Saturday, March 7, 2020



                                       दिव्य उपदेशका कुरा
-    मोहन बन्जाडे
कुनै सन्देशलाई आक्रमण गर्न कठिन भए सन्देशवाहकलाई अपमान गर्नु नौलो चलन होइन| खासगरी भिन्न आस्था, सभ्यता र विश्वास प्रणाली भएका क्षेत्रमा रहेका प्राचीन ज्ञान र ज्ञानका संवाहकदेखि समकालीन व्यक्तित्वसम्मलाई अपमानित गर्ने गराउने न्यारेटिभ पुरानै हुन्| यो चक्रमा बिभिन्न सभ्यताहरु पिसिए र विलिनप्राय भए| पेगनलगायत भिन्न सभ्यता नामेट पार्ने प्रयास भए| उपनिवेश बनाएर भाषा लादिए, विश्वास प्रणाली थोपरिए, साधन सोहोरिए र प्रत्यक्ष दासत्व कानुनीरुपमै लामै समय अघि बढाईयो|
 यसै उपमहाद्वीपमा आर्य (आर्य जाति होइन गुण हो) आक्रमण सिद्धान्त ल्याइयो| आक्रमणका प्रमाण नभेटिएपछि “आर्य बसाइसराई” भनियो| अहिले आर्य भनिएकाहरु पश्चिमबाट पूर्व आएको नभई पूर्वबाट पश्चिमसमेत गएको प्रमाण आउन थालेपछि “आर्य पर्यटन” भन्न थालिएकोछ| प्राचीन सरस्वती नदी-सेरोफेरोमा हुदै गरेका उत्खनन र हालै गरिएका डि यन ए जाँचले “आर्य आक्रमणको सिद्धान्त” ढल्ने अवस्थामा छ|
अंग्रेज भारतमा आएर मनुस्मृतिलाई हिन्दू कानून भने| जबकि पराशर स्मृतिले कृत युगमा मनु, त्रेतामा गौतम, द्वापरमा शंख र कलिमा पराशरका धर्मलाई मुख्य भन्छ| (१|२४) मनुस्मृतिलाई हिन्दू कानून बनाउन क्षेपक थपिए| थपेका क्षेपक र गलत अनुवाद समेत देखाएर मनुवादी भनी घृणा गर्ने खेल जारी छ| कौटिल्यले नै मनुस्मृति लगायत बिभिन्न स्मृतिका अनेक कुरामा असहमति राखेका छन्|त्यसैले त्यो उनको पालामा नै कानून थिएन| वास्तवमा स्मृतिहरू राज्य निर्मित कानून थिएनन्| कानूनका लागि स्रोतसम्म थिए| शास्त्रार्थ गरेर उपयुक्त ठानिएका कुरा राज्य पद्धतिमा स्वीकार गर्ने नगर्ने चलन रहेको देखिन्छ| पृथ्वीनारायण शाहका पालामा तनहुँबाट याज्ञवल्क्यस्मृति झिकाइएको भनिन्छ| जयस्थिति मल्लको पालामा नारद्स्मृतिमा आधारित न्यायविकासिनी वा मानवन्यायशास्त्र तैयार भएको पाइन्छ|
युरोपमा धर्म परिवर्तन गर्न नमान्ने लाखौ पेगन र खासगरी महिलालाई घिसारेर, आगो लगाएर वा अन्य कुनै निर्मम तरीकाबाट मारिएका अभिलेख भेटिन्छ| अमेरिकाका मूल निवासी लाखौको संख्यामा क्रुरतापूर्वक (तालिमप्राप्त कुकुर र किटाणु प्रयोग गरेर समेत) मारिएका कुरा सार्वजनिक छन्| अफ्रिकामा गरिएका अति क्रुर व्यवहार र दासलाई मानिससम्म नमान्ने सोंच पनि धेरै पुरानो होइन| उता महिलालाई एकचौथाई मात्र मानिस मानिन्थ्यो|अष्ट्रेलियामा आदिवासीका एउटा पुस्ताका सन्तानलाई अभिभावकबाट छुटाएर लगिएको धेरै वर्ष भएको छैन| केही वर्षअघि मात्र त्यहाँका प्रधानमन्त्रीले माफ मागेका थिए| गोवा इन्क्विजिसन हाम्रै छिमेकमा गराइयो| भियतनामका बुद्धमार्गीलाई गरेका अत्याचार खासै पुराना होइनन्|



