Wednesday, April 17, 2019





                दिव्य उपदेश र परराष्ट्र नीति
                       - मोहन बन्जाडे
श्री ५ बडामहाराज पृथ्वीनारायाण शाह नेपालका राष्ट्र निर्माता हुन् | आज हामी मूलतः उनको नेतृत्वमा एकीकरण गरिएको नेपालका नागरिक हौ| नेपाल एकीकरण गर्दा उनले भोगेका आन्तरिक र बाह्य समस्या बारे बुझ पचाउने कृतघ्नता ब्यक्त गर्न सजिलो छ | तर एकलव्य साधना गरी राज्यको सुखसयल भन्दा राष्ट्र निर्माणमा लागि पर्नु निश्चय  नै दुरुह कार्य थियो | अझ उपनिबेशी शक्तिसंग सिधा लडाई लड्दै , उनीहरुको षडयन्त्र चिर्दै तथा जासुसहरुको जालो छिमल्दै अगाडि बढ्नु कम सकसको कुरो थिएन | आज उनलाई होच्याउनु , पराइले लेखेको इतिहास पढेर अपमान गर्नु र राज्य र राष्ट्र  निर्माण गर्नु उस्तै हो र ? सात समुद्र पारीबाट आएर नेपालसंग लडाई लडेका कर्कप्याट्रिक र चन्द्र शमशेरबाट नगद लिएर भाडामा इतिहास लेख्ने पार्सिभल लण्डनले लेखेको इतिहासमा उनको अपमान हुनु र नेपालीले अपमान गर्नु एकै कुरा हो र ? काठमाण्डौबाट बेतिया पठाईएका जासुसहरुले तैयार गरेको घृणा प्रतिवेदनलाई गुरुमन्त्र मान्नुपर्ने बाध्यता छ र ? अरु देशका नागरिकले चाहिँ आफ्नो देशको राष्ट्र निर्मातालाई अपमान गर्दा कसरी लिन्छन् होला ?
पृथ्बीनारायण शाह आजका बुद्धिजीवी जस्ता स्नातकोपाधि प्राप्त थिएनन् | दाताको रकममा सैर गरेर छात्रवृति पाई प्रमाणपत्र पाएका व्यक्ति पनि थिएनन् | तर पनि उनको दिव्य उपदेशमा निकै परिपक्व कुरा पाइन्छन् | उनका ती कथन कुनै पोथी खारेर बोलिएका कुरा र  पराईका बुद्धिबिलास वा स्वार्थसिद्धिका उपज पनि थिएनन् | बरु पराइले गर्न लागेको आक्रमणको अग्रिम अनुमान गरी  त्यसका बिरुद्ध जनसहभागिता जुटाउनु पर्ने , योग्यतम व्यक्तिलाई मौका प्रदान गर्नु पर्ने , पराईलाई उसको  नेकिबदी नबुझी मुलुकभित्र  छिर्न दिन नहुने , छिमेकीको प्रकृति र प्रवृति पहिचान गरी ब्यबहार गर्नुपर्ने, पराईलाई उसले बुझ्ने भाषामा जवाफ दिनुपर्ने, पराईलाई दखल गर्न दिन नहुने, देशवासीलाई पराइसित अनावश्यक रुपमा लहसिन दिन नहुने जस्ता मन्त्र उनको सो उपदेशमा उल्लेख भएको पाइन्छ | उनका कति  मन्त्र परिस्थितिजन्य थिए भने कति अझै पनि सान्दर्भिक छन् |


