Wednesday, April 17, 2019


                    नेपालमा धर्म निरपेक्षताका संवैधानिक सीमा
                               -मोहन बन्जाडे
नेपालको संबिधानमा धर्म निरपेक्षता लेख्नुपूर्व प्रतिनिधि सभाको घोषणापत्रमा त्यसको उल्लेख गरियो| सो घोषणामा किन र कसरी धर्म निरपेक्षता लेखियो रहस्यमय छ| सो प्रस्ताव नेपाल सरकारले संसदमा पठाएको भनिएपनि सरकारी मसौदाबमोजिम नै पारित भयो वा कार्य व्यवस्था समितिमा थपघट गरियो वा केही नेतागण बसेर थपथाप भन्ने प्रश्न गम्भीर तर अनुत्तरित छ|सरकारले पठाएको प्रस्तावको अभिलेख सरकारसंग छ छैन? सभाको सचिवालयको अभिलेखमा   सुरक्षित छ छैन? छैन भने कहाँ गयो? के सरकारले पठाएको प्रस्तावमा धर्म निरपेक्षता थियो?
 सरकारले पठाएको प्रस्ताव बारे जान्ने अधिकार नागरिकलाई छ| यसकोलागि सूचनाको हकको प्रयोग गर्न सकिन्छ| तैपनि कसैले सूचना मागेको कुरा सार्वजनिक भएको देखिदैन|

 कतिपय सभासद् र केही राजनीतिज्ञले धर्म निरपेक्षता लेख्नुलाई “विष्मयकारी” मानेका छन्| यो विष्मय पछाडि कुन ताकत कसरी प्रयोग भयो? यति महत्वपूर्ण विषय बिना “जनमत”  मतोको आधारमा किन आयो? प्रतिनिधि सभाको “घोषणा” संसदीय कार्य भएपनि अदालतबाट प्रवर्तनीय संबैधानिक र कानूनी प्रावधान भने थिएन|

घोषणाको रुपमा आएको धर्म निरपेक्षता अन्तरिम संबिधानमा तानियो| अन्तरिम संविधानको  प्रकृति अस्थाई थियो| यतिन्जेल धर्म निरपेक्षता “घोषणा” र “अन्तरिम” व्यवस्था मात्र थियो|
नेपालको संविधानमा रहेको धर्म निरपेक्षता “घोषणा र अस्थाई” व्यवस्थाको निरन्तरता पक्कै होइन| संविधान निर्माण कालमा जनमत बुझ्न टोली खटिएका थिए| त्यसकोलागि ठूलो धनराशी खर्च भयो| कति प्रतिशत नागरिकले धर्मनिरपेक्षताको पक्षमा राय दिए भन्ने परिणाम  सार्वजनिक भएन| के नागरिकलाई आफूले दिएको मतको परिणाम जान्ने अधिकार हुँदैन? यो तथ्यांक कसले गोप्य राख्यो, राख्न लगायो र किन गोप्य राखियो? के आजको प्रतिनिधि सभाले ती तथ्यांक सार्वजनिक गर्ला?
