लिच्छवीकालीन
गुठी व्यवस्था
- मोहन बन्जाडे
पृष्ठभूमि
संसारका बिभिन्न मुलुकमा कतिपय प्रणाली त्यहाँको इतिहासका निरन्तरता
हुन्छन्| तिनमा त्यहाँको समाजको प्रभाव हुन्छ| कति पश्चिमाहरु सामाजिक संझौतामा
विश्वास गर्छन् र जनताले सबथोक राज्यलाई सुम्पेर सरकारलाई आफूमाथि शासन गर्ने
अधिकार दिएको मान्छन्| उनीहरु मध्ये कति क्रिस्चियन डिस्कभरीमा विश्वास गर्छन् र
जग्गा जमीन र सिङ्गो महाद्वीपसम्म आफूले पत्ता लगाएको र आफ्नो भएको भ्रम फैलाउथे| सायद
मनमा त्यो धङधङी पाल्ने अझै हुन सक्छन्| यूरोपमा बसी पादरीले जारी कागज देखाएर
दक्षीण अमेरिकामा जमीन हडपेका उदाहरण पनि सार्वजनिक छन्| जमीन माथि आँखा लगाउने चलन
नौलो र हाम्रो मात्र होइन|
नेपालमा केही वर्ष यता यहाँ कार्यरत विदेशी संस्था नेपालका धर्म, पद्दति,
सभ्यता, संस्कृति र आफ्नो साथ नदिनेको व्यक्तित्व समाप्त गर्न निरन्तर लागेका छन्|
यसको लागि क्षेत्रीय, जातीय र पारिवारिक स्तरसम्म फुट पैदा गराइदै छ| नेपालका
कानून नीति, पाठ्यक्रम र पाठ्यपुस्तक माथि प्रभाव पार्ने क्रम जारी छ| उनीहरु वाद, सिद्धान्त, परिवर्तन, रुपान्तरण र
दयाको आड लिएर वादमाथि विश्वास हावी गराउदै छन्| यस्तो पृष्ठभूमिमा कानून, नीति र
पाठ्यक्रम मसौदा गर्ने, स्वीकृत वा पारित गर्नेहरु मध्ये दाताजिवीहरु तोकिएको परिणाम
प्राप्तिको दवावमा रहने र राष्ट्रसापेक्ष
काम गर्न खोज्नेहरु दवाव रोक्ने तनावमा रहनुपर्ने अवस्था छ|
गुठी नेपालको अध्यात्मिक, सांस्कृतिक, संस्कारजन्य र लौकिक उन्नयन तथा बिकासमा
जनसहभागिता र स्थानीय स्वायत्तताको निम्ति
अगाडी आएको हो| नेपालमा बाटोमा पानी राख्ने, बास बस्न पाटीपौवा बनाउने, वन
जोगाउने, स्वास्थ, शिक्षा, संगीत, वातावरण रक्षा, सरसफाई, चाड पर्व मनाउनेदेखि जात्रा
चलाउने सम्मका काममा गुठी संलग्न भएको पाइन्छ|
व्यक्ति एक्लैले गर्न सम्भव वा पर्याप्त नहुने काम गुठी मार्फत
सामुहिकतामा वा संगठित भै गर्न गुठीले सिकाएको देखिन्छ|
गुठी उदात्त मन र दान तथा अर्पण जस्तो पवित्र भावको उपज थियो| यो अधिकार
खोज्न, नाफा कमाउन आर्थिक
लाभ लिनदिन भनेर शुरु गरिएको देखिदैन| सम्पति आर्जन नभई सम्पदा बिकास र संरक्षण तथा
अधिकार खोज्ने भन्दा कर्तव्य निर्वहन यसको निहितार्थ रहेको पाइन्छ|
यो आलेखमा लिच्छवीकालिन गुठी व्यवस्था संबन्धमा सिमित रही चर्चा गरिनेछ|
अभिलेख- व्यवस्था
लिच्छवी कालमा श्रद्धालु राजा र प्रजाले धार्मिक कुरा चलाउन र लोकको हित
हुने कामको लागि अर्पण गरेको चलअचल सम्पतिलाई नियत रुपमा उपयोग गरी निश्चित
उद्देश्य प्राप्त गर्न गोष्ठी (गुठी शव्दको पूर्वरुप) खडा गरिएका हुन्थे| लिच्छवी
कालको जनजीवनमा गोष्ठीप्रथा अभिन्न अंग बनेको थियो| त्यसबेला गोष्ठी परिवारको अधिन
रहेको र नियत गुठियारलाई सुम्पेको गरी दुई किसिमका थिए| पारिवारिक गुठी परिवारका