 बास्तविक मित्र र मित्रताको तह पहिचान गर्नुपर्ने
     परराष्ट्र सम्बन्धका लागि ती मुलुकको प्रकृति र प्रवृति पहिचान गर्नुपर्ने उनको धारणा रहेको देखिन्छ | दिव्य उपदेशमा लमजुङलाई गरुड र काठमान्डौ(नेपाल ) लाई भ्यागुतो भन्दै सर्पले भ्यागुतो खान गरुडको आँखा छल्नुपर्ने बताइएको छ | साथै उनले दक्षिणको वादशाह (उपनिवेशी अंग्रेज ) लाई महाचतुर भन्दै उसले हिन्दुस्तानलाई दबाई राखेको कुरा उल्लेख गरेका छन् | अर्थात् अंग्रेज अरुलाई दबाउन उद्दत शक्ति हो र ऊ हाम्रो निकट भूमिमा छ त्यसैले ऊसंग सतर्कता साथ सम्बन्ध (घाहा ) राख्नु पर्ने हुन्छ | अंग्रेजसंग नेपाल ढुक्क हुन नसक्ने भन्ने उनको रणनीति रहेको बुझिन्छ | उनले त्यसबेला चीनलाई असल मित्रका रुपमा पहिचान गरेको पाइन्छ | त्यसैले दिब्य उपदेशमा चीनको बादशाहसंग नेपालले राम्रो सम्बन्ध (ठूलो घाहा ) राख्नु पर्ने उनको मत छ |
परिस्थितिको अग्रिम आंकलन गर्नुपर्ने
   सम्बन्धित मुलुकको प्रकृति र प्रवृतिका आधारमा अर्को मुलुकले आफ्नो मुलुक प्रति गर्न सक्ने ब्यबहार प्रति राज्यले अग्रीम आंकलन गर्न सक्नुपर्ने उनको धारणा रहेको छ | यस सन्दर्भमा उनको आंकलनको उदाहरण यस्तो छ – कुनै दिन हिन्दुस्तान (भारतीय ) जागे भने कठिन परिस्थिति उत्पन्न हुन्सक्छ | किनकि अंग्रेजलाई भारतीयले लखेट्न थाले भने उनीहरु किल्ला खोज्दै नेपाल तिर आउँन सक्छन् भन्ने उनको बिश्वास थियो |
परिस्थिति अनुसारको तैयारी गर्नुपर्ने
   दिब्य उपदेशमा परिस्थितिको आकलन गरेपछि सोही  अनुरुपको तैयारी पनि बेलैमा गर्नु पर्ने सन्देश उनले दिएकाछन् | त्यसैले अंग्रेजहरुबाट बच्न नेपालले रणनीतिक स्थान (गढी) पहिचान गरी राख्नुपर्छ भन्ने उनको मत देखिन्छ  | साथै उनीहरुलाई रोक्न ठाउँ ठाउमा आबश्यक उपाय गर्नुपर्ने  वा अवरोध सिर्जना गर्नुपर्ने  ( भांजा हाल्नु ) उनको धारणा रहेको देखिन्छ | एकदिन त्यो (अंग्रेज ) आउछ त्यसैले त्यससित मुकाबिला गर्न आबश्यक बन्दोबस्त गर्नुपर्दछ | एकदिन मात्र होइन अंग्रेज बटौली र नालापानीमा आयो र नालापानीमा पानीकै मुहान थुन्यो | सिन्धुलीगढ़िमा त उनकै पालामा आएको थियो | सिधा युद्ध गर्न बाहेक पनि अंग्रेज पटक पटक आयो| आज हाम्रा कति सम्पदा तिनका संग्रहालयमा छन्| उनकै

