Friday, March 6, 2020




                               सांस्कृतिक आक्रमणका प्रकृति र औजार
                                      -मोहन बन्जाडे
साम मरिसका अनुसार पश्चिमाले मूलतः विश्वास गर्ने एकल पुस्तकमा बालिकाहरुको ब्यापारलाई अनुमति छ| दासतालाई गर्वको रुपमा लिइएको छ| अरु विश्वासका मानिसहरुलाई मार्न हुने खुला छुट छ| अहिले पनि गर्भपतन र परिवार नियोजनको साधनको प्रयोगको विरोध गरिन्छ तर आममानवहत्याको भने विरोध छैन|(लेटर टु क्रिस्चियन नेसन )
पश्चिमा एकल विश्वास अनुसार पृथ्वी इस्वी संवतको शुरुवात भन्दा करिव चारहजार वर्ष अगाडी मात्र उत्पन्न भएको हो| सो मत अनुसार पृथ्वी अहिले करिब सवा छ हजार वर्षको मात्र भयो| अहिले वैज्ञानिकहरुले पृथ्वी लाखौ वर्ष पुरानो भन्न थालेपछि एक दिनलाई एक हजार वर्ष भन्ने व्याख्या अगाडी सार्ने गरेको पाइन्छ| तर सो विश्वास सम्बद्ध पुस्तकमा वनस्पति सिर्जना गरेको दिनभन्दा पछि सूर्य वा प्रकाशको सृष्टि गरिएकाले हजारौं बर्ष वनस्पति प्रणाली कायम रहन नसक्ने मानिन्छ| यसले त्यो समय गणना चौविस घण्टाको एक दिन वा आजको एकदिनलाई एक हजार वर्ष मध्ये कुनै कुरा मान्दा कुरो नमिल्ने बताइन्छ| (ट्रुथ इन जेनेसिस डट कम, २०१३)
एकल किताब अनुसार मृत्युको शुरुवात एडम्सको पापपछि भएको हो| अर्थात् सो समय अघि मृत्यु हुँदैनथ्यो| मृत्युको कारण मौलिक पाप हो| ( ऐजन) तर आज त्यो समय अघिका अनेक मानव निर्मित सभ्यता फेला परेका छन्| तर मृत्युको जन्म पूर्वका (२०१९ वर्ष)ती मानिस जीवित भने भेटिएका छैनन्|
यस्तै विश्वासका कारण पूर्वीय दर्शन, सभ्यता, शास्त्र र अन्य  प्रमाणलाई छ हजार वर्ष भन्दा पुरानो मान्न कट्टरपन्थीहरुलाई समस्या हुन्छ| उताका वैज्ञानिक र एथिस्ट भने पृथ्वीलाई छ हजार होइन लाखौं वर्ष पुरानो मान्दछन्|
कट्टरपन्थीहरू सबै आविष्कार आफूहरुले गरेको देखाउन चाहन्छन्| अमेरिका कोलम्बस र इण्डिया भाष्को डि गामाले पत्ता लगाएको मान्छन्| जबकि युरोपियन पुग्नु अघि अमेरिकामा मानिस, सभ्यता र जीवन पद्दति सुचारु थिए| बरु युरोपियन कट्टरपन्थी अमेरिका पुगेपछि त्यहाँका निवासी माथि “कम्मलमा मलेरियाका किटाणु राखेर” र “तालिमप्राप्त कुकुरबाट टोकाएर” मार्ने कार्यको आविष्कार गरियो|
भास्को डिगामा भारत आउनुपूर्व  यस भेक र उपमहाद्वीपमा अनेक सभ्यता, संस्कृति,ज्ञान थिए| यो उपमहाद्वीप उनीहरुको आविष्कार नभई तिनका उपनिवेशको क्रुरता, अत्याचार, सामाजिक बिघटन र सांस्कृतिक आक्रमणको प्रयोगशाला भने अवश्य बन्यो| उपनिवेश नबनेका मुलुक पनि तिनको प्रत्यक्ष र सांस्कृतिक आक्रमणको शिकार बने| नेपाल, भारत, चीन, श्रीलंका, अफगानिस्तान, भियतनाम, क्याम्बोडिया, फिलिपिन्स, चीन आदि देश कहिले भौतिक हतियार, कहिले फुटाउ र शासन गरको हतियार र कहिले धर्म परिवर्तन एबम सांस्कृतिक आक्रमणको आमसंहारको शिकार बनेका र बन्दै रहेका छन्|  
