक्छन् र फेरि इच्छा लागेका बेला पतिको घरमा
फर्केर परिवार चलाउन सक्छन्| कर्कप्यात्रिकले बताए अनुसार त नेवार महिला आफूले
चाहेजति पति राख्न सक्छनन्| (५२)
खस भनेका मूलरुपमा विश्वास गर्न नसकिने असभ्य
(क्रिडलेस बारबरियान) हुन्| अचेल क्षत्रीय र सैनिक हुन लायक भनी घमण्ड गर्छन्|
(३५) खस भाषा हिन्दूहरुको भ्रष्ट बोली हो र यसमा शुरुवाती (प्रिमिटिभ) क्रुरताको
निरन्तरता छ|(३५) खसले हिन्दुस्तानको उपनिवेशबाट आएर काली नदीपूर्व अधिकार जमाएका
हुन्|(३६) ब्राह्मण र सुद्र्का बच्चालाई खसिया नाम दिइयो|(३७)
बिगत ५० बर्ष (सन् १९७०को किताब) देखि लिम्बुहरु
गोर्खा रेजिमेन्टमा भाडाका सैनिकका (मर्सिनरिज)रुपमा लिइन्छन्|(३२) कांग्रेसले
गोर्खा भर्तीको बिरोध गरेकोले बेलायतले राणा शासनको समर्थनलाई निरन्तरता दिएको
थियो|(३१) खासगरी समुदायका थप कुण्ठित समूहहरु गोर्खा सैनिकको रुपमा सेवा गर्न आए|
बेलायती सेनामा गोर्खा सैनिकको संख्या बढाउने प्रस्ताव लाग्दा महाराजले खासै रुचि
देखाएका थिएनन्| (३३) गोर्खाहरु यति दम्भी र आत्म प्रशंसक छन् कि कुनै गम्भीर
बिप्पत्ति नभोगी आफ्नो हिनभावनाबाट उभ्रिदैनन्| (३४)
नेपालको पहाडी भागमा तेह्रवटा भिन्न र राम्ररी
चिन्न सकिने बोलीहरु बोलिन्छन्| ती हुन्: खस वा पर्वतीया,मगर, गुरुङ सुन(नु)वार,
काछरी(?), हाइयु, चेपांग, कुसुण्डा, मुर्मी, नेवारी, किराँती, लिम्बुवान र लाप्चान
(लेप्चा?)| ती सबै एकदमै अभद्र(रुड) छन्|(३८)
गुरुङहरु मंगोलिया र पश्चिम चीनमा मूलबासी(ओरिजिनेटेड)
हुन्| उनीहरु तिब्बतको पूर्वी भाग हुँदै आएका हुन्| अरु तिब्बती र सम्भवत: तामांग
आएपछि मुस्तांगमा बस्ने गुरुङ थकाली भए| (१०१)
अन्तमा
यो आलेखमा माथि उधृत कुरा अगाडी भने झैँ विदेशीका
कथन हुन्| अंग्रेजी भाषामा लेखिएका कुरा नेपालीमा अनुवाद गरी सबै नेपालीसम्म
पुर्याउने प्रयाससम्म गरिएको हो| यसबाट नेपालका कानून निर्माता, नीति निर्माता र
पाठ्यक्रम निर्माताले पाठ सिक्न जरुरी छ| नेपालका इतिहासकार, समाजशास्त्री,
मानवशास्त्री, विद्वान प्राध्यापक र पत्रकार आदिले बिदेशीको न्यारेटिभ चिर्न आफ्नो
ठाउबाट प्रयत्न गर्न जरुरी छ| बिदेशीको लालचमा फसेर विदेशीले भनेका कुरालाई
ध्रुवसत्य मान्ने वर्ग के माथि उधृत कुरामा सहमति राख्छ? यो प्रश्नले इमान, धर्म
वा दुवै बेचेका वा धरौट राखेकाहरुमा आत्मसमीक्षा गर्ने प्रेरणा मिलोस्| आफ्नो देश,
आफ्ना पूर्वज, आफ्ना राष्ट्रिय व्यक्तित्व र अर्को नेपालीको अपमान गरेको कुरा
लुकाएर वा नजरअन्दाज गरी कति भ्रममा रहने कति लालची बन्ने? अझ तिनै मध्येकालाई
बोलाएर पुरष्कृत गर्नेले तिनीहरुले आफूलाई नै के भनी कुख्यात गराएका रहेछन् मनन
गरी प्रतिक्रियात्मक हुन जरुरी छ| लालचको घुम्टोले यो अपमान कति दिन छोप्ने? अझ
कति घोडा चढ्न दिने अब कति अपमान सहने? अब पुग्यो अति भयो भन्दै सबै नागरिक जाग्नु पर्ने र सतर्क रहने दिन
आइसकेको छ|
No comments:
Post a Comment