Thursday, April 18, 2019


                                   गल्लाहरुका रुप अनेक
                                    -मोहन बन्जाडे
       विक्रम सम्बत १९४२ साल जेष्ठ सुदी ७ रोज ६ का दिन जारी सनदले नेपाली नागरिकलाई अंग्रेज सेनामा भर्ना हुन प्रोत्साहन गरेको देखिन्छ| त्यस सनदमा अंग्रेजले नेपालसंग पल्टनमा भर्ती हुन चाहने नेपालीहरुलाई भर्ना गर्न पाउन “दरखास्त गरेको” भन्ने व्यहोरा छ| सो सनदमा “खुसीराजीसंग अंग्रेजको नोकरी गर्न चाहने” हरुका लागि  तिनले पाउने सुविधाको विवरण समेत उल्लेख गरिएकोछ| सो सनदमा खुसी राजीसंग त्यस्तो नोकरीमा जान चाहनेले नजिकको मिलिसिया गौडामा हाजिर भै अड्डाको पूर्जी लिनु पर्ने भनिएको छ| साथै सो सनदमा “ यसमा कसैलाई जानु पर्छ भन्या कर पनि छैन नजानू भन्ने रोकावट पनि छैन” भन्ने व्यहोरा पनि परेको छ| यस्तै “अहिले जान्न भनी पछि लुकीचोरी गएको ठहरे सजाय हुने” चेतावनी पनि सो सनदमा उल्लेख छ| साथै जान चाहनेहरुको तीन पुस्ते, नामथर र घर समेतको विवरण तैयार गरी राख्ने कुरा समेत सो सनदमा उल्लेख छ| धनकुटा गौडाका नाममा जारी सो सनदमा रहेको व्यहोरा सहितको सनदको पूर्जी “पाल्पा, पल्लो किरात, डोटी, उदैपुर, डढेलधुरा, सल्यान, कास्की, लमजुंग, जुम्ला, इलाम दुल्लु, दैलेख, प्युठान, चिसापानी, सिन्धुली” आदि गौडामा पनि पठाईएको थियो| (अप्रकाशित ऐतिहासिक सामाग्रीहरुको एक सँगालो: डा. देवीप्रसाद शर्मा कँडेल,२०५७, पृष्ठ १२७)
    नेपाल आफ्नो देशका नागरिकलाई बिदेशी सेनामा भर्ना हुन जान तटस्थताको आवरणमा स्वीकृति दिई सूचना जारी गर्ने देश हो| सुगौली सन्धि गर्नुपर्ने बाध्यताका कारण बिदेशी सेनामा भर्ना हुन “दोस्ताना” र “दरखास्त”का  नाममा शुरु भएको नेपालीलाई विदेशको सेवामा भर्ना गराउने क्रम अद्दपी जारी छ| अचेल सरकारले सनद र पूर्जी जारी गर्दैन| तर गल्लाहरु आउँछन् र लान्छन्| यसमा एकाथरि हामीलाई अन्याय गरी बिदेशी सेनामा भर्ना हुन बाध्यतामा पारिएको भनी “जातीय घृणा” पनि व्यक्त गर्छन्| उता अंग्रेज सेनामा कार्य गरेका सैनिकलाई गोरा सैनिक  सरह सुविधा नदिएका कारण बर्षौदेखि कानूनी लडाई समेत लड्दै आएकाहरु पनि छन्|
   भारत स्वतन्त्र भएपछि पनि भारतीय सेनामा समेत नेपालीहरु व्यापक रुपमा भर्ना हुने गरेका छन्|  भारतमा असमान व्यवहार गरेको भनी कानूनी लडाई लडेको कुरा जानकारीमा आएको छैन| तथापि त्यहाँबाट पनि गल्ला आउँछन् र युवा लैजान्छन्| मुलुक यो पनि हेरी बसेको छ|