पश्चिमा कट्टरपन्थीका अनुयायीहरु पूर्वीय दर्शनसम्बद्ध शास्त्र र दार्शनिकलाई अपमान गर्ने अभियानमा देखिन्छन्| खासगरी संस्कृत र स्थानीय अन्य भाषाको अध्ययन बिना शास्त्र र व्यक्तित्व माथि आक्रमण गर्न सिग्मन्ड फ्रायड वा कार्ल मार्क्सका सूत्रको प्रयोग गर्ने गरिन्छ| पूर्वीय सभ्यता र संस्कृति विरुद्ध काम गर्न स्थानीय स्तरमा भाडाका सिपाही उत्पादन गरी प्रयोग गरिन्छ| यसबारे राजिव मल्होत्राको पुस्तक एकेडेमिक हिन्दूफोविया (भ्वाइस अफ इण्डिया न्यु दिल्ली, २०१७) मा विस्तृत चर्चा छ| यस आलेखमा सो पुस्तकबाट केही सन्दर्भ साभार गरिनेछ|
निद्रायोगलाई “लुसिड ड्रिमिंग”, विपश्वनालाई “माइन्डफुल्नेस मेडिटेसन” योगलाई “रिल्याक्सेसन रेस्पोन्स” भनी नयाँ खोलमा राखी व्यापार गर्ने गरिएको छ| पूर्वीय दर्शनका कुरा जोडेर नयाँ “उदार क्रिष्टियानिटि” भन्ने उपपन्थको थालनी गरिएको छ| (पृष्ठ २५) आयुर्वेद्लाई अवेदा भनी पूर्वीय आरोग्य र उपचार पद्दतिलाई पचाउनेकार्य हुँदैछ| अरु पद्दतिमा बिकसित ज्ञानलाई आफ्नो भाषाका प्राविधिक शब्दबाट नामाकरण गर्ने अभियान जारी रहेको छ|
अरु पद्दतिलाई बद्नाम वा समाप्त पार्न नयाँ खाले “ट्रिनिटी” अभियान शुरु भएको छ|  यो ट्रिनिटीमा कथित बुद्दीजिवी (बुद्धी बेचेर बाँच्ने), पादरी र व्यापारी संलग्न छन्| बुद्धिजीवीले देश संबन्धी सूचना संकलन गर्ने, पादरीहरूले “स्प्रिचुयल एनेक्सेसन’ प्रवर्धन गर्ने र व्यापारीले नाफा उठाउने प्रवृति बढेको छ| स्थानीय दाताजीवीहरुले प्रायोजित तथ्यांक संकलन गर्ने, प्रायोजित विश्लेषण गर्ने र इच्छित निष्कर्ष निकाल्छन्|(पृष्ठ २२)
शिक्षा पद्दतिमाथि आक्रमण गर्न म्याकुलेले १८३५ मा लादेको रणनीतिलाई निरन्तरता दिइन्छ| यो रणनीति अन्तर्गत आफ्नोपन, स्वाभिमान, नैतिकता, परिवार र समाजसम्बद्ध भन्दा विदेशीले बौद्धिक नियन्त्रण गर्न सक्ने कुरालाई नै शिक्षा भनी सिकाउने गरिन्छ| यो उपक्रमले मुलुकमा भाडाका सिपाही उत्पादन गरी पराइका कुराको प्रवर्धन र आफ्ना कुराको अपमान गर्छ| यस्ता काममा “सबल्टर्न”, “उत्तरधुनिकता”, “प्रगतिशीलता” जस्ता शब्द अघि सारिन्छ| अरु सभ्यता र संस्कृति भत्काउन फ्रायड र मार्क्सको चश्माको प्रयोग गरिन्छ,गराइन्छ|(२७-२९)
आफ्नो अध्ययन पद्दतिमा प्राचीन ग्रीक रोमन पद्दतिको अध्ययन गराई आफ्नो जरो त्यहाँसम्म रहेको बताईन्छ| अरिस्टोटल, प्लेटो, सिसेरो, जुलियस सिजरको अध्ययन गराइन्छ| तर अरु भूगोलका पुराना ऋषि, दार्शनिक र विद्वानका कुरा ती देशमा पढ्नु पढाउनुलाई कट्टरपन्थ, साम्प्रदायिक र असहिष्णु आदि भनी अपमान गराइन्छ| संस्कृत, पाली आदि भाषामा लेखिएका पाणिनी, पतंजली, बुद्ध, नागार्जुन,कालिदास पढ्नु पढाउनुलाई आधुनिकता विपरित भन्न लगाइन्छ|(३८-४१)