संविधानको धारा ४ (१)मा नेपाललाई धर्मनिरपेक्ष राज्य भनियो| त्यसको स्पष्टीकरणमा “सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ” भनिएको छ| संविधानको धारा ४ (१) को व्यवस्था स्पष्टीकरणबाट नियन्त्रित व्यवस्था हो|
नेपालको संबिधानमा धर्मनिरपेक्षता “मात्र” लेख्न समुद्रपारबाट “तुजुक” देखाइयो| छिमेकमा भएको चुनाव परिणामले त्यसमा अवरोध सिर्जना गर्यो| धर्म निरपेक्षताको लागि बिदेशी गैरसरकारी संस्था ( मुखमा मानव अधिकार बगलीमा  विश्वास प्रणालीको फ्रेंचाईजी लिएका संस्था) समेत लागि परे| हामी नेपालीले के चाहेका थियौं भन्ने कुरा संसद सचिवालयमा रहेका संकलित जनमतका बोरामा सुरक्षित होलान्| जबसम्म ती बोरा खुल्दैनन् तबसम्म हामी नेपालीले धारा ४ (१) चाहेका थियौं वा स्पष्टीकरणको व्यवस्था खोजेका थियौं वा तेस्रो विकल्प रोजेका थियौं? भन्न सकिने अवस्था रहेन|
धर्मको मर्म रिलिजन होइन| रिलिजनको कर्म धर्मसंग मिल्दैन| धर्मले रिलिजनले जस्तो मानिसलाई जन्मजात पापी मान्दैन| धर्ममा देवी पूजिन्छ| धर्ममा अरुको विश्वास प्रणाली समाप्त गर्ने नियत देखिदैन| युरोपमा पेगनलाई अत्याचारपूर्वक समाप्तप्राय पारे जस्तो अत्याचार  पाइदैन| धर्ममा अरुलाई असभ्य ठानी “हाम”का सन्तान भनी दास सरह व्यवहार गर्नुपर्ने मानिदैन| धर्म परिवर्तन गराउन साम, दान, दण्ड र भेदको नीति अबलम्बन गरेको सुनिदैन| धर्ममा अनेक बहानामा अरु विश्वास प्रणाली, सभ्यता र संस्कृति भएका मुलुकमा धर्म परिवर्तन गराउन एजेन्ट खटाउने गरेको पाइदैन| धर्ममा स्वर्ग जान टिकट बेच्ने इतिहास भेटिदैन|
   धर्मशास्त्रमा न्याय, संगीत,कला, राज्य प्रणाली, शासन व्यवस्था, कानून, चिकित्सा, योग (ज्ञान कर्म भक्ति समेत), कर्तव्य, दण्डनीति आदि अनेक व्यवस्था छन्|रिलिजनको किताबमा ती प्राय: व्यवस्था देखिदैनन्| रिलिजन संगठित प्रणाली हो| रिलिजन मान्नेहरुलाई रोम, लन्डन वा अन्त उत्तरदायी बनाउने तालीम दिइन्छ| धर्ममा कुनै मठ मन्दिरको शंकराचार्य वा पूजारी वा संस्था प्रति उत्तरदायी हुनुपर्दैन| धर्ममा पूजारीलाई अख्तियारवाला (अथोरिटी) मानिदैन, उनले भक्तको इच्छाअनुसार विधि पुर्याउने मात्र हो| धर्म एकल किताबमुखी होइन, धर्मशास्त्रका एकएक प्रति किताब जम्मा गर्दापनि राम्रो पुस्तकालय बन्छ|
धर्ममा मूर्ति पूजा हुन्छ| धर्ममा ईश्वर कण कणमा हुन्छन्, प्रकृति र अरु प्राणीलाई पनि पूजा गरिन्छ वा ईश्वर मानिन्छ| मानिसमा देवता बन्ने गुण हुने मानिन्छ| मानिसलाई जन्मजात पापी घोषणा गरेर पूजारीले स्वर्ग पठाउने जिम्मा लिदैंन| कर्मको (आफूले गरेको काम ) फल आफैले भोग्नुपर्छ| धर्ममा इश्वरको छोरा खासप्रकारले जन्म पर्दैन, शुलीमा चढाइएको हुनुपर्दैन|
 रिलिजनामा  भिन्न रंगको मानिस (हामका सन्तान )लाई  खराब र अपवित्र भनी जन्मले नै “सर्विच्युड” हुन योग्य मानिन्छ| धर्ममा गोरोपनलाई इश्वरीय विशेषाधिकार मानिदैन| राम, कृष्ण आदिलाई कालो र कालीलाई त कालो वर्णकी भए पनि देवदेवी नै मानिन्छ| धर्ममा अरुलाई धर्मच्यूत गरे नर्कमा जानुपर्ने भनिन्छ| रिलिजनमा अरुलाई धर्मच्यूत गराई धर्म परिवर्तन गराउनु “हेभन” जाने बाटो मानिन्छ | स्वर्ग र हेभन तथा नर्क र हेलका ठेगाना पनि फरकफरक नै होलान्?