    यहाँ नेपालीले अरु देशमा निजी तबरबाट रोजगारी गर्न पाउने कुरामा प्रश्न गरिएको होइन|  यसको आसय राज्यले आफ्नो युवा शक्तिलाई औपचारिक रुपमा बिदेशी सैनिक बन्न पलायन गराउने वा हुन दिने कुरा आज कति उपयुक्त हो भन्ने बारे पुनर्विचार गर्न ध्यान आकृष्ट गर्नु हो|
     नेपालमा वैदेशिक रोजगार ऐन, २०६४ लागु छ| यो ऐनको आसय बैदेशिक रोजगारीको व्यवस्थापन गर्नु मात्र होइन घुमाउरो पाराले नेपाली जनशक्तिलाई नेपाल बाहिर धपाउनु पनि हो| दफा ८ मा “लैंगिक भेदभाव” नगरिने भन्दै यसलाई महिलाको अधिकारको भाषामा उल्लेख गरिएको छ| तर अर्को अर्थमा भन्दा महिलाहरुलाई पनि आफ्नो देशमा सामाजिक सुरक्षा वा रोजगारी नदिई मजदुरीका लागि विदेश तिर जान प्रेरित गरेको पनि हो| ऐनको दफा ९ मा बिभिन्न किसिमका व्यक्तिलाई बैदेशिक रोजगारीमा “आरक्षण” प्राप्त हुने भनिएको छ| अर्को अर्थमा त्यो आफ्ना खासप्रकारका भनिएका नागरिकलाई बिदेशमा काम गर्न जान बाध्य पार्ने कुराको आरक्षण हो| देशबाट धपाउने कुरामा पनि आरक्षण हो| जुन देशमा बिकासका क्रियाकलाप हुन्छन् वा रोजगारीका अवसर प्राप्त हुन्छन् ती देशले पक्कै आफ्ना नागरिक न्यून वैतनिक कामदारको रुपमा देश बाहिर पठाउन पर्दैन| रेमिटेन्सबाट आउने धन आफ्नो देश बिकसित भएर वा उत्पादकत्व बढेर वा देशमा रोजगारी वृद्धिभएर आउने धन होइन| यी “कामदार” पक्कै राज्य र सरकारलाई धन्यवाद दिंदै आमाको काख छोडेर बाहिर गएका होइनन्| यो व्यक्तिको बाध्यता र सरकारको अकर्मण्यताको फल पनि हो| देशमा रोजगारी सिर्जना नहुनुको प्रतिफल हो| यो ऐन अन्तर्गत विदेश जाने जनशक्ति भनेको वैज्ञानिक, परामर्शदाता, इन्जिनियर चिकित्सक आदि जनशक्ति नभई मूलतः कम आय गर्ने “कामदार” जनशक्ति हो|  
    नेपालमा “म्यान पावर” को नाममा नेपाली नागरिक विदेश पठाउने बैध व्यवसाय छ| यी “म्यान पावर” मुलुकको बिकास निर्माणका लागि जनशक्ति उत्पादन गर्ने वा मुलुक मै रोजगारी सिर्जना गर्ने रोजगारदाता होइनन्| राज्यको विकास निर्माणमा लाग्नु पर्ने र लगाउन सके सबभन्दा राम्रो प्रतिफल दिन सक्ने मानव शक्ति विदेश पठाउने सरकारी मान्यता प्राप्त संस्थागत गल्ला हुन्| बाहिर जान बाध्य “कामदार” “पावर” मात्र होइन “इनर्जी’ पनि हुन्| यो “इनर्जी” “इग्नाइट” नगरी मुलुक कदापि अगाडी बढ्न सक्दैन|  मूलत: अदक्ष नै वा दक्ष भए पनि अदक्ष मजदूरका रुपमा पठाइने यो मानव शक्तिले अरुको माटोमा शक्ति त पर्याप्त  खर्च गर्छ तर उसले पाउने प्रतिफल न्युन नै हुन्छ| यता खेतबारी बाँझो हुने, मजदूरी लगायतका अन्य काम गर्न छिमेकबाट मानिस आउने र यहाँबाट ठूलो रकम रेमिटेन्स लैजाने क्रम पनि बढ्दो छ| यसरी मुलुक आफ्ना युवाको “पावर” र “इनर्जी” विदेश पठाएर  आफू भने कान्तिहीन बन्दैछ| त्यसको लागि काम गर्ने अनौपचारिक गल्लाहरु पनि छन्| देशको युवा शक्ति म्यान पावर नामक  औपचारिक कम्पनी र अन्य अनौपचारिक गल्ला लगाएर देशको शक्ति र उर्जा  विदेश पठाउन व्यस्त छ|