श्रीलंकाका विद्वान सुसान्था गुणतिलकेले दाताले पालेका गैरसरकारी संस्थाले श्रीलंकालाई ध्वस्त पारेको कुरा बताएका छन्| दाताजीवी संस्थाले प्रायोजित कार्य गर्ने, प्रोक्सीको रुपमा काम गर्ने र यो प्रवृत्ति एक किसिमको दुरनियन्त्रित नवउपनिवेशवाद भनेका छन्| कतिपय यस्ता संस्था “फिफ्थ कोलम” नै बनेका छन्|(७२-७४ )
पूर्वीय धर्मशास्त्र र दर्शनबारे बरोबर विष वमन गर्ने एक लेखिकाका अनुसार  ‘कतिपय अमेरिकीले सोचेजस्तो भागवत गीता राम्रो किताब होइन| महाभारतभरि कृष्णले मानिसलाई युद्ध जस्तो ज्यानमारा र स्वविनासको व्यवहार देखाएका छन्| गीता बेइमान किताब हो|(९०) युद्ध पूर्वको वनवास र गुप्तवास, पाँच गाउँ मात्र दिए युद्ध नगर्ने, युद्धका नियम, युद्धका कारण जस्ता बिषयमा चर्चा गर्नु भन्दा कृष्णलाई युद्धपिपासु भनी उल्लेख गरिनुलाई मल्होत्राले यो किताबमा आधार र कारण सहित जबाफ दिएका छन्| 
कतिपय पश्चिमाले पूर्वीय शास्त्र र दर्शन विरोधी संगठित अभियान चलाएका छन्| श्रीरामकृष्ण, शिव, गणेश आदिलाई फ्रायडको आँखाबाट अपव्याख्या गरी यौनिक लान्छना लगाउने गरेका छन्| खासगरी श्रीरामकृष्णको विरुद्ध लेखेको सामाग्री बारे स्वामी त्यागानंदले जबाफ दिएपछि अर्को संस्करणमा केही सच्याइएको प्रसंग पनि छ| उता संस्कृत भाषाको ज्ञान बिना संस्कृतमा लेखिएका शास्त्रको अर्थ गर्ने, शब्दकोशमा नभएको अर्थ लगाई व्याख्या गर्ने, आधिकारिक जानकारी नराख्नेसंग सूचना लिएर लेख्ने, अरुको सभ्यता होच्याउने दुरासय राखेर लेख्ने, आफूलाई गोरा वा गोराको भक्तजन पुष्टि गर्न लेख्ने, बिक्रीकालागि अन्टसन्ट लेख्ने, आफ्नो विश्वास प्रणालीका खराबी र कमजोरी लुकाउन अरुलाई आक्रमण गरी लेख्ने, आफू आफ्नो परिवार र समाजबाट पिडित भएको कुण्ठा अरुलाई गाली गरेर मेटाउन लेख्ने प्रवृति प्रबल छ| बहुआयामिक पक्षमा प्रवेश गर्न नसकी लेख्नेले बील क्लिन्टनको राष्ट्रपति कालमा भएका सबै कुरा वास्ता नगरी मोनिका लेवेन्सकीको प्रसंगमा मात्र लेखे जस्तो गरी पूर्वीय शास्त्रमा वर्णित देवी देवता बारे उल्लेख गर्ने गरेका छन्|(९०-११४)
देवी कालीका विरुद्ध लेखिएको अपमानजनक, भ्रामक र प्रायोजित पुस्तक बारे हिन्दू समाजले प्रतिक्रिया जनाएकोमा अझ अपमानजनक तरीकाले उत्तर दिएको देखिन्छ| गलत कुराबारे प्रतिक्रिया दिनुलाई हिन्दू समाजको “मनोवैज्ञानिक विमारी”को उपज भन्ने विशेषण दिइएकोछ| अझ “हिन्दू मानिसहरुमा हुने कमजोरीको मनोवैज्ञानिक जाँच गर्नुपर्ने” भनिएको छ| (११४) गलत कुराको प्रतिवादलाई संसारभरका हिन्दुको मानसिक कमजोरी देख्ने प्रवृत्ति कस्तो रोग हो? युरोपका पेगन, अमेरिकी र अष्ट्रेलियाका मूलबासी, भियतनामका बुद्धमार्गी, उपनिवेशकालमा हिन्दू भारतीय माथि लादिएका भोकमरी र गरिएका अत्याचार, कालो वर्णका अफ्रिकी माथि गरिएका क्रुरता र शोषण, नरसंहार कुन मानसिक सन्तुलनका उपज थिए त? यस्ता प्रश्न उठाए असहिष्णु भन्ने, बहिष्कार गर्ने र छलफल गर्न नचाहने प्रवृति रहेको छ|