सन्तान दरसन्तानको विवेकबाट चल्थे| गुठियारलाई सुम्पेका गुठी दाताका सन्तानको अधिन
नरही नियत व्यक्ति र निश्चित व्यवस्थाका आधारमा चल्थे| (धनवज्र वज्राचार्य,लिच्छवी कालका अभिलेख, २०३०
पृष्ठ १५७)
लिच्छवी कालमा धार्मिक र शिक्षा, स्वास्थ्य आदि लौकिक कामकुरा चलाउन
गोष्ठीहरु खडा गरिएका थिए| आवश्यक कुरा मिलेर गर्ने नै गोष्ठी प्रथाको आधार हो|
गोष्ठी शव्दबाट गुठी बनेको हो| त्यसबेला धार्मिक र लौकिक काम चलाउन राजा प्रजाले
चलअचल सम्पति दान गर्थे| आर्थिक सहायताबाट गोष्ठी चल्थे| गोष्ठीका सदस्यलाई
गौष्ठिक भनिन्थ्यो| लिच्छवी कालका शासकले यस्ता संघट्टनलाई सुविधा दिई प्रोत्साहन
गर्थे| (वज्राचार्य २८६)
लिच्छवी कालमा लौकिक गोष्ठीको रुपमा पानीय गोष्ठीले खाने पानीको व्यवस्था मिलाउने काम गर्थ्यो| जात्रामेला
आदिमा पानीको व्यवस्था गर्न गोष्ठी सक्रिय हुन्थे| मछिन्द्रनाथको जात्रामा पानीको
व्यवस्था मिलाउने काम आजसम्म पनि गुठीको तर्फबाट हुन्छ|(ऐजन)
स्थायी रुपमा पानीको बन्दोबस्त गर्न धारा बनाउने, तिनको रेखदेख र मर्मत
गर्ने काम प्रणाली गोष्ठीले गर्थ्यो|(ऐजन)
वग्गी, गाडा र यातायात सम्बन्धी सुबिधा मिलाउन प्रवहण गोष्ठी, कुस्ती वा
मल्लयुद्ध सम्बन्धी व्यवस्थाको लागि मल्लयुद्धगोष्ठी, मूर्ति बनाउन अर्चागोष्ठी,
बाजाको बन्दोबस्त गर्न वादित्रगोष्ठी, ध्वजको वन्दोवस्त गर्न ध्वजागोष्ठी, वत्तिको
व्यवस्थाको लागि प्रदीप गोष्ठी, धूपको लागि धूप गोष्ठी थिए| वेद अध्ययनका लागि
तैत्तिरियशाखागोष्ठी थिए भने ब्राह्मण गोष्ठी जस्ता वर्ग विशेष सम्बन्धी गोष्ठी
पनि थिए|(ऐजन २८६,२८७)
मिलेर काम गर्ने भावनाले नै गोष्ठी प्रथाको जन्म दिएको हो| मिलेर
गर्नुपर्ने धेरैजसो कुरा (काम) गोष्ठीद्वारा गरिएको देखिन्छ| (ऐजन२८७)
वाजा वजाउने काम एक दिनमा सिक्न सकिदैन| त्यसकोलागि तालीमको व्यवस्था
गर्न वाजा गुठी खडागरी वाजा बजाउन सिकाउने व्यवस्था गरिएको हो| ध्वजा घुमाउने
तरीका सिकाउन, धूप बनाउने कला सिकाउन, मूर्ति बनाउन सिकाउन केही वर्ष कै समय लाग्ने
हुनाले त्यो सिकाउन भिन्नाभिन्नै गोष्ठीको
व्यवस्था भएको हो| (ऐजन २८७)
आरोग्यशाला गोष्ठी सार्वजनिक प्रकृतिको औषधालय हो र त्यसमा सबभन्दा धेरै
रकम छुट्याएको देखिन्छ| राजा नरेन्द्र देवको पालामा पनि विरामीहरुको उपचारका लागि
गुठीहरु रहेको पाइन्छ| चिनीया राजदूत वाङयुनचेको वर्णनमा पनि नेपालीहरु औषधिको
काममा सिपालु रहेको भन्ने कुरा परेको छ| (ऐजन २८८)
त्यसबेला नवग्रह भित्रका गोष्ठीका खेतहरूमा मालपोत मिनाहा गरिएको छ| त्यसबेला सरकारले गोष्ठीहरुलाई प्रोत्साहन
गर्थ्यो| अंशुवर्माले गोष्ठीका सदस्यहरुको
सम्मानकोलागि केही रकम नियत गरिदिएका थिए| (ऐजन २८८)
धर्म, स्वास्थ्य. शिक्षा आदि जनजीवनमा आवश्यक कैयौ कुरा त्यसबेला
गोष्ठीद्वारा गरिन्थ्यो| जनताको सुविधा होस्