केही वर्ष यता नेपालमा पृथ्वीनारायण शाहका प्रतीकमाथि अपमान गर्नेगराउने काम भएका छन्| विधिशास्त्रमा नजन्मेका र मृतक व्यक्तिका पनि अधिकार हुन्छन्| मृतकका कामकुरा तर्क, आधार र प्रमाणको आधारमा आलोचना र खण्डन गर्नु एउटा कुरा तर अमर्यादित व्यवहार र अपमान गर्न पाइदैन| मृतकले आफ्नो प्रतिरक्षा आफैले गर्न नसक्ने हुदा मृतकको आलोचना थप संयम र सतर्कतापूर्वक गर्नुपर्छ भनिन्छ|
पृथ्वीनारायण शाहले गाली खान पर्नुका कारण मुख्यतः दुईवटा देखिएका छन्| पहिलो, जासुस पादरी जिस्सेपीको लेखोट जुन कर्कप्याट्रिकले आफ्नो किताब एन एकाउन्ट अफ द किंगडम अफ नेपालमा पुन: प्रकाशित गरेका छन्| यो इसाई पादरी र अंग्रेजी इतिहासकारले सानो घटनालाई बढाई चढाई गरेको अनर्गल प्रचार मात्र हो| दोस्रो दार्जलिंग गएका इसाई पादरीहरुले गोर्खाली सेनाले लिम्बुआनका सबै पुरुष र महिला मारे केटाकेटीलाई ढिकीमा कुटेर मारे भनी अनर्गल कुरा लेखाएको कुरा पत्याउनु रहेको छ| (पृथ्वीनारायण शाह,नेपालको एकीकरण र राष्ट्रिय एकता जगमान गुरुङ समसामयिक सन्दर्भमा पृथ्वीनारायण शाह ने प्र प्र २०७३)
पृथ्वीनारायण शाह विरुद्ध घृणा गर्ने कामको थालनी जिसेप्पीले गरे| उनी तिनै जासुस हुन् जो उनका सहभियुक्त  माइकल एन्जेलोसहित पृथ्वीनारायण शाहको पालामा बेतिया पठाईएका थिए| हिमवतखण्ड नेपालको सभ्यता विरुद्द आफूले छल गर्ने र कम्पनी सरकारबाट बल प्रयोग गराउने उनको क्रुसेडी योजना पृथ्वीनारायण शाहको पालामा तुहिन पुग्यो| पाटनका राजा मार्फत नेपाल एकीकरण रोकी अंग्रेजलाई आक्रमण गर्न सहज पार्ने षड्यन्त्र विफल भयो|  
जिसेप्पीको घृणापत्रलाई कर्णेल कर्कप्याट्रिकले आफ्नो पुस्तक “एन एकाउन्ट अफ किंगडम अफ नेपाल”मा समावेश  गरे| त्यो किताब उनले अंग्रेज क्याप्टेनको रुपमा बस्तुस्थिति विवरण तयार र रेकी गर्न नेपाल आएका बेलाको संकलन थियो| त्यो किताब इष्ट इण्डिया कम्पनीका अभिलेख र त्यसैको अनुशास्ति (स्याङसन) तथा  संरक्षण (प्याट्रोनेज) मा प्रकाशित गरिएको कुरा त्यसै किताबमा बताईएको छ| यो किताब इतिहास भन्दापनि नेपाल विरुद्ध युद्ध गर्न तयार गराइएको निर्देशित, नियन्त्रित चर-सामाग्री भन्ने देखिन्छ|
राज्यको एकीकरण फूलको आदान प्रदानबाट सम्भव भए सुनमा सुगन्ध हुन्थ्यो| न बेलायतले फूल मात्र बर्साएर अरु उपनिवेश बनायो, न अमेरिकी स्वतन्त्रता संग्राम, न त फ्रेन्च क्रान्ति नै त्यसरी भए| न बोल्सेभिक क्रान्ति न त चिनीया क्रान्ति रक्तविहिन रहे| सिन्धुलिगढ़ी, बटौली र नालापानीमा अंग्रेज हातमा फूल लिएर आएका थिएनन्?