    नेपालमा केही बर्ष यता समाजलाई विभाजित गरी अनेक बहानामा कुण्ठा र घृणा पैदा गराई देशको युवा शक्तिमा मुलुक र पद्दति प्रति निराशा र विषाद उत्पन्न गराइदै छ| संस्थाहरु कमजोर बनाइदै छन्| अधिकारका अनेक उछाल पैदागरी सबै कुरा सरकारले थालमा हालेर दिनुपर्ने वातावरण तैयार गरी कर्तव्य भने गर्न नपर्ने स्थितिमा पुर्याइएको छ| आज हामी आफ्नो झ्यालबाट आफैले फोहर बाटोमा फाली बाटोमा आएर सरकारले सफाई नगरेको भनी कुर्लन लाज नहुने स्थितिमा पुगेका छौ| गाउमा गाई पाल्न अपमान तर बिदेशमा भेंडा चराउन सम्मान, गाउमा पीपल लगाउन अपमान तर बिदेशमा सल्लो रोप्न सम्मान हुने भन्ने अवस्थामा पुगेका छौं| यो एक प्रकारको “दिमाग नियन्त्रण” पनि हो| समाजलाई मिलेर बस्न नदिई घृणा, कुण्ठा, विषाद र निषेधको वातावरण तैयार गरी  बिदेशका लागि सस्तो मजदूर उत्पादन गर्दै छौं| समाजका सकारात्मक कुरा उदाहरणको रुपमा प्रस्तुत नभए पछि सिक्ने र घोरिने पनि नकारात्मक कुरामा हो| दिमाग नियन्त्रण गरी सबै काम सरकारले पस्केर दिनुपर्ने आफूले अधिकार माग्न उफ्रे पुग्ने वातावरण सिर्जना गराउने कार्यमा पराईले खर्च गर्दै आएको पनि छर्लंग नै छ|
    नेपालमा दश र बाह्र कक्षा पास गरेका अझ कम उमेरका युवाहरुलाई विदेश पठाउन बिदेशी कलेजका गल्लाहरु परामर्शदाताको नाउमा गल्ली गल्लीमा छन्| हाम्रो देशमा विश्व विद्यालय र महाविद्द्यालय पनि छन्| तिनमा अनेक पदाधिकारी पनि छन्| हाम्रा विश्वविद्यालय अनुसन्धान केन्द्र बन्न सकेका छैनन्|  विश्वविद्यालयका विधा पिच्छे अनुसन्धनात्मक प्रकाशन गर्न नीच मारे जस्तो देखिन्छ| तिनका अनुसन्धानका निष्कर्षले नीति र निर्णय निर्माणमा खासै मद्दत पुर्याउन सकेको छैन| अपवाद बाहेकका प्राय: प्राध्यापक राजनीतिक दलका झण्डा मुनि वा गोप्य रुपमा लेभी तिर्ने कार्यकर्ता वा दलको लाइनको  समर्थनमा तर्क खोजिदिने तर्कजिवीमा रुपान्तरण हुँदै गएको गुनासो सुनिन्छ| सरकारी क्याम्पसमा पढाउनेहरु नै निजी क्याम्पसका संचालक हुने (खुला ? वा भित्रिया)  गरेका कुरा पनि बाहिर आएका छन्|