र व्यवस्थापूर्वक काम सम्पन्न होउन भनी अंशुवर्माले गोष्ठीहरुको व्यवस्था
मिलाई दिएका हुन्| ( ऐजन २८८ थप पूर्णिमा अंक १३)
लिच्छवी कालमा गोष्ठी आदि संघ संगठन मार्फत जनता निकै संगठित थिए| जनता
यसरी संगठित भएकाले शासकले जनतालाई हात लिन आवश्यक ठानी जनतालाई स्वायत शासन
सम्बन्धी अधिकार सुम्पदै जाने नीति लिए| यसले तत्कालिन प्रशासनमा नयाँ मोड नै
ल्यायो| (पान्चाली शासन पद्धतिको ऐतिहासिक विवेचना धनवज्र वज्राचार्य, टेकबहादुर
श्रेष्ठ, २०३५, पृ १०)
त्यसबेला गोष्ठीहरुको सुव्यवस्था गरी समाजलाई संगठित गरियो| (वज्राचार्य र
श्रेष्ठ पृ १४) लिच्छवीकालमा गोष्ठी आदि स्थानीय संगठन मार्फत जनता संगठित भएकाले
शासकले जनताको मुख हेर्नुपर्थ्यो र जनता नभडकिउन भनी शासकले दृष्टि दिई रहनु
पर्थ्यो| (ऐजन पृ२३) गोष्ठी जस्ता जनताका संगठनहरुलाई हरकिसिमले प्रोत्साहित गर्ने
नीति अंशुवर्माको थियो| (ऐजन ८८)
लिच्छवी कालको समाजमा धार्मिक र सामाजिक खालका बिभिन्न काम गर्न गोष्ठी
संस्था खडा गर्ने र चलाउने विशेषता थियो| लिच्छवीकालिन लेलेस्थित शिलालेख हेर्दा
त्यसबेलाको समाज कति व्यवस्थित थियो भन्ने कुरा अन्दाज गर्न सकिन्छ| अंशुवर्माको
पालामा गुठियारले मुद्रा (रकम) पाउने व्यवस्था थियो| नरेन्द्र देवको पालाको देवपाटन
नवगृह वस्तीमा रहेका गोष्ठीहरुमा चाट र भट (सरकारी कर्मचारीका पदनाम ) हस्तक्षेप
गर्न नपाउने वन्देज पनि बाँधिएको देखिन्छ| गोष्ठी लिच्छवीकालिन महत्वपूर्ण
गैरसरकारी संस्थाका रुपमा रहेका देखिन्छन् र यिनको वास्तविक र विश्लेषणात्मक
इतिहास तयार पार्ने काम बाँकी छ|( नेपालको वैधानिक परम्परा, डा. जगदीशचन्द्र
रेग्मी २०३६ पृष्ठ ५८-६०))
सिक्न सकिने पाठ
१.
गुठी पवित्र दान र कल्याणको भावनाबाट स्वेच्छाले
अर्पण गरिएको चलअचल सम्पति हो| यो कसैको सम्पति खोसेर र राजाज्ञाद्वारा जबर्जस्ती
राख्न लगाएको भन्ने पाइदैन| स्वेच्छिक दान र अर्पण हुँदा यो शोषण, अन्याय र
अत्याचारको माध्यम थिएन|
२.
गुठी जनताको स्वतःस्फुर्त भावनाको परिणाम हो| खासगरी
व्यक्तिले एक्लै गर्न नसक्ने वा पर्याप्त नहुने काम गर्न सामुहिकता र संगठनात्मक रुपमा
कामगर्न गुठी संस्था खडा गरिएका हुन्|
३.
गुठी जनताले आफ्नै विवेकमा शुरु गरेको जन
सहभागितामा विकास गर्ने संगठित उपाय हो| यो स्थानीय स्तरमा कामगर्न सरकारको मुख मात्र
नताक्ने नागरिक मनोविज्ञानको उपज र विकासको सामाजिक चेत हो |
४.
गुठी कसैलाई अधिकार दिन र कसैको अधिकार खोस्न शुरु
गरिएको होइन| यो कर्तव्य अभिमुखी अवधारणा हो|
५.
गुठी सरकारी संयन्त्रको बुद्धी विवेकका उपज नभई
जनताले जनस्तरमा सामाजिक र अध्यात्मिक प्रयोजनका लागि खडा गरेका हुन्|
६.
सरकारले गुठी जस्ता संस्थालाई आफ्नो राजश्व बढाउने
वा त्यसबाट नाफा कमाउन दिने गरेको देखिदैन| गुठी सरकारले आफै वा कर्मचारीबाट
चलाउने संस्था होइनन्|
७.