धर्ममा समभाव वा समन्वय भनिन्छ| धर्ममा उपचारका लागि खासगरी वनस्पतिलाई औषधी मानिन्छ, चमत्कार (मिराकल)ले निको हुने भनिदैन| रिलिजनामा “टलरेन्स” भनेपनि अरुलाई असभ्य र तल्लो दर्जाको भएकाले पेगनलाई जस्तो मारिन्छ वा मन नलागी नलागी सहिन्छ|यसैले धर्म र रिलिजन फरक हुन्|
धर्म भनेको न्याय, कानून, संगीत, चिकित्सा कानून, नीति, कर्तव्य, सुरक्षा, कुटनीति, राजश्व, प्रशासन,व्याकरण, योग आदि समेत भएकाले अर्थात् “धारण गर्न योग्य नै” धर्म भएकाले राज्य धर्म निरपेक्ष हुन सम्भव थियो र? शालिग्रामलाई “ब्ल्याकस्टोन” भनेर अनुवाद गर्नेले सेकुलारिज्मलाई धर्म निरपेक्षता भनी अनुवाद गरिदिए कि? पन्थ निरपेक्षतालाई धर्म निरपेक्ष लेखियो कि? कोही त धर्म निरपेक्ष भनेको पापसापेक्ष हो भन्दछन्|
यसरी धर्म र अरु विश्वास प्रणाली भिन्नाभिन्नै भएको र संविधानको धारा ४ (१) को स्पष्टीकरणमा “सनातन धर्म” उल्लेख भएकाले सनातन धर्म मात्र धर्म हो भन्ने देखिन्छ| अरु पन्थले “सनातन” र “धर्म” शव्द प्रयोग गर्दैनन्| यो हिमवतखण्डका धर्म र धम्म(पाली भाषाको उच्चारण)को साझा नाम हुनसक्छ| किनकि तिनको जन्म यहीं वा यसै सेरोफेरोको संस्कृति र माटोमा भएको हो| ओमकारलाई यसको “सुत्र” मानिएको हुनसक्छ| मरुभूमिका बिश्वास प्रणालीका भिन्न नाम छन्| धर्मशास्त्र,मुन्धुम,त्रिपिटक,गुरुग्रंथ,तत्वार्थसुत्र आदि हिमवतखण्डको सेरोफेरोका हुन्|
संविधानको धारा २६ (३) ले “कसैले कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य दण्डनीय हुनेछ|” भन्दछ| संविधानले दण्डनीय गरेको धर्म परिवर्तन गराउने कार्य विदेशी नागरिक र विदेशमा दर्ता भै नेपालमा कार्यरत संस्थाले पनि गर्न गराउन पाउदैनन्| कुनै मुलुकको दुतावास वा राष्ट्र संघ अन्तर्गतका संस्था र तिनमा काम गर्नेले पनि सो अपराध प्रत्यक्ष परोक्षरुपमा गर्न गराउन पाउदैनन्|
 समाज कल्याण परिषद्ले त्यस्तो उद्देश्य भएका संस्थालाई नेपालमा काम गर्न दिन मिल्दैन| यसकोलागि सो परिषद्ले सम्बद्ध पराई संस्थाको मूल उद्देश्य र नेपालमा गर्ने भनेका काम तथा त्यसमा काम गर्न आउने व्यक्तिको पूर्वकर्म हेर्न जरुरी हुन्छ| तिनीहरुले  कहिँ कतै धर्म परिवर्तन गराएको प्रमाण र शंका गर्ने आधार भए तिनलाई संस्थागत र  व्यक्तिगत रुपमा नेपालमा काम  गर्न दिन मिल्दैन| त्यसोगरे निर्णयकर्ता कम्तिमा अपराधको मतियार हुन्छ| परिषद् मा त्यस्ता मतियार थिए कि वा छन् कि निगरानी वा छानविन जरुरी छ|
संविधानको धारा ३२(३) अनुसार संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वर्धन र संरक्षण गर्ने हक प्रत्येक नेपाली समुदायलाई छ| यी संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदा भनेका  हिमवतखण्डका हुन्| किनकि अरु कतिपय सभ्यताका मानिसले त विगतमा पनि नेपालको सभ्यता संस्कृति र सम्पदा समाप्त गर्ने अनेक काम गरेका छन्| यहाँका  मन्दिर र गुम्बामा बिगतमा आक्रमण भएका, आगो लगाइएका, जासुस पादरीहरु निकालिएका, पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा पादरीहरु उनी विरुद्ध लड्न पाटनमा आएका कुरा इतिहासमा उल्लेख छन्|
नेपालबाट चोरेचोराएका सम्पदाबारे लैनसिंह वांग्देलको “स्टोलन इमेजेज अफ नेपाल” भन्ने पुस्तक छ| डेनियल राइटले किनेर लगेको भनेपनि ठूलो संख्यामा धार्मिक तथा ऐतिहासिक पुस्तक वा पाठ्य सामग्री क्याम्व्रिज विश्वविद्ध्यालय पुर्याएको कुरा हिस्ट्री अफ नेपाल (डी के पब्लिशर्स,नयाँ दिल्ली २००४ पृष्ठ २१९-२२८ )नामक मुन्सी शिवशंकर सिंह र पण्डित गुणानन्दले अनुवाद गरेको कितावको अनुसूचीमा छ| हड्सनले के कति लगे पत्तो छैन| अरु बारे सोधीखोजी कसले गर्ने?