पृथ्वीनारायण शाहको एकीकरण शैली शत्रु राज्य घोषणा गरेर विनास गर्ने प्रकृति र प्रवृतिको देखिदैन| उनले एकीकरण अभियानमा दण्ड भन्दा साम, दान र भेदनीतिलाई बढी महत्व दिएको देखिन्छ| (दिव्य-उपदेश ऐ शि बाबुराम आचार्य योगी नरहरिनाथ परिशिस्ट क टिप्पणी र व्याख्याहरू) लडाईको परिस्थिति उत्पन्न भएमा पनि सिपाहीबाट लुटाउने, बलत्कार गराउने, आवास नष्ट गराउने “नीति” लिएको देखिदैन| युद्धरत परिस्थितिमा लडाकाहरु बीच उत्पन्न आक्रोस र आवेशले गराएका क्षति नीतिगत हुदैनन्| त्यो बेला आजको जस्तो संचारको सुबिधा थिएन| महाभारत कालमा संजयले जस्तो युद्धको विवरण दिने क्षमता पनि कसैमा थिएन| मोर्चामा कमाण्डर र सिपाहीले गर्ने निर्णयमा तत्काल हस्तक्षेप गर्ने क्षमता कुनै पक्षका राजा स्वयममा पनि थिएन|

पृथ्वीनारायण शाहको बारेमा २००७ साल अगाडी किन लेखिएन? वा किन सार्वजनिक गरिएन? भन्नलाई २००७ साल पूर्वको परिस्थितिप्रति आँखा चिम्लिन सकिदैन| मकैको खेति लेखेबापत त्यसका लेखकले पुरष्कार पाएका थिएनन्| महाकवि देवकोटा तीर्थ गर्न वनारस पुगेका थिएनन्| त्यो बेला लेखनाथ र सिद्धिचरणका कविता सेन्सर हुन्थे भन्ने पनि छ| जाँचमा कापीमा लेखेको कुरालाई लिएर विद्यार्थीलाई कारागारमा राखिएको इतिहास छ| गीताको प्रवचन दिने ठाउमा पनि जासुस घुमाउने जमाना थियो त्यो| कृष्णप्रसाद कोइरालालाई देश छोड्ने रहर पक्कै थिएन| कानून पनि अधिकारी (हाकिम र तहरीर) मात्रलाई दिने जमाना थियो| अंग्रेजले समेत १९१० को आइन(ऐन) बर्षौ हात पार्न सकेका थिएनन्| राजा र राणा शासकको द्वन्द्ध पनि इतिहासको लुकेको पाटो होइन| त्यो समयमा राजाका अनुभवमा आधारित पुस्तक गर्धन माया नमारी बाहिर ल्याउनु, छपाउनु र प्रचार गराउनु सम्भव थियो त?