   पढाइको वातावरण मुलुकमा राम्रो नभएपछि अभिभावक र विद्द्यार्थी त्यसको परिणाम भोग्न बाध्य छन्| यसले शैक्षिक गल्लागिरीलाई  उम्दा व्यवसाय बनाउदैछ| अझ कहिले काहिँ बिदेशका संस्थाले सिधै गल्ला क्याम्प चलाउछन्| नेपालका शैक्षिक संस्था ध्वस्त पारेर हामी आफ्ना बालबालिकालाई परदेश पठाउदै छौं| उनीहरुलाई आफ्ना मूल्य प्रणालीबाट विमुख गर्दै छौं| तिनको कमलो मनमा मुलुक प्रति नै वितृष्णा पैदा गर्दैछौं| सो बापत ठूलो धनराशी विदेश पठाउदै छौ| देशको शैक्षिक वातावरणमा सुधार  र स्तरमा वृद्धि नगरेर शैक्षिक गल्ला मार्फत अध्ययनरत युवा शक्तिलाई थोकमा विदेश तिर घचेटेर हामी यहाँ निर्धक्क छौं|  
   नेपाल आफ्ना देशका ससाना बालबालिका बिदेशीलाई एडप्सन गर्न दिने देश मध्ये एक हो| पहिले मूलतःसरकारी आदेशबाट चल्ने यो धन्दालाई अझ नाफामुखी बनाउन विदेशीलाई नै अधिकार सिर्जना हुने गरी देवानी मुलुकी संहितामा बिस्तारमा व्यवस्था गरिएको छ| कतिपय मुलुकले यस्तो धन्दामा शोषण, दुराचार र अत्याचार भएको प्रमाण पाएर सो धन्दा बन्द वा छानविनका लागि स्थगित गरेका छन्| नेपालले पनि बेला बेलामा स्थगित गरेको छ| यो “दया” वा “माया”को नाउमा बालबालिका बेचबिखनको बैधानिक तरीकाको गोरखधन्दा बन्दै गैरहेको छ| कमजोर आर्थिक स्थिति भएका बाबु आमालाई भ्रममा पार्ने र ठग्ने उपाय पनि बन्दो छ| यसका निम्ति “दया,” “माया’ र “सेवा”को नाममा संगठित धन्धा गरिदैछ| अझ केही समय यता बालबालिकाको धर्म परिवर्तन गराई पठाउने गर्न थालेकाले यो धन्दा अब मर्सी माफियाको पकड तिर पनि जाँदैछ| यी बालबालिका असल नियतले मात्र लागिएको र असल नियतले नै पठाईको भन्ने छैन|  आमाबाबु  भएका बच्चालाई आमाबाबु नभएको भनी वा तिनलाई भ्रममा पारी, झुक्याई वा ठगी गरी पनि पठाईएको छ| यसको लागि केही उताका मर्सी गल्ला र केही यताका तिनका मतियारको गठजोड छ|
     केही समय यता कैयौ विदेशीहरु नेपाल मै बाल यौन अपराध गरेकोमा पक्राउ पर्दैछन्| यो संख्या बढ्दो छ| ती बालबालिका कति व्यक्तिगत रुपमा बाल यौन अपराधीको पकडमा पुगेका हुन् र कति यहाँ बालगृह चलाउनेले चाँजोपाँजो मिलाएका हुन् भन्ने तथ्यांक सार्वजनिक भएका छैनन्| कतै यसमा पनि संगठित गिरोह वा गल्लागिरी शुरु भै सक्यो कि? नेपाल बाल यौन अपराध गर्न सकिने वातावरण रहेको देशको रुपमा प्रचारित छ कि? इन्टरनेटमा त्यस्ता सूचना छन् कि? नेपाल भ्रमणमा आएका मध्ये कति बिदेशी प्रवेशाज्ञा(भिजा) अवधि समाप्त भएर पनि यही धन्दा चलाएर बसेका छन् कि? यसबारे अनुसन्धान गर्न जरुरी छ| ती बाल यौन अपराधी कुनै संस्थाको सिफारिसमा आएका वा तिनको सिफारिसमा भिसाको म्याद थपेको भए ती सिफारिसकर्ताको मिलिभगत छ छैन त्यस बारे खासै जाँचबुझ हुने गरे जस्तो बुझिदैन| भिसा सकिएका बिदेशी कहाँ, कसरी. कस्को घर वा होटलमा बसेका छन् त्यसको निगरानी पनि जरुरी छ|