नेपालको संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदा मूलतः धर्मसम्वद्ध  छन्| यहाँका मठ,मन्दिर, गुम्बा, हस्तलिखित ग्रन्थ, मूर्ति आदि यहाँका सम्पदा हुन्| यहाँको सभ्यता यहाँका वा हिमवतखण्डका धर्मसंग अन्योन्याश्रित छन्| नेपालमा धर्म परिवर्तन गराउनु आस्था वा विश्वास परिवर्तन गराउनु मात्र होइन| मानिसलाई आफ्नो मतको हेडक्वार्टस प्रति उत्तरदायी बनाउनु पनि हो| साविति (कन्फेसन) मार्फत सूचना प्राप्त गर्नु पनि हो| यहाँका मठ, मन्दिर र गुम्बाप्रति घृणा फैलाउनु पनि हो| शास्त्र र अन्य पवित्र ग्रन्थलाई “मिथ” मान्नु हो| यताका धार्मिक र पवित्र मानिने कुरालाई निरर्थक मान्नु हो| यताका मानिसलाई हामका असभ्य सन्तान भन्दै  दासको रुपमा (सर्भिच्युड) स्वीकार्न “टलरेंस” देखाउनुसम्म हो|
धर्मपरिवर्तन गराउनु यताको सभ्यता र संस्कृति समूल नष्ट गराउनु  हो| त्यसको लागि खर्च गर्नु सभ्यता र संस्कृति समाप्त गर्ने लगानी हो| यस्ता काम गर्ने बिदेशी संस्था र व्यक्ति सभ्यता, संस्कृति र सम्पदाको सुरक्षाका दृष्टिले शत्रु राज्यका नागरिक भन्दा खतरनाक हुन्|
धर्म परिवर्तन गराउन कसैले पहिले मान्दै आएको धर्म विरुद्ध एकोहोराउनु  पर्ने हुन्छ| उसले पहिले मान्ने परमेश्वर, ईश्वर, भगवान वा देवतालाई निरर्थक वा असभ्य वा बेकम्मा सावित गर्नुपर्ने हुन्छ| उसको पूजा पद्दतिलाई अस्वभाविक र  पूजा सामग्रीलाई बेतुका पुष्टि गर्नुपर्ने हुन्छ|  धर्म सम्बद्ध शास्त्रलाई मिथ वा काल्पनिक भन्नुपर्ने हुन्छ| अनि आफ्ना विश्वास प्रणालीका अवैज्ञानिक कुरा लुकाउनु, आफ्ना पूर्वजले विगतमा गरेका क्रुरता र अत्याचार (पेगन आदि) छिपाउनु र आफ्ना पूर्वजले अपनाएका अन्धविश्वासलाई चमत्कारको रुपमा प्रचारप्रसार गर्नुपर्ने हुन्छ| अरु धर्मका सम्पदामाथि प्रत्यक्ष आक्रमण गरी वा चोरी गराई नष्ट वा आफ्ना मुलुकका पुस्तकालय वा म्युजियममा लैजानुपर्ने हुनसक्छ|
धर्म परिवर्तन गराउन आउने विदेशीले आफ्नो भ्रमणको उद्देश्य ढाट्नु पर्ने वा कपट वा जालसाजपूर्ण व्यहोरा उल्लेख गर्नुपर्ने हुन्छ| किनकि भ्रमणको उद्देश्यमा “धर्म परिवर्तन गराउने”भनी लेखे प्रवेशाज्ञा (भिसा) पाइदैन| नेपालमा धर्म परिवर्तन गराउन घरदैलो गर्ने व्यक्ति र त्यसका सम्बद्ध संस्थाले यी र यस्ता असंवैधानिक, गैरकानूनी र अनैतिक कार्य नगरी धर्म परिवर्तन गराउन सम्भव हुदैन|