बाबुराम आचार्य र योगी नरहरिनाथबाट सम्पादित दिव्य उपदेशको पिठिकामा पृथ्वीनारायण शाहको दरवारमा बस्नेतहरु पनि मुख्य भारदार रहेको, उनले आफ्नो जीवनको अन्तिम समयमा भाईभारदारलाई अर्तिउपदेश दिएको र ती उपदेश मार्मिक हुँदा टिपेर राख्नु र सार्नु स्वभाविक रहेको बताइएको छ| यो उपदेश वख्शी अभिमानसिंह बस्नेतले पनि सारेर राखेको, त्यसको एकप्रति भक्तबहादुरसंग पनि रहेको र सम्पादकलाई अभिमानसिंहका वंशज बखतमानसिंहबाट प्राप्त भएको बताइएको छ| यो उपदेश यसअघि काशीबाट गोरक्ष-ग्रन्थमालामा पनि प्रकाशित भएको उल्लेख छ| यो उपदेश वि सं १८६० तिर मात्र लिपिवद्ध भएको हुनसक्ने कारण पनि दिइएको छ| यसमा हालको भन्दा भिन्न भाषा शैली रहेतर्फ पनि संकेत गरिएकोछ|
सो पुस्तकमा प्रकाशकले पनि थप कुरा खुलाएका छन्| उनका अनुसार- वख्शी अभिमानसिंह बस्नेत नेपाल एकीकरणको समयमा पूर्वी तराईतिर हुँदा उनले भारदारको संग्रहबाट सार्न लगाएको हुनसक्ने बताइएको छ| त्यो बेला राणा प्रशासकहरु इतिहास र पुरातत्वहरुको खोजीलाई शंकापूर्ण दृष्टिले हेर्थे| त्यसैले त्यस्ता लेखरचना तैयार र प्रकाशित गर्ने कुनै गुन्जायस नै थिएन| त्यसबेला इतिहासको पठनपाठन हुदैनथ्यो| इतिहासप्रति रुचि राख्ने पनि नगण्य नै थिए| यो कृति बखतमान सिंहले प्रसंगवस उपलब्ध गराइदिनु भएको हो|
प्रकाशकका अनुसार त्यसबेला नेपालमा स्वतन्त्र वातावरण नभएको तर भारतमा प्रकाशनका लागि स्वतन्त्र वातावरण हुँदा प्रकाशकका बाबु बाबुराम आचार्यले दार्जलिंगका सूर्यबिक्रम ज्ञवालीलाई बिभिन्न सामाग्री उपलब्ध गराउदै आउनु भएको थियो| सो कितावको प्रकाशकीयमा बाबुराम आचार्यले सूर्यविक्रम ज्ञवालीलाई १९८९-१९९२सम्म बिभिन्न पत्र लेखेको बताइएकोछ| उधृत पत्रांशमा ‘छापिएका कुरा तीन चार वर्ष नेपाल नआउने भए मात्र छापिउन् अन्यथा यता व्यर्थमा खलबल हुनेछ’ भन्ने व्यहोरा पनि छ| यसले त्यो बेलाको परिस्थिति प्रष्ट हुन्छ|
बाबुराम आचार्यले सूर्यबिक्रम ज्ञवालीलाई १९९१ र १९९२ मा लेखेका पत्रमा “पृथ्वीको व्यक्तृत्व” र “पृथ्वीनारायण शाहको आख्यान” भन्ने लवज परेपनि त्यो यही उपदेश भएको बताइएकोछ| सूर्यविक्रम ज्ञवालीले त्यसको नक्कल बाबुराम आचार्यबाट प्राप्त भएको बताएको देखिन्छ| योगी नरहरिनाथलाई पनि यसको प्रति बाबुराम आचार्यले नै दिएको र २००९ सालमा गोरक्ष-ग्रन्थमालामा दिव्योपदेश भनी छपाएको कुरा पनि प्रकाशक प्रा. श्रीकृष्ण आचार्यले सप्रमाण उल्लेख गरेका छन्|
यस्तै नयराज पन्त र संशोधन मण्डलका सहयोगीले तयार गरेको संस्कृत र नेपालीमा पद्यात्मक व्याख्या जगदम्बा प्रकाशनबाट २०२८ र  नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०४० मा प्रकाशित भएको पनि प्रकाशकले उल्लेख गरेका छन्|
दिव्य उपदेश डा. राजेश गौतमले गोर्खा समाज सेवा केन्द्रबाट र प्रा. दिनेशराज पन्तले मन्जरी प्रकाशनबाट  छपाएका छन्|
नेपाल कानून आयोगले यसको नेपाली र अंग्रेजी अनुवाद ( www.lawcommission.gov.np ) अर्काइभमा डाउनलोड गर्न मिल्ने गरी राखेको छ|