सार्वभौमिकताको रक्षार्थ खटिने गोर्खा भनिने नेपालीहरु समान न्यायका लागि बर्षौदेखि लडिरहेका छन् | पृथ्वीनारायण शाहले भने जस्तो चतुरता देखाउदै किस्ताबन्दीमा केही दिएको पनि भन्छन्| नेपाली समाजलाई फुटाउन राष्ट्रलाई कित्ता कित्तामा बाँड्न त्यहाँका कथित इतिहासकार, समाजशास्त्री वा मानाव शास्त्रीले के कति घृणा सामग्री तैयार गरेका छन् र त्यसमा फुटाउ र शासन गर भन्ने नीतिलाई सघाउ पुर्याउन के के लेखेका छन् त्यसको अनुसन्धान हुन् जरुरी छ |  
युद्ध नीति
पृथ्वीनारायण शाहको समय मूलतः नेपाल एकीकरणमा खर्च भएको थियो | अंग्रेजहरु पाटनलाई प्रयोग गरी सो अभियान रोक्न चाहन्थे | उनीहरुले नेपालमाथि उनकै जीवन कालमा आक्रमण गरेको कुरा पनि उल्लेख भै सकेकोछ | तथापि पृथ्वीनारायण शाह जाई कटक नगर्नु झिकी कटक गर्नु भन्ने पक्षमा रहेको देखिन्छ | अर्थात् आफु निहु खोजेर लडाई गर्न नजाने तर कोही लडाई गर्न आए लड्ने (कटक ) भन्ने उनको युद्ध नीति रहेको देखिन्छ |
बिदेशीहरुसंग सतर्क रहनुपर्ने
पृथ्वीनारायण शाहले परराष्ट्र नीति युद्धसंग मात्र सम्बन्धित थिएन| उनले शान्ति सम्बद्द परराष्ट्र सम्बन्ध बारे पनि चर्चा गरेकाछन् | उनले बिदेशी  महाजनलाई खास ठाउ (गोडप्रसाह) भन्दा माथितिर आउन  दिन नहुने बताएका छन् | त्यस्ता बिदेशी महाजन नेपालमा आएमा तिनीहरुले नेपालीलाई कंगाल पार्छन् भन्ने उनको सोच थियो | यसको आसय नेपाल आत्मनिर्भर हुनुपर्छ र नेपाली परजीवी र परमुखापेक्षी हुनु हुदैन भन्ने हो |अझ आफुसंग लडाई लड्नेका महाजनलाई भित्राउदा उनले अरु खतरा पनि देखेका हुन सक्छन् | उनको कालमा पादरीको भेषमा आएका दुइजना जासुसका कारण समस्या भोगेका हुनाले पनि उनलाई यो सन्देश दिनु परेको हुनसक्छ |
आन्तरिक उत्पादन बढाई परनिर्भरता घटाउनु पर्ने
बिदेशी उत्पादनको प्रयोग प्रति पृथ्वीनारायण शाहको दृष्टिकोण निकै कडा देखिन्छ | उनले दिव्य उपदेशमा देस (विदेश)का कपडा लगाउन मनाही गरिदिनु भनेका छन् | त्यसको विकल्पमा आफ्ना देशका कपडा बुन् जान्नेलाई नमुना देखाई कपडा बुन्न लगाउनु भन्ने उनको सन्देश छ | यस्तो किन गर्ने भन्ने सन्दर्भमा उनको धारणा स्पस्ट छ |उनी अगाडि

भन्छन्- यसो भयो अर्थात आफ्नै मुलुकमा उत्पादन बढ्यो भने मुलुकको नगद विदेशमा जाँदैन | यसरी उत्पादन बढाई राष्ट्रिय अर्थतन्त्रलाई आत्मानिर्भर बनाउन सके त्यसको सकारात्मक असर पररास्ट्र सम्बन्धमा पर्ने उनको आसय रहेको अनुमान गर्न सकिन्छ| आज मगन्तेको विकल्प हुदैन भन्ने सुन्दा सुन्दै पनि परजीवी अर्थतन्त्र प्रति हाम्रा धेरै मानिसहरु लहसिने गरेको पाइन्छ | हामी आफ्नो अर्थतन्त्र ध्वस्त पार्न सक्रिय किन छौ भने हामी विश्व ब्यापिकरणका परम हिमायती हौ | अझ लोभीपापीहरु त् पराइको झोलमा चौटा मात्र देख्छन्| विदेशीलाई लखेट्न महात्मा गान्धीले बिदेशी बहिस्कार गर्ने , चर्खा चलाउने र नून आफै उत्पादन गर्ने अभियान चलाएका थिए | पृथ्बीनारायण शाहको यो धारणा निकै पुरानो देखियो | पृथ्वीनारायण शाहले भनेजस्तो गरी आत्मनिर्भर भएको भए आज हाम्रो यो गति र मति हुनुपर्थ्यो र ?
 वैदेशिक ब्यापारलाई आफ्नो पक्षमा पार्नु
   पृथ्वीनारायण शाहले आफ्नो देशमा उत्पादन बढाई बैदेशिक व्यापार गरेर राज्यको ढुकुटी भर्नु पर्ने मार्ग देखाएका छन् | उनको कथन छ – आफ्ना देशको जिनिस जडिबुटी देस लैजानु (बिदेशमा बेच्नु) नगद खैचि राखनु (राष्ट्रको आम्दानी बढाउनु ) र प्रजा मोटा भया दरबार बलियो रहन्छ ( जनता सम्पन्न भए मात्र राष्ट्र बलियो हुन्छ )|



No comments:

Post a Comment