 धर्म परिवर्तन गराउने कार्यलाई सहज बनाउन अर्को बहानामा आउने बिदेशी संस्था वा व्यक्तिले त इतिहास बिथोल्ने, सामाजिक सद्भाव बिगार्ने, राष्ट्रिय र सामाजिक एकताका मौलिक तन्तु टुटाउने कार्य गर्दछन्| स्थानीय समुदायलाई एकअर्काका शत्रुका रुपमा घृणा फैलाउन दुरुत्साहन दिन्छन्| अनुसन्धानका नाउमा जातीय, क्षेत्रीय, सामुदायिक र साम्प्रदायिक सद्भाव भत्काउन प्रायोजित अनुसन्धाता र उत्तरदाता मार्फत मिथ्यांक र त्यसमा आधारित निष्कर्ष र सुझाव प्रस्तुत गर्छन्|
नेपालको संविधानले कुनै पनि बिदेशी संस्था वा व्यक्तिलाई धर्म परिवर्तन गराउन नेपालमा प्रवेश गर्ने, रहने बस्ने र धर्म परिवर्तन गराउने काममा खर्चगर्ने, लालच देखाउने, घर दैलो गर्ने र हिमवतखण्डका धर्म विरुद्ध प्रचारप्रसार गर्ने मौलिक हक दिएको छैन| बरु धर्म परिवर्तन गर्नु गराउनुलाई दण्डनीय बनाएकोले त्यसको तयारी वा उदधोग गर्न, दुरुत्साहन दिन, अपराध  अघि वा पछिको मतियार बन्न समेत रोक लगाएको छ|
 नेपाल सरकारका सम्बद्ध निकाय र पदाधिकारीहरुले विदेशीबाट  नेपालमा धर्म परिवर्तन गराउने कार्य हुन नदिई संविधानको पालन गर्न जरुरीछ| उनीहरुलाई सम्बद्दता दिने, प्रवेशाज्ञा जारी गर्ने, प्रवेशाज्ञाको म्याद ननाघेका व्यक्ति माथि निगरानी राख्ने, म्याद नाघेका विदेशीलाई खोजतलास गर्न आवश्यक छ| साथै  धर्म परिवर्तन गराउन लगानी गर्ने, तैयारी गर्ने, मतियार हुने, दुरुत्साहन दिने, उद्योग गर्ने र अपराध गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन एउटा छुट्टै ऐन आवश्यक देखिन्छ| यस ऐनमा प्रभावकारी संस्था र उत्तम सूचना संजालको व्यवस्था जरुरी छ| सरकारको काम तिहारमा देउसी खेल्न समय तोक्ने र फागुमा बेलुनको आकार तय गर्ने मात्र होइन| विदेशीका हर्कत र अपराध तर्फ ध्यान दिनु पनि हो|  
आफ्नो ढोकामा कुनै बिदेशी धर्म परिवर्तन गराउन आए नागरिकले के के गर्ने त्यसबारे नागरिकलाई सचेत गर्नुपनि हो| के राष्ट्र संघ लगायतका दाताले सरकारलाई यहाँको सभ्यता संस्कृति, सम्पदा र धर्म रक्षा गर्न सहयोग देलान्? दिएनन् भने पनि सरकारले आफ्नै स्रोतबाट संविधानको मान्यता र मर्यादा कायम राख्न सक्रियता देखाउला? आसा गरौँ, गर्दै रहौँ| सदाचार नीतिमा जस्तो यसको मसौदा राष्ट्र संघका रापोर्टरकहाँ पुगी उताबाट आउने दबाव र सुझावको प्रतिक्षा भने नगरौं| सभ्यता, संस्कृति, सम्पदा, सद्भाव र समन्वयका लागि आफ्नै निकटमा रहेका संदिग्धसंग पनि सचेत रहौं|




No comments:

Post a Comment