      नेपालमा केही बर्ष यता धर्म परिवर्तन गराउन खटिएका विदेशी गल्लाहरु घर घर डुल्ने गरेको पाइन्छ| नेपालमा भाषा सिकाउने संस्था खोलेर, विद्यार्थी भिसा लिएर वा बिदेशी गैरसरकारी संस्थामा काम गर्ने भनेर ती छद्मभेषी आफ्नो भन्दा  भिन्न धर्म, संस्कृति र सभ्यता विनास गर्न खटिई आएका हुन सक्छन्| नेपालका बिभिन्न जातजाति समुदाय बीच फुट पैदा गराई सामाजिक र पारिवारिक बेमेल उत्पन्न गर्न र नेपाल विरुद्ध घृणा सामाग्री तैयार गर्न खटिएका गल्ला हुन सक्छन् | सभ्यता समाप्त गर्न खटिएका गल्ला हुन सक्छन् | फुटाएर घुस्न र चुस्न आएका गल्ला हुन सक्छन् | अब सांग्लोमा बाँधेर लगी दास बनाउन सम्भव नभएकोले आफ्नो विश्वास प्रणाली लादेर बौद्धिक नियन्त्रणमा लिई  नयाँ खाले दास बनाउन खटिएका गल्ला नेपालको सभ्यता संस्कृति र सद्भावकालागि खुला चुनौती हुन्| ती गल्लाले नेपालको राजनीति र प्रशासनमा घुसपैठ गरी आफू अनुकूल कानून, नीति र पाठ्यक्रम बनाउन दवाब, प्रभाव र लालच दिने खतरा रहन्छ| त्यसैले बिदेशी गैरसरकारी संस्था नियमन नियन्त्रण गर्न छुट्टै कानून जरुरी छ|
     नेपालको संविधानले नेपालीलाई यति धेरै मौलिक हक दिएको छ कि अब नेपाली युवा बिदेशी सेनामा भर्ना हुन गल्लाका अगाडी छाती खोल्न जरुरी छैन| कामदारको रुपमा जाने युवा म्यानपावरको चक्करमा फस्न जरुरी छैन| नेपाली विद्द्यार्थी बाबुआमाको न्यानो काख छोडेर दुतावास बाहिर लाइन लाग्न जरुरी छैन| अबोध बालबालिका आमाको दुधबाट बन्चित हुँदै “एडप्ट” हुन जरूरी छैन, पराइको यौन अपराधको शिकार हुन जरुरी छैन|
     बिदेशी गैरसरकारी संस्था मूलतः उताका एजेण्डा र न्यारेटिभमा काम गर्ने गल्ला संस्था हुन्| यता द्वेष, घृणा र कुण्ठा पैदा गर्न खर्च गर्ने संस्था हुन्| ती कुटनीतिक संस्था होइनन्| ती हाम्रा प्रतिनिधि पनि  होइनन्| तसर्थ तिनलाई फुक्काफाल छोड्नु मुलुक, मुलुकी र मुलुकको सभ्यता, संस्कृति र सद्भाव ध्वस्त पार्न मौका दिनु हो| नयाँ खाले उपनिवेश र दासता स्वीकार्नु हो| आफ्नो सभ्यता, संस्कृति र सद्भाव बचाउदै अगाडी बढ्ने कि फुट र  दासत्वको घनत्व बढाउने भन्ने प्रश्न आज हाम्रा सामु अजिङ्गर सरह खडा छ| यी सबै गल्लागिरी बारे बेलैमा सोचौं| सबैले सोचौं| गम्भीर भएर सोचौं|


No comments:

Post a Comment