अरुका सभ्यता संस्कृति समाप्त गर्न संगठित आक्रमण गर्दै राक्षसी रुप दिइन्छ| जस्तो :- विक्का (Wicca) धर्म समाप्तगरी त्यसलाई अपमान गर्न विक्ड(wicked) शव्द पनि जन्माइयो| रोमानियामा ‘ड्राकुला’ राम्रा शासक थिए तर तिनका शत्रुले  प्रचार गरेअनुसार अहिले ड्राकुला भन्नाले एकदमै खराब भन्ने बुझिन्छ| ‘ठग’ भारतमा अंग्रेजसित कडा र आक्रामकरुपमा लडेको जाति थियो| त्यसलाई अंग्रेजले जन्मजात अपराधी बनाए र “ठग” भन्ने अपराधबोधक शब्द  बन्यो| एभान्जलिस्टहरुले हिन्दू देवीदेवतालाई खुलेयाम राक्षस (डेमन) भन्ने गर्छन्|(२२२) पूर्वीय सभ्यता र संस्कृति  बारे किताब नै लेखी लेखाई प्रायोजित र संगठित रुपमा अपमान गर्ने गरिएका कुरा सो किताबका ठाउँ ठाउँमा उल्लेख छ| गलत कुरा छापेको भनी प्रमाण सहित खण्डन गरेका कारण प्रकाशकले बजारबाट किताब फिर्ता लिन खोज्दा सो प्रकाशकलाई बहिष्कार गर्न आह्वान गरिएको उदाहरण दिइएकोछ| आफ्नो रिलिजनको कमी कमजोरी बारे उल्लेख गरे अपराधी ठान्ने र अरुका बारे जे पनि लेख्न बोल्न पाइने ती वौद्धिक आततायीको आसय रहेको कुरा उल्लेख गरिएकोछ|  
दश आदेश चाहिँ महान तर पंचशील निरर्थक तथा प्लेटोको दासता ठीक र वृहस्पति र नारदको न्याय कानून खराब भन्न लगाइन्छ| हब्स, लक र रुसोको सामाजिक संझौता ध्रुवसत्य मान्नुपर्ने तर कौटिल्यको अर्थशास्त्र शोषणको साधन भन्नु पर्ने बनाइन्छ| अंग्रेजीमा पढ्नु आधुनिक र संस्कृत, पाली वा अन्य स्थानीय भाषामा पढ्नु पछौटेपन हुन्छ| विद्द्यालयमा मातृभाषा बोले दण्ड दिने शिक्षा प्रणाली र शिक्षक खडा गरिन्छ| सेन्ट जेबियर्स, सेन्ट मेरिजमा रिलिजियस चिन्ह भएको लोगो राख्नु सेकुलर हुन्छ तर सरस्वती वन्दना गर्नु बहुमतको ज्यादती हुन्छ|
नारीवाद पढाउनु पर्छ तर त्यसमा घिसारेर मारिएका पेगन महिला, महिलालाई अस्तित्वविहीन मान्ने वा पुरुषको एक चौथाइ मात्र मानव मान्ने उनीहरुको विगतका कुरा पाठ्यक्रममा राख्न मिल्दैन| बाल अधिकार पढाउन पर्छ तर चर्चमा भएका बाल यौन दुराचारको उच्चारण गर्न हुँदैन| मानवाधिकार पढ्नै पर्छ तर बिगतमा सांग्लोमा बाँधेर लगिएका दासका आँसु र आर्तनाद पाठ्यक्रममा राख्न हुँदैन| गडको नाममा अरुको धर्म परिवर्तन गराउन पाइन्छ तर ईश्वर, भगवान वा पूर्वीय दार्शनिकका नामको प्रतिरक्षा गर्न पाइदैन| जन्मेको भनेको तीनसय बर्षसम्म थाहा नभएको प्रसंग उच्चारण गर्नु मनासिव हुँदैन तर गीता, कौटिल्यको अर्थशास्त्र, नारदस्मृति र अन्य शास्त्र मिथ हुन् भन्नैपर्छ|  नासाले रामसेतुबारे प्रमाण दिएपनि त्यसलाई काल्पनिक भन्नुपर्छ| मेकुलेको शिक्षा प्रणालीको रणनीतिक आसय यस्तै थियो होला|