गुठीमा सरकारले हस्तक्षेप नगर्ने नीति अन्तर्गत
गुठीका बिषयमा सरकारी कर्मचारीलाई (चाट भट) प्रवेश निषेध नै थियो| पारिवारिक गुठी परिवार र नियत गुठी
गुठियारले चलाउथे| दुवै गुठीको सम्पतिमा
सरकारले आँखा लगाउनुको सट्टा सहयोग गरेको देखिन्छ|
८.
गुठीयारलाई सरकारले मर्यादा मात्र होइन आर्थिक
सहायता पनि दिने गर्थ्यो|
९.
गुठीको रुपमा स्थानीय नागरिक संस्थाले लोक
कल्याणकारी काम गरेकाले राज्यले तिनलाई सहयोग समर्थन र प्रोत्साहन गरेको हो|
१०.
गुठी कामको प्रकृति अनुसार धार्मिक र लौकिक दुई प्रकारको हुन्छ| धार्मिक गुठी भनेका मठ, मन्दिर र पूजा जात्रा, पर्व, ध्वजा आदि सम्बद्ध
हुन् भने शिक्षा, स्वास्थ्य, यातायात, वन, वातावरण, पानी आदि सम्वद्ध गुठी लौकिक
गुठी हुन् | यस्तै गुठी संचालनको हिसाबले परिवारले चलाउने निजी र नियत गुठियारले
पूर्वनिर्धारित व्यवस्था बमोजिम चलाउने गरी दुई किसिमका थिए|
११.
गुठीमा राजा / शासकले पनि सम्पति दान गर्थे तर गुठीको सम्पतिमा आँखा लगाउदैनथे|
१२.
गुठीको आम्दानीबाट राज्य कोष बढाउने वा राजनीतिक
लाभ लिने आसय रहेको देखिदैन|
१३.
गुठीको प्रोत्साहनका लागि मालपोत मिनाहा गरेको
देखिन्छ|
१४.
गुठीका कारण समाज व्यवस्था सुचारु र व्यवस्थित
थियो|
१५.
गुठीले मानिसमा परोपकार, सेवा भाव र दानशीलता
अभिवृद्धि गर्न मद्दत गरेको थियो|
१६.
स्वास्थ संस्था खडा गरी स्वास्थ्य सेवालाई
प्राथमिकतामा राखिएको थियो जसको प्रशंसा चिनीया राजदूतले पनि गरेका थिए|
निष्कर्ष
गुठीमा
हाम्रो आफ्नै मौलिकता छ किनकि यसको लामो जरो यहीं छ| गुठीको आत्मा
अध्यात्म, अर्पण, संस्कृति, संस्कार, स्थानीय स्वायत्तता र विकास हो| यो सरकारले
लादेको र राजश्वका लागिसम्म आँखा लगाएको क्षेत्र
होइन| त्यसैले अहिले पनि संविधानले संचित कोषबाट बोलीचालीमा देवश्व भनिने गुठी
रकम अलग गरेको छ| गुठी जनताले स्वेच्छाले सामाजिक कल्याणको लागि मिलेर काम गर्ने
संस्थागत प्रबन्ध हो जसलाई सरकारले सहयोग, सम्मान र प्रोत्साहन गरेको भने हो| यो
शोषणको पर्याय होइन| यो सम्पति अर्पण गरेर शुरु भएको हो खोसेर होइन|
गुठीका बिषयमा नीति वा कानून बनाउदा
गुठीको प्रकृति, प्रकार र मर्मलाई नजरअन्दाज गर्न खोजे समस्या आउन सक्छ| गुठीको
जरामा मोहियानीको अवधारणा थिएन| यो पछि गुठी राख्न छोड्दै गए पछिको र सम्पदालाई
सम्पति मान्न थाले पछिको समस्या हुनसक्छ| गुठी जग्गा कमाउनेहरुका समस्या समाधान
हुनु मानवीय पक्ष अवश्य हो| खासखास
अन्तरालमा गुठीको जग्गामा स्वामित्व दिदै गए एकदिन गुठी लोप हुने सम्भावना हुन्छ| गुठीको
जरो मासेर अधिकार स्थापना गर्न खोज्दा त्यसले पक्कै तरंग पैदा गर्छ| गुठी महन्त र
गुठीयारले दुरुपयोग गर्न पाउनु हुदैन| गुठी परिवार र समाजको कल्याणको निम्ति
राख्ने परम्परा रहेकाले यसको प्रयोग कल्याणसापेक्ष रहनदिनु कल्याणकारी नै हुनसक्छ|
लिच्छवीकालीन व्यवस्थाले यतै संकेत गरेको देखिन्छ|
No comments:
Post a Comment