दिव्य उपदेश यल यफ स्टिलरले अंग्रेजीमा अनुवाद गरी प्रकाशन गराएको देखिन्छ|
नेपालका अनेक इतिहासकारले दिव्य उपदेशका बारेमा चर्चा गरेका कुरा पृथ्वी जयन्ती स्मारिका २०६० (नेराप्रप्र) र समसामयिक सन्दर्भमा पृथ्वीनारायण शाह (२०७३) नामक (नेपाल प्रज्ञा प्रतिष्ठान) पुस्तकबाट देखिन्छ| यहाँ लेख नछ्पाएका अरु कति इतिहासकारले पनि दिव्योपदेश बारे बिभिन्न किताब र लेखमा उल्लेख गरेका छन्| उनीहरुलाई बाबुराम आचार्य, योगी नरहरिनाथ र सूर्यविक्रम ज्ञवालीमाथि विश्वास थियो होला| वा खण्डन गर्ने प्रमाण नभएकाले वैरंगी खण्डन गर्न मनासिव ठानेनन् होला|
दिव्य उपदेशको मूल प्रतिको फोटोकपी हेर्दा लेख्ने शैली १९९० पछिको लाग्छ त ? यसको भाषागत पक्षलाई लिएर भाषाशास्त्रीले निष्कर्ष दिन सक्लान्| तर १९९० पछिका कतिपय ऐन, नियम, सनद, सवाल, इस्तिहार, रुक्का आदि हेर्दा तिनमा प्रयोग भएको भाषा र यसको भाषामा भिन्नता देखिदो रहेछ| ख र श वर्णको बदलामा ष र सको प्रयोग भएको कुरा त आचार्य र योगीले नै उल्लेख गरेका छन्| १८३० को सेरोफेरो र १९९० को सेरोफेरोका लिखतहरुको भाषा शैली व्याकरण आदिका आधारमा पक्कै तुलना गर्न सकिन्छ होला|
यसको प्रति राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेको बताईन्छ| त्यसमा प्रयोग भएको कागज र मसीको जाँचबाट पनि त्यो प्रतिको सरदर आयु पत्ता लगाउन सकिन्छ होला|
दिव्य उपदेशको शुरु मै भाइभारदारको विवरण सहित उनीहरुलाई सुनाएको र पुस्तान्तरण गर्न चाहेको बताइएको छ|
जुन नाम यसमा उल्लिखित छन् ती त्यसबेलाका मानिस होइनन् र? त्यसबेला त्यो भूमिकामा थिएनन् भनी प्रमाणित छ त? अर्थात् सुरथ सिङ् राना, रणजित बस्न्यात, मानसिंह रोकाहा, वीरभद्र पाठक, कालु पांडे, बिराज बखती, भानु जैसी, कुलानन्द जैसी, पुजारी राना, परशुराम थापा दलमर्दन शाह, झागल गुरुङ, सिवराम बस्न्यात आदि काल्पनिक पात्र हुन् त?
के दिव्य उपदेशमा उल्लिखित मन्दिर देवीस्थान मनोगत कुरा हुन्? के जयप्रकाश मल्लले दक्षिणबाट नागा झिकाएको होइन? के काश्मिरी नबाब मकवानपुर चढेको होइन? के हार्डिंग अर्थात् हाँडीसाब सिन्धुलीगढी चढेको होइन? के तीनजना कालिगढ़ मुसलवान लखनौबाट आएको होइन?  
के दिव्य उपदेशमा उल्लिखित भएका घटना अप्रमाणित हुन्? के दिव्य उपदेशमा उल्लिखित स्थान काल्पनिक हुन्?
 बाबुराम आचार्यले यी र दिव्य उपदेशमा उल्लिखित सबै घटना, पात्र र स्थानलाई लिई त्यो बेलाको भाषामा लघुकथा लेखेर सूर्यविक्रम ज्ञवालीलाई दिएका होलान् त? छापेको चार वर्षसम्म नेपाल नपठाउनु भनी डराई डराई त्यो लिखत दार्जलिंग पठाए होलान् त?  बाबुराम आचार्यले यो किताब काल्पनिक रुपमा तयार गरेका हुन् भने इतिहास संबन्धी उनका अरु किताब पनि स्वैरकल्पना नै हुन् त ? के योगी नरहरिनाथको सन्धिपत्र संग्रह र अरु किताव पनि काल्पनिक हुन् र दिव्य उपदेश त्यसैको कडी हो? के पछिल्ला अरु इतिहासकारले लहै लहैमा लागेर वा स्वार्थवस दिव्योपदेश बारे प्रश्न नउठाएका हुन्?