अरु धर्म संस्कृतिलाई दुष्ट (इभिल) भन्दै समाप्त गरेपछि तिनका प्रतीकहरु हडप्नु उनीहरुको प्रवृति जस्तो छ| उदाहरणार्थ, “क्रिसमस ट्रि” र “इस्टर एग” पेगनको आमहत्या पछि पेगन धर्मबाट हडपिएको हो| अमेरिकी मूलबासीहरु आफ्ना पूर्वजको आमहत्या गरी उनीहरुका प्रतीकहरुको दुरुपयोग गरिएको बिषयलाई लिएर बिभिन्न अदालतमा मुद्दा दायर गर्न सफल भएका छन्| पछिल्लो चरणमा योग, विपश्वना र भारत नाट्यम जस्ता हिन्दू सम्बद्ध कुरा आफ्नोमा ढाल्ने क्रम जारी छ| यस्तै आफ्नो पन्थको भावनासंग नमिल्ने कुराको अपमान गर्ने गराउने प्रवृति पनि कट्टरपन्थी, बौद्धिक आततायी र हिन्दू धर्म पढी हिन्दूको बिरोध गर्ने (यु टर्न) खेतालामा प्रवल छ| यी कार्य अरु धर्मका व्यक्तिको प्रति डलर सस्तोमा धर्म परिवर्तन गराउन र “सांस्कृतिक पूँजी” निर्माण (कल्चरल क्यापिटल) गर्न   गरिन्छ| (२२४,२२५)
भारतमा अंग्रेजलाई धपाउन बाल गंगाधर तिलकले गणेश र गीताको व्याख्या गरी किताब लेखेर सांस्कृतिक चेतना फैलाई उपनिवेशको विरोध गरेकोले गणेश र गीताको बिरुद्धमा लेख्ने लेखाउने गरेको पाइन्छ| गणेशलाई पहिले  राक्षस र पछि नाजी जस्तो देखाई चित्रित गरिएको र म्युजियममा समेत अपमानजनक रुपमा राख्ने गरेको पाइन्छ| (२२७) उताका एथिष्टहरुले उनीहरुको पन्थ सम्बद्ध पात्र, दश आदेश र एकल किताबका घोर बिरोधमा लेखेको कुराको जबाफ दिन नसकी अरु सभ्यताका विरुद्ध लेखेर चित्त शान्त गरेको पनि हुन सक्छ|
भूमण्डलीकरण (ग्लोबलाइजेसन)का नाममा पश्चिमका कुरालाई “विश्व मानक” बनाइन्छ| यता पहिचानका कुरा उछाली यताको वास्तविक पहिचान मेटाएर पश्चिमाकरण गरिन्छ| (२३०)
पश्चिमाहरुले आफ्ना पाठ्यपुस्तकमा हिन्दू धर्ममा नभएका तर व्यवहारमा चलेका कुरालाई धर्मका कुरा भनी उल्लेख गर्छन्| अरु सभ्यताका राम्रा कुरा मूलत: उल्लेख गर्दैनन्|  हनुमानको पूजा र फोहर गंगामा नुहाउने कुरा उठाइन्छ| तर आफ्नो एकल किताब विरुद्ध भएको भनी “विकासवादको सिद्दान्त” (चार्ल्स डार्विन) भने पाठ्यक्रमबाट हटाइन्छ| (२३२,२३३)
चीनले कन्फुसस अगाली सक्यो भनिन्छ| हामी बुद्धको नाम पर्यटन र भावनात्मक प्रयोजनका लागि मात्र लिन्छौ| उनीहरु अरब, ग्रीक रोमन र पेगनबाट लिएर बुनिएको तानावानालाई आफ्नो उत्पादन बनाएर दयाको व्यापार गर्दै छन्| यताका कति कुरालाई हडप्दैछन्| यताका लोभ लालचमा परेका भाडाका सिपाही इमान र धर्म बेच्दै बौद्धिक दासता उन्मुख हुँदैछन्| भारतमा कम्पनी सरकार हुँदा त्यहीका केही बिकुवा “मानव सामाग्री”ले अंग्रेजको साथ दिए र दुइसय बर्ष उपनिवेशको गुलाम बने| बीचमा ठूलो सांयोगिक क्षति पनि व्यहोरे| हाम्रा केही भाडाका सिपाही र बौद्धिक आततायी त्यही इष्ट इन्डिया कम्पनीका नयाँ अवतारको दास बनेर ठाउँ ठाउँमा देखिन्छन्| कोही आसेखेतिमा मौन रहन्छन्| सभ्यता, स्वाभिमान र संस्कृति पूर्वजको लामो त्याग र बलिदानको उपज हो| हाम्रो नयाँ पुस्ता भाडाको सिपाही बन्ने कि स्वाभिमानी भन्ने कुरा आफूले आफ्नो अन्तरात्मालाई सोध्ने बिषय हो| गुलाम बन्न पराईको पछि लाग्ने कि आफ्नो मनको पछि लाग्ने “चयन” आफै गरौँ|


No comments:

Post a Comment