के प्रज्ञा प्रतिष्ठान र जगदम्बा प्रकाशनले कर, बल र डरका कारण त्यो किताब छापेका हुन्? के इतिहास बारे संशोधन मण्डल र नयराज पन्तले तथ्य मूल्यांकन नै नगरी संस्कृत र नेपाली भाषामा कविताको रुपमा छापे छपाए होलान् त? के संशोधन मण्डल गफाडीको अखडा थियो त?
के स्टिलरले काल्पनिक भनेर नै अनुवाद गरे वा उनलाई अनुवाद गर्न लालच वा दवाव थियो त?
बस्नेत परिवारले नक्कली कागज लेखी लेखाई त्यत्रो वर्ष घरमा राखे होलान् त?
इतिहास नयाँ तथ्य र प्रमाण फेला परे सोहीअनुरूप परिमार्जन हुनसक्छ, हुनुपर्छ| तर नयाँ न्यारेटिभ चलाउन कै लागि ढुंगा हान्नु र आफ्नोबाटो लाग्नु पर्याप्त हुँदैन| त्यो होइन भनेर मात्र पुग्दैन, यो यसो हो भनेर पुष्टी पनि गर्नुपर्छ| पहिले लेखिएको कुरालाई एकएक गरेर खारेज गर्न सकिन्छ तर प्रमाण चाहिन्छ|
पृथ्वीनारायण शाहको वक्तृत्व, अर्ति, उपदेश वा दिव्य उपदेश भनिएको किताब खण्डन गर्न नसकिने नपाइने पक्कै  होइन| त्यसको लागि वाक स्वतन्त्रताको संवैधानिक हक संझेर प्रश्न उठाउनु मात्र पर्याप्त हुदैन| यो यसकारण काल्पनिक हो वा यो यो प्रमाणका आधारमा पछि तयार भएको हो भन्ने पुष्टी गर्ने जिम्मा पनि प्रश्न उठाउने कै हो|
त्यसको लागि बाबुराम त खरदार हुन्, नरहरिनाथ जोगी हुन् र सूर्यविक्रम दार्जलिंगका हुन् भनेर मात्र पुग्दैन|   बिदेशमा नपढेका नयराज पन्तले पत्याएको कुरालाई मैले पत्याउदिन भन्न त पाइएला तर अरुले पनि आफूलाई पत्याउन् भन्न आधार प्रमाणसहित आउनुपर्छ| जस्ले अरुमाथि प्रश्न गर्ने हक छ भन्छ त्यसमाथि अरुले पनि प्रश्न उठाउन पाउँछन्|
विद्वानहरुले गर्ने प्रश्न शंका पैदा गर्न मात्र नभै उत्तर खोज्न पनि प्रेरित होउन्| कुनै संस्थाको न्यारेटिभ धान्नका लागि बतासे हान्नमा बुद्धिजीवी सिमित नहोउन्| दिव्य उपदेशको कोण कोणबाट अग्नि परीक्षा होस्| हामी आम मानिसको मनमा जसले शंका उठाइदिएका छन् तिनले आफ्नो पनि शंका मेटाउन् र हाम्रो पनि शंका निवारण गरिदिउन्| अन्यथा प्रमाणित नभएसम्म हामी तिनै बाबुराम आचार्य, योगी नरहरिनाथ, सूर्यविक्रम ज्ञवाली र नयराज पन्त  प्रभृति इतिहासकार र नेपाल प्रज्ञाप्रतिष्ठान, इतिहास संशोधन मण्डल र जगदम्वा प्रकाशन जस्ता प्रकाशकलाई शंकाको सुबिधा दिन्छौं| मौका मौकामा ढुंगा हानेर बाटो तताउने (हिट एण्ड रन) कार्यलाई पेशेवर हुन नदिन विज्ञ, विद्वान, बुद्धिजीवी तथा उनका समर्थक र बिरोधी सबैको यता ध्यान जावस्| तथ्य र सत्य जानकारी पाउने आम मानिसको हक पनि सुरक्षित होस्|
  







No comments:

Post a Comment